म कतिसम्मको हुस्सु। एकाबिहानै गुड मर्निङ भन्नुपर्ने। बिर्सने बानीले हैरान बनायो। बिर्सन पनि कसरी सकेको।
म्यासेज गर्नु नगर्नुले केही फरक नपार्ला। अब गर्दा पनि ढिलो नहुन सक्ला। तर यो म्यासेज ढिलो वा छिटोको कुरा थिएन। यो म्यासेज गर्नै पर्ने कुरा थियो। जुन मैले बिर्सिएँ। अब बिर्सेको पछुतोमा बग्नु उपाय हो। तर पछुताएर नै बस्नु पनि त उपाय नहुन सक्छ।
उनी मेरी हुन्। कम्तीमा हिजोसम्म। आजबाट उनी मेरी होइनन्। कम्तीमा यो जुनीसम्म।
आज मंसिरको १८ गते। यो वर्षको बिहेको लागि सबैभन्दा उत्तम साइत।
म सम्झन्छु उनलाई। कलेजमा पहिलो पटक भेटेको। बिएससी फर्स्ट एअर। ऊ थर्ड रोमा बसेकी। आँखामा गोलो पावरवाला चस्मा। चस्मा र आँखालाई जिस्काउन झर्ने कपाल। कपाललाई सबक सिकाइरहने हात टाउकोमा उठ्दा, झर्को लाग्दो आकृति उसको मुहारले बनाउँथ्यो। त्यो आकृति सबैभन्दा प्यारो देखिन्थ्यो। माया पनि लागेर आउँथ्यो।
पढाइमा अब्बल थिई ऊ। क्लासको फर्स्ट गर्ल। ऊ मात्रै हैन, मलाई पनि पढ्न मन पर्छ। सायद यहाँ पढ्न आएका सबैलाई।
लिजर पिरियडको सदुपयोगमा म लाइब्रेरी पुग्थेँ। उनीहरूको ग्रुप पनि टेबलमा किताब ओछ्याएर ज्ञानका बाफ तानिरहेका भेटिन्थे।
लाइब्रेरीमा भएका किताब मैले लगभग पढिसकेको छु। खासै नयाँ किताब आउँदैन। उही पुरानै नेपाली उपन्यास र कथा। मलाई राम्रोसँग थाहा छ। नेपाली उपन्यास अझै गाउँ बोल्छन्। प्राय: राम्रा किताबहरू जनयुद्धका कथा बोकेका छन्। कति कथाका अन्त्यहरू साधु सन्यासी बनेरै सकिन्छन्। जीवनको तात्पर्य कति सजिलै बुझाउँछन् नेपाली कथाहरूले। नेपाली उपन्याससँग म बानी परेको छु। विशेष गरी यसको अन्त्यमा।
जसरी प्राय: नेपाली मुभीहरूमा भिलेनको अन्त्य हुन्छ र हिरो हिरोइनको पुनर्मिलन।
यति सोच्दा सोच्दै।
पुर्लुक्क उसको किताबको कभरमा आँखा पुर्याएँ- 'द भेजिटेरियन' हान् काङको उपन्यास।
उसको बुकको टेस्ट गज्जब लाग्यो।
मलाई साइन्स फिक्सन मन पर्न लागेको छ आजकाल। राजनीति र सेल्फ हेल्प बुक पनि पढ्ने गर्छु।
'यो बुक पढेर मासु खान छोड्ने कि? रुख नै बन्ने सोच हो?' म उसको नजिक गएर हाँस्दै सोधेँ।
'किन तिमी चाहिँ आफ्नो भविष्य मरुभूमिमै बाँच्न चाहन्छौ र?' उसले मेरो हातमा राखेको ड्युन बुक हेरेर भनेकी थिई।
'ओहो, ड्युन पढिसक्नु भयो?'
'मुभी हेरेकी छु।'
उसको मुभीको टेस्ट पनि गज्जब लाग्यो। त्योभन्दा राम्रो उसको आखिभौँ उचाल्दै सिधै प्रश्न गर्न सक्ने कन्फिडेन्स।
'पुरुषहरूको व्याख्या सधैँ, आफू अनुरूप हुन्छ। महिलाको स्वतन्त्रता र पीडाको कुरा किन देख्थे र! सतही विश्लेषण।'
ऊ अघिनैको मेरो प्रश्नको उत्तर दिँदै थिई। उसको मुखाकृति अझै बिग्रेर आयो। मलाई झनै माया लागेर।
'हेलो म रिभास' हात बढाउँदै मैले परिचय दिएँ।
'हाई, अवन्ति' उसले बेस्सरी मेरो हात समाई।
***
'एटोमिक स्ट्रक्चर र न्युक्लियर केमिस्ट्री'
हिरामणि सरले प्रोजेक्टर अन गरेर लेक्चर सुरु गर्नु भयो। बोहर्सको थ्योरीले भन्छ, इलेक्ट्रोनहरू न्युक्लियसको वरिपरि जथाभाबी घुम्दैनन्। एकै निश्चित भएर घुम्छन्।
मेरो नजर अवन्तितर्फ घुम्यो। मेरो मनको अर्बिट उसको वरिपरि एकैनाशले घुम्दै थियो।
अवन्तिले मलाई पुलुक्क हेरी। मैले शिर घुमाएँ। फेरि उतर्फ फर्किँदा मुसुक्क हाँस्दै नोट्स लेख्दै थिई।
हाम्रो क्लासमा चालिस जना थियौँ। सात जना केटी बाँकी सबै केटा।
मलाई चेतन भगतको टु स्टेट्सको याद आउँथ्यो। त्यही बुकको कोणबाट सोच्थेँ, यी केटीहरू सायद आफूलाई सबैभन्दा सुन्दर ठान्छन् होला। नठानून् पनि किन, कक्षाको औसत देखिनेको पछाडि बोल्नेहरूको त्यस्तै लाइन हुन्थ्यो। अवन्ति त राम्री, ट्यालेन्टेड अनि एक्सट्रोभर्ट नै थिई।
बोल्नमा त म पनि कम थिइनँ। मान्छे रूपमा औसत नै भए पनि।
मलाई अवन्ति मन पर्यो या नाइँ बुझेकै थिएन। उसलाई देख्न पाइरहे हुने भन्ने फिल पनि थिएन। उसमा भुतुक्कै भएकै थिएन। तर एउटा आकर्षण थियो। केको थाहा थिएन।
हामी बिस्तारै नजिकिएका, मिल्दै गरेका साथी थियौँ। त्यति मात्र।
अवन्ति मेरो प्रेम होइन। ऊसँग मलाई यौनिक वा भावनात्मक फिलिङ्स केही छैन। छ भने छ, एउटा लगाव। उसको र मेरो मिल्ने भनेको हाम्रो जिद्दीपना। कुनै विषयको डिबेट। जसलाई अन्तिमसम्म अनेक लजिक हालेर पुर्याउन सक्थ्यौँ हामी।
हामी घरबाट टाढा थियौँ। कोही कलेजकै होस्टेलमा बस्थे। कोही बाहिरी होस्टेलमा। कोही रुम रेन्टमा लिएर पनि। म बाहिरी होस्टेलमा बस्थेँ। यसो गर्दा मेरो स्वतन्त्रता गुम्दैनथ्यो। अनि खाना बनाउने, कपडा धुने अल्छीपनाले सधैँ सुकुन।
यहीँनेर पनि अवन्ति र मेरो कुरा मिल्थ्यो।
'तिमी केटी भएर पनि कस्तो अल्छी?' साँझपख होस्टेलबाट फुत्त भागेर, पोखरीको छेउ नेर बियर चियर्स गर्दै गर्दा अवन्तिलाई मैले सोधेँ।
'तिमी केटाहरू, केटी मान्छेलाई किन साधन मात्र सोच्छौ हँ?' एक घुट्की बियर पिउँदै उसले जवाफ फर्काइसकेकी थिई।
'साधन मान्या होइन, केटी मान्छे यस्तो कुरामा फरवार्ड हुन्छन्, तिमी किन उल्टो?'
मेरो बियर आधा भइसकेको थियो।
'हामी यो जेनेरेसनको मेलसँग, हरेक कुरामा इक्वल छौँ भनेर देखाउन चाहन्छौँ। म त्यसैमा पर्छु होला,' उसले चस्मा अलिकति तल पारेर आँखा झिम्काउँदै भनी।
मेरो बोतल सकिएको थियो। उसको पनि। हामीले ब्यागभरि बियर बोकेका थियौँ। अवन्ति दुई बोतलपछि मात्तिन्छे। हरेक कुरामा बराबर भए पनि बियरको नशा चढ्नमा ऊ अगाडि थिई। यतिबेला अवन्ति राम्री देखिन्थी।
'रिभास जी मान्छे न्युटनको ल जस्तो हुनुहुन्न बुझ्नुभो।'
'ए लल, तर कुन चाहिँ ल जस्तो हुन नहुने रैछ अवन्ति जी?'
'वस्तु स्थिर अवस्थामा बस्यो भने स्थिर नै हुने, चलायो भने बल्ल चल्ने।'
'मान्छे यस्तै त छ नि होइन?'
'त्यही त हुनु भएन नि। मान्छे त स्वचालित हुनुपर्यो। स्वयंविवेकी हुनुपर्यो। कम्फर्ट जोन छोड्नु पर्यो। रिस्क लिन सक्ने हुनु पर्यो।'
ऊ बोल्दा बोल्दै आएर मेरो ओठमा चुमिदिई।
मेरो कल्पना बाहिरको कुरा। उसलाई चुम्न सक्नु नसक्नु अन्य कुरा हो। यतिबेला यो अवस्थामा मैले यो चिताएको थिइनँ। उसो भए मन परेन त? त्यसो कहाँ हुनु।
मैले बेस्सरी अँगालेँ। उसको शरीर भारी होइन, नशाले केही भारी बनाएको थियो। धड्कन दुवै जनाको जोड जोडले धड्किँदै। तर उसको बिन्दास आवरण अनुहारमा चम्किँदै थियो। र यहीँबाट सुरु भयो हाम्रो प्रेम।
***
'तिमी बदलिँदै गएको हो?'
'बदल्ने मान्छे भएपछि।'
'गुड मर्निङको म्यासेज, नाइटमा आउँछ। गुड नाइट भनेर।'
'दिउँसोभरि सँगै त हुन्छौ, हैन र?'
'किन रात परेपछि बोल्नै नहुने, छुट्टिनु पर्ने हामी चखेवा हो र?'
'सरी'
'यो १२५ औँ सरी हो। यहीँ कुराको लागि।'
हामी बिएससी तेस्रो वर्षमा पुगिसकेका थियौँ। क्लास अब चालिस जनाको थिएन। कोही बिहे गरेर गइसके। परीक्षा मात्र दिन आउँथे। कोही विदेश गइसके।
थियौँ अवन्ति र म। उस्तै रूपमा। दिउँसो लेक्चर। साँझ कहिले पोखरीको बास। कहिले मुभी हेर्न।
अवन्तिको पढाइ उस्तै अब्बल। उसको हावाले मेरो पनि पढाइ राम्रो नै थियो। सम्बन्ध प्रगाढ नै थियो। तर मेरो बानी बिर्सिने। भुलक्कड? होइन होइन। हेलचेक्र्याइँ। जानी जानी गरेको? होइन बानी परेको।
अवन्तिले गाली गर्थी। त्यो गालीमा माया थियो।
फोर्थ इयरको तयारीको बेला ऊ तराई घर फर्किई। म होस्टेलमै थिएँ। यहीँबेला बढ्यो दूरी। मेरो बानीको प्रभाव बल्ल देखियो। म बेप्रवाह थिएँ। हरेक दिन एकपटक बोल्नै पर्ने सर्त थियो। त्यसलाई इमानदारीपूर्वक निभाएको थिएँ। म्यासेजमा रेगुलर कन्भरसेसन त उसले अपेक्षा नै गर्थिनन्। मैले जाँगर पनि। ऊबिना केही खल्लो त हुने रहिछ।
घर गएर होला मोटाएर आइछे। ऊ आएपछि परीक्षाको तयारी गर्यौँ। ग हुनुको भाइब्स छुट्टै हुन्थ्यो। परीक्षा दिएपछि ऊ फेरि तराई फर्किई।
मेरो बिर्सने बानी बढ्न लाग्यो। कहिलेकाहीँ निद्रा नलाग्ने। रातमा झस्किने भइरहन्थ्यो। यसको क्रम बढ्न लाग्यो। अवन्तिसँगको बोल्ने क्रम यसै घट्दै गयो।
***
'मेरो बिहे हुँदैछ।'
'बेहुलालाई थाहा छैन। '
'तिमी बेहुला होइनौ, बहुला भइसक्यौ। तिमीलाई मेरो वास्ता छैन। हामी प्रेममा थियौँ। प्रेम सबै विवाहमा पुग्नै पर्छ भन्ने हुँदैन,' एक मध्यरात उसले फोन गरेर भनेकी थिई।
'ह्याप्पी म्यारिड लाइफ। बिहान म्यासेज गर्छु,' यति भनेर मैले कल कट गरिदिएँ।
म दुखी छु? अवन्ति मसँग छैन भनेर होइन। अवन्ति मसँग अब हुँदिनन् भनेर।
म अवन्तिसँग प्रेममा कहिल्यै थिइनँ। आई लभ यु कहिल्यै भनेनौँ। न आई मिस यु। प्रेमका पर्यायवाची शब्दको वाचन बिनाको पनि प्रेम हुन्छ र? दूध र चिनी बिनाको खिर। त्यो खिर होइन। हाम्रो प्रेम जस्तो।
उसो भए प्रेम के हो?
जेसुकै होस्। मैले अवन्तिलाई मन पराएको होइन माया गरेको हो। मन परेको मान्छे हो आफूसँगै रहोस् भन्ने चाहना हुने। माया गरेको मान्छे त जोसँग भए पनि खुसी होस् भन्ने हुने रहेछ।
***
आज अवन्तिको बिहे। मैले म्यासेज गर्छु भनेँ तर गर्न मन लागेन। सुरुमा त बिर्सिएछु। अहिले सम्झिँदै छु। अब सम्झेर अर्थ छैन।
अवन्ति आफैँले यो निर्णय गरेकी हो। ऊ खुसी छे।
अनि म? म के छु?
म मौन छु। बुझ्नेहरूले भन्नुपर्नेछ मलाई, के अवन्ति मेरी हुन्?