एक भनाइ छ — कुनै नयाँ सपना देख्न वा लक्ष्य तय गर्न उमेरले छेक्दैन!
यो भनाइको उदाहरण बनेकी छन् नर्वदा भेटवाल।
अन्ठाउन्न वर्षीया नवर्दाले ३८ वर्षसम्म सरकारी जागिर खाइन्। यही साल साउनमा कर्मचारी सञ्चय कोषको अधिकृत पदबाट अवकाश भएकी हुन्।
अवकाशपछि उनी घरकै काममा सीमित भएर बस्न सक्थिन्। तर उनलाई मन भएन।
'वर्षौं अरूको काम गरेर बित्यो, अब आफै केही गर्छु भन्ने इच्छा भयो,' उनले भनिन्।
उनले यसबारे आफ्ना छोरी निकिता र छोरा नितिनसँग कुरा गरिन्। तीन जनाको छलफलपछि आफ्नै व्यवसाय सुरू गर्ने निधो भयो।
ललितपुरको हात्तीवनमा बस्ने उनीहरूले आफ्नो वरिपरि हेरे। वरपर आनन्दले चिया, कफी खाएर गफ गर्ने ठाउँ नभएको महसुस गरे। छरछिमेकसँग पनि कुरा गर्दा क्याफे नभएको बुझे।
अन्ततः उनीहरूले एउटा क्याफे खोल्ने सोचे।
यही साल मंसिरमा काम सुरू भयो। त्यही बेला नर्वदा र निकिता बारिस्टा (कफी बनाउने कला) तालिम लिन गए।
अनि करिब १० लाख रूपैयाँ लगानी गरेर माघमा खोले— रिद्धी चिया कफी घर।
'रिद्धी भनेको विकास हो। यो मैले आफ्नो जीवनमा विभिन्न कदम चालेको र अझै गर्नुपर्ने विकासको रूपमा सोचेको नाम हो,' नर्वदाले भनिन्।
क्याफे अझै पूर्ण भइसकेको छैन। केही काम बाँकी भएकाले थप ५ लाख रूपैयाँ लगानी लाग्न सक्ने उनले बताइन्।
तर एक महिनामै क्याफेमा ग्राहकको आउजाउ बाक्लो भइसकेको छ। स्थानीयसँगै टाढाबाट पनि मानिसहरू आउन थालेका छन्। ग्राहक आकर्षित गर्नमा सामाजिक सञ्जालको ठूलो हात छ।

उनकी छोरी निकिता र बहिनीकी छोरीले मिलेर 'रिद्धी चिया कफी घर' नामको टिकटक र इन्स्टाग्राम अकाउन्ट खोलेका छन्। दुवैले क्याफेबारे विभिन्न प्रचारात्मक भिडिओ बनाएर पोस्ट गर्छन्।
यस्तै भिडिओमध्ये एक नर्वदाकै जीवनबारे छ।
तिलचामल कपाल भइसकेकी नर्वदा सो भिडिओमा क्याफे स्याहार्दै भन्छिन् — ...मैले ३८ वर्ष काम गर्दा धैर्य, निरन्तरता र आत्मबलको गहिरो पाठ सिकेँ। जागिर, दुई सन्तान र घरपरिवारको जिम्मेवारी सम्हाल्न सजिलो थिएन। तर कहिल्यै हार मानिनँ।'
उनले काम गर्दै स्नातकोत्तर तहसम्मको पढाइ सकिन्। कामकाजी आमाको रूपमा यो यात्रा उनका लागि चुनौतीपूर्ण तर प्रेरणादायी थियो। यसका बाबजुद उनले आफूलाई बाँध्न चाहिनन्।
अवकाशपछि पनि आफूलाई व्यस्त र सक्रिय राख्न केही नयाँ गर्ने सोचले क्याफे खोलिन्।
'विचारबाट वास्तविकतासम्मको यात्रामा धेरै उतारचढाव भए। कहिलेकाहीँ आफैमा शंका लाग्यो तर आशा गुमाइनँ। अब यो नयाँ क्षेत्रमा पनि निरन्तर सिक्दै जानेछु भन्ने आशा छ...,' उनले भिडिओमा भनेकी छन्।
यो भिडिओ सामाजिक सञ्जालमा धेरैले मनपराए। भिडिओ राखेको केही दिनसम्म ग्राहक धेरै नै बढेका नर्वदाले बताइन्।
उनको क्याफेमा कफी, चिया, बबल–टी, लस्सी, उनैले पकाएको सेलरोटीका साथै स्यान्डविच, नाचोज जस्ता खाजा र विभिन्न बेकरी परिकार पाइन्छ।
नर्वदा बिहान ७ बजेदेखि राति ८ बजेसम्म क्याफेमा व्यस्त हुन्छिन्। बिहान छोरा नितिनले सघाउँछन्। दिउँसो भने एक कर्मचारी छन्।
छोरी निकिताको बिहे भइसकेकाले घरमा आमाछोरा मात्र बस्छन्। निकिता फिजियोथेरापिस्ट हुन्। नितिनले भर्खरै मानविकीमा स्नातक पूरा गरे। विगत ६ वर्षदेखि उनी सातदोबाटोस्थित भाटभटेनीमा काम गरिरहेका छन्।
'क्याफे घर छेउमै छ। त्यसैले धेरै समय दिन सकेकी छु,' नर्वदाले भनिन्।


सधैं नयाँ कुरा सिक्न उत्सुक नर्वदा विराटनगरकी हुन्। उनका बुबा साल्ट ट्रेडिङ कम्पनीका कर्मचारी थिए। बुबाको काठमाडौं सरूवा भएका बेला नर्वदाले एसएलसी (एसइई सरह) दिएकी थिइन्। त्यही बिदाको मेसोमा उनी पनि काठमाडौं आइन्।
काठमाडौं बसाइ क्रममा उनले नेपाली, अंग्रेजी टाइपिङ र सिलाइ सिकिन्। त्यही बेला साथीहरूको लहैलहैमा कर्मचारी सञ्चय कोषमा फारम भरेकी थिइन्।
पछि विराटनगर फर्केर उनी मानविकी संकाय लिएर पढ्न थालिन्। प्रवीणता प्रमाण पत्र तह (कक्षा १२ सरह) सक्दा सञ्चय कोषको नतिजा आयो। उनी छानिइन्।
नर्वदा काठमाडौं आइन् र जागिर खान थालिन्। त्यहीबीच उनको बिहे भयो।
'नयाँ काम र नयाँ परिवारले जीवन निकै फरक भयो,' उनले भनिन्।
केही समयपछि उनका छोरी र छोरा जन्मे। पारिवारिक कारणले एघार वर्षपछि उनको वैवाहिक सम्बन्ध टुट्यो। उनले जागिर खाँदै दुई बच्चा हुर्काइन्, पढाइन्। अनि आफू पनि पढ्न थालिन्।
बिहेपछि पढाइ रोकिए पनि उनको भोक मरेको थिएन। उनी पद्मकन्या क्याम्पसमा मेजर नेपाली विषय लिएर स्नातक तहमा भर्ना भइन् र २०५७ सालमा पूरा गरिन्। त्यही कलेजबाट स्नातकोत्तर पनि सकिन्। पढाइकै क्रममा नर्वदाले ओरिएन्ट कलेजमा तीन वर्ष नेपाली पढाइन् पनि।
'म आफूलाई सधैं अपडेट राख्ने प्रयास गर्छु। यो नयाँ काम पनि सिक्दै जानेछु भन्ने आशा छ,' जीवनको ६ दशक नजिक पुगेकी नर्वदा भन्छिन्, 'नयाँ सुरूआत गर्न सधैं सम्भव हुन्छ र यसका लागि कुनै उमेर हद हुँदैन भन्ने सन्देशका साथ मेरो क्याफेमा स्वागत गर्छु।'


