हामी नेपालीहरू घरमा दैनिक दालभात खान्छौं। सँगै तरकारी र अचार पनि हामीलाई चाहिन्छ। तर यसकै मिठो स्वाद बाहिर खानुपरे 'थकाली खाना' पहिलो रोजाइमा आउँछ — आयुष्मान शेरचन भन्छन्।
त्रिचालीस वर्षीय आयुष्मान 'हाउस अफ थकाली' रेस्टुरेन्टका सञ्चालक हुन्।
काठमाडौंको बत्तीसपुतलीमा रहेको यो रेस्टुरेन्टको नामैले बुझाउँछ — यहाँको विशेष परिकार थकाली खाना हो।
यस्तो रेस्टुरेन्ट शेरचन परिवारका दुई महिला — आफ्नी आमा सरोजनी र श्रीमती प्रतीक्षा — बाट प्रेरित भएर खोलेको आयुष्मान बताउँछन्।
'घरकै खानेकुरा खान मानिसहरू बाहिर आउँछन् भने हामीले सकेसम्म राम्रो स्वाद दिनुपर्छ भन्ने सोच हो,' उनले भने, 'वर्षौंदेखि हरेक दिन मेहनत गरेर हामी घरमा जे बनाइरहेका छौं, बजारमा पनि त्यही दिने हो भनेर मलाई आमा र श्रीमतीले भन्नुभयो।'
शेरचन परिवारको पुर्ख्यौली घर मुस्ताङको टुकुचे गाउँमा छ। सो गाउँलाई थकाली समुदायको बस्ती भनेर पनि चिनिने उनले बताए। त्यहाँ 'थकाली घर' हरू हुन्छन् जहाँ पर्यटकहरू भात खान पुग्छन्।
त्यसबाटै प्रेरित भएर आफ्नो रेस्टुरेन्टको नाम हाउस अफ थकाली राखेको आयुष्मानले बताए।
पुर्ख्यौली घर मुस्ताङ भए पनि उनी सानैदेखि काठमाडौंमै हुर्केका हुन्। उनी पुरानो बानेश्वरमा थेम्स कलेज पनि चलाइरहेका छन्।
बत्तीसपुतली क्षेत्र घुमिरहँदा उनले विभिन्न रेस्टुरेन्ट देखे। थकाली घर भने देखेनन्। यसैलाई अवसर ठान्दै उनले करिब ३ करोड रूपैयाँ लगानीमा सन् २०२४ जुलाईमा हाउस अफ थकाली खोलेका हुन्।
'कलेज नजिकै भएकाले म हरेक दिन बिहान हाउस अफ थकालीमै खाना खान्छु। यहाँ घरमै खाएको जस्तो हुन्छ,' उनले भने।


रेस्टुरेन्ट बिहान १० बजेदेखि राति साढे ९ बजेसम्म खुल्छ।
यहाँका सबै परिकारमा आयुष्मानकी ७२ वर्षीया आमा सरोजनीको रेसिपी र स्वाद पाइन्छ।
उनकी श्रीमती प्रतीक्षा हरेक दिन बिहान रेस्टुरेन्टमा भइरहेको काम हेर्न र मार्गदर्शन गर्न आउँछिन्।
त्यस्तै हरेक दिन खानाको स्वाद चाख्न श्रीमती प्रतीक्षाकी सानीआमा बस्छिन्। उनलाई सबैले 'मुवा' भनेर चिन्छन्।
यहाँ ३० जनाभन्दा बढी कर्मचारी छन्।
'स्टाफहरूलाई हरेक हप्ता ग्राहकसँगको व्यवहारदेखि कामको तालिम दिइन्छ,' आयुष्मानले भने, 'सबै जनालाई तातो र स्वादिलो खाना दिनु हाम्रो लक्ष्य हो।'
आयुष्मानका अनुसार धेरैजसो ग्राहक यहाँ सुरूमा खाना सेटकै लागि आउँछन्। अर्को पटक आउँदा भने अरू खाजा पनि खान्छन्। खाजामा पनि पनिर चिली, भुटन, चिकेन फ्राई, स्पागेटी, मःम धेरैले मन पराएका छन्। यहाँको चर्चित भने खसीको मासुको मःम हो।
'एक पटक मैले यहाँ मेरो साथी भेटेँ। थकाली खान आएको होला भनेको स्पागेटी खान आएको रहेछ। म छक्क परेँ,' आयुष्मानले भने।
यहाँ दैनिक सयभन्दा बढी ग्राहक भने खाना खानै आउँछन्। शनिबार र बिदाका दिन त साढे दुई सयदेखि तीन सय जनासम्म हुन्छन्।
सबभन्दा धेरै बिक्ने चिकेन थकाली खाना हो जसको प्रतिसेट ७०० रूपैयाँ पर्छ। भेजको ६०० र मटनको ८५० रूपैयाँ पर्छ।


यहाँ एक पटकमा सय जना ग्राहक अटाउने ठाउँ छ। यसमा पाँच वटा 'प्राइभेट रूम' छन्, जहाँ परिवार वा सानो समूहमा आएका साथीसंगीहरू बस्न सक्छन्।
हाउस अफ थकाली जन्मदिन, वर्षगाँठ जस्ता उत्सव, समारोह मनाउने ठाउँ पनि भएको छ। यहाँ बच्चाहरूलाई खेल्न भनेर छुट्टै ठाउँ बनाइएको छ।
सामाजिक सञ्जालले पनि हाउस अफ थकालीको प्रचारमा सघाएको छ। यहाँ आएका धेरै ग्राहकहरूले भिडिओ र फोटाहरू हालेर सिफारिस गर्छन्।
'हाम्रो व्यवसायको वृद्धिमा सामाजिक सञ्जालको ठूलो हात छ। कतिपय व्यवसायलाई यहाँसम्म पुग्न करिब ३–४ वर्ष लाग्छ। तर सामाजिक सञ्जालको कारण कता के नयाँ खुलेको छ भनेर धेरै छिटो थाहा हुन थालेको छ,' आयुष्मानले भने।
तर व्यवसाय चुनौतीरहित छैन। हरेक पटक भनेजस्तो गुणस्तरको तरकारी र सामान नपाइनु मुख्य समस्या भएको उनी बताउँछन्। सामानमा एकरूपता नभए परिकारको स्वाद पनि फरकपन आउँछ।
'जस्तै आलुको आकारले स्वाद फरक बनाउँछ। तर सधैं एकै आकारको आलु सहजै पाइँदैन,' उनले भने, 'त्यसैले अहिले सकेसम्म एउटै ठाउँबाट ल्याउँछौं।'
उनीहरूले खाना र सेवाबारे ग्राहकहरूबाट अनलाइन वा प्रत्यक्ष प्रतिक्रिया पनि लिन्छन्।
ग्राहकले भरेको फारमको मद्दतबाट खानेकुरा र कर्मचारीले दिइरहेको सेवा दुवैबारे जानकारी हुने आयुष्मान बताउँछन्।
'हाम्रो खानेकुरा र सेवा ग्राहकलाई कस्तो लागिरहेको छ भन्ने कुरा हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। राम्रोभन्दा पनि नराम्रो प्रतिक्रियामा ध्यान दिएर त्यो समाधान गर्न वा सुधार्नतिर लाग्छौं,' आयुष्मानले भने।





सबै तस्बिर सौजन्यः हाउस अफ थकाली