प्रदीपले कोठाबाट ठुलो स्वरमा, ‘नाम लेखेर प्याकेज राम्रोसँग राख। सामान सही मान्छेको हातमा पर्नुपर्छ’ भन्नुभयो।
लिभिङ रूममा बसेर सुटकेसमा सामान मिलाउँदै मैले भनेँ, ‘त्यसै गर्दै छु। तपाईंलाई मेरो विश्वास लाग्दैन कि क्या हो?’
सामान मिलाइसकेर म खाना पकाउन किचनमा गएँ। प्रदीपले कोठाबाट बाहिर निस्केर ‘बल्ल काम सकियो। अब काम बिनाको एक महिना हाइसन्चले बिताउँछु। तिमीले प्याकेज त राम्ररी मिलायौ नि?’ भन्नुभयो।
मैले ‘सबै राम्रोसँग मिलाएर राखेकी छु। पुन: सामान निकाल्ने, थन्काउने फुर्सद छैन। हजुरलाई आफैले नहेरी चित्त बुझ्दैन भने हेर्नुस्। १० बजेको फ्लाइट छ। अन्तर्राष्ट्रिय फ्लाइट भएपछि ३ घण्टा अगाडि पुग्नुपर्छ’ भनेँ।
प्रदीप सुटकेस खोलेर हेर्न थाल्नुभयो। म खाना पकाउन थालेँ। खाना खान बसेपछि मैले भनेँ, ‘हजुर केही दिन घर बसेपछि मात्र ससुराली जानुहुन्छ भनेर दिदीलाई एयरपोर्टमा आएर जुवाइँसँग भेट भनेको छु। माइतीको सामान जति सबै दिदीलाई दिनु।’
उहाँले ‘ठिक गर्यौ, ससुरालीका झोला घरमा नलगेकै राम्रो’ भन्नुभयो।
मैले ‘तपाईंसँगै जान नपाउँदा नरमाइलो लागेको छ। अपर्झट जानुपरेकामा दिग्दारी पनि छ। तर यसरी बिना योजना एक्कासि जाँदा अरूको सामान बोक्नु परेन। नत्र भने गत वर्ष ममीलाई यहाँको कफी मनपर्छ। भाउजूले मेकअपको सामान पठाउनु भन्नुभएको छ। दिदीलाई चकलेट, सनस्क्रिन अनि नानीलाई नयाँ लुगा आदि इत्यादि गरेर एक जनाले ८ किलोसम्म पठाएका थिए। एक्स्ट्रा पैसा नतिर्दा एक जनाले २२ किलो सामान मात्र लिएर जान पाइन्छ। त्यसमाथि सुटकेस नै चार पाँच किलोको हुन्छ। टाढाबाट जाने भएपछि आफू पनि खाली हात जाने कुरा आउँदैन भन्ने थाहा हुनुपर्ने तर थाहा हुँदाहुँदै पनि कतिपय मानिसहरू अरू जाने थाहा पाए भने उनीहरूको सामान पुर्याउन गए जत्तिकै गर्छन्। कोसेलीको भारी अरूलाई बोकाएर मक्ख पर्छन्। उनीहरू जाँदा हामीले सामान नपठाएपछि बुझ्नुपर्ने हो। तर बुझेर पनि बुझ पचाउँछन्। यस पटक अनायास जानु परेकाले यो झन्झटबाट सहजै मुक्ति पाइयो’ भनेँ।
हिँड्ने टाइम सेट गरेको मोबाइल बज्यो। मैले भनेँ, ‘डे केयर बन्द हुन्छ। ६ बज्न लागेछ। म नानीहरू लिन जान्छु। हजुर छिटो तयार हुनुहोस्। आएर हजुरलाई एयरपोर्ट पुर्याउँछु।’
प्रदीपलाई एयरपोर्टमा छोडेर घर आइपुग्दा रातको ९ बजे भयो। भोलिपल्ट बिहान सधैँभन्दा एक घण्टा छिटो उठेँ। खाजा तयार पारेँ। हतार गर्दै नानीहरूलाई तयार पारेँ। डे केयरमा उनीहरूलाई छोडेर काममा गएँ। काम सकेर आउँदा नानीहरूलाई साथमा लिएर फर्किएँ। बेलुकाको खाना बनाएँ। साना नानी त्यसमाथि दिनभरि अरूसँग छोडेका उनीहरूलाई पनि समय दिनुपर्यो। सबै काम सकेर ओछ्यानमा पुग्दा लखतरान भएँ। यति धेरै व्यस्त हुन्छु जस्तो लागेको थिएन किनकि आजसम्म एक्लै बसेकी थिइनँ।
शनिवार फुर्सद हुन्छ भन्ने सम्झेँ तर नानीहरूको अतिरिक्त क्रियाकलापले गर्दा पुर्याउने, ल्याउने अनि एक हप्तादेखि छुट्टीका दिन गर्छु भनेर साँचेर राखेका घरका कामले शनिबार आइतबार पनि व्यस्त भएँ। घरमा एक्लै भएकोले दोब्बर काम गर्नुपर्यो भनेर गरिराखेको काम छोड्न मन लागेन। बिदा माग्न पनि सकिनँ किनकि नानीहरूको स्कूल छुट्टी हुँदा बिदा लिइसकेकी थिएँ।
आमा अस्पतालमा हुनुहुन्छ। जसरी भए पनि आउनु भन्ने खबर आएपछि प्रदीप जानुभएको हो। दुई हप्ताको उपचारपछि आमा अस्पतालबाट बिदा भइसक्नु भएको छ। अहिले आमाको स्वास्थ्यमा धेरै सुधार भएको छ।
परिवारसँग टाढा भए पनि मेसेन्जरमा अनुहार हेरेर कुरा गर्न पाउँदा सामीप्य महसुस हुन्छ। भौगोलिक दूरीलाई भावनात्मक रूपमा छोट्याइदिने वैज्ञानिकीकरण धन्य छ। एक दिन प्रदीपले, ‘तिमीसँग सल्लाह गर्नुपर्यो’ भन्नुभयो। मैले, ‘के सल्लाह?’ भनेँ। उहाँले, ‘एक महिनाको छुट्टी बित्न लाग्यो। बुवा आमाले अब एक हप्तामा गइहाल्छस्, फेरि कहिले आउँछस्? भन्नुहुन्छ। डाँडापारिको घाम भइसकेका बुवा आमासँग अरू केही दिन बस्न मन लाग्यो। आखिर अनलाइन काम हो’ भन्नुभयो।
मलाई धपेडी नै भए पनि प्रदीप नआउन्जेल मात्र हो भनेर मैले ‘टाढा छ। घरीघरी जान सकिँदैन। बस्न मिल्यो भने बस्नू’ भनेर फोन राखेँ।
उता बिहान भए पनि मेरो रातिको बेला थियो। ओछ्यानमा पल्टिएर सम्झेँ; परिवारसँग छुट्टिएर, बाबु-आमासँग अलग्ग भएर बस्न कसलाई मन लाग्छ र? तर रोजगारीको खोजीमा होस् वा पढ्नका निम्ति, धेरै नेपालीहरू आफ्नो घर छोड्न बाध्य छन्। शिक्षा, स्वास्थ्य, अवसरको खोजीमा पहाडबाट मधेस, गाउँबाट सहर, सहरबाट विदेश गएका छन्।
हाम्रै परिवार भित्रकै कुरा गर्दा सानाबा, ज्वाइँ, भान्जो, बुहारी कुवेत, मलेसिया, कतार, इरान, दुबईमा छन् भने दाइ, भाउजू, मामा, भदाहा, भदैनी, बहिनी कोरिया, जापान, अस्ट्रेलिया, अमेरिका, क्यानडामा छन्। एक परिवारका मान्छे संसारभरि पुगेको अवस्था छ।
देशको समसामयिक परिस्थितिको आकलन गर्दागर्दै कतिबेला निदाएँ पत्तो भएन।
बिहान मोबाइलको घण्टीले ब्युँझायो। निरन्तर चलिरहने घडीको सुईजस्तै चलायमान मेरा दिनचर्या सधैँझैँ बिहानीको घामका किरणले भूमिलाई स्पर्श गर्नुअघि नै सुरु भए। समयले आफ्नो गति छोड्दैन तर आफूले भोगेको परिस्थितिले त्यसको मापदण्ड निर्धारण गर्छ। दुवै जनासँगै हुँदा समय बितेको पत्तो हुँदैनथ्यो तर एक्लै हुँदा एक महिना कहिले बित्ला जस्तै भयो। दिउँसोभरि काम, बिहान बेलुका घरको काम अनि केटाकेटी समेत एक्लैले हेर्ने धौधौ पर्यो।
बिरामी नभए पनि बिरामी बिदा लिएर दुई दिन घरमा बसेँ। परदेशी भूमिमा एक महिनादेखि एक्लै घर सम्हालेर बसेकी म ‘प्रदीप कहिले आउनुहुन्छ?’ भनेर दिन गन्न थालेँ। तर हिजोको कुराकानीमा प्रदीपले मेरो अभिलाषा विपरीत ‘मलाई यहीँ बसेर केही गरौँ जस्तो लाग्यो’ भनेर मलाई छक्क पार्नुभयो। मैले, ‘के भन्नुभएको? बुझ्ने गरी भन्नु’ भने।
प्रदीपले ‘एक महिनाको छुट्टीमा गाउँका धेरै मान्छेसँग भेटेँ। घरमा आमालाई भेट्न आएका आफन्त, छरछिमेकसँग पनि कुराकानी गरेँ। कुराकानीका क्रममा उहाँहरूमध्ये धेरैले अहिले पहिलाको जस्तो दुःख छैन। जिन्दगी आरामले चल्दैछ। अहिलेसम्म पकाउन, खान पनि गाह्रो छैन। तर हातखुट्टा चल्न छोडेपछि के गर्ने होला? विदेशिएका छोराछोरीको घर फर्कने सम्भावना अत्यन्त न्यून छ भनेर गुनासो गर्नुभयो। यहाँको हालको अवस्था अनि उहाँहरूसँग गरेका कुराकानीको निचोडका आधारमा त्यहाँको जस्तै वृद्धवृद्धाहरू बस्ने सुविधासम्पन्न रिटायर हाउस खोल्छु। जीवनस्तर उकास्ने बाध्यताले होस् वा उज्ज्वल भविष्यको रहरले होस् कारण जे भए पनि विदेश जानेहरूको भीडले एयरपोर्ट दिनहुँजसो खचाखच भरिन्छ। देशको अवस्था यस्तै रह्यो भने व्यवसायले दिनको एक गुना, रातको चौगुना वृद्धि गर्छ। सेवा पनि हुने व्यवसाय पनि चल्ने। फेरि अस्तिदेखि बुवा-आमा पनि ‘कहिलेसम्म बाहिर बस्छौ? बुढेसकाल तिमीहरूसँगै बसेर बिताउने मन छ। अब आऊ’ भन्दै हुनुहुन्छ। यता बस्ने बन्दोबस्त गरेपछि बुवा-आमाको रहर पनि पूरा हुन्छ’ भन्नुभयो।
कुराकानीको क्रममा ‘यस बारेमा के भन्छौ? तिम्रो धारणा के छ?’ भनेर सोध्नु पनि भयो।
प्रदीपका कुरा सुनेर म जिल्ल परेँ। के भनूँ, के नभनूँ हुँदै मैले ‘हजुरको सोच राम्रो छ। तर त्यस विषयमा मेरो विचार जान्न चाहनुहुन्छ भने हामीसँग व्यवसाय सुरु गर्ने पैसा छैन। धितो राख्ने जमिन पनि छैन। यस्तो अवस्थामा तपाईंलाई आँट आउँछ भने म के भनूँ र? तर लगानी गर्नुपूर्व हाम्रो समाज कस्तो छ भन्ने विषयमा व्यापक खोजनीति गर्नू। समाजमा घटेका त्यस्ता घटनाहरूलाई सम्झनु जसमा अस्पताल पुगेका बिरामीको मृत्युलाई सहज रूपमा लिइँदैन। कतिपय अवस्थामा उपचारमा संलग्न डाक्टर नै बिरामीको मृत्युको कारण हो। डाक्टरकै लापरबाहीका कारण बिरामीको ज्यान गएको भनेर बिरामीका आफन्तहरूले मिडियाबाजी सुरु गरेका छन्। घटना मनासिब नभए पनि परिस्थिति असहज बनेको छ। अस्पताल र डाक्टरविरुद्ध अनेक झमेला खडा गरेका छन्। दुई वर्षअघि मात्र अस्पतालमा मृत्यु भएकी निर्मला भाउजू काण्ड नबिर्सनू। यस्तो सामाजिक परिवेशमा बूढाबूढीहरू हेर्ने काम तपाईंले सोचेजति सजिलो छैन। तपाईंले राम्रो काम गरे पनि ‘मेरो हिजो मात्रै बुवा-आमासँग कुरा भएको थियो। मेरो बुवा-आमालाई केही भएको थिएन। यो व्यवस्थापन पक्षको कमजोरी हो’ भनेर दोष लगाउन, मुद्दा लड्न नआउलान् भन्न सकिन्न। जबसम्म देशमा सुशासन अनि नागरिकहरूमा अनुशासन हुँदैन तबसम्म आँट नगर्नूस् भन्छु। भ्रष्ट नेताका कारण सुशासनमा ह्रास भएको बेला भर्खर गठन भएको नयाँ सरकारले देशलाई सही दिशा दिन सक्छ कि? आशा गरूँ। अहिलेको परिस्थितिमा लगानी गर्न हतार नगर्नू। अरू सबै ठिक छ। फेरि कुरा गरौँला’ भनेँ।
ओछ्यानमा पल्टिएर प्रदीपसँग गफ गरेकी थिएँ। दिनभरिको थकाइ थियो तर कुरा सुनेपछि निद्रा हरायो। एक महिनाको लागि भनेर जानुभएको के सोच्न थाल्नुभएछ? अचम्म लाग्यो। तर प्रदीपका कुरा मननयोग्य छन्। वास्तवमा सुविधासम्पन्न रिटायर हाउस हुनु हो भने मेरा बुवा-आमा जस्ता अभिभावकले बुढेसकालको सहारा को होला भन्ने चिन्ता गर्नुपर्दैन। आफ्नो परिवारसँग अस्ट्रेलिया बसिरहेको दाइ अहिले तत्कालै घर आउन सक्दैन। यस्तो अवस्थामा सुविधासम्पन्न रिटायर्ड हाउस भइदिए बुवा-आमाले आफूले काम गर्न नसकेका दिन हाम्रो हालत के होला सोच्नुपर्दैन। छोराछोरी साथमा नभए पनि बेसहारा हुँदैनौँ भनेर ढुक्क हुनुहुन्छ।
स्वतन्त्र भएर सुरक्षित ठाउँमा सुविस्तापूर्वक बस्न पाउनु ज्येष्ठ नागरिकहरूको अधिकार हो। तर संयुक्त परिवारको परिपाटीमा चलेको हाम्रो समाजमा वृद्धाश्रम भनेको छोराछोरीले हेला गरेपछि सहाराविहीन भएर जाने ठाउँको रूपमा हेरिन्छ। यस्तो परिस्थितिमा वृद्धाश्रमप्रतिको पारम्परिक धारणामा परिवर्तन गर्न रिटायर हाउस आवश्यक छ। आफ्नो नियमित काम गर्न नसकेका दिन सहारा चाहिन्छ। घरमा सहारा दिने सदस्य नभएपछि रिटायर हाउस जानु अनुचित होइन भन्ने उदाहरण प्रस्तुत गर्न सुविधासम्पन्न रिटायर हाउस सञ्चालित हुनै पर्छ। परिवारका सदस्यहरू देश बाहिर भएको वर्तमान परिस्थितिमा रिटायर हाउस धेरैको आवश्यकता बनेको स्पष्ट छ।
समाजसापेक्ष नभए पनि सशुल्क सेवा लिएर रिटायर हाउसमा बस्नु ज्येष्ठ नागरिकहरू निम्ति लज्जाको विषय नभएर स्वाभिमानको विषय हो भन्नका खातिर प्रदीपले गर्न खोज्नुभएको कार्य प्रशंसनीय छ। विविध कारणले विदेशमा रहेका छोराछोरीसँग बस्न नसक्ने, स्वदेशमा बस्न मन पराउने बुवा-आमाहरूका निम्ति प्रदीपको काम वरदान हो। तर म प्रदीपको योजनामा सामेल हुन सक्दिनँ।
मेरो मन त्यति साँघुरो छैन। परिवारमा मिलेर बस्नुपर्छ। एकले अर्कोलाई सरसहयोग गर्नुपर्छ भन्ने थाहा छ। तर घर व्यवहार मिलाउन सक्दा सजिलो अनि मिलाउन नसक्दा झन्झट लाग्दो हुन्छ। माइतीका बुवा-आमा जस्तो सासू-ससुरा घरमा एक्लै हुनुहुन्न। जेठाजु दाइ उहाँहरूसँगै हुनुहुन्छ। पकाएर खान दिने जेठानी दिदी हुनुहुन्छ। घरमा भएका भन्दा बाहिर बसेका असल, राम्रा भनेर ‘अब हामी तिमीहरूसँग बस्छौँ, आऔँ’ भनेर हुन्छ? अगुल्टो पनि नठोसी बल्दैन।
एउटै घरमा भएपछि सानोतिनो कुरालाई देखेर पनि नदेखेको जस्तो गर्न सक्नुपर्छ तर विवाह भएदेखि अलग्ग भई आफ्नै सहजले पकाउने, खाने, बस्ने बानी परेकी म त्यहाँ गएर नियममा बाँधिएर बस्न सक्छु? सगोलमा बस्न नसके के गर्ने? जसरी उहाँहरूले यहाँ आउँदा ‘बोल्ने कोही भएनन्। दिन बिताउन गाह्रो भो’ भनेर फर्कनुभयो। त्यसरी म तपाईँहरूसँग बस्दा ‘मलाई घुटन भयो। यस्तो सकसमा बस्न सक्तिन’ भनेर घर छोड्न सक्छु? आखिर मैले बुढेसकालमा अरू के नै गर्नु छ र? बस्नु नै हो। जे दिन्छन्, त्यही खानु हो। बुढेसकाल सहजले बिताउन जिम्मा लाग्न सक्नुपर्छ। घर व्यवहार जिम्मा लगाएर सन्तोषले बस्नु।
‘तपाईंहरू यहाँ बस्दा हामीलाई केही समस्या हुँदैन’ भनेर कति भने तर उहाँहरूले मेरा कुरा मान्नुभएन। सधैँ छोराछोरीले बाबु-आमा भनेर हत्ते गर्नुपर्छ भन्ने छैन। उहाँहरूले जति सजिलैसँग ‘त्यहाँ के छ र? यता आऊ’ भन्नुहुन्छ। मेरा निम्ति त्यो त्यति सजिलो छैन। नेपालबाट आउँदा सुटकेसमा भरेर ल्याएको सामान अहिले घरभरि छ। घरको, गाडीको किस्ता, ट्याक्स, इन्सुरेन्स, पानी, बत्ती, ग्यास, फोहोर व्यवस्थापनको शुल्क, नानीहरूको डेकेयर शुल्क आदि इत्यादि जे जस्तो भए पनि सहजले चलेको छ। भवितव्य बाहेक व्यवस्थित तरिकाले बसिरहेको ठाउँबाट फुत्त निस्कन म राजी छैन।
मानिस आफूले के गरेको थियो भन्ने कुरा सम्झन चाहँदैन। आफ्नो विगतलाई नियाल्न चाहँदैन। आफूले गरेका कामहरू सधैँ मनासिब लाग्छन्। तर त्यही कुरा अरूले गरे भने अनुचित ठान्छन्। उहाँहरूले बारम्बार ‘त्यो बेला हजुरबुबा हजुरआमाका कुरा सुनेर पहाडको घरबारी बेचेर मधेस नझरेको भए हाम्रो जीवनस्तर सुविधासम्पन्न हुँदैन थियो। हामीले पहाड नछोडेका भए यस्तो सुख कहाँ पाउँथ्यौँ? हामीले तिमीहरूको राम्रो भविष्यको लागि पहाड छोडेका थियौँ र नै तिमीहरूले दुःख गर्नु परेन’ आदि इत्यादि धेरै पटक भन्नुभएको छ।
उहाँहरूका कुरा सही हुन्। बाबु-आमाले आफ्ना छोराछोरीको उज्ज्वल भविष्य सोच्ने हो। तर मान्छे आफ्नो भाग्य लिएर जन्मन्छ। भाग्यले जहाँ पुर्याउँछ त्यही पुग्छ। जसको भाग्यमा जति छ, उसले त्यति नै पाउँछ। यति सानो कुरो बुझ्न किन ढिलो गर्नु। जीवनको उत्तरार्धमा आइपुग्दा प्रायजसोले यी कुराहरूको छनक पाउँछन्। तर उहाँहरूले अझै त्यसतिर ध्यान दिनुभएको छैन।
जसरी उहाँहरू पहाड छोडेर मधेस जानुभयो त्यसरी हामी स्वदेश छोडेर विदेश आएका छौँ। हाम्रो कारणले नानीहरूले पनि विदेशी भएका छन्। समयको चक्रमा कहिले सासूको पालो कहिले बुहारीको पालो भनेझैँ कुनै दिन उहाँहरूले जुन स्वार्थका कारण पहाड छोड्नुभयो। म आज त्यही स्वार्थले अभिप्रेरित भएकी छु।
यही जन्मिएर हुर्किँदै गरेका साना नानीहरूलाई लिएर त्यहाँ गएँ भने उनीहरूलाई सहज हुँदैन भन्ने मलाई राम्रोसँग थाहा छ। यहाँ हुर्किँदै गरेका नानीहरू जबसम्म १८ वर्षका (कानुनसम्मत एक्लै बस्न सक्ने) हुँदैनन् तबसम्म म त्यहाँ सधैँ बस्ने गरी जाने निर्णय गर्न सक्दिनँ। प्रदीप नेपालमा परिवारसँग बस्ने मेसो मिलाउँदै हुनुहुन्छ। स्वदेश फिर्ता हुन पाइन्छ भनेर सुखी हुनुपर्ने विषय छ तर विगत अनि वर्तमानमा रुमलिएकी म मध्यरातमा निद्रा भाग्ने गरी सोचिरहेकी छु।
भोलिका दिनमा के हुन्छ थाहा छैन तर म त्यही गर्छु जसले मलाई आत्मसन्तुष्टि दिन्छ। यसै पनि धेरै वर्ष बितिसके विदेशमा, अरू केही वर्ष थपिएर केही हुँदैन। जीवन भेगाइका क्रममा उतारचढाव भोगिसकेकी छु। यसपटक यति सचेत हुन चाहन्छु कि मेरो निर्णयका कारण मैले भविष्यमा खेद प्रकट गर्नु नपरोस्। स्वदेश फर्कने वा विदेशमा बस्ने भन्ने कुराको निर्णय भविष्यले निर्धारण गर्छ तर अहिले म आफ्नो खुसी गर्न चाहन्छु।