आनन्द त जित्दा आउँछ
मलाई दुनियाँ जितेर
आफैँसँग हार्न रमाइलो लाग्दैन!
मैले सजिलो यात्रा रोजेको होइन
भीडमा रहेर हराउन खोजेको होइन
मलाई एउटा भएर हाँस्न मन छ
देउता भएर रुन रहर गरेको छैन
लडेर दुख्दा पनि
हार नमानेर
फेरि उठ्ने आत्मविश्वास राखेको छु
आनन्द आउँछ
निरन्तर सलल बगिरहेको नदीले
आफ्नो बाटो जब आफैँ बनाएको देख्छु
आँधी-हुरी
झरी-बतास
खपेर जब कोपिला भिज्दै हाँसेको देख्छु
संसारमा चैन कसैलाई हुन्न
यदि चैन खोज्ने हो भने
नदीले खडेरी पर्खनु पर्छ–
सुन्दर कोपिलाले
दुई प्रेमिल जोडी भेट्नुपर्छ–
बिना सौदा जीवनमा केही हुँदैन
स्वर्ग देख्न पनि पहिला मर्नु पर्छ
हामीले सधैँ जोखिम नउठाए
यो तय हो
जोखिमले हामीलाई अवश्य उठाउँछ
आजसम्म
मैले रुखले लठ्ठी टेकेको देखिनँ
माथि बादलले मेघ छेकेको देखिनँ
हावालाई शीतलताको आस हुँदैन
पहिले विनाश नगरी विकास हुँदैन
आनन्द त हाँस्दा आनन्द आउँछ
मलाई भीडमा हाँसेर
एकान्तमा रुन मज्जा लाग्दैन!