कहिलेकाहीँ जीवनमा केही मानिसहरू यति नजिक आउँछन्, लाग्छ अब यो मान्छे कहिल्यै टाढा जाने छैन।
उनको हाँसोमा आफ्नो खुसी भेटिन्छ, उनको दुःखमा आफ्नो मन दुख्छ र उनको एउटा सानो सन्देशले पनि पूरा दिन उज्यालो बनाइदिन्छ। मलाई पनि त्यस्तै लागेको थियो।
एउटा पराई मान्छे मेरो जीवनमा आएको दिनदेखि प्रेमको अर्थ नै बदलिएको थियो। उनले बोल्दा घण्टौँसम्म सुनिरहन मन लाग्थ्यो। कति रात अनिँदो बसेको थिएँ। उनी रिसाउँदा मनाउन मन लाग्थ्यो। उनी चुप लाग्दा उसको मौनताभित्र लुकेका कुरा बुझ्न मन लाग्थ्यो। मैले उनलाई कहिल्यै आफ्नो भनेर दाबी गरिनँ। तर मनले भने उनलाई आफ्नो बनाइसकेको थियो।
हामीबीच धेरै कुरा थिए— अनगिन्ती कुराकानी, रातभरिका फोन, सँगै देखेका सपनाहरू र भविष्यका ती मीठा कल्पनाहरू।
उनले पनि भन्थी, 'तिमीबिना म अधुरी हुन्छु। तिमी मेरो प्राण हौ।'
त्यही एउटा वाक्यमा मैले संसार जितेजस्तो महसुस गरेको थिएँ।
तर प्रेममा सबैभन्दा ठूलो गल्ती के रहेछ भने– कसैको शब्दलाई आफ्नो भविष्य सम्झिनु।
दिनहरू बित्दै गए, हामी दैनिकजसो दूरीले टाढा भए पनि फोनमा सँगै हुन्थ्यौँ। मैले सबैथोक बिर्सेर उसँग सबैथोक साट्न थालेँ, वर्षौँदेखि सुख-दुःखमा साथ दिएका साथीहरू टाढा भए।
मैले सबैथोक ठानेर उनको त्यो सुरूआतको मायामा प्रभावित भएँ। तर त्यो खुसी धेरै दिन टिक्न सकेन। उनको व्यवहार बिस्तारै बदलिन थाल्यो।
पहिले घण्टौँ कुरा गर्ने ऊ अब केही मिनेटमै सीमित हुन थाली।
'पछि कुरा गरौँला', 'किन कल गरेको?', 'के काम थियो?' भन्न थाली।
पहिले मेरो सानो दुःखमा पनि चिन्ता गर्ने उनी अब मेरो आँसु देख्दा पनि मौन बस्न थाली।
मैले एकदिन गम्भीर भएर सोधेँ, 'के भयो?'
उनले भनिन्, 'केही भएको छैन।' तर प्रेम गर्ने मान्छेले ‘केही भएको छैन’ भित्र धेरै कुरा भएको बुझ्दो रहेछ।
केही दिनपछि उनले आफै सत्य भनिन्— 'म तिमीलाई छोड्न चाहन्नँ, तर मेरो जीवनलाई तिमीले बुझिदेऊ।'
म केही बोल्न सकिनँ। उनको जीवनमा अर्को मान्छे थियो। त्यो मान्छे, जसलाई उनले परिवारको इच्छा, परिस्थितिको बाध्यता र आफ्नो भविष्यसँग जोडेर हेर्न थालेकी थिई।
मैले धेरै प्रश्न गर्न सक्थेँ— ‘म के कम थिएँ?’, ‘तिमीले गरेका वाचा कहाँ गए?’, ‘मसँग देखेका सपना कसरी यति सजिलै बिर्सियौ?’ तर ती प्रश्नहरूको उत्तर पाए पनि मेरो प्रेम फर्किने थिएन। त्यसैले चुप लागेँ, आफूलाई मौनतामा हराएँ। अन्तिमपटक उनले भनिन्, 'मलाई माफ गर।' 'मलाई धेरै निगरानी, फोन गरेको मन पर्दैन। मैले आफ्नो दुःख साटौँला भनेर साथी रोजेको हुँ। मलाई बारम्बार कल गरे मलाई रिस उठ्छ।'
मैले मुस्कुराउँदै भनेँ, 'तिमी खुसी हुनु।'
त्यो मेरो मुस्कानभित्र कति पीडा थियो, त्यो उनले देखिन। फोन काटिएपछि म धेरैबेरसम्म त्यही स्क्रिन हेरेर बसिरहेँ। उनको अन्तिम ‘माफ गर’ अझै कानमा गुञ्जिरहेको थियो। त्यो रात पहिलोपटक थाहा भयो— कसैलाई गुमाउनु भनेको मान्छे गुमाउनु रहेनछ। उसँग जोडिएका आफ्ना सपना, बानी, आशा र भविष्यका कल्पनाहरू पनि गुमाउनु रहेछ।
हो, अब म साँच्चै थाकिसकेको छु। कसैको माया पाउनका लागि बारम्बार आफूलाई प्रमाणित गर्नुपर्दा आफ्नो अस्तित्व नै सानो लाग्न थाल्दो रहेछ।
म तिम्रो समयका लागि, तिम्रो ध्यानका लागि, तिम्रो एउटा सानो म्यासेजका लागि दिनभरि पर्खिने मान्छे बनेको थिएँ।
फोनको स्क्रिनमा तिम्रो नाम देखिन्छ कि भनेर सयौँपटक फोन अनलक गर्थेँ।
हरेक नोटिफिकेसन आउँदा मुटु एकछिन खुसी हुन्थ्यो, तर फेरि थाहा हुन्थ्यो, त्यो तिमी होइनौ।
सायद तिमीलाई कहिल्यै थाहा भएन, कसैलाई यति धेरै सम्झिनु कति पीडादायी हुन्छ भनेर। तिमी व्यस्त थियौ होला, आफ्नै दुनियाँमा रमाइरहेकी थियौ होला। तर म भने तिम्रो एउटा 'कस्तो छौ?' भन्ने शब्दको आशामा पूरै दिन बिताइरहेको थिएँ। म सधैँ तिम्रो लागि उपलब्ध भएँ। तिमी दुःखी हुँदा साथ दिएँ, तिमी टुट्दा सम्झाएँ, तिमी एक्लो हुँदा समय दिएँ। तर जब म आफै भित्रभित्रै टुटिरहेको थिएँ, त्यो कसैले देखेन। सायद मैले आफ्नो पीडा धेरै लुकाएँ। म यति धेरै ठिक छु भन्न बानी परेँ कि कसैले मेरो आँखाभित्रको थकान पढ्न सकेन।
अब मैले बुझ्न थालेको छु, मायाले जबर्जस्ती कसैलाई रोक्न सक्दैन। जसलाई बस्न मन हुँदैन, उसलाई हजार कारण दिए पनि ऊ जान्छ। र जसले साँच्चै माया गर्छ, उसले कहिल्यै आफूले माया गरेको मान्छेलाई यति धेरै एक्लो महसुस गराउँदैन।
तिमीले बिस्तारै मबाट टाढा हुन सिक्यौ... म पनि अब तिमीबिनाको जीवनमा आफूलाई बानी पार्दै छु।
पहिला तिम्रो म्यासेज नआउँदा निन्द्रा लाग्दैनथ्यो, अहिले भने फोन नै साइलेन्टमा राख्न सिक्दैछु। पहिला तिम्रो एउटा रिप्लाइले दिन राम्रो हुन्थ्यो, अहिले भने आफ्नै मन बुझाउन सिक्दैछु। साँचो कुरा के हो भने, म अझै पनि तिमीलाई नराम्रो मान्न सक्दिनँ। किनकि केही मान्छेहरू हाम्रो जीवनमा खुसी भएर होइन, पाठ बनेर आउँछन्। तिमीले मलाई एउटा ठूलो पाठ सिकायौ।
समय बित्दै गयो।
उनी आफ्नो संसारमा अघि बढिन्। म आफ्नै एक्लोपनसँग बाँच्न सिकेँ। कहिलेकाहीँ उसको सम्झना आउँदा मनले अझै सोध्छ— 'यदि परिस्थितिले साथ दिएको भए, के ऊ मेरी हुन्थी?'
तर आज उत्तर थाहा छ। अरूको मान्छे कहिल्यै आफ्नो हुँदो रहेनछ। जति माया गरे पनि, जति सम्झिए पनि, जति आँसु बगाए पनि– मनले चाहेको मान्छे आफ्नो भाग्यमा लेखिएको नहुँदो रहेछ। प्रेम भनेको पाउनु मात्रै रहेनछ। कहिलेकाहीँ प्रेम भनेको आफूले सबैभन्दा धेरै माया गरेको मान्छेलाई आफ्नै हातले बिदाइ गर्नु पनि रहेछ।
मलाई आज पनि उनको सम्झना आउँछ। तर अब उनलाई पाउने चाहना छैन।
बस्, मनबाट एउटा प्रार्थना निस्कन्छ— 'जहाँ भए पनि खुसी रहनू। तिमी मेरो हुन नसके पनि, मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय बनेर सधैँ रहिरहनू।'
किनकि केही प्रेमहरू विवाहमा पुग्दैनन्, साथमा पुग्दैनन्, गन्तव्यमा पुग्दैनन्। तर पनि ती प्रेमहरू झूटा हुँदैनन्। ती अधुरा हुन्छन्। र अधुरो प्रेमको सबैभन्दा ठूलो सत्य यही रहेछ— 'मनले आफ्नो मानेको मान्छे पाउन भाग्यले आफ्नो नबनाउनुपर्दो रहेछ।'
आफ्नो मूल्य त्यहाँ खोज्नु हुँदैन जहाँ तिमीलाई बारम्बार बेवास्ता गरिन्छ भनेर। अब म कसैको पछाडि दौडिन चाहन्नँ। अब म आफूलाई गुमाएर कसैलाई पाउन चाहन्नँ। किनकि अन्त्यमा, सबैभन्दा धेरै साथ दिनुपर्ने मान्छे आफू नै रहेछ।
हो, केही रात अझै गाह्रो हुनेछन्। केही यादहरूले अझै आँखा रसाउनेछन्। कतिपटक मन फेरि तिमीलाई सम्झेर कमजोर हुनेछ, तर म बिस्तारै निको हुँदै जानेछु।