ललितपुरको पिम्बहाल नजिकै एउटा गल्लीमा सानो रेस्टुरेन्ट छ — १०० फुडी।
नामजस्तै यो रेस्टुरेन्टमा १०० रूपैयाँमा खानेकुरा पाइन्छ।
त्यो पनि एक वा दुईखाले खानेकुरा होइन, सबै परिकार।
यहाँको मेनु पनि रमाइलो तरिकामा बनाइएको छ।
'नेवारी आइटम' अन्तर्गत बारा र यःमरी छ भने 'यङस्टरको रोजाइ' बर्गर र चिकेन पकौडा राखिएको छ। 'च्वास्स अमिलो खाने हैन' भनेर साँधेको आलु, चाउचाउ छ।
'पपुलर आइटम' मा लाफिङ र किमा नुडल्स राखिएको छ। 'स्टिक आइटम' मा आलु, मसरूम, सेकुवा, फोक्सो, मिट बल जस्ता परिकार छन्।
अनि 'अन्त्यमा खाने' भनेर मःम र चाउमिन राखिएको छ।
रेस्टुरेन्टको अगाडि नै बोर्डमा मेनु छ।
'सबै खानाको मूल्य सय रूपैयाँ देखेपछि ग्राहकहरू अचम्म मान्दै आउँछन्,' रेस्टुरेन्टका सञ्चालक अमन श्रेष्ठले भने।
अमनले करिब दुई वर्षअघि यो रेस्टुरेन्ट खोलेका हुन्।
यसरी हरेक परिकार सय रूपैयाँमा खान पाइने रेस्टुरेन्ट खोल्ने आइडिया उनलाई जापान हुँदा आएको हो।


काठमाडौंमा प्लस–टू पढेर सकेपछि सन् २०१५ मा उनी जापान गए। जापानमा बिबिए पढ्दै उनले रेस्टुरेन्टमा काम गरे। पढेर फर्केपछि श्रीमती संकल्पसँग मिलेर एक कन्सल्टेन्सी चलाए।
पछि अमन वर्किङ भिसामा फेरि जापान गए। कन्सल्टेन्सी संकल्पले चलाइरहेकी छन्।
'म जापानमा पढ्ने बेलामा महँगो रेस्टुरेन्टमा खाने पैसा पुग्दैन थियो। त्यसैले हरेक दिन म्याकडोनल्ड्समा खान्थेँ। सय रूपैयाँमै पेट भरिने खानेकुरा पाइन्थ्यो,' उनले भने।
फर्केपछि उनले नेपालमा पनि धेरै विद्यार्थीलाई यस्तै समस्या होला भन्ने सोचे।
'त्यहीँबाट १०० फुडीको आइडिया आएको हो,' अमनले भने।
उसो त रेस्टुरेन्ट अमनको पारिवारिक व्यवसाय नै हो। अमन जन्मिएदेखि नै उनका बुबा नानीकाजी र आमा अमीताले तीनकुनेमा 'कान्तिपुर' रेस्टुरेन्ट चलाएका थिए। पछि बन्द गरे।
'आमाबुबाले पनि काम छाडेर घरमा बसिरहन मन लागेन भन्नुभयो। लामो समयदेखि रेस्टुरेन्टमै काम गरेकाले मैले पनि यही रोजेँ,' ३२ वर्षीय अमनले भने।
परिवारकै अनुभव भएकाले रेस्टुरेन्ट चलाउन गाह्रो थिएन। त्यसैले धापागल गल्लीमा एक घरको भुइँतलामा दुई लाख रूपैयाँ लगानी गरी रेस्टुरेन्ट खोले।

सुरूआती समयदेखि नै ग्राहकले मनपराएको अमन बताउँछन्। विभिन्न फुड भ्लगरहरूले यहाँका बारेमा भिडिओहरू बनाएपछि ग्राहक झन् बढे।
त्यसपछि ठाउँ साँघुरो भयो। अमनले त्यसकै ठिक अगाडि एउटा सानो तर अग्लो घर भाडामा लिए र करिब सात लाख रूपैयाँ लगानी गरे।
अहिले उनको रेस्टुरेन्ट चार तलामा फैलिएको छ। यहाँ एक पटकमा कम्तीमा ४० जना ग्राहक अटाउँछन्।
अमन रेस्टुरेन्टको व्यवस्थापन हेर्छन् भने बाँकी काम बुबाआमाले नै सम्हाल्छन्। उनीहरूबाहेक चार जना कर्मचारी छन्।
सबै खाना सय रूपैयाँमा राख्नुको चुनौती पनि छ। किनभने बजारमा सामानको मूल्य स्थिर हुँदैन। तर आफूहरूले गुणस्तरमा सम्झौता नगर्ने अमन बताउँछन्।


'मासुको भाउ बढ्दा बरू १० वटा मःमको साटो ८ वटा दिऊँला, तर गुणस्तरमा सम्झौता हुँदैन,' उनले भने।
मौसम अनुसार यहाँको मेनुमा पनि परिवर्तन हुन्छ। गर्मीमा कोल्ड नुडल्स र जाडोमा सुप थपिन्छ।
अब उनीहरू पाटन अस्पताल जाने बाटो आसपास नयाँ शाखा खोल्ने तयारीमा छन्।
'कम लगानी र सानो ठाउँबाट सुरू गर्न सकिन्छ। मान्छेहरूले हार मान्नु हुँदैन,' अमनले भने।