यो लेखको प्रसंग सुरू हुन्छ, २०८२ चैत अन्तिम हप्ताबाट।
कर्णाली साहित्य महोत्सव, 'कुडा कर्णाली' को निम्तोमा सुर्खेत जाँदै गर्दा मलाई लाग्यो, म माइत जाँदैछु।
त्यसो त म धेरैपटक कर्णाली गएको छु। सुर्खेत पुगेको छु। दैलेख पुगेको छु। कालिकोट गएको छु। सिँजा घुमेको छु र सुदूरपश्चिमको टिकापुर साहित्य महोत्सवमा सहभागी हुँदै गर्दा कर्णाली नदीमा दुई पटक नौका विहार गरेको छु, जसले कर्णालीलाई कर्णाली नाम त दिएको छ नै। साथमा बोकिल्याएको छ कर्णालीका अनगिन्ती कथाहरू।
तर पछिल्लो पटकको यात्रा भने मेरा लागि विशेष थियो।
किनभने मैले कर्णालीबारे बोल्नु थियो।
के बोल्ने होला कर्णालीबारे — यात्राभर म यही प्रश्न सोचिरहेको थिएँ।
जब म कर्णाली माथिको आकाशमा उडिरहेको थिएँ, अकस्मात मेरो मनमा प्रश्न आयो — मैले कर्णालीको नाम पहिलो पटक कहिले सुने हुँला?
तत्क्षण, मैले मेरा हजुरबुबा, आमा र बुबाहरूले मलाई सुनाउनुभएको पुर्खाको कथा सम्झिएँ। जो दैलेखको दुल्लुबाट सुरू हुन्थ्यो र बसाइ सर्दै सर्दै पूर्व हानिन्थ्यो।
मलाई लाग्यो — यो त्यही कर्णाली हो, जहाँ कुनै समय मेरा पुर्खाहरू रनवन चहार्थे।
माथि बडिमालिकातिर खर्क भर्न जान्थे, पर– कतै लमतन्न सुतेका खप्तडका नागीहरूमा रमाउँथे। सायद उनीहरूले गरेका प्रार्थना अहिले पनि चन्दननाथ मन्दिरको आँगन हुँदै बडिमालिकातिर हावामा गुन्जिरहेको होला।
र, सायद उनीहरूले दिएको आशीर्वादले मेरो जीवन धन्यधन्य बनाएको होला।
त्यो क्षण मलाई लाग्यो — रारातालको कञ्चन ऐनामा मेरा पुर्खाहरूले आफ्नो अनुहार हेरेका थिए होलान् र त्यही कञ्चन जलधारामा जीवनका अँध्यारा–उज्याला छायाहरू देखे होलान्।
मलाई लाग्यो — मेरा पुर्खाहरूले इन्द्रेणीको रङ चोरेर माथि नागीहरूमा रङ भरे होलान्। र, त्यसको छायालाई शे–फोक्सुण्डोमा हेरेर रमाए होलान्।
यति सम्झिनासाथ, मैले कर्णाली माथिको आकाश हेरेँ, मलाई लाग्यो त्यो मेरो घरको धुरी हो। जसलाई मेरा पुर्खाहरूले कुनै समय छाएका थिए।
त्यसपछि मैले सिँजा उपत्यका सम्झिएँ। जहाँ हामीले बोल्ने भाषाको जग बस्यो र फैलियो। जहाँ हाम्रो सभ्यता जन्मियो र हुर्किँदै गयो। जहाँ हाम्रा आस्थाका मन्दिरहरू बने। जहाँ सुख, दुःखका घटनाहरू माटोमा लेखिए र माटोमै बिलाए। जहाँबाट हाम्रा पुर्खाहरूले इतिहासको लामो यात्रा प्रारम्भ गरे। र, आफ्नो सभ्यतालाई काँधमा बोकेर अनवरत हिँडिरहे।
त्यसपछि मैले मेरो आफ्नै उपन्यास मोक्षभूमि सम्झिएँ, जसको कथा सुरू हुन्छ, खस साम्राज्यको राजधानी सिँजाबाट। र, कथा अगाडि बढ्छ, मोक्षभूमि निर्माणका लागि मान्छेले गरेको निरन्तर संघर्षबाट।
यी सबै कुरा मनमा खेलाउँदै जब म सुर्खेत ओर्लिएँ र वरिपरि हेरेँ — मलाई लाग्यो, यो मेरो कर्णाली हो।
किनभने, कर्णाली थियो, दैलेख थियो, दुल्लू थियो, मेरा पुर्खाहरू थिए र म छु।
यसैले मेरो जरा हो कर्णाली। मेरो इतिहासको कडी हो कर्णाली।
र, म हुँ कर्णाली।
खासमा, हामी बसाइ सरेर जानेहरूका लागि, अनन्त आकाशमा कावा खाँदै उड्ने चराहरूको पुरानो गुँड हो कर्णाली। पुर्खाका कथाहरूको खजाना हो कर्णाली। हजुरआमाहरूले गाएका गीतहरूको अटुट सम्झना हो कर्णाली। हजुरबुबाहरूले देखेका सपनाहरूको सप्तरंगी बगैंचा हो कर्णाली।
कार्यक्रम स्थलतर्फ जाँदै गर्दा मैले मित्र टीकाराम यात्रीलाई सोधेँ, 'के बोल्ने होला?'
किनभने आयोजक साथीहरूले विषय दिनुभएको थियो, 'मोक्षभूमि कर्णाली'।
र, भनिएको थियो 'विद्वत प्रवचन'। जुन मेरा लागि निकै भारी काम थियो।
'मैले भाषण गरेको छु। प्रवचन पनि दिएको छु। अन्तर्वार्ता गरेको छु। तर विद्वत प्रवचन, यो त मेरा लागि कठिन काम हो,' मैले यो कुरा कुडा कर्णालीका निर्देशक मित्र प्रकाश लामिछानेलाई भने।
उनी मुस्कुराए र भने, 'हामीलाई लाग्छ, यो काममा लागि तपाईं उपयुक्त पात्र हो। किनभने तपाईंले मोक्षभूमि लेख्नुभएको छ।'
प्रकाशजी लगायत आयोजक साथीहरूको कुरा सुनेर म हौसिएँ।
र, भनेँ, 'आज म, कर्णालीलाई कर्णालीको इतिहास सुनाउँदै छैन। न म कर्णालीका दुःख कणार्लीलाई सुनाउँदै छु। किनभने सुनाएका दुःखभन्दा भोगेका दुःखहरू ठूला हुन्छन्, जो सबैलाई थाहा छ। र, म कर्णालीका सुखहरू पनि कर्णालीलाई सुनाइरहेको छैन, किनभने त्यो सुख, आत्मगौरव र अनुभूति त स्वयं कर्णालीभित्र सन्निहित छन्।'
यसो भनिरहँदा मलाई लाग्यो — जो स्वयं कर्णालीसँग छ, उसलाई कर्णालीको कुरा सुनाउनुको के अर्थ? जो स्वयं कर्णालीमा बसेर यसको सुगन्ध बोध गर्छ, उसलाई म यसको महिमा सुनाऊँ कसरी? गुँड छाडेर उडेको चरीले कसरी रित्तो गुँडको सुस्केरा सुनाउन सक्छ?
मैले भनेँ, कर्णालीलाई आज म कर्णाली छाडेर जानेहरूका अनुभूति सुनाउँछु। आज म कर्णालीभन्दा पर बसेर कर्णालीलाई हेर्नेहरूका कुरा सुनाउँछु। बसाइ सरेर जानेका सन्तानले सुनेको कर्णाली सुनाउँछु।
अर्थात्, आज म मेरा अनुभूतिलाई तीन वटा कर्णालीसँग जोडेर एकाकार गर्न चाहन्छु।
पहिलो कर्णाली छ — मैले सुनेको कर्णाली।
दोस्रो कर्णाली छ — मैले देखेको कर्णाली।
र, तेस्रो कर्णाली छ—भविष्यको कर्णाली।
मैले सुनेको कर्णाली परित्यक्त कर्णाली हो।
मैले सुनेको कर्णाली दुःखी कर्णाली हो।
मैले सुनेको कर्णाली किनारमा बसेर एक्लै रोइरहेको, गरिब कर्णाली हो।
मलाई कसले यो कुरा सुनायो थाहा छैन, र मैले कसरी कर्णालीको दुःखान्त सुने थाहा छैन। तर मैले सुनेको कर्णाली अपहेलित, तिरस्कृत र दुःखको कर्णाली हो। पछौटे, मैलो–धैलो कर्णाली हो। अन्धविश्वासको अँध्यारोमा फसेको कर्णाली हो। परिश्रम गर्न नसकेर भोकै बसेको कर्णाली हो।
किन मान्छेले कर्णालीलाई यसरी दुष्प्रचार गरे थाहा छैन। तर मैले यही सुनेँ कि कर्णाली पर छ र छ मैलो दलदलमा। जसलाई उठाउन जति कोसिस गरे पनि सकिँदैन। ऊ नियतिको सिकार छ। किनभने उसको लेखान्त नै यही हो।
तर मैले देखेको कर्णाली सुनेभन्दा फरक थियो।
जब मैले भित्रबाट कर्णालीलाई चिह्याउने कोसिस गरेँ, मैले देखेँ, कर्णाली हाम्रो सभ्यताको जग रहेछ।
जब मैले कुडा कर्णालीका साथीहरूलाई सुनेँ — मलाई लाग्यो, यो त हाम्रो ज्ञानको पाठशाला पो रहेछ।
कुडा कर्णालीको पहिलो दिन साँझ कर्णालीका गीतहरू सुन्ने कार्यक्रम थियो। कार्यक्रमस्थलमा मान्छेहरू खचाखच थिए। त्यहाँ गीत, कविता र गजलको भरमार प्रस्तुति थियो।
र, थियो देउडाको बेजोड भावप्रवाह।
त्यो क्षण, मलाई लाग्यो, कर्णाली मैले हिजोअस्ति सुनेभन्दा बिल्कुलै फरक छ। भव्य छ। सुन्दर छ। मनकारी छ। भावुक छ। र, भरिपूर्ण छ। जब मैले कर्णालीको पवित्र माटोमा जन्मिएका कलाकार र तिनका भाकाहरू सुनेँ, मलाई लाग्यो, यो त हाम्रो सभ्यताको जग र जननी पो रहेछ।
तत्क्षण, मैले सुनेको कर्णाली मेरो स्मृतिबाट हरायो र मैले देखेको कर्णालीले मलाई आल्हादित बनाइरह्यो।
कुडा कर्णालीको त्यो भव्य मञ्चमा, संगीत बजिरह्यो। गीत धन्किइरह्यो। मान्छेहरू ताली पिट्दै रहे।
त्यो सबै देखिरहँदा मलाई लाग्यो — कर्णार्ली हाम्रो सम्पदाको स्वर्ग हो। यो हाम्रो स्वर्णभूमि हो।
सुनको संसारमा बस्नेहरूलाई हाम्रो समाजले गरिब बनाइरहेको छ — यो कस्तो विपरीत कुरा? यो कस्तो लाजमर्दो कुरा?
जोसँग स्वयंभित्र गौरव छ, त्यही नै गौरवहीन बन्नुपर्ने कस्तो दुःखद कुरा।
त्यो साँझ मलाई लाग्यो, कर्णाली हाम्रो इतिहासको मुहान, हाम्रो पहिचानको आधार, र हाम्रो भविष्यको सम्भावना हो। कर्णाली दुर्गम छैन। किनभने यो हामीभित्र छ। दुर्गम छ त हाम्रो सोच र सत्ता।
मनमा प्रश्न आयो, पछाडि पर्नै नहुने कर्णाली पछाडि पर्यो कसरी?
जहाँ अपार सम्पदा छ, जल छ, जंगल छ, प्रकृति छ, आस्था छ र इतिहास छ, त्यो कर्णाली गरिब हुन्छ कसरी? त्यो किनारमा पर्छ कसरी? परित्यक्त हुन्छ कसरी? अविकसित हुन्छ कसरी? अन्धविश्वासी हुन्छ कसरी?
जब मान्ठ गीत मञ्चमा घन्किन थाल्यो, मलाई माथिका प्रश्नहरूको जबाफ मिलेझैं भयो। किनभने सत्ताले मान्ठ गीत त मन परायो, तर मान्ठलाई कहिल्यै स्वीकार गरेन। मान्ठ गीत त गायो, तर कर्णालीलाई कहिल्यै अवलम्बन गरेन।
सांगीतिक कार्यक्रमपछि मैले उपस्थित धेरै मान्छेहरूसँग कुरा गरेँ।
मलाई पक्का भयो — मैले देखेको कर्णाली, मैले सुनेको कर्णालीभन्दा धेरै फरक छ। अर्थात्, मैले सुनेको र सुनाइएको कर्णाली गरिबी, अपमान, अँध्यारो र अन्धविश्वासले थिलथिलो थियो। तर मैले देखेको कर्णाली ती संकटहरूबाट निस्किन प्रयत्न गरिरहेको देखिन्थ्यो। जो गरिब थिएन, गरिब बनाइएको थियो। जो, कमजोर थिएन, कमजोर बनाइएको थियो। जो दुर्गम थिएन, दुर्गम बनाइएको थियो।
मलाई लाग्यो — कर्णाली पछाडि परेको होइन, कर्णालीलाई पछाडि पारिएको हो।
कर्णाली किनारमा छैन, किनारमा पारिएको मात्र हो।
कतिपय मान्छेलाई लाग्छ, कर्णालीमा विकास छैन। कर्णाली देखेपछि मलाई लाग्यो, यहाँ केवल विकासको अभाव होइन, राज्यले दिने न्यायको अभाव हो। कर्णालीमा विकास हराएको त हो नै, तर त्योभन्दा धेरै हराएको हो न्याय।
मेरा लागि, कर्णालीमा विकास छैन भन्नुको अर्थ साधारण निस्किन्छ।
तर अन्याय भएको अनुभूतिले न्याय माग्छ। विद्रोह माग्छ। अधिकार माग्छ। जो आज कर्णालीलाई चाहिएको छ।
अब म तेस्रो कर्णालीको कुरा गर्छु।
अर्थात् कुरा गर्छु भविष्यको कर्णालीको।
भर्खरै मात्र नेपालमा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनको सबभन्दा शक्तिशाली बिम्ब छ, एउटा रक्तरञ्जित जुत्ता।
तपाईं हामी सबैलाई थाहा छ, त्यो जुत्ता हो भाइ प्रकाश बोहराको। जो स्वयं कर्णालीवासी हुन्।
त्यो यस्तो जुत्ता हो, जसले यो देशको नयाँ पुस्ताको इच्छा, अपेक्षा र सपनाको मात्र प्रतिनिधित्व गर्दैन, त्यो कर्णालीको पनि प्रतिनिधि बिम्ब हो र मैले देखेको तेस्रो कर्णाली त्यही हो।
जुन बिम्बले भन्छ, कर्णालीलाई दया होइन, अधिकार चाहिएको छ।
कर्णालीसँग परिवर्तनको एक अदम्य शक्ति छ— बाँच्ने, लड्ने र परिवर्तन गर्ने शक्ति।
कर्णाली आफ्नो परिचय बदल्न चाहन्छ।
कर्णाली उज्यालो भविष्यतिर हिँड्न चाहन्छ।
कर्णाली निराशाबाट आशातिरको यात्रा गर्न चाहन्छ।
आजको कर्णाली हीनताबोध, गरिबी र अपमानको पर्दा च्यातेर अगाडि बढ्न चाहन्छ।
सम्भवतः त्यसका लागि यसले राज्यसँग क्षतिपूर्ति माग्नुपर्ला। स्वयं जागृत भएर आफ्नो परिवर्तनको खाका बनाउनुपर्ला। कृषि, पर्यटन, जडीबुटीको खजानालाई दुनियाँका सामु लैजानुपर्ला। सभ्यताको नयाँ मानक बनाउनुपर्ला। आफैभित्रका पुरातन पर्दाहरूलाई च्यात्नपर्ला। समानता, स्वाभिमान र लोकतन्त्रलाई आफ्नो सभ्यताको जगमा बसाउनुपर्ला।
अर्को दिन, कुडा कर्णालीका आयोजक साथीहरूसँग बिदा हुँदै गर्दा, मलाई लाग्यो — कर्णालीले अब समृद्ध कर्णालीको सामूहिक सपना देख्नुपर्छ र त्यसका लागि प्रयत्न गर्नुपर्छ।
यो पक्का छ, यदि कर्णाली बन्छ भने, हाम्रो भविष्य बन्छ। अन्यथा कर्णालीलाई छाडेर, देश बनाउने कुरा गर्नु व्यर्थको कुरा हो।
अन्त्यमा एउटा ताजा राजनीतिक प्रश्न गरौं।
देशमा संघीय सरकारले भर्खरै बजेट ल्याएको छ।
विचार गरौं त, के बजेटले कर्णालीलाई न्याय गरेको छ?
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab