दीपा नेपाली हरेक दिन काठमाडौंको माइतीघरमा प्लाकार्ड बोकेर ठिंग उभिन्छिन् — सरकार, कोठा खाली छ?
उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउनेहरू वा उनले जस्तै विभेद खेपेकाहरू पनि उनीसँगै उभिन पुग्छन् र प्लाकार्ड उठाउँछन्— सरकार कोठा खाली छ?तिमी जात चिन्छौ कि मान्छे? जात सोधेर विभेद गर्ने तिम्रो चेतना कुन जमानामा छ? जात सोध्ने देश! तिमी मान्छे बन्ने कहिले? विभेदकारी जो, मनोरोगी हो! जात सोध्न निषेध गर।
आदि।
रहरले होइन, सदियौंदेखि समाजमा घोलिँदै आएको जातीय विभेदको 'जहर' र दलित भएकै कारण समाजमा भोग्नुपर्ने विभेदको कहरले उनलाई त्यहाँ उभ्याएको हो।
आठ वर्षअघि उच्च शिक्षाका लागि कैलालीदेखि काठमाडौं आएकी उनी सुरूमा कीर्तिपुरस्थित त्रिविको होस्टलमा बसेकी थिइन्।
त्यसको दुई वर्षपछि डेरा खोज्ने क्रममा उनी नेपाल सरकारका तत्कालीन अनुसन्धान अधिकृत श्रीकृष्ण बिडारीको तार्केश्वर नगरपालिका– १० नेपालटारस्थित घरमा पुगिन्। त्यहाँ बसेको दुई दिनमै जात–थर थाहा पाएर उनलाई कोठा छाड्न भनियो। तत्काल कोठा सर्न सम्भव भएन, केही दिन बस्ने क्रममा उनले केही अप्ठ्यारा बेहोर्नुपर्यो।
संघीय राजधानीमै जातका कारण विभेद भोग्नुपरेपछि उनले देशको संविधान–कानुनलाई सम्झिइन् र मुद्दा लड्ने अठोट लिइन्। २०७६ फागुन २२ गते घरबेटी बिडारीविरूद्ध जातीय विभेदको मुद्दा दर्ता भयो, जो अहिले सर्वोच्चमा विचाराधीन छ। पछिल्लो पटक पनि उनले जातकै कारण कोठा छाड्नुपर्ने अवस्था आयो। अन्ततः सरकारसमक्ष केही माग राखेर उनी माइतीघर मण्डलामा धर्ना दिन गइन्।
उनको सत्याग्रह आज (२१ जेठमा) ४७ औं दिन पुग्दै छ। बीस वर्षअघि आजकै दिन (२१ जेठ २०६३) संसदबाट देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो। यो बिचमा आएका संविधान र कानुनले जातीय भेदभाव तथा छुवाछुत पूर्ण रूपमा निषेध गरेका छन्।
यद्यपि आज पनि जातकै कारण दलितले सहरमा सहजै डेरा नपाउने अवस्था आम रूपमा छ। त्यसैले दीपाको सत्याग्रहलाई ऐक्यबद्धता जनाउँदै काठमाडौंबाहिर समेत पाँच स्थानमा दलित युवाले धर्ना दिइरहेका छन्— रन्जना कामी (दाङ), सन्तोष विश्वकर्मा (नेपालगन्ज), विक्रम विश्वकर्मा (जुम्ला) र मानव यात्री (पूर्वनवलपुर) को नेतृत्वमा।
मुद्दा लड्दा र सहरिया शिक्षित समाजसँग जुध्दा अंग्रेजी साहित्यमा मास्टर र कानुनमा स्नातक गरेकी दीपालाई लागेको छ— जातीय विभेदको त प्रमाणै नपुग्दो रहेछ, त्यसैले अब जात सोध्नै निषेध गर्नुपर्छ, जात सोध्यो वा कुनै पनि माध्यमबाट जातीय उच्चता वा हीनता जनाउने भाव, भाषा वा शब्द प्रकट भयो भने सजाय हुने कानुन आउनुपर्छ; आखिर जात सोध्नु र जातीय उच्चता वा घृणा प्रकट गर्नुको आशय तथा उद्देश्य भनेकै विभेद गर्नु हो, एउटालाई ऊँच र अर्कोलाई नीच प्रमाणित गर्नु हो। कसैलाई जातीय आधारमा ठूलो हुन वा कसैलाई जातीय विभेद गर्न त आजको संविधान र कानुनले दिँदैनन्।
संविधानको मौलिक हक अन्तर्गत 'छुवाछुत तथा भेदभावविरूद्धको हक' मा कुनै पनि व्यक्तिलाई निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने र जातीय उच्चता वा घृणामा आधारित विचारको प्रसार गर्न नपाइने उल्लेख छ। संविधानको यही आशय र आत्मालाई छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐनले बोकेको छ। यद्यपि आजसम्म हामीकहाँ जात सोध्नै नपाइने कानुन बन्न सकेको छैन।
अर्कोतिर कानुनले निषेध गरे पनि निजी वा सार्वजनिक स्थानमा छुवाछुत पूर्ण रूपमा हटिसकेको छैन। अझै पनि गाउँठाउँमा हुने भोज–भतेरमा दलितलाई छुवाछुत गरिन्छ। यस्तै, समाज र सामाजिक सञ्जालमा जातीय उच्चता र घृणा फैलाउने भाव, भाषा र शब्द प्रकट भएकै छन्।
जात सोध्न वा जातीय अहम आउने भाव र भाषाको प्रयोगलाई किन वर्जित गरिनुपर्छ भन्ने बुझ्नुअघि जात वा वर्ण व्यवस्थाको उत्पत्तिको आधार थाहा पाउनुपर्छ।
वर्ण व्यवस्थाको उत्पत्ति
आज हिन्दु समाजमा विद्यमान जात व्यवस्थाको जग ऋग्वेदको पुरूषसूक्तसम्म पुग्छ, जहाँ एउटा पुराकथा बोल्छ, 'ब्रह्माको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, जाँघबाट वैश्य र पाउबाट शूद्रको उत्पत्ति भयो।'
विद्वानहरू ऋग्वेदमा यस पुराकथालाई पछि थपिएको पनि मान्छन्, जेहोस् यिनै चार समूहलाई चार वर्ण मानियो। यी चार वर्णका स्त्री–पुरूषले आफ्नोबाहेक अन्य वर्णसँग समागम गरी सन्तान जन्माउँदै जाँदा, अनि यी चार वर्णका सदस्य आ–आफ्नो तोकिएको पेसा र चालचलनमा नरहँदा विभिन्न वर्णसङ्करहरू (वर्ण व्यवस्था अनुसार मिश्रित जात, जो फरक वर्णका मातापिताबाट उत्पन्न हुन्थे) को उत्पत्ति हुँदै आयो।
ऋग्वेदमा भने 'वर्ण' शब्दको प्रयोग आर्य र दासका लागि भएको छ (रामशरण शर्माको पुस्तक 'शूद्रों का प्राचीन इतिहास')।
नेपाली शब्दकोश अनुसार 'वर्ण' शब्दको अर्थ लाग्छ— ध्वनिको प्रतीकचिह्न, रूप वा आकृति, सौन्दर्य, वेशभूषा, रङ र हिन्दु मान्यताका चार वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र)।
प्रा. बालकृष्ण पोखरेलले सवर्णा, सावर्णि र सावर्ण शब्दको सहारा लिँदै वर्ण शब्दको सबैभन्दा जेठो अर्थ सूर्य थियो भनेका छन्।
'सवर्णा सूर्यकी पत्नी छायाको नाम हो, सावर्णि छायातिरबाट जन्मिएको सूर्यपुत्र शनिको नाम हो र सावर्ण नाम हो शनिसन्तति मनुहरूको, जो पुराणादिका अनुसार भावी मनुहरू हुन्' (पोखरेलको पुस्तक 'खस जातिको इतिहास)।
वर्णसँग सम्बन्धित माथिका प्रसंगहरूले दर्शाउँछन्, आर्यहरूले आफूलाई सर्वश्रेष्ठ देखाउने कथा बुन्न सूर्य र ब्रह्माको सहारा लिए। वर्ण व्यवस्थाको आरम्भ र अभ्यासका लागि पहिले ब्रह्माको परिकल्पना गरियो।
'भगवान ब्रह्माजीको मुहारबाट जन्मेका सन्तान भन्ने अर्थमा ब्राह्मण शब्द बनेको भन्ने धारणा र विश्वास प्रचलित छ' (प्रा.डा. जगदीशचन्द्र रेग्मीको पुस्तक 'नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास')।
रेग्मीले पाद टिप्पणीमा लेखेका छन्— ब्रह्माजीको मुखबाट उत्पन्न भएकालाई मात्रै ब्राह्मणको जात भन्ने परम्परा रूढ भएको छ। ब्रह्माजीकै शरीरका अंगबाट जन्मेका विश्वास गरिने अन्य तीन जात (क्षत्रिय, वैश्य, शूद्र) लाई पनि पनि विस्तृत अर्थमा ब्राह्मण मान्नुपर्ने हो।
रामशरण शर्माले पुरूषसूक्तको पुराकथाका आधारमा चारै वर्ण एकै वंशको भएको वा अन्य तीन वर्ण आर्य समुदायकै अंग भएको तर्क गरेका छन्।
उनी लेख्छन् — अथवा यस उत्पत्ति कथाद्वारा विभिन्न जातिलाई ब्राह्मण समाजमा मिलाउने प्रयास भयो।
ब्रह्मा वा ईश्वरको परिकल्पनापछि ईश्वर र अनुष्ठानहरूलाई मान्ने वा नमान्नेहरूको कुरा आयो। त्यसपछि नै मूलभूत रूपमा वर्ण वा जाति भेदका सिमाना बनाउने र शास्त्र लेख्ने अभ्यास अगाडि बढ्छन्।
वैदिककालमा विशेषतः सत्ता र शक्तिमा रहेका आर्यहरूले आफूभन्दा नीच देखाउने अन्य केही गण वा जनजाति थिए— दस्यु, दास, चाण्डाल, राक्षस, शूद्र आदि। जब आर्यहरूले चार वर्णको घोषणा गरे, तब दस्यु र दासमध्ये अधिकांश शूद्र वर्णमा सम्मिलित हुन पुगे।
रामशरण शर्माका अनुसार, ऋग्वेदमा दस्युगणको चर्चा ८४ पटक र दासहरूको चर्चा ६१ पटक भएको छ। दस्युभन्दा दासहरूसँग आर्यहरूको सम्बन्ध राम्रो थियो। विशेषतः यज्ञसँग कुनै सरोकार नभएका दस्युहरूको रहनसहन आर्यहरूलाई मन पर्दैनथ्यो र शत्रूताको व्यवहार गर्थे। दास र दस्युहरूको कब्जामा किल्लाबन्दी गरिएका अनेक बस्ती थिए, जसलाई आर्यहरूले ध्वस्त पारिरहन्थे।
ऋग्वेदको ऋचा भन्छ— हे इन्द्र! आर्य को हो र को दस्यु को हो भन्ने चिनेर तिमीले कुशयुक्त यज्ञको विरोध गर्नेहरूलाई नष्ट गर। यज्ञ गर्नेहरूको सहायक बन (१।५१।८)।
ऋग्वेदमा दास वर्ण भनिएकाहरू गुलाम अर्थात् सत्ता, सम्पत्ति, संस्कार तथा संस्कृति छिनिएकाहरू नै हुन्।
'जब आर्य भारतमा पहिलोपटक आए, त्यतिबेला उनीहरूसँग दास थिए कि थिएनन् भन्ने हामीलाई थाहा छैन,' विभिन्न सन्दर्भ उद्धृत गर्दै रामशरण शर्मा लेख्छन्, 'यद्यपि अपेक्षित अर्थमा दासप्रथाको अधिक विकसित रूप कृषक जनजातिहरूमा देखिन्थ्यो।'
शर्माका अनुसार, ऋग्वैदिक समाज जनजातीय थियो। आर्यहरूको अन्य जनजातिसँग र आन्तरिक रूपमा पनि संघर्ष चलिरहन्थ्यो। ऋग्वेदमा आएको 'दाशराज्ञ' (दश राजाहरूबीचको) युद्ध आन्तरिक संघर्षको महत्वपूर्ण प्रमाण हो। यस्ता संघर्षले पनि दासहरू जन्मायो। ऋग्वैदिक कालको आरम्भमा दासीहरूको सानो आज्ञानुवर्ती समुदाय विद्यमान थियो।
अनुमानतः आर्यका जो शत्रू थिए, तिनमा पुरूषहरूलाई मारेपछि तिनका पत्नीहरू दासी बन्न पुगे।
ऋग्वेद (६।३३।३) का अनुसार इन्द्रले दास, दस्यु वा अनार्यलाई मात्रै मार्दैनथे, आर्यलाई पनि मार्थे। यसरी मारिएका आर्य पुरूषका पत्नीहरू पनि दासी बन्न पुगे।
दासदासी बन्न पुग्ने अरू पनि थुप्रै कारण थिए। ब्राह्मणहरूका लागि चतुर्थ आश्रम हो संन्यास। एकपल्ट संन्यास लिएको व्यक्तिले पछि संन्यास तोडेमा उसलाई राजाले कुकुरको पाइतालाको छापले डामेर देश निकाल्नेदेखि चाण्डाल र दास बनाउनेसम्मको शास्त्रीय विधान थियो (नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास)।
जब अन्यत्रबाट आर्यहरू भारत भूमि (आजको पाकिस्तान पनि) मा आए, उनीहरूले आफूसँग युद्धमा पराजितलाई र आफूभन्दा कमजोरलाई दास बनाउन थाले, उनीहरूमाथि शासन गर्न थाले।
विभिन्न सन्दर्भ उद्धृत गर्दै रामशरण शर्मा आफ्नो पुस्तकमा लेख्छन्— वैदिककालदेखि पछिसम्म विभिन्न प्रकारका विभिन्न वर्णका आर्येतर आदिवासीलाई बिस्तारै बिस्तारै शूद्र वर्णमा सम्मिलित गरियो। मुख्यतः पशुधन र भूमिको स्वामित्वका लागि संघर्ष भइरहन्थ्यो। यी सम्पत्ति छिनेर जसलाई अशक्त बनाइन्थ्यो, उनीहरू नयाँ समाजमा शूद्र कहलिन्थे।
दस्यु र शूद्र पनि वैदिककालका जनजाति नै थिए। शूद्र शब्दको उत्पत्तिका सम्बन्धमा विद्वानहरूले छुद्र, कुद्रोस, कुद्र, सोद्रई लगायत शब्दको सहारा लिएका छन्।
वैदिककाल र त्यसपछि पनि आर्यसँग संघर्ष हुँदा कतिपय जनजातिहरू छिन्नभिन्न हुँदै चार वर्णमा बाँडिए। विशेषतः उत्तरवैदिक कालमा आर्यहरूले आफ्नो धर्म र शासन चलाउन वर्णमा रहने वा वर्णबाट च्युत हुने (वर्णसङ्कर वा मिश्रित जाति बन्ने) नियम (धर्मसूत्र र स्मृति)हरू बनाउँदै आए।
धर्मसूत्र र स्मृतिहरूले फरक वर्णबाट जन्मने सन्तान कुन वर्णसङ्कर बन्ने, उनीहरूको पेसा के हुने, कहाँ रहने, वर्ण व्यवस्था बमोजिमको नियम नमाने कस्तो दण्ड हुने भनी तोके। विशेषतः वैश्य र शूद्रलाई विभेद गरी ब्राह्मण र क्षत्रीले विशेष स्थान दिने अनेक नियम उत्तरवैदिक कालमा बने।
अथर्ववेदमा 'रथकार' (रथनिर्माता) र 'कर्मार' (धातुकर्म गर्ने) शब्द परेका छन्। वैदिककालमा यी दुवै पेसा अपनाउनेहरूलाई समाजमा महत्वपूर्ण स्थान रहेको भनी रामशरण शर्माले उल्लेख गरेका छन्। खोजकर्ताहरूले रथकारलाई पनि आदिम जाति मानेका छन्।
पछि बौधायन धर्मसूत्रले भन्यो— वैश्य (स्त्री वा पुरूष) र शूद्र (स्त्री वा पुरूष)का सन्तति रथकार हुन्छन्।
यसरी रथ बनाउने काम गर्नेहरू वर्णसङ्कर बन्न पुगे। यसको अर्थ यो पनि हो कि वैश्य र शूद्रबाट जन्मेकाहरूले रथ बनाउने काम गर्नुपर्छ।
यस्तै अर्को जाति छ चाण्डाल, जसलाई शर्माले आदिवासी मानेका छन्। बौद्ध र जैन ग्रन्थअनुसार यिनीहरू शूद्र वर्णमा सम्मिलित थिएनन्।
वशिष्ठ धर्मसूत्रले भन्यो — ब्राह्मण स्त्रीबाट उत्पन्न शूद्रपुत्र चाण्डाल हुन्छ।
यता मनुस्मृति भन्छ — चाण्डाल र श्वपच गाउँभन्दा बाहिर बस्नुपर्छ, यिनीहरूसँग भाँडाकुँडा हुनु हुँदैन, कुकुर र गधा नै यिनीहरूको सम्पत्ति हुन्छ।
आपस्तम्ब धर्मसूत्रमा आफूभन्दा माथिल्ला तीन वर्णका स्त्रीसँग व्यभिचार गर्ने शूद्रलाई हत्या गर्नु भनिएको छ। यहाँ आएको व्यभिचार शब्दले उनीहरूबीचको माया–प्रेमप्रति संकेत गर्छ।
चार वर्णमध्ये वैश्य र शूद्रमा को को परे भन्ने यकिन छैन। विशेषतः पशुपालन र खेती गर्नेलाई वैश्य मानिन्थ्यो। शूद्रलाई श्रमिक वर्ग मानिन्थ्यो।
वाजनेयी संहिताका अनुसार, बलि दिन सकिने रथनिर्माता, बढई, कुम्भकार, लोहार, सर्राफ, चरवाहा, गडेरिया, किसान, मद्यनिर्माता, मछुवा र सिकारीहरूलाई वैश्य वा शूद्रको कोटिमा राख्न सकिन्छ।
रामशरण शर्मा लेख्छन्, 'निषाद, किरात, पर्णक, पौलकस र बैन्दलाई सम्भवतः शूद्र मानिन्थ्यो।'
चार वर्णमध्ये क्षत्रियको धर्म हो, प्रजाको रक्षा गर्नु। मनुस्मृति (७।२) भन्छ — विधिपूर्वक यज्ञोपवित संस्कार सम्पन्न गरेका क्षत्रियले न्यायपूर्वक सबै प्रजाको रक्षा गर्नुपर्छ।
मनुस्मृति (१।८८) ले ब्राह्मणको ६ कर्म उल्लेख गरेको छ— पढ्ने–पढाउने, यज्ञ गर्ने–गराउने, दान दिने–लिने।
यस्तै वैश्यको धर्म उल्लेख छ— पशुको रक्षा गर्नु, दान दिनु, यज्ञ गर्नु, पढ्नु, व्यापार गर्नु र खेती गर्नु (मनुस्मृति १।९०)।
धर्मशास्त्रहरूले वर्णसङ्कर वा खसेका जातहरूको उत्पत्तिको पहिलो आधार विवाह र यौनलाई मानेका छन्। विशेषतः विभिन्न वर्णका स्त्रीहरूले विद्रोह गरी फरक वर्णसँग विवाह वा समागम गरेर अथवा फरक वर्णको पुरूषबाट बलात्कृत भएरै विभिन्न वर्णसङ्कर (मिश्रित जात) जन्मन पुगेका हुन्।
मनुस्मृति भन्छ— ब्राह्मण, क्षत्रीय र वैश्यमा आमा तल्लो वर्णकी भए आमाको वर्णका दोषले गर्दा उसका सन्तानहरू उसैको वर्णमा पर्छन् (१।१४)।
मनुस्मृति लगायत धर्मशास्त्रकै आधारमा हामीकहाँ वर्ण व्यवस्था लागू हुँदै आयो। सुरूमा लिच्छविहरूले काठमाडौँ खाल्डोमा वर्ण–व्यवस्थालाई भित्र्याए। मल्लकालमा आएर जयस्थिति मल्लले हिन्दु धर्मशास्त्रमा आधारित रहेर जातीय कानुन लागू गरे। जसले विभिन्न वर्णका स्त्री र पुरूषबाट जन्मेका सन्तान कुन वर्णसङ्कर वा खसेका जातमा पर्ने भन्ने व्यवस्था मूलतः मनुस्मृतिमा आधारित रहेर गरेको थियो।
यस्तै, कर्म–पेसा, अपराध पनि वर्ण अनुसार तोकिएको थियो। पछि पृथ्वीनारायणले समेत आफ्नो भाषण (दिव्योपदेश) मा जयस्थिति मल्लले बाँधेको थिति पनि हेरिसके भनेका छन्। उनको दिव्योपदेश र उनीअघिका राम शाहको कानुन पनि जातमै आधारित छ।
राम शाहको स्थिति भन्छ — खस, मगर, नेवार प्रभृति सानो जात सबलाई जिउसम्बन्धी ठुलो विराम गर्यो भने जिउ मात्र मार्नु' (प्रा.डा. जगदीशचन्द्र रेग्मीको पुस्तक 'नेपालको वैधानिक परम्परा)।
राणाकालमा जंगबहादुरले पनि धर्मशास्त्रमै अर्थात् वर्ण–व्यवस्थामा आधारित भएर मुलुकी ऐन (१९१०) ल्याए। यसले जुठो खाने, छोइछिटो गर्ने (पानी नचल्न्या, चल्न्या वा छा छोया छिटो हालनु पर्न्या), विवाह वा करणी, मासिन्या वा नमासिन्या मतवाली आदिका आधारमा सानो वा ठुलो जात निर्धारण गरेको थियो।
जस्तै — उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबैभन्दा सानो च्याम्हा खलकको जात।
षतवातमा अघि देषि मासि आयाका नेवार जात गैह्रमा पानी चल्न्या सम्मका नेवार जातले मासिन्या षत गर्यामा इन्हेरूलाइ नमासिन्या नेवार जातका सरह सजाय गर्नु।
तागाधारी जात र नमासिन्या मासिन्या मतुवाली जात पानी नचल्न्या जात र छिटो हालनु पर्ने जात गैह्रका लोग्न्या स्वास्नी मानिस कसैले भात नमिल्ने, आफू आफूमा घटी–बढी जातका कन्या विधवा भात मिल्दो हो भनी जात ढाँटी विवाह गरी गराइ वा अरू विहोराले दिइ दिलाइ भातमा बोराइ दियो भने कोही कराउन आयो भने श्री प्राइम मिनिस्टर र अदालतका हाकिमले तजबीज गरी दण्ड सजाय गर्नु।
यस ऐनले कामी र सार्कीबाट जन्मने कडारा हुने र कडारा दमाईभन्दा ठुलो हुने व्यवस्था गरेको थियो।
यसरी घटी र बढी जात भनी तोकिएको कानुन आजभन्दा ६३ वर्षअघि (२०२० सालमा) खारेज भयो भई मुलुकी ऐन २०२० आयो। यसले जातका आधारमा दण्ड र सजायको व्यवस्था गरेन। बहुदलपछि आएको संविधान (२०४७) को मौलिक हक अन्तर्गतको समानताको हकमा छुवाछुत नगरिने त भनियो तर सार्वजनिक स्थानलाई मात्रै जोड दिइयो।
अर्थात् यस संविधानले पनि घरभित्र (निजी स्तरमा) छुवाछुत गर्न छुट दिन्थ्यो।
अन्ततः २०७२ को संविधानले मौलिक हक अन्तर्गतको 'छुवाछुत तथा भेदभाव विरूद्धको हक'मा निजी तथा सार्वजनिक स्थानमा छुवाछुत वा भेदभाव नगरिने व्यवस्था गरेको छ। यसअघि २०६८ मा आएको 'जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ऐन'ले निजी क्षेत्रमा पनि छुवाछुत गर्न नपाइने र गरेमा सजाय हुने व्यवस्था गर्यो।
यसरी हेर्दा हामीकहाँ निजी स्तरमा छुवाछुत गर्न वञ्चित गरिएको १५ वर्ष पनि पुगेको छैन। लामो समयदेखि कानुनमार्फत अभ्यास गरिएको जातीय छुवाछुत बाहुन–क्षत्रीभित्रै र दलित समुदायभित्रै समेत थियो र छ।
जातको मरेको अनुहार
सदियौंदेखिको अभ्यासले गर्दा मानिसले जातसम्बन्धी आफ्नै धारणा वा अवधारणा मात्रै होइन, जातको अनुहार नै बनाएका छन्। त्यसैले 'जात देखायो', 'जात जनायो', 'जातले पाएको' जस्ता भनाइ हाम्रा लागि नौला होइनन्। एकले अर्कोलाई सामान्य अवस्थामा वा झगडाका बेला यी वाक्य बोलेको अथवा पोलेको हामीले सुनेकै हौँला।
वास्तवमै जात कसरी देखिन्छ वा जनिन्छ? हिन्दु समाजको जगका रूपमा रहेको जात वा वर्ण–व्यवस्थाको अवधारणा, अनुहार, इतिहास र यसप्रति व्यक्तिहरूमा विद्यमान आस्थाको बीजलाई नै बोक्न सक्ने यो वाक्यको ओज र वजन असामान्य छ।
दक्षिण भारतीय फिल्म 'बाहुबली'मा एउटा गहिरो संवाद छ, 'आप को देखकर पता चलता है कि बफादारी का भी एक चेहरा होता है कटप्पा।'
बाहुबली हेरिरहँदा लाग्छ, पितापुर्खाले दिएको वचनका लागि माहिष्मती राजसिंहासनको गुलाम बनिरहेको कटप्पा पात्रले आफ्नो वा मान्छेको होइन, बफादारीको अनुहार लिएर बाँचेको छ। अर्थात् बफादारी भनेकै कटप्पा, कटप्पा भनेकै बफादारी।
पात्र कटप्पाको चेहरा, चिन्तन र चरित्रमा जसरी बफादारिता उत्रिएको मान्न सकियो, त्यसरी नै कुनै व्यक्तिको चेहरामै जातजाति उत्रिन्छ भन्ने होइन। यद्यपि कुनै व्यक्तिको समग्र चिन्तन, चरित्र, बोली, व्यवहार, वेशभूषामा कहीँ–कतै उसको सामाजिक रीतिरिवाज; उसले पछि अपनाएको धर्म–संस्कृति र उसलाई प्रभाव परेको भाषा–संस्कृति झल्कन सक्छन्।
आज कसैको जातजाति चिन्ने सामान्यतः तीनवटा आधार छन्— १) नाम–थर उल्लिखित सरकारी कागजात २) समाज वा सम्बन्धित व्यक्तिले भनेका आधार ३) रूप–रङ, भाषा, वेशभूषा, संस्कार र संस्कृतिका आधारमा पनि केही जातजाति चिनिन्छन्। यद्यपि यो अलि परको कुरा हो।
यहाँनेर, जातजाति भन्नाले वर्ण–व्यवस्थामा आधारित कथित ठूलो वा सानो जात र आफ्नो छुट्टै संस्कृति, भाषा, भूगोल, चालचलन आदि भएको कुनै जनजाति समुदाय दुवैलाई सम्झनुपर्छ।
अब लागौं, जातको चेहरा चिन्नतिर।
मानिसको मनोविज्ञानको ढाँचा हुन्छ, कतिपय विषयलाई कुनै आकृति वा अनुहारमा सम्झने। मान्छेले मान्छेको जस्तै अनुहार र आफ्नो आस्था तथा विश्वास अनुरूपका आकृति हरसम्भव स्थानमा खोज्छ वा देख्न पुग्छ, जसलाई 'प्यारेडोलिया' भनिन्छ।
हाम्रो मस्तिष्कले स्मृतिहरूको भण्डारणका लागि सामान्यतः रूप, रस, गन्ध, स्पर्श र शब्दको सहारा लिन्छ।
जस्तो — रगतपच्छे एउटा सेतो जुत्ताले हामी र हाम्रा सन्तानलाई युगौंसम्म जेनजी विद्रोहको स्मरण गराउनेछ। हाम्रा पुर्खाले करिब तीन हजार वर्षअघि अन्यायपूर्ण किसिमले कोरेको जातीय विभाजनको रेखामा धेरथोर दायाँबायाँ भई आज हामी बाँचिरहेका छौं।
यहाँनेर प्रश्न उठ्छ— आज हामीमाझ जात व्यवस्थाले कस्तो अनुहार लिएर बाँचेको छ वा मरिसक्यो? जात भन्नेबित्तिकै हामीले के कस्तो चित्र वा चेहरा सम्झन्छौं?
हो, जात व्यवस्थाको पनि आफ्नै अनुहार छ, विभिन्न अवयवले यसलाई आकृति दिएका छन्।
भारतीय खोजकर्ता छोटेलाल शर्माको पुस्तक 'जाति अन्वेषण' मा उल्लेख छ — अहिले प्रचलित जति जाति (जात) छन्, तिनीहरू आ–आफ्नो व्यवहार, धन्दा, पेसाका कारणबाट बनेका हुन्। अतः जुन धन्दा वा पेसालाई जसले गरिरहेको छ, त्यसबाट जातिको नाम लिइन्छ।
जात जनाउने विशिष्ट अवयवलाई जोडेर एउटा अनुहार बनाउन सकिन्छ— जात व्यवस्थाको मुख हो भोजन; दुई आँखा हुन् विवाह र पेसा, नाक हो संस्कृति, कान हुन् धर्मशास्त्र र धार्मिक रीतिरिवाज वा प्रथा।
विशेषतः वर्ण–व्यवस्थालाई मूल स्वरूप दिने काम दुई आँखा र मुखले गरेका छन्, अर्थात् जात व्यवस्थाका आधार हुन्— विवाह, पेसा र भोजन।
विवाह र पेसाको आँखाबाट वर्ण–व्यवस्था छर्लंग देखिन्छ। जातका मूल आधार हुन्— विवाह र पेसा। यस्तै, जातको अर्को मूल आधार भोजनबाट वर्ण–व्यवस्थाको स्वाद पाउन सकिन्छ। कुन भोजन वा कसले छोएको भोजन कुन वर्णले खाने वा नखाने भन्ने धर्मशास्त्र वा कानुनमै स्पष्ट तोकिएको थियो र वर्जित भोजन खाएका आधारमा जात खस्थ्यो।
यस्तै, जातजाति अनुसारको संस्कृति पनि निर्माण हुँदै आएका छन्। जातजाति अनुसारको संस्कार र सत्ता वा बहुसंख्यकको संस्कृति अपनाउनुपर्ने समेत दण्डनीय व्यवस्था थियो। यद्यपि आजको सभ्यताले विभेदजन्य संस्कार तथा संस्कृतिलाई बहिष्कार गर्दै र असल संस्कृतिलाई साझा बनाउँदै आएको छ।
संस्कृतिहरू आज एउटा जात विशेषमा भन्दा पनि समुदाय विशेषमा प्रचलित छन्। देशको संविधान, नियम–कानुन र नीति तथा कार्यक्रम पनि समुदायमै आधारित छन्। जस्तै — खसआर्य, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम आदि।
धर्म–संस्कृति र ऐतिहासिक पाटोलाई केलाउँदा खसआर्य समुदायभित्र दलित पनि पर्छन्, यद्यपि नपारेर सानो भुल संविधानमा हुन पुगेको छ।
आज जात (जाति वा समुदायलाई होइन) लाई जनाउने नियमहरू जिउँदा छैनन्। आजको मानिसले आफ्नो रूचि, क्षमता र बौद्धिकता अनुरूपको पेसा, भोजन, संस्कार–संस्कृति अपनाउन थालेको छ भने विवाह अन्तर्जातीय, अन्तर्सामुदायिक र अन्तर्देशीय हुन थालेका छन्। हिजो जुन नियमले जात बनेका थिए, आज ती नियम तथा कानुन प्रचलनमा छैनन्, खारेज भइसके वा मरिसके, त्यसैले जातको अनुहार पनि मरिसक्यो।
यसलाई बचाउने हो भने पुराना धर्मशास्त्र र पुराना कानुनहरू पुनः लागू गर्नुपर्ने हुन्छ, त्यो लागू हुँदा कसैको पनि जात रहने अवस्था छैन। किनभने कोही विवाहमा बिग्रिएको छ, कोही भोजनमा, कोही पेसामा, कोही संस्कार–संस्कृतिमा। अर्कोतिर आजको विज्ञान अनुसार डिएनए नै हेर्दा पनि जातजातिहरू रक्तमिश्रित नै देखिएका छन्!
जातको मृत्यु र जात–व्यवस्थाको खारेजीको घोषणा नहुँदासम्म आज दलितहरूको मुक्ति सम्भव छैन। आजको मानिसले मरेको जातको अनुहारमा अहम र आस्था राख्नुले शोभा र सामाजिक न्यायको आभास दिँदैन।
त्यसैले जातको कुरा गर्न; जात सोध्न; कुनै पनि माध्यमबाट जातीय उच्चता वा घृणा प्रकट गर्न निषेध गरिनुपर्छ।