कर्मकल्चर
धेरै समयपछि देशको ध्यान तान्न सफल हुनु पनि नेपाली कांग्रेसका लागि फाइदै होला जस्तो छ।
आन्तरिक विवाद नहुँदा देशको लोकतान्त्रिक इतिहासको ठूलो शक्ति ओझेल पर्दै गएको थियो। नीति निर्माण होऊन् कि नियुक्ति, कुनै मोर्चामा पनि उसले देशमा आशा सञ्चार गर्ने सामर्थ्य देखाउन सकिरहेको थिएन।
आम जनमतबाट धकेलिँदै, आफैभित्र अलमलिँदै, असरल्ल पर्दै गएको बेला एकाएक यो चलमलाउन थालेको छ।
आम निर्वाचनमा अब अनुहार उही देखाएर जाने कि फेरेर भन्ने प्रश्नमा कांग्रेस दुई कित्तामा उभिएको छ। देशमा नयाँ आशाको सञ्चार गरेर जाने कि 'हामी त यसै पनि ठूलो पार्टी, उसै राम्रो पार्टी, यसै ठिक छौं' भनेर जाने?
बाहिरबाट हेर्दा यसभित्रको विवाद राजनीतिक मुद्दासँगसँगै शक्ति हानथापको देखिन्छ। अहिल्यै अनुहार फेर्ने हो भने अलपत्र पर्नेहरू केन्द्रीय समितिमा धेरै रहेको देखिनु नै यो बहसको कडी हो।
अझ गहिरिएर खोतल्ने हो भने कांग्रेसले जेनजी आन्दोलनलाई कसरी हेरेको छ, यसका नेता र कार्यकर्ता पंक्तिले कसरी बुझेका छन् भन्ने प्रश्न नै अहिलेको विवाद र बहसको केन्द्र हो।
नेकपा एमालेले त प्रस्ट गर्यो। ऊभित्र कुनै दुबिधा देखिएन। फटाफट महाधिवेशन गर्यो। जेनजीले जे भनेको थियो, त्यो अस्वीकार गर्यो। जेनजीलाई षड्यन्त्र करार गर्यो। त्यसो गरेपछि कित्ताकाट क्लियर भयो। उही नेतृत्व सदर भयो।
नेकपा माओवादी केन्द्र भने तितरबितर भयो।
निशानामा रहेका तीन प्रमुख पार्टीमध्ये कांग्रेस भने विलखबन्दमा पर्यो। नेतापिच्छे विचार बदलियो। पार्टी समग्रले सच्चिनुपर्ने कि नपर्ने भन्ने दुई धार बन्यो। सच्चिनुपर्ने भन्नेले अग्रसरता लिन थाले। अग्रसरता भनेको जेनजी आन्दोलनको मुख्य आधार आत्मसात् गर्दै पार्टीलाई सच्याउने। पार्टीलाई सच्याउन महाधिवेशन गर्ने। मुखमा आएको नियमित महाधिवेशन पन्छाउन खोजे विशेष महाधिवेशन गर्ने।
सरकारले सधैं जनमत पालना गर्नुपर्ने हुन्छ भने पार्टीले कार्यकर्ता–मतदाताको बहुधारणा के छ भन्ने ख्याल गर्नुपर्दैन र?
जनमत आफ्नो विरूद्ध बन्यो भने सरकार टिक्न सक्दैन भन्ने उदाहरण हाम्रो आफ्नै निकट विगत हो। गत भदौ २३ गते जुन युवा सागर ओर्लियो, त्यो काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म मात्र सीमित थिएन। त्यो दिन देशैभर नवयुवा उर्लेका थिए — सामाजिक सञ्जालमा मात्र होइन, सहर सहरका सडकमा नै।
मैले देशभरिको युवा आक्रोश र परिवर्तनको उत्कट उत्साहलाई त्यही बेलुका गाउँमा गाई चराइरहेका बेला नै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ।
केही विद्यार्थी प्रदर्शनकारी मारिएको निराशामा मैले आफ्नो अन्तस्करणबाट भनेको थिएँ, त्यो जनआन्दोलन थियो। जनआन्दोलन कुनै पार्टी वा पार्टीहरूले मात्र गर्नुपर्ने हुँदैन। नागरिक शक्तिले गर्ने आन्दोलनलाई कम आँक्नु भनेकै राजनीतिलाई पेसा बनाउनेहरूको लघुताभाष हो।
विद्यार्थीहरू मारिएको आवेगमा भोलिपल्ट देशभर जे विध्वंस भयो—जसरी भयो, जो घुसे—अघिल्लो दिन नै घुसपैठ भयो भनेर स्वयं आन्दोलनकारीहरूले विज्ञप्ति निकाले।
त्यही आधारमा आन्दोलनलाई विध्वंस मात्र भनेर व्याख्या गर्ने जुन प्रयत्न जारी छ, त्यसले जेनजी आन्दोलनकारीलाई अहिले पनि असुरक्षित बनाएको छ। धेरैलाई सुरक्षा र अवसरका लागि राजनीतिक पार्टीको ओत लाग्न प्रेरित गरेको छ, विवश बनाएको भन्न पनि सकिन्छ।
ती आन्दोलनकारी किन राजनीतिमा प्रवेश गर्न खोज्दैछन् भन्ने विषयले नै हाम्रो राजनीतिक पार्टीहरूमा व्याप्त समस्या उजागर गरेको छ। नागरिक आन्दोलन, अभियान गर्नु, जोडिनु, खटिनुको खास अभिप्राय आफ्नो नागरिक कर्तव्य ख्याल गर्नु हो।
मुद्दा हेरी कहिलेकाहीँ सडकमा उत्रिनु, विभिन्न माध्यमबाट हस्तक्षेप गर्नु, खबरदारी गर्नु स्वाभाविक हो। तर त्यस्तो नागरिक सचेतनाको कर्तव्य पालना गर्नेहरू नै राजनीतिक पार्टी बनाउने वा भएका पार्टीमा भर्ती हुने लहर चल्यो भने, त्यसबाट हामी बुझ्न सक्छौं — समस्या नागरिक आन्दोलनकारीमा होइन, राजनीतिक पार्टीहरूमा छ; त्यहीँ जकडिएको छ।
यो मुद्दा बुझ्न नेपालमा लोकतन्त्रका लागि ख्याति कमाएको कांग्रेस पार्टी नै काफी छ। आज जो यसका वयोवृद्ध नेता छन्, उनी अघिल्लो जनआन्दोलनसम्म के भन्थे भने — हाम्रा नेताहरू आर्यघाट पुग्दासम्म पद (र पार्टी) छाड्न चाहँदैनन्। कोही पनि पार्टी वा पद — पार्टी भनेकै पद, पद भनेकै पार्टी — छाड्न नचाहने रोग त्यसयता घटेन।
दोस्रो जनआन्दोलनयता त झन् हुँदै–हुँदा पद र पार्टी यस्तरी हेरफेर गर्ने अपत्यारिला, अस्वाभाविक गठबन्धनहरू बन्ने–भत्किने भए, जसले उही नेतृत्वलाई सधैं शीर्षस्थानमा राख्यो र मिलिजुली, बाँडिचुँडी सत्ताभोग नै राजनीतिको रस हो भन्ने भान पारिदियो। कुनै पनि नवयुवाले आज राजनीतिमा अवसरको कल्पना नै गर्न नसक्ने अवस्था बन्यो।
कांग्रेसले मुख्य लोकतान्त्रिक शक्ति हुनाको जिम्मेवारी मात्र होइन, लामो संघर्षको अनुभवका खातिर पनि नवयुवाको नागरिक आन्दोलनको सम्मान गर्न सक्थ्यो र त्यसलाई आत्मसात् गर्दै आफूलाई जनभावनाअनुसार चल्ने, जबाफदेही पार्टीका रूपमा पुनर्जागृत गर्नुपर्थ्यो।
तर उसको नेतृत्व हामीले हेर्दाहेर्दै एमालेझैं जेनजीलाई पन्छाउने लाइन लिने, वा एमालेकै लाइन पछ्याउँदै जेनजी आन्दोलनलाई प्रतिगमनका रूपमा बुझ्न खोजिरहेको देखिन्छ।
उसले आफ्नै पार्टीभित्र 'महाधिवेशन गरौं' भन्ने बहुमत आवाजलाई विभिन्न प्राविधिक कारण देखाएर पर सार्दै लैजान मात्र खोजेन, विशेष महाधिवेशन माग्नेहरूलाई हतोत्साही समेत गरिरहेको छ। आफूभित्रकै बहुमत नमान्ने र सडकको आन्दोलन नटेर्ने यो रवैयाले कांग्रेस नेतृत्व किंकर्तव्यविमूढ होइन, कर्तव्यच्यूत देखिएको छ।
उसको एउटा आन्तरिक कठिनाइ उमेर पुगेका नेताहरूको व्यवस्थापन हो भने, त्यो सरासर नवयुवाहरूको बृहत् सपनामाथि लात हो। उसले सधैं तेर्स्याउने समस्या भनेको क्रियाशील सदस्यता वितरण र नवीकरण — मानौं नेपाली कांग्रेसका लागि प्रमुख राष्ट्रिय समस्या नै यही हो। देशका मुद्दाबाट भाग्न यस्ता निहुँ बनाउने पार्टीले जनतासामू के मुख देखाउन सक्छ?
अब उसले अर्को निहुँ बनाइरहेको छ — आम निर्वाचनका लागि उम्मेदवारी दिने मिति आइसक्यो, महाधिवेशन गर्दा पार्टीभित्रको विवादले पार्टीलाई कमजोर पार्छ। त्यसो भए के अहिले महाधिवेशन रोक्न खोज्दा आन्तरिक विवाद मत्थर भएको छ?
निर्वाचनकै लागि महाधिवेशन आवश्यक छ भनेर कस्सिएका कार्यकर्ताहरूले बरू पार्टी हित हेरेका छन्। उनीहरूले मतदातासामु मुख देखाउने अनुहारमा आशा र आश्वासनको उज्यालो पोत्न खोजेका छन्।
पार्टीलाई समय सान्दर्भिक बनाउॅदै लैजान नेताहरूले अलमल गर्दा कार्यकर्ताहरू जुर्मुराउनु लोकतान्त्रिक आचरण हो। आफू असन्तुष्ट हुँदाहुँदै घिस्रेर मतदातासामु जान सकिन्न भन्ने स्वीकारेर जो विशेष महाधिवेशन गर्न खोज्दैछन्, तिनले लोकतान्त्रिक अभ्यास गर्न खोजेका हुन्।
लोकतान्त्रिक पार्टी लोकतान्त्रिक आचरण र अभ्यासबाटै खारिने हो। महाधिवेशन ठूलो अवसर हो। निर्वाचनकै निहॅुमा भए पनि कांग्रेस सच्चिने, फेरिने यो प्रयत्न जेनजी आन्दोलनको पनि एउटा उपलब्धि हुनेछ।
***