कोरोना भाइरसले विश्वलाई आक्रान्त पार्यो। मान्छेको जीवनशैलीमै परिवर्तन ल्याइदिएको थियो महामारीले। व्यवसायहरू ठप्प भएका थिए। लगानी गर्न तम्सिएकाहरू हतोत्साहित भए। सबैको भविष्य अन्योल थियो।
यस्तै अलमलमा थिए सुजन भट्टराई।
उनी सहितको समूहलाई पनि यो महामारी झस्काएको थियो। उनीहरूले केही समयअघि मात्रै काठमाडौंको ठमेलमा ९ करोड रूपैयाँमा जमिन किनेका थिए। दुई वर्षदेखि आफूहरूले चलाइरहेको होटल 'ठमेल पार्क' विस्तार गर्ने उनीहरूको योजना थियो।
त्यही बेला महामारी आयो। र, एक हिसाबले त्यो उनीहरूका लागि अवसर बन्यो।
किनभने, सामान्य समयमा ठमेलमा संरचना बनाउन साँघुरो बाटोका कारण धेरै सास्ती हुन्थ्यो। सुजनहरूलाई त्यहाँ ९ तले भवन ठड्याउनु थियो। उनीहरूले कोरोनाका कारण बजार बन्द भएको समयको भरपुर उपयोग गरे।
कोरोनाको खतरा टरेको घोषणा भएको दिन ८८ कोठासहितको होटल ठमेल पार्कको उद्घाटन गरियो। यो चारतारे होटल अहिले ठमेलका ठूला आधा दर्जन होटलमध्ये गनिन्छ।
ताप्लेजुङको फुङलिङ (साविक हाङदेवा–५) मा हुर्किँदै गर्दा सुजन भट्टराईले कुनै दिन यति ठूलो होटलको सञ्चालक बन्छु भन्ने कल्पनासम्म गरेका थिएनन्। उनका लागि हाङदेवा छाडेर काठमाडौं जानु नै ठूलो सपना थियो।


सात जना छोराछोरी हुर्काउन हम्मे थियो उनका बुबाआमालाई। गाह्रोसाह्रो पर्दा एक हजार रूपैयाँ सापटी पाउन पनि मुस्किल पर्ने गाउँ थियो।
'२०४४ सालमा जेठा दाइ काठमाडौं जाने कुरा सुन्दा म खुसीले गदगद भएको थिएँ। दाइ गाउँमा आएका विदेशी पर्यटकको भारी बोकेर काठमाडौं जाँदै हुनुहुन्थ्यो। यो हाम्रो लागि ठूलो कुरा भयो,' सुजनले भने, 'उहाँ किन जानुभयो, कसरी जानुभयो, राम्ररी थाहा थिएन। तर मेरा लागि काठमाडौं सपनाको सहर थियो। कुनै दिन दाइले मलाई पनि लैजानुहुन्छ भनेर म खुसी भएको थिएँ।'
जेठा दाइ मोती काठमाडौंमा बसेर विदेशी पर्यटकको पथ–प्रदर्शक (गाइड) बने। केही वर्षपछि माइला अनिल काठमाडौं गए र मोतीकै अनुशरण गरे। त्यसपछि साइँला बालकृष्णले पनि त्यही बाटो रोजे।
अनि पालो आयो सुजनको।
'म एसएलसी पास भएपछि काठमाडौं जाने सपना बोकेर बसेको थिएँ। पालो आइपुग्यो। तीन जना दाजु भएकै सहर आइपुगेँ,' उनले भने, 'दाइहरूले मलाई उच्च शिक्षा पढाउन ल्याउनुभएको थियो।'
उनी सरस्वती क्याम्पस भर्ना भए।
दाइहरू कामका लागि ठमेलतिर ओहोरदोहोर गर्थे। सुजन पछि लाग्थे। बिस्तारै उनको मन दाइहरूले गर्दै आएको कामतिर जान थाल्यो। दाइहरूले पनि उनलाई प्रोत्साहन गरे।
'पथ–प्रदर्शक बन्न सुरूमा गाह्रो हुन्छ तर तैंले सक्छस्, अहिले पोर्टर (भरिया) बाट सुरू गर्नुपर्छ, बिस्तारै पथ–प्रदर्शक बन्न सक्छस् भन्नुहुन्थ्यो,' उनले सुनाए।
दाइहरूको कुराले सुजन हौसिए। अनि भरिया बनेर निस्किए ३५ दिनको यात्रामा।
२०५६ सालमा देशमा माओवादी युद्ध चलिरहेको थियो। गाउँमा नयाँ मान्छेलाई निकै गाह्रो हुन्थ्यो। सुजन विदेशीको सामानले भरिएको डोको बोकेर यात्रामा निस्किएका थिए। त्यो डोल्पाको यात्रा थियो।
पहिलो यात्रा उनका लागि नौलो थियो। चिनेका कोही थिएनन्।


'एक जना गाइडले मलाई यति धेरै असहयोग गरे कि, त्यहीँबाट मेरो जीवनको कथा मोडियो,' सुजनले भने, 'एक अर्काको अनुहार हेरेर खुसी हुने परिवारमा हुर्किएको मेरा लागि ती गाइडको बोलीवचन सहनै नसक्ने खालको थियो। त्यो यात्राले ममा मान्छेको हेपाइमा नपर्न जिन्दगीमा केही त गर्नैपर्छ भन्ने भावना विकास भयो।'
काठमाडौं फर्किएपछि उनले टाइप–राइटिङ सिके। कार्यालय सञ्चालनका तरिकाहरू बुझे। केही समयपछिको अर्को यात्राले उनलाई पर्यटन व्यवसायमा लाग्न प्रेरित गरेको थियो। त्यो यात्रा बागलुङबाट सुरू भएर मनाङ, मुस्ताङ हुँदै डोल्पा पुगेर सुर्खेत निस्किन्थ्यो। दुई जना अस्ट्रेलियन नागरिकसँगको पदयात्रामा जेठा दाइ मोती पनि सँगै थिए।
द्वन्द्व चरम उत्कर्षमा थियो। ४५ दिन लामो यात्रामा उनीहरूले ग्रामीण क्षेत्रमा अति समस्याग्रस्त जीवन बिताइरहेका मान्छे देखे। सुजनलाई आफ्नो जीवन त धेरै राम्रो रहेछ भन्ने अनुभूति भयो।
'त्यसअघि हामी नै सबैभन्दा विपन्न हौं जस्तो लाग्थ्यो,' सुजनले भने, 'यो यात्राले मलाई दृढ संकल्पका साथ आफ्नो गन्तव्य तय गर्न सघायो।'
त्यतिखेरसम्म अनिल र अर्का पथ–प्रदर्शक फुर्वा शेर्पाले ठमेलमा हिमालयन एक्स्टसी नेपाल नामक संस्था स्थापना गरिसकेका थिए। यसलाई ट्रेक्स एन्ड एक्सपेडिसन प्रा.लि.ले सञ्चालन गर्थ्यो। यो कम्पनीको काम हिमाल आरोहण गर्न चाहने पर्यटकलाई तालिम दिनेदेखि यात्रा क्रम खाने, बस्ने, पथ–प्रदर्शकको व्यवस्था गर्ने थियो। तर राम्रो चलिरहेको थिएन।
कार्यालय सञ्चालनको तरिका सिकेका सुजन यो कम्पनीमा जोडिए। कम्पनी उकास्न मेहनत गरे।
सन् २००७ मा सुरू यो कम्पनी दुई वर्षमै विश्वभरका पर्यटकीय गन्तव्यको जानकारी दिने 'लोनली प्लानेट गाइड बुक' को सिफारिस सूचीमा पर्यो। अर्को वर्ष नेपालका उत्कृष्ट १० एजेन्सीमा यो सात नम्बरमा पर्यो। सन् २०१२ देखि २०१४ सम्म लगातार एक नम्बरमा परेको थियो।
कम्पनी राम्रो हुँदै गयो। धेरै विज्ञ, पथ–प्रदर्शक तथा कर्मचारीहरू उनीहरूसँग जोडिए। आफन्त, साथीभाइ सबैको सहयोग भयो। यसले कम्पनीलाई स्थापित गर्यो।
'हाम्रो परिवारलाई पनि काठमाडौंमा स्थापित गर्न महत्वपूर्ण सहयोग गर्यो,' सुजनले भने, 'हामीले अहिले पनि यो कम्पनीलाई प्राथमिकताका साथ चलाइरहेका छौं।'


सुजनको परिवारका दुई जनाले सगरमाथा आरोहण गरेका छन्।
अनिलले सन् २००५ मा तिब्बततर्फबाट र कान्छा भाइ रोशनले सन् २००८ मा नेपालबाटै सगरमाथा आरोहण गरेका हुन्। हिमाल आरोहणमा प्राविधिक विज्ञ समेत रहेका रोशन हाल अमेरिका बस्छन्। रोशनले ८ हजार मिटरमाथिका ५ वटा हिमाल आरोहण गरेका छन्।
मोती, अनिल र बालकृष्ण पथ–प्रदर्शक हुन् भने सुजन कार्यालय व्यवस्थापन गर्छन्। उनीहरूले यो कम्पनीको कमाइ नबाँडी जमिनमा लगानी गरे।
त्यसपछि उनीहरूमा व्यवसाय बढाउने सोचे।
ठमेलमा कृष्णप्रसाद ढकालले चलाइरहेको होटल ठमेल पार्क बिक्रीमा थियो। तर किन्न पुग्ने पैसा भट्टराई परिवारसँग थिएन। सहकार्य खोजी गर्दै जाँदा उनीहरूको भेट गुल्मीका दाजुभाइ होमनाथ र लालप्रसाद भट्टराईसँग भयो। उनीहरू पर्यटन व्यवसायमै थिए।
होमनाथ, लालप्रसादसँगै पर्यटन व्यवसायमा राम्ररी भिजेका गोरखाका रामकुमार श्रेष्ठ पनि समूहमा मिसिए। सञ्चालक ढकालसहित ६ जनाको सामूहिक लगानीमा होटल ठमेल पार्क चलाउने निधो भयो।
ठमेल पार्कमा सुरूमा ६ करोड गरिएको थियो। पछि ५० लाख रूपैयाँ थपेर सञ्चालन गरिएको उनले बताए।
सुजनका अनुसार सामूहिक लगानीमा होटल राम्रो चल्दै गयो। ४० कोठाको होटलले नपुग्ने अवस्था आयो। अनि दुई वर्षपछि सँगै रहेको जमिन किनेर थप संरचना बनाए। लगानी बढाउँदै जाँदा कोरोना महामारीले त्रास फैलाएको थियो।
'तैपनि हामीले हार मानेनौं। त्यो समयलाई अवसर मानेर संरचना निर्माण गर्यौं। यो होटल त्यसैको परिणाम हो,' उनले भने, 'यहाँ अहिले लगानी ६० करोड रूपैयाँभन्दा बढी छ। करिब एक सय जनाले रोजगारी पाएका छन्।'
सुजनले त्यतिखेर अर्को समूहसँग मिलेर नजिकैको 'कैलाश कुटी' नामक होटल पनि बिस्तार गरेका थिए। तर त्यो तीन वर्ष मात्रै चलाए।
अहिले उनी भोटेकोशी किनारमा रिसोर्ट चलाउने तयारीमा छन्। त्यहाँ १२ जनाको सामूहिक लगानीमा संरचना निर्माण सुरू हुन लागेको छ। लागत १५ करोड रूपैयाँ लाग्ने उनको अनुमान छ।
उनको समूहले कास्कीको सराङकोटमा पनि होटल चलाउने तयारी गरेको छ। त्यहाँ लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आकर्षित गरेको उनले बताए।


'५० करोडभन्दा बढी लगानी हुने गरी गुरूयोजना बनेको छ। ६० प्रतिशत जति लगानी सुनिश्चित भइसकेको छ,' उनले भने, 'विदेशमा दुःख गरिरहनुभएका नेपालीलाई त्यसमा लगानी गर्नू भनेका छौं। यसले उहाँहरूलाई देश फर्किने वातावरण बनाउन भूमिका खेल्छ भन्ने ठानेका छौं।'
सुजनका अनुसार जेठा मोतिको प्रयासमा ताप्लेजुङको गाउँमा स्कुल चल्न थालेको छ। सन् २००९ मा विदेशीको सहयोगमा मन्टेश्वरी अवधारणामा सञ्चालन गरिएको क्यू लर्निङ स्कुलमा कक्षा ८ सम्म पढाइ हुन्छ। यहाँ अहिले ५ सय बालबालिका पढ्छन्।
उनको व्यवसायमा श्रीमती कृष्णादेवीको पनि पूर्ण सहयोग छ। उनी लेखा तथा कार्यालय व्यवस्थापनमा सघाउँछिन्। छोरा श्रीयांश र छोरी सुप्रिया हुर्कउँदै छन्।
'अहिले पनि हाम्रो परिवार एउटै छ। बुबाका पाँच दाजुभाइका १६ छोरासमेत एउटै भावनाका साथ अघि बढिरहेका छौं। ८३ वर्षीया आमा जसले हामीलाई नैतिकवान बनाउन मेहनत गर्नुभयो उहाँ खुसी हुनुहुन्छ। यही नै ठूलो उपलब्धि हो हाम्रो,' सुजनले भने।
उनले थपे, 'गाउँबाट रित्तै आएको मान्छेलाई धेरैले चिन्न थालेका छन्। बजारमा छवि राम्रो भइरहेको छ। व्यवसाय राम्रो छ। योभन्दा के चाहियो र?'



सबै तस्बिरः होटल ठमेल पार्क