अहिले धेरै कम्पनीहरूको सेयर मूल्य एक वर्षकै न्यून आसपास छ। त्यसैले धेरैले यस्ता कम्पनी छानेर लगानी पनि गरिरहेका छन्।
आज हामीले पनि यस्तै न्यून मूल्यबाट बढिरहेका वा बढ्न थालेका दुई कम्पनी केलाएका छौं।
बुधबार सेयर बजारमा सबभन्दा धेरैले मूल्य बढ्ने १० कम्पनीमध्ये अधिकांश बजारमा कारोबारमा आएको एक वर्ष पुग्दै गरेका कम्पनी छन्। यसमध्ये दुई कम्पनी भने सो अवधिभन्दा पुराना छन्।
दस कम्पनीमध्ये यिनको सेयर आपूर्ति केही सहज रूपमा भइरहेकाले पनि यी कम्पनी छानिएका हुन्।
यी कम्पनी हुन्, सिटी होटल र कुथेली बुखरी साना जलविद्युत।
सिटी होटल
बुधबार सिटी होटलको सेयर मूल्य ४.५१ प्रतिशतले बढेर ४१७ रूपैयाँ पुगेको छ। यसको १६ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबभन्दा धेरै कारोबार रकमको आधारमा बुधबार यो तेस्रो स्थानमा छ।
२०८० जेठबाट सेयर कारोबारमा आएको यो होटलको सो समयावधि तिरकै न्यून विन्दु (३६८ रूपैयाँ) आसपास पुगेर बढ्न थालेको हो।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा यो होटल १३ करोड रूपैयाँ नोक्सानमा छ। यसअघि १७ करोड रूपैयाँ नोक्सान थियो। नोक्सान घट्दै गइरहेको छ, जुन राम्रो पक्ष हो।
सूचीकरण भएदेखि नै नोक्सानमा रहेको यसको हाल सञ्चित नोक्सान आठ करोड १९ लाख रूपैयाँ छ। यस्तो सञ्चित नोक्सान ४४ करोड रूपैयाँसम्म थियो। यसले हकप्रद जारी गरेपछि पनि सञ्चित नोक्सानमा केही सुधार भएको हो।
यसको प्रतिसेयर आम्दानी ऋणात्मक छ र प्रतिसेयर नेटवर्थ ९७ रूपैयाँ २८ पैसा छ।
यसको हालसम्मकै उच्च मूल्य ११६८ रूपैयाँ हो। ६ महिनाअघि ८० प्रतिशत हकप्रद जारी गरेयता मूल्य निकै घटेको हो।
सञ्चित नोक्सानी घट्दै जानु, मूल्य न्यून तहमा रहेकाले यसको सेयरमा आकर्षण देखिएको छ।
अहिले लगानीकर्ताहरू सिटी होटलको सेयर थुपार्ने (एकुमुलेसन) गरिरहेका छन् कि बजारमा प्रवाह (डिस्ट्रिब्युसन) गरिरहेका छन्?
विगत १३ दिनको कारोबार हेर्दा अहिले बजारमा सेयर थुपार्ने (एकुमुलेसन गर्ने) काम नै भइरहेको छ। यो अवधिको यसको मान ३ करोड ८८ लाख छ। बुधबार एक दिनको यस्तो मान एक करोड छ।
यसको अहिलेको नजिकको उच्च मूल्य विन्दु ५२२ छ। यसलाई लक्ष्य बनाउन सक्छ। ५० दिने र २०० दिन मुभिङ एभरेज रेखाले यसको मूल्य प्रवृत्ति बियरिसमा रहेको देखाउँछ।
कुथेली बुखरी साना जलविद्युत कम्पनी
त्यस्तै बुधबार कुथेली बुखरी साना जलविद्युतको सेयर मूल्य ६.५० प्रतिशतले बढेर एक हजार ५८५ रूपैयाँ पुगेको छ। यसको १२ लाख रूपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ।
२०८० भदौबाट कारोबारमा आएको यस कम्पनीको चुक्ता पुँजी १३ करोड रूपैयाँ छ। कम्पनीको सेयर आपूर्ति कम भएकाले पनि मूल्य उच्च छ।
कम्पनीको संस्थापक र आयोजना प्रभावित क्षेत्रमा जारी भएको सेयरको लकिङ पिरियड यही असारसम्म छ। त्यसैले अहिले निकै कम सेयर मात्रै कारोबारमा आउने गरेको छ।
अहिले मूल्य बढ्दा (बढाउँदा) लकिङ पिरियडपछि बजारमा कारोबारमा आउने सेयरले राम्रो मूल्य पाउन सक्छ। कम चुक्ता पुँजी भएको यस कम्पनीको मूल्य वृद्धि प्राकृतिक नहुन पनि सक्छ।
यसको सेयरको एक वर्षको उच्च मूल्य ३३०० र न्यून मूल्य १७०० रूपैयाँ छ। केही दिनअघि १४७० रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले बढेर १५८५ रूपैयाँ छ।
एक मेगावाटभन्दा पनि कम विद्युत उत्पादन गरिरहेको कुथेलीको चालु आर्थिक वर्षको त्रैमासमा नाफा एक करोड ९ लाख रूपैयाँ छ। यसअघि यस्तो नाफा एक करोड एक लाख रूपैयाँ थियो।
करिब १५ करोड रूपैयाँ चुक्ता पुँजी भएको यसको सञ्चितिमा चार करोड बराबर रकम छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ९३ पैसा छ र प्रतिसेयर नेटवर्थ १३० रूपैयाँ छ।
यसले २०८०–८१ र २०८१–८२ दुवै वर्ष १० प्रतिशत बोनस सेयर दिएको छ।
विगत १३ दिनमा कुथेलीको एक दिन मात्रै एक हजारभन्दा धेरै सेयर कित्ता कारोबार भएको छ। अन्य दिनमा एक हजारभन्दा पनि कम सेयर कारोबार भएकाले यसमा एकुमुलेसन वा डिस्ट्रिब्युसनबाट भनेर विश्लेषण गर्नु सही नहुन सक्छ।
कुथेलीको सेयर मूल्य भने १४०० देखि १६००को मूल्य रेन्जमा रहेर साइडवेज मुभमेन्टमा चलेको छ। यसको मूल्य करिब दुई वर्षयताकै न्यून विन्दुमा छ। यो विन्दुबाट बढ्ने प्रयास गरिरहेको भए पनि सफल हुन सकिरहेको छैन।
सेयर कारोबार जोखिममा आधारित हुने भएकाले लगानीकर्ताहरूले आफैले पनि कम्पनीको अवस्था परीक्षण गरेर मात्रै लगानी रणनीति बनाउनु सही हुन्छ।