झलझली सितारा जडित
दुवाको माला
नयाँ आदेश दिएर
मालीलाई निर्माण गर्न
लगाइएको सुन्दर पुष्प गुच्छा
नेपाली ढाका कपडाको
प्रिन्टमा डिजाइन गरिएका खाता
किस्तीमा सजाइएका छन्
तर पर्खाइमा छन् सबै-सबै।
विशेष किसिमले तयार गरिएको छ आसन
बिछ्याइएका छन् राता कार्पेट
पोडिएम तयारी छ
बुकेहरू सजिएका छन्
तर रित्तै रित्तै छन् सबैहरू।
फोनमा व्यस्त छन् आयोजकहरू
इस्त्री लगाएको लबेदा सुरवाल
कुच्चिन्छ भन्ने पिर अध्यक्षलाई
कुनामा बसेर हेर्दै छन् उद्घोषक
डायरीमा लेखिएका नामावलीहरू।
हल भरिएको छ
तयारी पूरा भएको छ
थाहा भएन
फुर्सद कसलाई कति हुन्छ
तर बेफुर्सद मन्त्रीको कारण
अलपत्र छन् स्रष्टाहरू।