साँझ पर्दै थियो। आकाशभरि बादल थिए अनि एउटा स्त्रीको मनभित्र पनि।
बसपार्कको भीडमा एउटी चेली उभिएकी थिई — काखमा एक वर्षकी नानी, हातमा सानो झोला, आँखाभरि अनिदो रातहरूको थकान।
उसको नाम थियो— समीक्षा गुरुङ।
ऊ माइती फर्किएकी थिई।
हारेर होइन… तर धेरै सहेर।
घर भनेको कहिलेकाहीँ चार भित्ताभन्दा बढी पीडाको नाम हुँदो रहेछ। उसको श्रीमान् दिपेन राई रक्सीमा डुबेको मान्छे थियो। रक्सीको गन्धसँगै घरमा अपमान, चिच्याहट र आँसु भित्रिन्थ्यो।
समीक्षा धेरै पटक निभाउने कोसिस गर्थी। आफ्नो भाग्यलाई सम्झौता सम्झेर बाँच्छु भन्थी। तर जब पीडाले आमाको काखमा सुतेकी छोरीसम्म छुन थाल्यो, ऊ एक दिन चुपचाप माइती फर्किई।
माइती नजिकै उसले एउटा विद्यालयमा जागिर पाएकी थिई। सुरुका केही दिनहरू आँगन फेरि आफ्नै जस्तो लागे। आमाले नातिनीलाई काखमा च्यापेर गीत गाउँथिन्, बुबाले ‘नआत्तिनु छोरी…’ भन्दै काँपेको हातले ढाडस दिन्थे।
तर समय धेरै बेर कसैको पक्षमा उभिँदैन। दिनहरू बिस्तारै फेरिन थाले। घरभित्रका आँखाहरू बदलिन थाले। दाजुभाइका स्वरमा अपनत्वभन्दा असहजता बढी सुनिन थाल्यो।
‘अब सधैँ यहीँ त बस्न मिल्दैन नि…’
‘कतै डेरा खोज्नुपर्छ…’
यी शब्दहरू अरूका लागि सामान्य थिए होला, तर समीक्षाको मनभित्र भने ती शब्दहरू अँध्यारो खाडलझैँ थिए। किनकि ऊ केवल दुःखी मात्र थिइन। ऊ लामो समयदेखि डिप्रेसनसँग लडिरहेकी थिई।
डिप्रेसनले मानिसबाट सबैभन्दा पहिले साहस खोस्दो रहेछ। ऊ पहिलेझैँ थिइन अब। कुनै समय जीवनसँग आँखा जुधाएर हिँड्ने समीक्षा, अहिले साँझ पर्दा एक्लै कोठामा बस्न पनि डराउन थालेकी थिई। डेरा लिएर बस्ने कुरा सुन्दा उसको छाती बेस्सरी धड्किन्थ्यो।
उसलाई लाग्थ्यो— कतै फेरि रातभरि सास थुनिएझैँ भएर रोइरहनुपर्ला, कतै आफूलाई केही भयो भने त्यो सानो नानीले कसलाई ‘आमा’ भनेर समात्ली?
ऊ यो डर कसैलाई बुझाउन सक्दिनथी। किनकि मानिसहरूले उसको जागिर देख्थे, उसको पढाइ देख्थे तर उसको थाकेको मन कसैले देखेन।
सबैले सोच्थे— ‘यति शिक्षित छोरी, एक्लै बस्न के गाह्रो?’
तर कसैले बुझेन— डिप्रेसनले थाकेको मान्छेलाई संसारकै सबैभन्दा गाह्रो कुरा कहिलेकाहीँ एक्लै बाँच्नु हुँदो रहेछ।
समीक्षा शिक्षित थिई। आफ्नो खुट्टामा उभिन सक्ने क्षमता उसमा थियो। तर लगातारको पीडाले उसको आत्मा थाकिसकेको थियो।
कुनै समय ऊ जंगलको सिंहझैँ निर्धक्क थिई। आफ्नो सपना, आफ्नो अस्तित्व, आफ्नो हाँसो थियो।
तर अहिले…
ऊ आफ्नै आवाजसँग डराउन थालेकी थिई। ऊ बिस्तारै घरको मान्छेभन्दा बढी, घरको बोझ जस्ती महसुस गर्न थालेकी थिई।
रातहरू सबैभन्दा क्रूर हुन्थे। सबै सुतेपछि ऊ सिरानीमा मुख गाडेर रुन्थी। तर आवाज निकाल्दिनथी। किनकि उसकै छेउको कोठामा बुढेसकालले थलिएका बा-आमा निदाइरहेका हुन्थे।
उसलाई सबै भन्न मन लाग्थ्यो। मनका चिरा खोलेर कराउन मन लाग्थ्यो। तर ऊ चुप रहन्थी। आखिर आमाबुबाको बुढेसकालमा छोरीले आफ्नै आँसु पनि लुकाउन सिक्नुपर्दो रहेछ।
दिनदिनै ऊ भित्रैभित्र गुम्सिँदै गई। मानौँ उसको मन एउटा बन्द झ्याल थियो, जहाँ उज्यालो आउन छोडिसकेको थियो।
त्यसैबिच एक दिन दाजु र भाउजू सहर सर्ने भए। घरभरि सामान प्याक हुँदै थियो। बा-आमाको अनुहार झन् मलिन हुँदै थियो।
र समीक्षा…
ऊ कुन अपराधको सजाय भोगिरहेकी हो, आफैँलाई बुझ्न सकिरहेकी थिइन। त्यो रात ऊ धेरै बेर आँगनमा बसिरही।
पुरानो तुलसीको डिल, भत्किँदै गरेको कौसी, आमाको खोकी, बुबाको काँपेको पाइला… उसलाई लाग्यो— सायद ऊ यो घरमा बस्न आएको होइन, यो घरको बाँकी शान्ति पनि लिएर आएको रहेछ।
त्यो सोचसँगै ऊ भक्कानिएर रोई। आकाश पनि त्यो रात चुप थियो। तर उसको मनभित्र हजार आँधी चलिरहेका थिए। त्यसपछि समीक्षा बदलिइन्।
ऊ कम बोल्न थालिन्। कम हाँस्न थालिन्। रातदिन किताबमा डुब्न थालिन्।
मानिसहरू भन्थे—
‘दिमाग बिग्रिएछ…’
‘पागलझैँ भई…’
तर कसैले बुझेन— ऊ आफ्नो टुटेको जीवनलाई फेरि जोड्ने प्रयास गर्दै थिई। ऊ हार्न चाहन्न थिई। आफ्नी छोरीको भविष्यलाई आफ्नो नियतिजस्तै अँध्यारो बनाउन चाहन्नथी।
र एक दिन लोक सेवा आयोगको नतिजा प्रकाशित भयो।
सूचीमा एउटा नाम चम्किरहेको थियो— समीक्षा गुरुङ— अधिकृत।
त्यो नाम पढेर ऊ धेरै बेर नबोली बसिरही। उसको काखमा छोरी निदाइरहेकी थिई। आमाको आँखाबाट आँसु झरिरहेका थिए। बुबाको ओठ काँपिरहेका थिए।
समीक्षालाई लाग्यो— सायद मानिस पूर्ण रूपमा कहिल्यै सकिँदैन। ऊ केवल केही समयका लागि थाक्छ।
पीडाले उसलाई तोडेको थियो तर त्यही पीडाले उसलाई फेरि जन्माएको पनि थियो।
त्यसपछि उसले जीवनलाई प्रश्न सोधिन्— के छोरीको बिहे भनेको साँच्चै माइतीबाट सदाका लागि बिदाइ हुनु हो?
के छोरीहरू माइतीका आँगनमा केवल पाहुना मात्रै हुन्?
उत्तर उसले कहिल्यै पाइन।
तर यत्ति भने बुझिन्— छोरीहरू रोएर कमजोर हुँदैनन्। बरु उनीहरू आँसु लुकाएर पनि संसार जित्न सक्ने साहसको अर्को नाम हुन्।
छोरी मान्छे यदि लाचार भएर माइतमा बस्छे कोही भने बुझ कि कति चोट र अन्याय सहेर आएकी होली। तर जब त्यही छोरी आफ्नो आँसु लुकाएर साहस बटुल्छे, तब उसले आफ्ना लागि मात्र होइन, आफ्नो सन्तानको लागि पनि नयाँ संसार जित्न सक्छ।
अन्ततः छोरी मान्छे माइतीमा बस्न आउँछे भने त्यो रहरले होइन, जीवनले धेरै चोट दिएपछि मात्रै हो। बिहेपछि माइतीका आँगनमा कसैलाई बोझ बन्न मन हुँदैन। तर कहिलेकाहीँ एउटा चेली यति धेरै भाँचिएकी हुन्छे कि उसलाई संसारभन्दा पहिले आफ्नै आमाको काख चाहिन्छ। उसले माइतीमा आश्रय खोजेकी हुँदिन, ऊ त्यो केवल केही समय श्वास फेर्न आएकी हुन्छे।
त्यसैले कुनै छोरी माइतीमा लाचार भएर बसेकी देख्यौ भने उसको परिस्थितिलाई होइन, उसले भित्रभित्रै कति आँधी सहेर बाँचिरहेकी छे भन्ने बुझ्ने प्रयास गर। किनकि छोरीहरू सजिलै फर्किँदैनन्। उनीहरू फर्किन्छन्, जब पीडाले उनीहरूको सहने सीमा पार गरिसकेको हुन्छ।