जहाँ,
भइरहेको सबै चिज सकिन्छ
कुनै सामान वा वस्तु
तर कहिलेकाहीँ अचम्म लाग्छ
यहाँ अघि भर्खरै वा हिजोसम्म
आफ्नो जीवनको निम्ति
अपरिहार्य मानिएको
विचार पनि शून्यमा परिणत हुन्छ।
सिंगो आफू जिउनुको आधारशिला
अस्तित्वको पाइला डगमगाएर पनि
फेरि उभिनु पर्ने हुन्छ
जीवन नामको कठोर यात्रामा।
यो तमाम यात्राको नरमपना
हत्तपत्त देखिँदैन
एउटा परीक्षार्थी जस्तो हर तरहले
मूल्यांकनको तमाम खेल मैदानमा
विभिन्न बहानामा उतार्दछ
सृष्टि नामको अदृश्य रचनाकारले!
एउटा सिंगो कलाकारितामा
आफूलाई नै उभ्याइसकेपश्चात्
जब चित्रमा देखिन थालिन्छ
हिजो रुँदै स-साना कुरा प्राप्त गर्न
दौडिरहेको एउटा जीव मै हो त?
भन्ने प्रश्न पनि आफ्नै अगाडि
आइदिन्छ,
समय चक्रको त्यो जीवन नामको युद्धमा
नहारी, नथाकी वा कयौँ असफलताको
कोसेली अनि
बाँच्नलाई आशाहरू मारिसकेको बखत
पनि युद्ध मैदानको सिपाही जस्तो
दृढ निश्चय विजय र शान्तिको लागि
अन्तरमनबाट प्रतिज्ञा गर्ने पात्रलाई
कुनै एक मोडमा जीवनले मुस्कान
रूपी अलंकार पहिराइदिन्छ।
आधी बाटोमै हारेरउभिने साहस नगर्नेहरूले
विजेतालाई ईर्ष्याको भावसम्म
देखाउन थाल्नेछन्
विजय उत्सवलाई चलाखी
वा छल भनेर खिल्ली पनि गर्नेछन्
तर एउटा सिंगो ब्रह्माण्डले त्यो
लडेर फेरि उठ्ने साहस गरेको
योद्धालाई आशीर्वादको
बर्सात गराइराखेको हुन्छ
हरेक समयका सुखद आयामको
अन्त्य हुनु सकिनु नभई
विजय यात्राको सुरुवात पनि बन्न सक्छ।