म मेरो जीवनको अन्तिम चरणमा प्रवेश गरिसकेको छु। भर्खरै बमको लाभाबाट मौन जीवनहरू अझै पनि विस्फोट भइरहेका छन्। केही भावनाहरू गोली र कारतुसको आवाजमा डुबेका छन्। मेरा केही सम्झनाहरूले चन्द्रमालाई आकाशको किनारमा पछ्याइरहेका छन्। जब फर्केर आउनेछन्, यहाँ मलाई नपाउँदा तिनीहरू निराश हुनेछन्। तिनीहरू रुन पनि सक्छन् तर तिनीहरू एक सिपाहीका सम्झनाहरू हुन्। तिनीहरूले चाँडै नै आफूलाई सम्हाल्ने छन् र अनन्त आकाशमा गायब हुनेछन्, हरेक दिन ताराहरू जस्तै देखा पर्नेछन्। तिमीले तिनीहरूसँग कुरा गर्नू।
उनी प्रायः मसँग रिसाउँथिन् र भन्ने गर्थिन्, ‘तिमी हामीमाथि किन यति निर्दयी भएका छौ? एक दिन तिमीले हामीलाई देशको लागि टुहुरो बनाएर छोड्नेछौ।’
उनी अलि पागल छिन्। मेरो देश मेरो हृदय र आत्मामा बसेको छ, तर मेरो हृदयको सानो कुनामा मेरा आमाबाबु, मेरो जीवन साथी र मैले जीवन दिएकाहरू पनि बस्छन्। हो, केही बाल्यकालका साथीहरू पनि छन् जससँग म खेल्दै हुर्किएँ। यी सम्झनाहरू उनीहरूकै हुन्। धेरै दिनसम्म मेरो स्पर्श नपाएपछि उनी मसँग रिसाउने गर्छिन्। म उनलाई अँगालो हाल्दिनँ, उनलाई चुम्बन गर्दिनँ, उनीसँग बेरिएर सुत्दिनँ। तर म के गरूँ? विद्रोहीहरूले जुनसुकै बेला आक्रमण गर्न सक्छ।
यदि म यी कुराहरूलाई अँगालो हालेर सुत्न गएँ भने, यी सम्झना दिने हरूसँग कसरी शान्तिपूर्वक सुत्न सक्छौ? मेरा सम्झनाहरूले मेरो मुटुको कुनामा किन लुकेको भनेर मसँग गुनासो गर्दैनन्, तिनीहरू केवल मलाई किन सम्झिँदैन भनेर गुनासो गर्छन्। किन हो कुन्नि मेरो मुटुको यो कुनालाई सम्झाउन कयौँ दिन रातहरू बितेर जान्छन्?
मेरी प्यारी, मेरी प्रियतमा, आह! मेरो लागि तिमीले आफ्नो घर र परिवार छोडेर आयौ तर मैले हाम्रो विवाहको दोस्रो रातमा नै तिमी र गर्भमा बसेको मेरो छापलाई एक्लै छोडेर आएँ।
सुरुमा उनी मकहाँ आउन धेरै जिद्दी गर्थिन् र रुन्थिन्। एक पटक उनले चिठीमा लेखिन् कि बुबाले आजकल आँखाले देख्न सक्दैनन्। म फर्केपछि, आँखाको अपरेसनका कारण पूर्ण रूपमा दृष्टिविहीन भएछन्। अब गरिने अपरेसनले पनि आँखा देख्न सक्नुहुन्न। मैले के नै गर्न सक्छु? यदि म मेरो बुबाको लागि स्वार्थी भएको भए मेरो देशका कति बुबाहरू दृष्टिविहीन र बहिरा मात्र होइन, अपाङ्ग र लङ्गडा पनि हुने अवस्थामा पुग्ने थिए।
ओहो! बुबा, तपाईंले आफ्नो एक मात्र छोरालाई हेर्ने चाहना बोकेर यो संसार छोड्नुभयो। मैले मेरी विधवा आमाको आँसु पुछ्न जान पनि सकिनँ। म के गर्न सक्छु? मलाई मेरी आमाभन्दा धर्ती आमाको बढी वास्ता भएछ। म गएको भए विद्रोहीको बन्दुकको गोलीले मेरो नेपाल आमाको मुटु च्यातिदिन्थ्यो।
श्रीमतीले यसपालि मलाई छोराको फोटो पठाइन्, दुई वर्षको भएको छ। म बन्दुक समात्छु र त्यसको आकार हेरेर उसको बढ्दो उचाइ नाप्ने प्रयास गर्छु। त्यसपछि मलाई आफैसँग रिस उठ्छ। के छोराको उचाइ बन्दुकले नापिन्छ?
मेरो बाल्यकालको साथी होमराज गत वर्ष उसलाई ठुलो समस्या आइपरेको थियो। उसकी बहिनी कुनै केटासँग भाग्नु र त्यसपछि खबर आयो कि त्यस केटाले होमराजको बहिनीलाई भारतको वेश्यालयमा बेचेको छ। त्यस बेला मेरो मन छियाछिया भएको थियो। होमराजको बहिनी मेरी पनि बहिनी थिइन्, तर मैले केही गर्न सकिनँ। विद्रोहीहरूले देशका धेरै छोरीहरूको जीवन बिगार्नबाट रोक्नको लागि यहाँ बस्नु मेरो लागि महत्त्वपूर्ण जिम्मेवारी थियो।
तिमीले भन्नेछौ, ‘तिमी जस्तै अरू धेरै सिपाहीहरू पनि छन्, उनीहरूलाई त्यस ठाउँको रक्षा गर्न छोडेर आउन सक्छौ।’
हो, म आउन सक्थेँ, यदि यहाँको अवस्था ठिकठाक चलिरहेको भए। विद्रोहीले कुनै पनि समयमा आक्रमण गर्ने धम्की दिइरहेको छ, हामी यहाँ संख्यामा थोरै छौँ। म कसरी घर फर्कने जोखिम मोल्न सक्छु?
यसपालि मेरी आमाले धेरै दिन मेहनत गरेर मेरो लागि स्वेटर बुनेर पठाउनु भएको थियो। मेरी आमा सोझी हुनुहुन्छ, मैले कसरी बुझाऊँ कि त्यो स्वेटरले यहाँको चिसोलाई दिउँसोको समयमा पनि छेक्न सक्दैन। हो, तर त्यसले आमाको मायाको न्यानोपन बोकेको छ, त्यसैलाई मैले यहाँको माइनस १० वा २० को तापक्रममा पनि लगाउँछु।
श्रीमतीले प्रायः गुनासो गर्छिन्, ‘हरेकका श्रीमानले आफ्नी श्रीमतीलाई रोमान्टिक पत्र लेख्छन्। आफ्नी श्रीमतीको कपाललाई बग्ने छालहरूसँग तुलना गर्छन्, आँखालाई गहिरो समुन्द्रसँग र आँखाको गाजललाई गहिरो रातसँग तुलना गर्छन्। तिनीहरू आफ्नी श्रीमतीको लागि चन्द्रमा टिप्ने साहस देखाउँछन्, कपाललाई ताराले सजाउने वाचा गर्छन्। धेरैले यस पटक यसलाई पूरा गर्ने वाचा गरेका छन्। आकाशमा घुमिरहेका बादलहरूमा पनि तिनीहरू आफ्नी श्रीमतीको अनुहार देख्छन्।’
ऊ साह्रै सोझी छे, म उसलाई कसरी सम्झाऊँ कि तिनीहरू सबै पैसा कमाउन विदेश गएका छन्, राति उनीहरूसँग आफ्नी श्रीमतीहरूलाई सम्झनु बाहेक अरू केही काम हुँदैन। म उसलाई के जवाफ दिऊँ? म झुटो बोल्न सक्दिनँ, उनी सत्य सहन सक्दिनन्। राति जब म चन्द्रमा हेर्छु, म मेरो देश देख्छु। जो कोही चन्द्रमामा जान्छ र त्यहाँबाट मेरो सुन्दर देश देख्छन्, म मेरो देशको हरेक नागरिक तारा जस्तै चम्किरहेको देख्न चाहन्छु। अग्ला चुचुराहरू चढ्दै गर्दा, मेरो हृदयबाट एउटा मात्र वाक्य निस्कन्छ: ‘राष्ट्रको जय होस्, नेपालको जय होस्।’ अँध्यारो रातहरूले मलाई सतर्क बनाउँछ, कुनै पनि आतंककारीले अँध्यारो रातको फाइदा उठाएर मेरो देशलाई तहसनहस पार्न आक्रमण गर्ने आँट नगरोस्।
विगतका कुराहरू धेरै भयो। अब म जाँदैछु। हामीले युद्ध जितेका छौँ। म मेरो मृत्युपछि पनि बाँच्नेछु किनकि मलाई सूर्य-चन्द्र अंकित झन्डाले ढाकिएको हुनेछ। मेरा साथीहरूले आत्मसमर्पण गर्ने शत्रुलाई हतकडी लगाएर लैजाँदै गरेको देखिरहेको छु। तिनीहरूलाई मद्दत गर्न नपाएकोमा मलाई पछुतो लागिरहेको छ। मेरो छातीमा एकैसाथ पाँच गोली लाग्यो। यदि मैले यी गोलीहरू नखाएको भए तिनीहरूले हाम्रो बंकरलाई उडाउँथे, जसमा पचास जवानहरू थिए। म सन्तुष्ट छु, मेरा यी पचास साथीहरूले मेरै आँखा अगाडि मेरो मृत्युको बदला लिएका छन्।
अहिले मलाई धेरै पीडा महसुस भइरहेको छ, यमराज अगाडि नै छ जस्तो लाग्छ। मैले उहाँसँग यो चिठी लेख्न दुई मिनेट समय मागेको छु। हामी नेपाली दाजुभाइहरू किन एकअर्कासँग लडिरहेका छौँ? हामीहरू एकअर्काको जीवनका शत्रु बनेका छौँ। इमानदारीपूर्वक भन्नुपर्दा, म मर्नुभन्दा पहिले नै मरिसकेकी थिएँ। हाम्रो जात, धर्म जेसुकै होस्। हामी सबैभन्दा पहिले नेपाली हौँ भन्ने किन बिर्सिएका छौँ। हामी बिचमा मतभेद हुन सक्छ, तर एकअर्काको रगत बगाउनु र राष्ट्रको सम्पत्ति नष्ट गर्नु यस भूमिको संस्कृति होइन, बिलकुलै होइन।
अलबिदा... होमराज, मुन्ना, आमा, पुष्पा... सबैलाई मेरो अन्तिम सलाम। म मेरो बुबाकहाँ जाँदैछु। पुष्पा, मुन्नालाई बाल्यकालदेखि नै सिपाही बन्न सिकाऊ ताकि उसले त्यो काम गर्न सकोस् जुन मैले गर्न सकिनँ। हामीले अझै पनि नेपाललाई बनाउनु छ, अझै धेरै काम बाँकी छ। पुष्पा, मलाई तिम्रो सम्झनामा जीवित नराख्नु, फेरि विवाह गर्नू। पुष्पा, के तिमी सुन्दै छौ? पुष्पा, के तिमी सुन्दै छौ? पुष्पा, सु... प्रिय... पुष्पा...।