अहिलेको राजनीतिलाई म 'जंक पोलिटिक्स' भन्न रूचाउँछु।
'जंक फुड' जस्तै जंक पोलिटिक्स।
खानपिनबारे चोसो राख्नेहरू जंक फुडलाई 'पत्रु खाना' पनि भन्छन्।
अतः यही सूत्रबाट जंक पोलिटिक्सको नेपालीकरण हुन सक्छ पत्रु राजनीति।
यहाँ भने पत्रु खाना जस्तै पत्रु राजनीति किन देश, समाज र स्वयं राजनीतिका लागि हानिकारक छ, त्यसैबारे संक्षिप्त विवेचना गरिएको छ।
प्रारम्भमा कुरा गरौं, जंक फुड अर्थात् पत्रु खानाको प्रसंगबाट।
जंक फुडको विषयमा मैले सबभन्दा धेरै कुरा सुनेको हुँ डा. अरूणा उप्रेतीबाट। खानाबारे उहाँका सम्भवतः दर्जनौं लेख मैले पढेको छु। सामाजिक सञ्जालका तर्क, सल्लाह र सन्देश सुनको छु।
मलाई उहाँका प्रत्येक सामग्रीहरू प्रेरणादायी लाग्छ। उहाँले लामो समयदेखि पत्रु खानाका हानि–नोक्सानीबारे सार्वजनिक चेतना निर्माण गर्दै आउनुभएको छ।
पत्रु खानाबारे मैले सुनेका अनेक प्रवचन, सुझाव र सन्देशहरूबाट निकालेको निष्कर्ष छ —
'पत्रु खानाले मान्छेको शारीरिक अवस्थालाई मात्र हानि गर्दैन। यसले हाम्रो मानसिक स्वास्थ्य, मन र भावनाको वेग पनि लयहीन बनाउँछ। यसले मान्छेले स्वादमा अप्राकृतिक फेरबदल ल्याउँछ र मुख्य कुरा खानपानको हाम्रो मौलिक परम्परा र सभ्यता नाश गर्छ।'
यस्तै सन्देशहरूका कारण मैले आजकल चाउचाउ खान कम गरेको छु। चिसो पेय पदार्थ पिउँदिनँ। चिप्सहरू धेरै खान्नँ। र, हाम्रा अर्गानिक खाना मन पराउँछु।
तर हाम्रो पछिल्लो पुस्ता जंक फुड खुबै मन पराउँछ। अथवा चाहेर, नचाहेर ऊ जंक फुडको फन्दामा परेको छ।
मैले यहाँ फन्दा शब्दको प्रयोग किन गरेको हुँ भने, हाम्रो युगको पुँजीवादले आजकल उपभोक्तालाई सामान बेच्दैन, फन्दामा पार्छ।
कम्पनीहरू जे जस्ता 'स्किम' निकाल्छन्, ती मुख्यतया उपभोक्तालाई कसरी फन्दामा पार्ने भनेर नै तय गरिन्छन् — पुरस्कारका फन्दा। छुटका फन्दा। एक किन्दा एक सित्तैमा पाइने फन्दा।
यस्ता फन्दाहरू जसमा थाहै नपाई उपभोक्ता फसी जान्छन् र त्यसपछि फेला पर्छन् आफ्नै छनोटको।
प्रश्न आउँछ — हानिकारक छ भन्ने थाहा पाउँदा पाँउदै पनि पत्रु खानाको फन्दामा किन पर्छ हाम्रो नयाँ पुस्ता?
मेरो विचारमा यसका तीन वटा कारण छन्।
पहिलो, यसको चम्किलो विज्ञापन, आकर्षक नारा र प्रभावकारी बजारीकरण।
दोस्रो, चटपटा तिख्खर स्वाद।
तेस्रो, बनाउन सजिलो र छिटो।
बहुराष्ट्रिय (राष्ट्रिय) खाद्य कम्पनीहरूका लागि मान्छे जब फगत उपभोक्ता मात्र बन्छ, तब त्यसले जंक फुड उत्पादन गर्छ। उसलाई मान्छेको स्वास्थ्यबारे के चिन्ता?
परिणाम, कम्पनीहरूको विज्ञापनले मान्छेको दिमाग नियन्त्रण गरिदिन्छ। स्वादले जिब्रो। र, ऊ थाहै नपाई मान्छेबाट फगत उपभोक्ता बन्नपुग्छ।
त्यो उपभोक्ता पत्रु खानाको मोहमा यसरी पर्छ, उसलाई त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे सोच्ने फुर्सद पनि हुँदैन। यसरी बिस्तारै बिस्तारै पत्रु खाना उसको दैनिक जीवनको हिस्सा बन्छ।
ठिक यस्तै हुन्छ पत्रु राजनीति।
चम्किलो। राम्रो प्याकेजिङ गरिएको। राम्रो बजारीकरण गरिएको।
जंक फुड बाहिरबाट हेर्दा जस्तो आकर्षक देखिन्छ, त्यस्तै आकर्षक हुन्छ जंक पोलिटिक्स।
जसरी अत्यधिक चिनी, नुन, बोसो र रङ मिसिएको जंक फुडले जिब्रोलाई क्षणिक स्वाद त दिन्छ, तर शरीरलाई बिस्तारै रोगी बनाउँदै लैजान्छ, त्यस्तै हो जंक पोलिटिक्स — फगत मनको स्वाद। फगत आँखाको रमझम। फगत प्रतिशोध। फगत भावनाको व्यापार। फगत तमासा।
तर यसको जादुगरी फन्दामा मान्छे कति बेला पर्छ, स्वयं उसैलाई थाहा हुँदैन।
जस्तो, सामाजिक सञ्जालमा देखिने चम्किला नाराहरू, आकर्षक रिल, छोटा भिडिओ, उग्र स्टाटस, टिकटक, ग्राफिक्स डिजाइन गरिएका पोस्टर र झिल्के अनुहारहरू।
अल्गोरिदमले दोहोर्याएर ल्याइदिने तिनै उन्मादपूर्ण दृश्य। भीड उत्तेजित गर्ने नारा र मान्छेको भावना उद्वेलित गर्ने हाउभाउ।
यही हो पत्रु राजनीतिको अनुहार।
जसरी जंक फुडमा कुनै पोषण हुँदैन, त्यस्तै फोस्रो हुन्छ जंक पोलिटिक्स। एजेन्डाविहीन, दिशाविहीन, बाटोविहीन। उत्तेजनापूर्ण र प्रियतामुखी।
परिणाम — जंक फुडले उपभोक्ताको स्वास्थ्य बिगार्छ। जंक पोलिटिक्सले समाजको स्वास्थ्य बिगार्छ। जसरी जंक फुडको स्वादले मान्छेको जिब्रो बिगार्छ, त्यस्तै जंक पोलिटिक्सले मान्छेको सोच्ने क्षमता नियन्त्रण गर्छ र विवेक सिध्याउँछ।
जसरी जंक फुडले मान्छेलाई फगत उपभोक्ता ठान्छ, त्यस्तै जंक पोलिटिक्सले मान्छेलाई ठान्छ फगत एक भोट!
यसर्थ नै जंक पोलिटिक्स शुद्ध राजनीति होइन। यो राजनीतिको व्यापार हो, जसले आम जनतालाई राजनीतिका पार्टनर होइन, मात्र उपभोक्ता ठान्छ र बेच्छ रंगीचंगी नाराहरू।
जंक पोलिटिक्सले कसरी राजनीति विकृत बनाउँछ — यसमा थोरै विमर्श गरौं।
जस्तो, यसले एजेन्डा नभई अनुहार प्रवर्द्धन गर्छ। त्यसैले यो राजनीतिको विकृत रूप हो। राजनीति मूलतः एजेन्डाको निरूपण, कार्यान्वयन र परिवर्तनको अभ्यास हो।
देश, राज्य, सरकार र नागरिकको सम्बन्ध कसरी व्यवस्थापन गर्ने — यो राजनीतिको प्रश्न हो।
राज्य कस्तो हुनुपर्छ र राज्यको मालिक को हो — यो राजनीतिको प्रश्न हो।
शासकीय संरचना र ढाँचा कस्तो बनाउने र कसरी सेवाप्रवाह सुधार्ने — यो राजनीतिको प्रश्न हो।
हाम्रो लोकतन्त्र कस्तो बनाउने, अर्थ–व्यवस्था कस्तो बनाउने र सामाजिक न्यायको प्रत्याभूति कसरी गर्ने — यो राजनीतिको प्रश्न हो।
अर्थात्, राज्य संरचना र शक्ति परिभाषित गर्ने र बाँडफाँट गर्ने अभ्यास नै राजनीति हो।
र, यी विषयहरूमा अभिभाज्य भएर आउँछन् एजेन्डाहरू।
यसर्थ नै, गम्भीर राजनीतिका लागि एजेन्डा सबभन्दा महत्त्वपूर्ण हुन जान्छन्।
तर पत्रु राजनीतिमा एजेन्डा कतै देखिँदैनन्। मात्र देखिन्छन् मान्छेका झिल्के अनुहार।
पत्रु राजनीति, यस्तो राजनीति हो जहाँ जटिल सामाजिक–आर्थिक प्रश्न सरल नारामा खुम्च्याइन्छ। संरचनागत समस्यालाई व्यक्तिगत आक्रोशले छोपछाप पारिन्छ। र, दीर्घकालीन समाधानको सोचलाई क्षणिक भावनाले विस्थापित गरिदिन्छ।
पत्रु राजनीति यस्तो राजनीति हो जहाँ नेता कुर्लिन्छ — म आएँ, अब मलाई काम गर्न दिनुहोस्, म देश बनाउँछु!
तर देश के हो र देश कसरी बन्छ भन्ने प्रश्नको ऊसँग कुनै जबाफ हुँदैन।
अथवा, यो यस्तो राजनीति हो जहाँ कार्यक्रमभन्दा प्रस्तुति महत्त्वपूर्ण हुन्छ। रणनीतिभन्दा अनुहार। नेताको निष्ठा र नैतिकताभन्दा महत्त्वपूर्ण बन्छ उसको वाककला।
त्यहाँ भावनाको व्यापार यति प्रबल हुन्छ, मान्छे नेतालाई हेरेर हाँस्छन्, रून्छन्।
परिणामतः राजनीति सत्य खोज्ने अभ्यास नभएर ध्यान तान्ने खेलमा सीमित हुन्छ।
सत्यभन्दा 'ट्रेन्ड' शक्तिशाली बन्छ। र, सामूहिकतालाई नियन्त्रण गर्छ व्यक्तिको नायकत्वले।
अर्को कुरा, पत्रु राजनीतिले बहसको पतन गराउँछ र गालीको उत्थान गर्छ।
भनिन्छ — लोकतन्त्र बहसमा बाँच्छ। असहमति, प्रश्न र आलोचना लोकतान्त्रिक समाजका मुख्य सूचक हुन्।
तर जंक पोलिटिक्सले बहसलाई होच्याउँछ र गाली प्रवर्द्धन गर्छ। विचारमाथि ट्रोल गर्छ। राम्रो कुरालाई रोस्ट बनाउँछ।
जंक पोलिटिक्समा फरक मत राख्ने नागरिकलाई शत्रुको व्यवहार गरिन्छ।
आलोचकहरू देशद्रोही, डलरे घोषित गरिन्छन्। र, प्रश्न सोध्नेहरूलाई नेगेटिभ भनेर चुप लगाइन्छ।
त्यसपछि बिस्तारै राजनीतिबाट बहस हराउँछन्। तर्क सुनिँदैनन्। तथ्य होइन, भावनात्मक उक्साहट प्रभावकारी हुँदै जान्छ। अराजनीतिक ध्रुवीकरण तीव्र बन्छ।
पत्रु राजनीतिले समाजलाई मात्र दुई कित्तामा विभाजन गर्छ — हाम्रो र तिम्रो, देशभक्त र देशद्रोही, सही र गलत, ऊ र हामी। या त शत्रु, या त मित्र।
यो राजनीतिमा बीचको कुनै स्थान हुँदैन।
यसैगरी, पत्रु राजनीतिको अर्को दुखान्त के भने, यो नीतिमा होइन, प्रियतावादमा बाँच्छ। यो नीति र योजनाको आधारमा होइन, भ्यू र लाइकको गणितमा उभिन्छ। कुन अभिव्यक्ति भाइरल हुन्छ, कुन भाषण ट्रेन्डिङमा जान्छ, कुन विवादले बढी ध्यान खिच्छ — यिनै आधारमा यसले आफ्ना राजनीतिक गतिविधि तय गर्छ।
सामाजिक सञ्जालको अल्गोरिदमले यसका राजनीतिक प्राथमिकताहरू निर्धारण हुन्छन्।
पत्रु राजनीतिको दोष के भने, यसको सिधा असर राजनीतिक चरित्र र शासकीय पद्धतिमा पर्छ। जहाँ दीर्घकालीन, जटिल र अलोकप्रिय निर्णयहरू टारिन्छन्। सजिला, उत्तेजक र भावनात्मक मुद्दाहरू अघि सारिन्छन्।
परिणामतः राज्य र राजनीतिले दुरदृष्टिसहित योजना बनाउने क्षमता गुमाउँछ।
अर्को कुरा, यो यस्तो राजनीति हो जसले नेतृत्व उत्पादन गर्दैन, सेलेब्रेटी जन्माउँछ।
अर्थात्, यहाँ नेताको निष्ठा र नैतिकता हेरिँदैन। उसले लगाउने कपडा, अनुहारको चमक, हाउभाउ र व्यक्तित्व हेरिन्छ। यो राजनीतिमा नेता हुँदैन, सेलेब्रेटी हुन्छ।
भन्न पर्दैन, सेलेब्रेटी राजनीतिको आधार प्रियतावाद हो र प्रियतावाद स्वभावतः अस्थिर हुन्छ।
जंक पोलिटिक्सको अर्को दुखान्त के भने, यहाँ अमूर्त कुराको व्यापार धेरै हुन्छ। जनताभन्दा देश प्यारो हुन्छ। गरिब मन पर्दैन, गरिबका गीत सुन्दर लाग्छ। चुच्चे नक्सालाई फ्रेममा हालेर कोठाचोटामा टाँसिन्छ तर त्यहाँ बस्ने मान्छेको कुनै मतलब हुँदैन।
जंक पोलिटिक्सको अर्को दोष के भने, यसले संस्थागत राजनीतिलाई कमजोर बनाउँछ। पार्टीहरू विचारको आधारमा होइन, व्यक्तिको वरिपरि घुम्न थाल्छन्। अर्थात्, संस्थाभन्दा अनुहार महत्त्वपूर्ण बन्छ र अनुहार फेरिँदा सबै कुरा फेरिन्छ।
यो यस कारण खतरनाक हुन्छ कि, पत्रु राजनीतिले नागरिकलाई सोच्ने प्राणीबाट फगत प्रतिक्रिया दिने भीड वा फगत एक भोटमा रूपान्तरण गरिदिन्छ।
यस्तो लोकतन्त्र नाम मात्रको हुन्छ — रूप छ, आत्मा छैन।
पत्रु राजनीतिको सबभन्दा खतरनाक पक्ष के भने, यसले समाजलाई उन्मादमा बाँच्न सिकाउँछ।
उन्मादमा बाँच्ने समाजले न त स्वतन्त्रताको मूल्य बुझ्छ, न त जिम्मेवारीको।
उन्मादमा नियमलाई तगारो ठानिन्छ, संस्थाहरू शत्रु देखिन्छन् र बल प्रयोग राजनीतिको अनिवार्य प्रवृत्ति बन्छ। जब राजनीतिमा नीति हराउँछ र उन्मादले काम गर्छ, तब के हुन्छ — भन्न पर्दैन।
पत्रु राजनीतिले बनाउने राजनीतिको मूलबाटो यस्तो हुन्छ, जहाँबाट अगाडि बढ्दै जाँदा बिस्तारै बिस्तारै राजनीति सकिँदै जान्छ र मात्र बाँकी रहन्छ अराजनीति।
जब राजनीतिका संकटहरू समाधान गर्ने उपाय अराजनीतिक अनुहारभित्र खोजिन्छ, त्यो आखिरमा व्यर्थको प्रयत्न बन्न पुग्छ। र, त्यही बेकारको प्रयत्न प्रवर्द्धन गर्छ पत्रु राजनीतिले।
अर्थात्, पत्रु राजनीतिले राजनीतिको अनुहार र व्यक्तिको अनुहारलाई यसरी मिसमास गरिदिन्छ, मान्छेमा भ्रम सिर्जना हुन्छ — कुन राजनीतिक अनुहार हो र कुन अनुहार हो झिल्के नायकको!
मुख्य कुरा पत्रु राजनीतिले राजनीतिलाई फगत तमासामा बदल्छ।
पत्रु राजनीतिले लोकप्रियतालाई राजनीतिको पुँजी मान्छ, विचार, निष्ठा र नैतिकतालाई होइन। यसले उत्तरदायित्वलाई एक सामान्य घटना मान्छ। कुरा फेर्दै जान्छ र आफ्नो विगतप्रति उसलाई थोरै पनि पश्चाताप हुँदैन।
अतः पत्रु राजनीतिको त्रास बढेका बेला, आजका लागि सोच्नुपर्ने प्रश्नहरू छन् —
हामी अहिले जेलाई राजनीति भनिरहेका छौं, कतै यो त्यही पत्रु राजनीति त होइन?
आज हामी जसलाई हाम्रो सपनाको नायक मानिरहेका छौं, ऊ कतै हामीलाई फगत एक भोट ठान्ने राजनीतिको व्यापारी त होइन?
आज हामी जसलाई आफ्नो नेता मानिरहेका छौं, कतै ऊ हाम्रो भावनालाई भड्काउने कुनै झिल्के अभिनेता मात्र त होइन?
कतै हामी फेरि पत्रु राजनीति अर्थात् जंक पोलिटिक्सको फन्दामा त परिरहेका छैनौं?
विचार गरौं।
विचार गर्न कहिल्यै ढिलो हुँदैन।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab