आज अङ्ग्रेजी वर्षको अन्तिम दिन थियो। काठमाडौँको चिसो साँझ बिस्तारै रातमा बदलिँदै थियो। सडकभरि झिलिमिली बत्ती, मानिसहरूको भीड र नयाँ वर्षलाई स्वागत गर्ने उत्साह छाएको थियो। म र मेरा चार जना साथीहरू; रमेश, सुजन, विकाश र निश्चल— धेरै दिनदेखि एउटा प्लान बनाइरहेका थियौ।
‘यो वर्ष धेरै तनाव गयो यार,’ रमेशले मोबाइल हेर्दै भन्यो, ‘आज चाहिँ राम्ररी रमाइलो गरौँ।’
सबैले सहमति जनाए। रातको १२ बजेतिर हामीहरू बिरयानी खाएर क्लब पुग्यौँ। बाहिर ठूल्ठूला स्पिकरबाट संगीत बजिरहेको थियो। भित्र रँगिन बत्ती, हाँसो, नाचगान, र मानिसहरूको भीडले वातावरण भरिएको थियो।
म अलि शान्त स्वभावको थिएँ। साथीहरू नाच्दै, हाँस्दै रमाइरहेका थिए तर म भने बियरको चुस्की लिँदै एकछिन बारको कुनामा बसेर वरिपरि हेरिरहेको थियो। मनमा अनौठो खालीपन थियो। नयाँ वर्ष आउँदै थियो तर पुरानो वर्षका केही अधुरा कुरा उसलाई सम्झना आइरहेका थिए।
त्यही बेला मेरो ध्यान एउटा केटीतिर गयो। रातो ज्याकेट लगाएकी, अनुहारमा हल्का मुस्कान तर आँखामा थकान मिसिएको गहिरो भाव। उनी बारको अर्को कुनामा एक्लै बसिरहेकी थिइन्। केही बेरपछि अचानक उनी नजिक आइन्।
‘एक्लै बस्नुभएको?’ उनले हल्का मुस्कुराउँदै सोधिन्।
म अलि झस्किएँ। ‘साथीहरू छन् तर म अलि शान्त बस्ने मान्छे,’ मैले हल्का हाँस्दै जवाफ दिएँ।
उनले आफ्नो नाम ‘सिया’ भनेर चिनाइन्। कुराकानी सुरु भयो— पहिला सामान्य, त्यसपछि अलि गहिरो। सियाले जीवन सधैँ आफूले सोचेझैँ नहुने कुरा गरिन्। काम, संघर्ष, मानिसहरूको व्यवहार— सबै कुरा सहज हुँदैन।
क्लबको संगीत अलि कम सुनिने एउटा कुनामा हामीहरू बसेका थियौँ। नयाँ वर्ष सुरु भइसकेको थियो तर मेरो मनमा एउटा प्रश्न घुमिरहेको थियो।
मैले धेरै सोचेर सोधेँ, ‘यदि नराम्रो नमान्ने हो भने म एउटा कुरा सोध्छु है?’
उनले सहमति जनाइन्।
तिमी यो काममा कसरी आयौ?’
सिया केही क्षण चुप भइन्। बाहिरबाट हेर्दा उनी सामान्य देखिन्थिन् तर त्यो प्रश्नले उनको अनुहारमा गहिरो थकान झल्कियो।
‘सबैले यही सोध्छन्,’ उनी हल्का मुस्कुराइन्, ‘तर उत्तर सुन्न चाहँदैनन्।’ म चुपचाप सुनिरहेँ।
‘म पहाडको सानो गाउँमा हुर्केकी,’ सियाले बिस्तारै सुरु गरिन्, ‘बुबा बिरामी हुनुहुन्थ्यो। आमा अरूको घरमा काम गर्नुहुन्थ्यो। सानैदेखि सोच्थेँ— ठुलो भएर राम्रो जागिर खाने, आमालाई आराम दिने।’
उनको आवाज बिस्तारै गहिरिँदै गयो।
‘१२ कक्षा पास गरेपछि सहर आएँ। एउटा कपडा पसलमा काम पाएँ। तलब कम थियो तर सपना ठुलो थियो।’
एकछिन रोकिन्।
‘पछि एउटा केटासँग भेट भयो। ऊ धेरै राम्रो जस्तो लाग्थ्यो। ‘तिमीलाई माया गर्छु, बिहे गर्छु’ भन्थ्यो। म विश्वास गर्थेँ।’
‘एक दिन बुबाको स्वास्थ्य अचानक बिग्रियो। घरबाट फोन आयो— पैसा चाहियो। धेरै। मैले साथी, आफन्त सबैसँग मागेँ… कसैले दिएन।’
सियाको आँखामा पानी टल्किन थाल्यो।
‘त्यही केटाले भन्यो— एक जना मान्छेसँग भेट गर, पैसा पाइन्छ। सुरुमा बुझिनँ। पछि थाहा भयो उसले मलाई बेच्न खोजेको रहेछ।’
म एक्कासि स्तब्ध भएँ।
‘म भाग्न खोजेँ,’ उनले भनिन्, ‘तर जीवन त्यति बेला सजिलो थिएन। घरमा बिरामी बुबा, कर्जाको बोझ अनि एक्लोपन।’
‘पछि?’
‘पछि बाँच्न सिकेँ,’ सियाले हल्का हाँस्ने प्रयास गरिन्, ‘कहिलेकाहीँ मान्छेले चाहेर होइन, परिस्थितिले बाटो बदलिदिन्छ।’
बाहिर चिसो हावा चलिरहेको थियो। क्लबको झ्यालबाट रँगिन बत्तीहरू देखिन्थे।
‘तर,’ सियाले फेरि भनिन्, ‘म गरिब हुन सक्छु, तर मेरो सपना गरिब छैन। म आफैलाई हराउन चाहन्नँ। अहिले पनि पैसा जम्मा गर्दै छु। सानो कफी पसल खोल्ने सपना छ।’
‘कफी पसल?’ मैले मुस्कुराउँदै सोधेँ।
‘हो,’ उनी पनि मुस्कुराइन्, ‘जहाँ मान्छेहरू बिना जजमेन्ट बस्न सकुन्। कसैलाई उसको विगतले होइन, अहिलेको मुस्कानले चिनियोस्।’
त्यो रात मैले एउटा कुरा बुझेँ— कहिलेकाहीँ मानिसहरू आफ्नो रोजाइले होइन, परिस्थितिको धकेलाइले बाटोमा पुग्छन्। र हरेक अनुहारभित्र एउटा नदेखिने कथा लुकेको हुन्छ।
बिदा हुने बेला सियाले भनिन्— ‘तपाईं त नामी कथाकार हो, तपाईंको कथाहरू पढिरहन्छु मैले। यदि कहिल्यै कथा लेख्नु भयो भने मलाई खराब मान्छे नबनाइदिनु है। म पनि एक दिन सपना देख्ने मान्छे थिएँ।’
जीवनले कहिलेकाहीँ धेरै गाह्रो परीक्षा लिन्छ। तर याद राख— ‘बिस्तारै हिँड्नु हार होइन, रोकिएर बस्नु हार हो।’
‘अँध्यारो रातपछि बिहान पक्का आउँछ, त्यसैले आफ्नो संघर्षलाई कहिल्यै श्राप नसम्झनु—सायद यही संघर्ष तिम्रो सफलताको कथा बन्नेछ।’
‘तिमी अहिले जहाँ छौ, त्यो अन्तिम गन्तव्य होइन। जबसम्म तिमीले हार मानेका छैनौ, कथा सकिएको छैन,’ म धेरै बेरसम्म केही बोल्न सकिनँ।
‘मानिस अरूले हराउँदैनन्, आफूले हार मानेपछि मात्र हारिन्छ। आजको दुःख भोलिको शक्ति हो।
संघर्षले थकाउँछ तर सफलताले सबै पीडा बिर्साउँछ। दुःख सधैँका लागि बस्दैन। बादल जति बाक्लो भए पनि घाम लुकाएर राख्न सक्दैन।’
त्यो रातको भेट उसको लागि केवल एउटा संयोग थिएन— एउटा कथा थियो, जसले उसलाई मानिसहरूलाई बुझ्ने नयाँ दृष्टि दिएको थियो।
रात बढ्दै गयो। बाहिर नयाँ वर्ष सुरु हुन केही मिनेट मात्र बाँकी थियो।
‘तपाईं किन यति उदास जस्तो?’ सियाले अचानक सोधिन्।
म केही बेर चुप रहेँ। ‘कहिलेकाहीँ लाग्छ, सबैसँग मान्छे छन् तर आफू भित्रै एक्लो जस्तो।’
सिया हल्का हाँसिन्।
‘एक्लोपन सबैमा हुन्छ, कसैले देखाउँछ, कसैले लुकाउँछ।’
ठिक १२ बज्न लाग्दा क्लबभरि काउन्टडाउन सुरु भयो।’ १०… ९… ८…’
सबै कराउँदै थिए। साथीहरू उफ्रिँदै थिए। ‘३… २… १…ह्याप्पी न्यु इयर!’
चारैतिर खुसी, संगीत, चिच्याहट। बाहिर पटाका पड्किन थाले।
मैले सियातिर हेरेँ। उनी मुस्कुराइरहेकी थिइन् तर आँखामा एउटा अजीव उदासी पनि थियो।
‘नयाँ वर्षको शुभकामना,’ भनेँ । ‘तपाईंलाई पनि,’ उनले उत्तर दिइन्।
केही बेरपछि सियाले बिस्तारै भनिन्, ‘म जानुपर्छ… काम पनि यही हो मेरो।’
त्यति बेला मात्र मैले बुझेँ— सिया त्यहाँ सामान्य घुम्न आएकी थिइनन्। उनी जीवनको कठोर परिस्थितिसँग लडिरहेकी एक यौनकर्मी रहिछिन्।
म केही क्षण मौन भएँ।
उसले सोचेजस्तो संसार कति सजिलो रहेनछ भन्ने महसुस भयो। कहिलेकाहीँ मानिसहरूको मुस्कानभित्र कति धेरै कथा लुकेका हुन्छन् भन्ने उसले पहिलो पटक बुझ्यो।
जाने बेला सियाले एउटै कुरा भनिन्— ‘नयाँ वर्षमा एउटा कुरा सम्झिनु— मान्छेलाई बाहिरबाट मात्र नहेर्नु।’
त्यो रातपछि म घर फर्किएँ। साथीहरू रमाइलोको कुरा गर्दै थिए तर मेरो मनमा सियाको कुरा गुन्जिरहेको थियो।
नयाँ वर्ष सुरु भएको थियो। तर त्यो रातले मलाई एउटा नयाँ कुरा सिकाएको थियो— हरेक मानिसको आफ्नै लडाइँ हुन्छ, जुन बाहिरबाट देखिँदैन।