आहा! कस्तो नवीनतम् अनुभूति। देहको कोमल स्पर्श नयाँ। वस्त्रबाट आउने सुगन्ध नयाँ। शृंगार नयाँ। दृश्यहरू नयाँ। कस्तो आनन्दमय क्षण। तनमन मिल्ने जीवनसाथी। कस्तो रमाइला पलहरू।
झण्डै बिहे गर्दिनँ भनेर जिद्दी गरिनछु। धन्न बिहे गरेँ, ठिकै गरेँ। होइन भने यस्तो सुखद क्षण जीवनबाट त्यसै फुत्कने रहेछ। ऊ मनमनै फुर्किई।
नवदम्पतीका हनिमूनका दिनहरू चलिरहेको थियो। घरभन्दा निकै परको शहरमा पुगेका थिए उनीहरू। त्यो शहर निकै सुन्दर थियो। उनीहरू जस्तै हनिमून मनाउन आएका अन्य जोडीहरू पनि देखिँदै थिए। घुम्दै जाँदा शहर नजिकैको रमणीय होचा पहाडहरूमा पुगेका थिए उनीहरू।
ऊ अहिले त्यही होचो पहाडबाट झरिरहेको झर्ना बढो रोमाञ्चित भएर हेरिरहेकी थिई। श्रीमानले भखैरै फुकाइदिएको कपालको जुरो कम्मरसम्म फैलिएर सुस्तरी हावामा हल्लिरहेको थियो।
ओसिलो पहाडिया काखमा बसेकी ऊ चारैतिर मग्न भएर हेरिरहेकी थिई। अलिपर नदी किनाराका पसलमा मान्छेहरू चिया कफी खाइरहेका देखिँथे। वरपर आफूजस्तै युगल जोडीहरू रमाइरहेका थिए। सिमलको भुवाजस्तै हल्का भएको थियो उसको तनमन। ऊ मग्न थिई। उसका वस्त्रहरू हावाले कहिले यता, कहिले उता सुस्तरी खेलाइरहेको थियो। मानौँ हावाले पनि उसलाई जिस्क्याई रहेको छ। उसलाई अहिले जिस्किएको खुब मन पर्छ।
वरपरको दृश्य असाध्यै सुन्दर छ। छङछङ गर्दै झरेको झर्नाको छाँगो अलिपर गएर नदीसित मिलेको छ। होचा पहाडहरू हरियाली छन्। अनेक जातका चराचुरुङ्गी यताउता उडिरहेको देखिन्छ। जीवनको यौवनकालीन क्षणमा पुगेकी ऊ यी दृश्यहरूमा बढो आल्हादित भइरहेकी छे।
नजिकै देखिएको नदीको सङ्गमलाई उत्सुकतापूर्वक हेर्दै मनमनै सोच्छे ऊ लाग्छ हनिमून पनि एउटा सङ्गम नै रहेछ। दुई धारबाट बग्दै आएका नदीको सङ्गमजस्तै सुन्दर मिलन। त्यो सङ्गमको हलचल उसलाई खुब मनपर्छ।
जता हेरे पनि कोमल मादकता, देहभरी यौवनाभूतिको मिठास, सामिप्यताको न्यास्रो कस्तो अनौठो र मीठो अनुभूति ऊ आफ्नै धुनमा व्यस्त छे। उसलाई लाग्छ मानौँ धर्ती पनि यतिबेला यौवनको उत्सव मनाइरहेको छ।
एक्कासि बोलाएको आवाजले झस्की ऊ। हातमा दुई कप तातो कफी बोकेको उसको श्रीमान पल्लो ढुङ्गामा उभिएर हाँस्दै भन्दैछ – म बबुरो बोलाएको बोलाइँछु तर यहाँ औँसीभन्दा पनि कालो गाजल लगाएकी, हिउँभन्दा पनि गोरी केटी, पानीभन्दा पनि तरल प्रेममा मग्न भएर बगेकी बग्यै छ।
अनि प्रेममै बगेकी हो भन्ने चाहिँ कसरी नी ? श्रीमतीले जिस्किँदै भन्छे।
ऊ श्रीमतीसित टाँसिएर बस्दै भन्छ यी यसरी नी। कफीबाट निस्केको तातो बाफ ती दुईको कोमल हाँसोको ध्वनिमा मिसिँदै उडिरहेको छ।
अनेक बहानामा श्रीमान जिस्किरहने, हरपलको सामीप्यता, निष्फ्रिकको घुमाई, उसलाई लाग्यो आहा कस्तो सुमधुर बिहानी, कस्तो उत्साहले भरिएका दिन, कस्तो मृदुल रात। मीठो सपनाजस्तै ब्यूउँझिनै नपरोस् जस्तो।
आहा ! जीवन। आहा ! हनिमून।
अहिले ऊ घुँडामाथि चिउँडो राखेर आफ्ना औँलाका नङ्गहरूलाई बढो आनन्दले हेरिरहेकी छे। श्रीमान ती मुलायम औँलाका लामा नङ्गहरूमा खुब जतनले नेलपालिस लगाउँदैछ। वायुमण्डलमा फैलिएको हावाले सुस्तरी सुकाउला भने झैँ ऊ आफ्नो श्वासे गुफाबाट लामो लामो श्वास निकाल्दै फुँ फुँ गर्दै नेलपालिस दलिएको नङ्गमा पालैसित फुक्दै रहन्छ। श्रीमती अपार आनन्दले मुस्कुराइ रहन्छे।
तिम्रा यी सुन्दर नङ्गहरू सधैँ यस्तै राख है। उसले ती औँलाहरूलाई सुमसुम्याउँदै भन्छ। श्रीमती श्रीमानलाई हेर्दै शब्दभन्दा मीठो मुस्कान पस्कन्छे।
त्यो मुस्कान नबिग्रियोस् भनेर श्रीमान ओठ र गालालाई होइन श्रीमतीको लामो कपाललाई सुस्तरी मुसार्न थाल्छ।
उनीहरू एउटा भव्य म्युजियममा पुगे। जहाँ चम्किला पत्थरहरू जडिएका गरगहनाहरू थिए। सजावटका अनेक सामानहरू थिए। सदियौँ अघि धर्तीमा आएर आफ्ना पुरुषार्थ प्रदर्शन गरेका विशेष मानिसहरूले भोग गरेका मूल्यवान् चिजबिजहरू थिए। कलात्मक चित्रहरूको प्रदर्शनी पनि थियो। म्युजियम घुम्दै गर्दा श्रीमानले श्रीमतीतिर हेरेर भन्यो – बुझ्यौ मलाई त तिम्रो यति सुन्दर लामो नङ्ग, यो झर्ना झैँ मुलायम कपाल यही म्युजियममा राखौँ जस्तो लोभ पो लाग्यो।
किन नि ? श्रीमतीले सोधी।
श्रीमानले झन् जिस्किँदै भन्यो – किन हुनु नी। वर्षौ पछि पनि यहाँ आउनेहरूले थाहा पाउन् कि कुनै बेला यहाँ एउटा सुन्दर युवती आफ्नो श्रीमानसित हनिमून मनाउन आउँदा यहाँ घुम्न आएकी थिई।
श्रीमानको पाखुरामा चिमोट्दै श्रीमतीले आँखा तर्दै भनी – जे पायो त्यही। श्रीमान मज्जाले हाँस्यो। श्रीमतीको सुन्दर औँला चुम्यो। कम्मरसम्म फैलिएको कपाल सुमसुम्यायो र अँगालेर श्रीमतीलाई आफ्नो छातीमा करप्प टाँस्यो।
श्रीमतीलाई खुब मन पर्यो श्रीमानको प्रशंसा। ऊ पनि झन् झन् श्रीमानको छातीमा टाँसिदै मुन्टो उठाउँदै श्रीमानको अनुहारतिर हेर्दै हाँसी। ती दुईको मृदुल हाँसोको ध्वनि म्युजियमभरी छरियो।
जहाँ घुम्न पुगे पनि श्रीमानले उसलाई प्रशस्त उपहार किनिदियो। समुद्र किनारामा पुग्दा मोतीको माला उपहारमा दिँदै उसले भन्यो – मोती दाना जस्तै दन्तलहर भएकी सुन्दरीलाई मोती उपहार।
हनिमूनका दिनहरूमा उसले आफै खानै परेन लगभग श्रीमानले नै उसलाई खुवाइदियो। लामा नङ्गहरूमा फेरि फेरि पनि पालिस उसले नै लगाइदियो। कपाल नबिगारी खुब सुमसुम्याइरह्यो।
अब उसको आँतैेले भन्यो – आहा ! हनिमून। जीवनको यात्रा यो हनिमून जत्तिकै स्वादिलो रहोस्।
केही दिनपछि उनीहरू घर फर्किए अनि आफ्नै गृहस्थीको लयमा फर्किए। दिन बित्दै गयो ऋतुहरू बदलिए।
हातमा लगाएको मेहन्दीको रङ्ग क्रमशः हरायो। उनीहरू गृहस्थी धन्दामा व्यस्त हुन थाले।
श्रीमान बिहान हतार हतारमा खाना खाएर निक्लन्थ्यो। घर फर्कँदा झमक्क रात परिसक्थ्यो। श्रीमती पनि घरायसी धन्दामा अल्झिरहेकी हुन्थी।
श्रीमतीको लामो कपाल उसको स्याहारले अझै लामो हुँदै गएको थियो। हातको नङ्ग पनि उत्तिकै सुन्दर थियो। ऊ चाहन्थी आफ्नो सुन्दरतामा श्रीमानले कुनै कमी महसुस नगरोस्। तर पनि श्रीमानले ऊप्रति रुचि हटाउँदै गएको त होइन भन्ने कुरामा उसलाई कताकता शङ्का लाग्दै थियो।
हिजो अस्तिभन्दा पनि अलि छिट्टै भान्छामा आएर श्रीमानले हत्तारिँदै भन्यो – अझै भात पस्केको छैन। छिटो गर न।
श्रीमतीले हतारिँदै भात पस्की। श्रीमान भात खान थाल्यो। कचौराको दाल भातमा खन्याउँदै गर्दा श्रीमान एक्कासि तर्सिँदै उठ्यो र कचौरा भुइँतिर हुत्यायो। आधा दाल भएको कचौरो टङ्र्याङ्ग् गर्दै डाइनिङ टेबुलबाट तल झर्यो र भुइँभरी दाल पोखियो।
श्रीमान रिसले आगो भयो। फन्कँदै खान लागेको भात छाडेर ऊ हिँड्यो। श्रीमती जिल्ल परी। ऊ डराई र श्रीमानको पछि लागी। श्रीमान हुत्तिँदै बेडरूमतिर लाग्यो। ऊ अफिस जाने लुगा लगाउन थाल्यो जुन लुगा उसले आइरन गरेर पलङ्गमा राखिदिएकी थिई।
श्रीमानले त्यो आइरन गरेको कमीज पलङ्गबाट उठायो र लगाउन थाल्यो। श्रीमती केही नबोली ढोकामा उभिरहेकी थिई। हुन त त्यस्तो हसँमुख श्रीमान अहिले उसित गफिरहन नभ्याएर हो वा सम्बन्ध पुरानिँदै गएर सामान्य हुँदै गएको हो त्यो कुरामा ऊ केही दिनदेखि अलमल्ल परिरहेकी थिई। अन्जानवश ऊबाट आज भूल भएको थियो। फेरि अर्को भाग खाना पस्किन्छु भन्ने आँट उसलाई आइरहेको थिएन। ऊ सिर्फ श्रीमानलाई हेरेर उभिरहेकी थिई।
लगाउन लागेको कमीज झटकार्दै श्रीमानले फेरि मुख बिगारेर भन्यो – छ्या !
कमिजबाट झटकारिएको रौँ भुइँतिर खस्यो। श्रीमतीले सरसफाइमा जति नै सावधानी बढाउन थाले पनि कतै न कतै केही न केही त्रुटि भइजान्थ्यो।
श्रीमान भर्याङ ओर्लदैँ थियो श्रीमती पनि उसको पछि लागी श्रीमान घरबाट हिँडेपछि मूलढोका लगाउन। त्यो उसको नित्यको काम थियो। अफिस जाँदै गर्दा श्रीमानले मीठो स्पर्श गरेर गएँ है भनेको उसलाई खुब मन पथ्र्यो।
श्रीमानले भर्याङ मुनि राखिएको हिजो अस्ति लगाएको जुत्ता नलगाएर आज र्याकबाट अर्कै जुत्ता निकालेर झिक्यो र लगाउन थाल्यो। लगाइसकेको एउटा खुट्टाको जुत्ता फेरि खोल्यो र निहुरिएर जुत्ता भित्र हात छिरायो।
उसले नमज्जाले मुख बिगार्दै श्रीमतीतिर हेर्यो। पैताला बिझाएको त्यो चोइटोलाई छिनाउँदै भुइँतिर हुत्यायो। त्यो उछिट्टिँदै गएर ढोकाको कुइनेटा्मा टक्क अडियो तर रिसाएको श्रीमान पलभर पनि अडिएन। ऊ रिसाउँदै ढोका ड्याम्म पारेर हिँड्यो। श्रीमती अक्क न बक्क भएर जिल्ल परी।
केही दिनअघि भर्याङ चढ्दै गर्दा कसो कसो ऊ चिप्लिएर नमज्जाले लडी। भर्याङको रेलिङ्गमा गएर उसको मुख ठोकियो र रगताम्य भयो। उसको कुनाको एउटा दाँत भाँचिएछ जुन दाँतको चोइटो भर्याङ मुनि राखिएको श्रीमानको जुत्ताभित्र नै पसेछ।
हत्तेरीका के भएको यस्तो ? ऊ भर्याङको खुट्किलोमा थचक्क बसी। उसलाई अब आफैदेखि पनि रिस उठ्यो। हुन त श्रीमान पनि ऊसित हिजोआज खै किन हो साना साना कुरामा पनि छिट्टै रिसाउन थालेको थियो।
एकछिन पछि ऊ भान्छामा गई श्रीमानले दुईचार गाँसमात्र खाएको भातमाथि उसको भाच्चिएको नङ टक्रक्क उत्तानो परिरहेको थियो।
ऊ बैठक कोठामा गई। हनिमूनका दिनमा खिचिएका रमाइला तस्विरहरू भित्तामा झुण्डिरहेको थियो। एकछिन ती तस्विरहरूलाई हेरी अनि पल्लो कोठामा गई। शृंगार र्याकमा थरीथरीका नेलपालिसहरू थिए। श्रीमानले फुर्की फुर्की किनिदिएका कपाल च्याप्ने क्लिप चिम्टीहरू थिए। निर्दाग मोतीका माला झुण्डिरहेको थियो। ती सबै चिजबिज देख्दा ऊ अरू बेलामा जस्तो फुर्किन सकिन तर ती चिजहरूले भने उसलाई देखेर हाँसिरहेझैँ लाग्दै थियो।
ऊ ट्वाल्ल परेर निकै बेर उभिरही। उसको आँखा भित्तामा टाँगिएको ठुलो ऐनातिर पर्यो। त्यो ऐनाभित्र दुलही आभा निभ्दै गएकी एउटी युवती देखी जुन युवतीको रङ्ग उसलाई आज सबैभन्दा फिक्का लाग्यो।
ऊ बाहिर कौसीमा निक्ली र ठिङ्ग उभिई। एकतमास उसले क्षितिजतिर हेरी अनि हनिमून मनाउन गएको त्यो क्षणलाई सम्झी। उसले लामो श्वास फेरि र आँखा चिम्ली हनिमूनका सम्पूर्ण दृश्यहरू सलबलाए। प्रेमालापका, भलाकुसारीका, प्रशंसाका, उन्मादका क्षणहरू झन् झन् ताजा भएर आए।
उसको आँखा रसायो। घाँटी अवरुद्ध भएझैँ भयो। मनका भ्रमहरू आँतका आँसुले ओसिएर मनकै भित्तामा पोतियो। चित्त च्वास च्वास्ती घोच्यो। मानौँ त्यो घोचाइले ऊ ब्यूउँझिए जस्तै भई। उसको आँखाबाट तरर आँसु चुहियो।
उसले आफ्नो बन्द मुठी खोली र हत्केलातिर हेर्दै भनी – छ्या! हनिमुन!
उसको त्यो हत्केलामा थियो भाँच्चिएको नङ, टुक्रिएको दाँत अनि गुजुल्टिएको कपाल।