खै, के दुःख छ यो आकाशलाई?
आँखामा टिलपिल–टिलपिल आँसु लिएर उभिएको अबोध बालकजस्तो देखिन्छ।
सहरको कोलाहलभन्दा धेरै पर त छैन। तर त्यही कोलाहलको बिचमा पनि काग, परेवा र सारीजस्ता चराहरू खुब रमाइरहेका छन्। केही जोडी भँगेरा पीपलको हाँगामा प्रेमलीला देखाइरहेका छन्।
एकैछिन आकाश बिर्सेर मेरा आँखा पार्क वरिपरि घुम्छन्।
जवानदेखि परिपक्व जोडीहरू विभिन्न रासलीलामा मग्न छन्। कोही एकअर्कालाई अँगालोमा ओढेर बसेका छन्। कोही काखमा पल्टिएका छन् भने कोही ती कोमल ओठहरूको कसरतमा मग्न छन्।
म एक्लो मन लिएर उनीहरूको रङ्गलीला नियाल्नुबाहेक अरू के गर्न सक्छु र?
त्यत्तिकैमा मेरो नजर शिरीषको रुखमुनि शीतलतामा रमाइरहेकी एउटी एक्ली युवतीमाथि पर्छ।
म एकोहोरो उसलाई निहार्न थाल्छु। उसका हरेक अङ्गमा मेरा आँखा पुग्छन्।
मेरो मनले उसको सुन्दरताको मनमनै वर्णन गरिरहन्छ र नजर नहटाउनका निम्ति मेरो मस्तिष्कलाई अभिप्रेरित गरिरहन्छ।
म सोच्छु— आखिर उसमा के कमी थियो र ऊ एक्ली छे?
कतै हालसालै ब्रेकअप पो भएको हो कि?
कि उसको प्रेमी अर्कै सहरमा छ?
आखिर उसका आँखा र औँलाहरू मोबाइलको स्क्रिनबाट हट्न मानिरहेका छैनन्।
विविध सोचको बिचबाट निस्किएर फेरि सोच्न थाल्छु।
यसरी कुनै नारीलाई नियाल्नु सही हो त? त्यो पनि एकटक उसैलाई हेरिरहनु। न चिनेको छु, न मलाई उसको नामसम्म थाहा छ।
फेरि त्यही मनले भन्छ— ‘प्रेमको सुरुवात यसै गरी त हुन्छ। हेर त, तेरो उमेर र उचाइ पनि मिल्दोजुल्दो छ जस्तो लाग्छ। कति सुन्दर देखिन्छ तिमीहरूको जोडी!’
म पुनः यो भ्रमसागरबाट बाहिर निस्कन खोज्छु।
त्यत्तिकैमा ऊ के सोच्छे कुन्नि! मोबाइलको स्क्रिन छाडेर नजर मतिर घुमाउँछे।
मेरो मनमा कुनै अदृश्य लहर आएर ठोकिन्छ।
कतै मैले उसलाई हेरिरहेको उसले थाहा त पाइन?
ह्या! के भयो त?
आकर्षण त नितान्त प्राकृतिक कुरा हो।
फेरि एकपटक मेरा नजर उसलाई खोज्दै पुग्छन्— उही शिरीषको फेदमा।
सायद यति बेलासम्म उसले मलाई नै हेरिरहेकी थिई। अचानक एउटा फिक्का मुस्कान छाड्दै नजर अर्कोतिर घुमाउँछे।
मलाई भित्र कता-कता काउकुती लागेको जस्तो अनुभव हुन्छ। मनमा उत्सुकता बढेर आउँछ। शरीरमा अचानक जोस उम्लिएको आभास हुन्छ।
गएर उसको नाम सोधूँ?
नम्बर मागूँ?
सुरुमा के भन्ने?
‘हेल्लो!’ भन्ने कि ‘हाइ!’ भन्ने?
‘सुन्नुस् न, हजुर...’ पो भन्ने हो कि!
हुँदैन।
पहिलो संवादमै ‘तपाईं’ भनिदिएपछि त भाउ खाइहाल्छिन् नि। के थाहा, सम्मान पाएको महसुस गरेर झन् नजिकिन्छिन् कि!
के थाहा— उसले आफ्नो हुनेवाला प्रेमीको कल्पना कस्तो खालको गरेकी छे?
सफ्टवेयर कम्पनीको जागिरे।
चिल्लो गाडीको सवारी।
फ्रेन्चकट दाह्रीवाला।
भो!
कहाँ म— आधा तालु खुइलिइसकेको बेरोजगार लक्का जवान!
जवान पनि के भन्नु!
हिजो मात्र बस चढ्दा दुई सुन्दर युवतीले, ‘साइड दिनुस् न, अंकल’ भने।
त्यतिले कहाँ पुग्थ्यो र! अघि यही पार्कमा आउने बेलामा त हो। तीस–बत्तीस वर्षकी जस्ती देखिने एउटी आइमाईले, ‘अंकल, यो दादर जाने ट्रेन यहाँबाट जान्छ?’ भनेर सोधेकी।
छ्या!
दाइ भन्नु।
भाइ भन्नु।
‘हेल्लो डियर’ भन्नुपर्छ त भनेको छैन नि!
भयो, भयो। यी कुरा छाडिदिऊँ।
अँ। उसले कल्पना गरेको प्रेमी सरकारी जागिरे पनि त हुन पायो। व्यापारी पो हो कि!
अब जे भए पनि, म त उही आधा तालु खुइलिएको बेरोजगार लक्का जवान नै त हो नि।
मानौँ कि उसले मेरो प्रेम प्रस्ताव स्वीकार गर्छे।
त्यसपछि?
उसलाई डेटिङ लैजाने पैसा छ मसँग?
भैगो।
मानिलिऊँ कि ऊ आत्मनिर्भर छे। सबै खर्च उसैले गर्छे। तर पनि उसको प्रेमी भएको नाताले यसो सय–दुई सय भए पनि खर्च त गर्नुपर्यो नि।
लौ, त्यो पनि गर्नुपरेन।
उसले कर गरेरै बिहे गर्नुपर्ला रे।
सुनचाँदीका गहना, भोज। बाजा त बजाउनै पर्यो।
सामान्य खर्च गर्छु भने पनि दस लाख जतिको खर्च छ।
त्यत्रो खर्च कहाँबाट जुटाउने?
अहो! म मान्न तयार छु।
हाम्रो विवाह जसोतसो सम्पन्न भयो।
अनि हनिमुन?
‘बेबी! हनिमुन त स्विट्जरल्यान्ड जानुपर्छ।’
उसको माग भयो भने?
के पाथीभरा लैजानु?
यत्तिकैमा मेरो टाउकोमा फ्यात्त केही खसेको आभास हुन्छ।
यसो माथि फर्किएर हेर्छु। चार–पाँच वटा काग ठिक मेरो टाउकोमाथि रुखको हाँगामा बसेका छन्। मोराहरूले बिस्टाइहालेछन् नि!
छ्या! यिनीहरूले मेरो तालुलाई शौच गर्ने ठाउँझैँ देखेछन्।
हेर, हेर!
अझै मलाई नै हेरेर हाँस्दै छन्।
होस्। काग नै त हुन्। यिनीहरूमा यतिविधि सोच्ने क्षमता पनि त छैन।
मेरा नजर उक्त युवती भएतिर पुग्छन्।
एउटा तालु खुइलिएको अधबैँसे युवक ऊनजिक आउँछ। उसलाई अँगालोमा गुम्लुङ्ग ओढ्छ।
‘ह्वाट्सअप, बेबी!’ भन्दै च्वाप्प गालामा म्वाइँ खान्छ।
हे भगवान्! म सम्झन्छु— बुढापाकाले भनेको कुरा: ‘कागले टाउकोमा बिस्टायो भने शुभ हुन्छ रे।’
यत्तिकैमा पार्कको वाचम्यान सिर्–सिर् सिट्ठी फुक्दै आउँछ।
यसो घडी हेर्छु।
साँझको सात बजिसकेको रहेछ।
सरासर बाहिर निस्किएँ र एउटा पान पसलमा एक पिस लड्डु किनेँ।
अन्ततः मसँग त्यही एउटा लड्डु मात्र थियो, जसलाई यथार्थमा खान सक्थेँ।