'हिँड्दा हिँड्दै चप्पल चुँडिन्थ्यो, जुत्ता उक्किन्थ्यो, सोल निस्किन्थ्यो। हामी सानो छँदा फुटपाथ वा कुनै रूखमुनि बसेका मोच्चीकहाँ जान्थ्यौं। अचेल मोच्चीहरू कमै देख्न पाइन्छ,' जुनैद अहमद मियाले भने।
जुत्ता–चप्पल मर्मत गर्नेलाई भारत, नेपालको खासगरी तराई क्षेत्रमा 'मोच्ची' भनिन्छ।
मकवानपुरका जुनैद र उनका अरू तीन जना साझेदारले यही पेसाका मानिसको सम्मान र समर्पणमा आफ्नो ब्रान्डको नाम 'मोच्ची' (Mocchi) राखेका छन्।
मोच्ची जुत्ताको ब्रान्ड हो। करिब तीन महिनाअघि औपचारिक रूपमा सुरू मोच्चीले युनिसेक्स (महिला–पुरूष दुवैलाई हुने) छालाका जुत्ता बनाइरहेको जुनैदले बताए।
'ब्रान्डेड विदेशी जुत्ता धेरै महँगो पर्छ। कम मूल्यको त गुणस्तर पनि कम नै हुन्छ। यही समस्या समाधान गर्न हामीले विदेशी डिजाइनबाट प्रेरित भएर गुणस्तरीय जुत्ता नेपालमै बनाउने सोचेका हौं,' २५ वर्षीय जुनैदले भने।
अहिलेसम्म उनीहरूले चार वटा डिजाइनका जुत्ता ल्याएका छन्। साइज ३८ देखि ४५ सम्मको पाइन्छ। बिस्तारै सानो साइज ल्याउँदै जाने उनले बताए।
जुनैदका अनुसार जुत्ता बनाउने छाला भारतको आगराबाट ल्याइन्छ। डिजाइन, बुट्टा, सोल बनाउने लगायत सबै काम भने मोच्चीको बालाजु औद्योगिक क्षेत्रमा रहेको कारखानामा हुन्छ।
मोच्चीमा २५ जना कर्मचारी छन्। उनीहरूमध्ये धेरैजसो महिला छन् जोसँग यही काममा दस वर्षभन्दा बढीको अनुभव छ।


मोच्चीको चार डिजाइनमध्ये एक हो 'ह्वाइट स्निकर'। यो सेतो जुत्ता दैनिक प्रयोगका लागि धेरैले मन पराएका छन्। यसको मूल्य ३ हजार ८९५ रूपैयाँ छ।
बाँकी तीन डिजाइन बुट हुन्, जसमध्ये सबभन्दा महँगो 'चेल्सी क्युबानो' हो। यसको मूल्य ७ हजार २०० रूपैयाँ छ।
'यो बुट पहिले घोडा चढ्नेहरूले लगाउँथे। पछि द बिटल्सजस्ता ब्यान्डले लगाउन थालेपछि चर्चित भयो। यसमा क्युबन सोल छ जसमा हल्का हिल हुन्छ,' उनले भने।
अर्को डिजाइन हो 'काठमाडौं बुट'। तेल र मैन प्रयोग गरेर प्रशोधन गरिएको गुणस्तरीय छालाबाट यो बुट बन्छ। यो टिकाउ हुने र आकर्षक देखिने जुनैदले बताए। यसको मूल्य ६ हजार ८०० रूपैयाँ छ।
त्यस्तै ५ हजार ८०० रूपैयाँ पर्ने 'लेलन बुट' अलि फरक छ। यो अरू बुट जस्तो गोलीगाँठो वा माथिसम्म आउँदैन, अलि छोटो हुन्छ। यो जुत्ता दैनिक वा फर्मलमा लगाउन मिल्छ।
'हामीलाई सुरूमा जोकोहीले किन्न सक्ने मूल्यको जुत्ता बनाउने कि राम्रो गुणस्तरको बनाउने भन्ने अलमल थियो। हामीले गुणस्तरमा सम्झौता नगर्ने निर्णय गर्यौं,' जुनैदले भने, 'छालामा आजीवन र सोलमा ६ महिना वारेन्टी दिएका छौं।'
अहिले डिजाइन कम भएकाले मोच्ची जुत्ता अनलाइन बजारमा मात्र पाइन्छ। डिजाइन थपेपछि पसल खोल्ने योजना छ।
कम समयमै ग्राहकले मोच्चीका जुत्ता धेरै मनपराएको जुनैद बताउँछन्।
'दुई महिनामै ६ सय जोरभन्दा बढी बेचेका थियौं,' उनले भने।
जुनैदलाई पहिल्यैदेखि जुत्तामा रूचि थियो। करिब दस वर्षअघि काठमाडौं आएपछि झन् बढ्यो। उनले ट्रिनिटी कलेजबाट प्लस–टू र इस्लिङ्टन कलेजबाट आइटी (सूचना–प्रविधि) विषयमा स्नातक तह पढेका छन्।
करिब तीन वर्षअघि उनले 'जुनैद रिभ्युज' नामको टिकटक र इन्स्टाग्राम अकाउन्ट खोलेका थिए। त्यसमा उनले विदेशी र नेपाली ब्रान्डका विभिन्न जुत्ताको कथा, गुणस्तर, मूल्य र अन्य विशेषताबारे जानकारी दिँदै भिडिओ राख्न थाले।
यो क्रममा उनले जुत्ताबारे झन् धेरै बुझ्न पाए। अचेल उनी जुत्तासँगै लुगा र ब्यागहरूबारे पनि जानकारी दिन्छन्।

'मेरो भिडिओ हेरेर धेरैलाई ब्रान्डेड जुत्ता किन किन्नुपर्छ, किन्दा के हेर्नुपर्छ भन्ने जस्ता कुरा थाहा भएछ। यहाँका पसलले त्यो कुरा कहिल्यै नभनेको समेत कतिपयले बताए। यो सुनेपछि मलाई आफ्नै ब्रान्ड सुरू गर्ने सोच आउन थाल्यो,' उनले भने।
भिडिओ बनाउने क्रममा जुनैदको २७ वर्षीय प्रसन्न श्रेष्ठसँग चिनजान भएको थियो। प्रसन्नको परिवारले सन् १९९२ देखि 'बज्रा फुटवेयर' ब्रान्ड चलाइरहेको छ। बज्राका जुत्ता खासगरी आपूर्ति सम्झौता वा टेन्डरबाट ठूलो परिमाणमा बिक्री हुन्छ।
जुनैद र प्रसन्नले जुत्ताको ब्रान्ड बनाउने सोचे। तर यो सोच पूरा गर्न दुई वर्ष लाग्यो।
उनीहरूले अरू दुई जना साझेदारलाई पनि समेटे। अहिलेसम्म चार जनाले प्रतिव्यक्ति २–२ लाख रूपैयाँ लगानी गरेको उनले जानकारी दिए।
यसरी २०२५ नोभेम्बर ११ देखि मोच्ची सुरू भयो।
उनीहरूले आफ्ना कर्मचारीहरूलाई समेटेर जुत्ता बनाउँदादेखि प्रचारसम्मको काम देखाउँदै रमाइला भिडिओ बनाए। टिकटक र इन्स्टाग्राममा राखे। ती भिडिओमा धेरैको नजर पर्यो। चौथो भिडिओमै १.३ मिलियन भ्युज आयो।
'जुत्ता कसरी बन्ने रहेछ भन्ने हेरेपछि मानिसहरूमा मोच्चीको गुणस्तरप्रति झन् विश्वास बढ्न थालेको छ,' जुनैदले भने, 'अब हामी थप डिजाइनमा काम गरिरहेका छौं।'
***
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी






