जिन्दगी भनेकै शीतको थोपा न हो,
बिहानीको शीतझैँ सर्वत्र छरिन्छ—
केही क्षण घाममा टल्किन्छ
अनि केही समयमै बिलाउँछ।
बिहानीको शीतझैँ हो यो जीवन—
घामको एक हल्का स्पर्शले
जसरी शीतको अस्तित्व हराउँछ,
त्यसरी नै,
यो जीवन पनि हराउन सक्छ।
तैपनि हामी
यसलाई सधैँभरि रहने जीवन सम्झेर
मुटुभरि अनगिन्ती आशाहरू रोपिरहन्छौँ।
यो जिन्दगी भनेको
घाम जस्तै क्षणिक चमक हो,
केही बेर उज्यालो ताप दिन्छ,
अनि बिस्तारै क्षितिजपारि
त्यही ताप सँगै हराउँदै जान्छ।
आज छ, भोलि छैन—
यही त हो जिन्दगीको।
यहाँ आस्था आ–आफ्नै छन्,
विचार आ–आफ्नै छन्,
चाहना आ–आफ्नै छन्।
कसैले यसलाई
‘एक बारको जुनी’ भन्दै पूजा गर्छन्,
त कसैले
वेदनाका रोषहरू सम्झौतामा पोख्छन्।
यही संसारको भीडमा
कोही मरेर पनि बाँचेका छन्
त कोही बाँचेर पनि
भित्र भित्रै मरेका छन्।
यहाँ हाँसो छ,
यहाँ आँसु छ।
यहाँ सफलताका उज्याला बाटाहरू छन्,
यहाँ निराशाका अँध्यारा गल्लीहरू छन्।
तर अन्ततः
जन्मिनु र मर्नु
प्रकृतिको रीत नै त हो।
हामी त केवल
समयको यात्रामा
क्षणभर टल्किने शीतका थोपा हौँ—
बिहानीको उज्यालोसँगै जन्मिने,
घामको स्पर्शसँगै बिलाउने,
तर त्यो सानो क्षणमै संसारलाई
एक थोपा चमक दिएर जाने।
शीतका थोपा न हौँ।