एउटा रोमाञ्चक कल्पनाबाट कुराकानी थालौं।
सडकमा विशाल भिड लागेको छ। भिडमा जयजयकार छ। अर्थात्, होहल्ला, नाराबाजी र सम्मोहनकारी तमासा छ। बाजागाजा छ र छ रङहरूको इन्द्रेणी वर्षा।
मान्छेहरू कुनै एक जना व्यक्तिको नाम लिएर 'हिरो हिरो' भन्दै पागलझैं चिच्याइरहेका छन्।
र, त्यो स्वरलहरीले सारा धर्ती गगन गुञ्जिरहेको छ।
त्यति नै बेला भिडको केही पर एउटा महँगो गाडी देखा पर्छ। अगाडी प्रहरीको भ्यान। पछाडि छत खुलेको कालो गाडी।
त्यहाँ उभिएको छ, एक तेजस्वी नायक। कालो चस्मा। सुन्दर प्रभामय अनुहार। रङ मिलेका कपडा। छाँट मिलेको दाह्री, रहरलाग्दो कपाल र अदाकारी।
ऊ भिडलाई हेरेर मुस्कुराउँदै अगाडि बढ्छ। भिडको मध्यभागमा पुगेर उसको गाडी रोकिन्छ। ऊ हात हल्लाउँदै सबैलाई अभिवादन गर्छ। कसैले ऊतिर फूल बर्साउँछन्, कसैले माला।
ऊ आकाशमा लहराउँदै गरेको एउटा माला नायकी अन्दाजमा समाउँछ र भिडतिरै फ्याँक्छ।
भिड माला समाउन पागलझैं दौडिन्छ।
जयजयकार चलिरहन्छ। होहल्ला चलिरहन्छ।
जादुजस्तो त्यो क्षण निमेसमै बितिजान्छ। नायकको गाडी उसरी नै त्यहाँबाट अगाडि हुइँकिन्छ, जसरी आएको थियो। त्यसपछि सबै शान्त हुन्छन्। सडक शान्त। भिड शान्त। जयजयकारको ध्वनी रोकिन्छ र मान्छेहरू आ–आफ्नो बाटो लाग्छन्।
एकान्त गाउँको त्यो मायावी पल निमेषमै सकिन्छ र बाँकी रहन्छ मान्छेले भोगिरहेको भोक, प्यास र अभावको उराठ र उदास संसार।
अर्थात्, नायक आउँछ, जान्छ। बाँकी रहन्छ — उही सकस, अपमान र तिर्सनाको कहालिलाग्दो सिलसिला।
नायक अब त्यो गाउँमा फेरि कहिले आऊला — कसैलाई थाहा छैन।
विचार गरौं त, के हामीले खोजेको नेता यस्तै हो?
अथवा, के हामीले खोजेको राजनीति यस्तै हो?
पछिल्ला प्रश्नहरूलाई यहीँ थाती राखेर, अर्को एउटा प्रसंग सुनाउँछु।
कुरा अलि अगाडिकै हो। र, कुरा हो सिनेमाको।
जतिखेर काठमाडौंका हलहरूमा एउटा घच्चिको सिनेमा चल्दै थियो, नाम थियो 'गदर २'।
धेरैपछि विदेशबाट आएको मेरो एक जना प्रिय मित्रले भन्यो, 'हिँड्, फिल्म हेर्न जाऔं। हलमा सन्नी देवलको फिल्म चल्दैछ।'
मैले साथीको आग्रह टार्न सकिनँ र हामी दुवै सिनेमा हेर्न गयौं।
'गदर २' हेरेर निस्किँदै गर्दा साथीले सोध्यो, 'अनिल कपुरको फिल्म नायक हेरेका छौ?'
मेरो जबाफको प्रतीक्षा नगरी उसले थप्यो — हामीलाई देश बनाउन अहिले त्यस्तै नायक चाहिएको छ!
मैले यो प्रसंग यस कारण सम्झिरहेको छु कि, मेरो साथी आम मान्छे होइन। ऊ हो, विदेशको प्रतिष्ठित विश्वविद्यालयबाट पिएचडी प्राप्त एक उम्दा बुद्धिजीवी। आफ्नो विषयमा उसको खास कमान्ड छ। र, नेपाली राजनीति बिग्रिएकोमा ऊ हरदम चिन्ता गरिरहन्छ।
त्यो दिन उसले जसरी नायकको कुरा गर्यो, त्यो मेरा लागि सर्वथा आश्चर्यजनक थियो। र, थियो चिन्ताको विषय।
मैले साथीका आँखामा हेरेँ, ऊ 'गदर २' को सम्मोहनबाट अझै बाहिर आइसकेको थिएन। त्यसैले उसका आँखामा 'नायक' प्रतिको विश्वास निष्कपट ढंगले प्रवाहित भइरहेको थियो।
उसको कुरा सुनेपछि मेरो मनमा प्रश्न आयो — के नेपाली राजनीतिलाई सम्हाल्न हामीलाई हिरो (नायक) नै चाहिएको हो त?
सटाक काम गर्ने हिरो! भिलेनहरूलाई चुड्की बजाएर ठेगान लगाउने हिरो! चमत्कार गर्ने हिरो! टुँडिखेलमा भ्रष्टहरूलाई जम्मा गरेर, नाकको डाँडी भाँच्ने गरी राउन्ड किक बजाउने हिरो!
अभागी मान्छेहरूले भोगिरहेका सबै दुःखको निवारण गर्ने अपार क्षमता सहितको हिरो!
डाइलग बोल्दा दर्शकहरूलाई ठाउँ ठाउँमा ताली बजाउन प्रेरित गर्ने, तिलस्मी हिरो!
मैले साथीलाई सम्झाउन खोजेँ र भनेँ, 'सिनेमा र जीवन फरक छ साथी। सिनेमामा झैं जीवनमा कुनै चमत्कार हुँदैन। जीवन तिलस्मी कथाहरूको संग्रह होइन। त्यसैले जीवनका दुःखहरू सिनेमामा झैं चुड्की बजाएर हल हुँदैनन्। यी संरचनागत, कानुनी र ऐतिहासिक सिलसिलासँग सम्बन्धित हुन्छन् र यिनलाई तोड्न पनि ऐतिहासिक, कानुनी र संरचनागत सिलसिला तोड्नुपर्छ।'
साथी त्यो दिन मेरो कुरा सुन्न तयार थिएन। किनभने ऊ भर्खरै मात्र सिनेमा हेरेर निस्किएको थियो र त्यसको रोमाञ्चक प्रभावले उसका खुट्टा भुइँमा थिएनन्। अतः ऊ सिनेमाको नायकलाई राजनीतिमा पनि खोजिरहेको थियो।
मेरो साथी त यो विचारको प्रतिनीधि मात्र हो। खासमा, आजकाल कतिपय मानिसहरूलाई लाग्छ — यो देशमा एक जना हिरो चाहिएको छ! यस्तो हिरो, जसले हाम्रा दुःखहरू चुड्की बजाएर समाधान गरिदिनेछ र त्यसपछि हामी उसको भरोसामा ढुक्कले निदाउन सक्नेछौं!
अथवा, हामी राजनीतिमा अहिले यस्तो हिरो खोजिरहेका छौं जो देशका भ्रष्टहरूसँग एक्लै भिडोस्! स्कुल बनाओस्, अस्पताल बनाओस्! बाटो बनाओस्! मन्दिर बनाओस्! अप्ठ्यारोमा परेका बेला दुःखीजनका घरघरमा प्रकट होस्! मसिहाझैं बस्ती बस्तीमा आओस् र सारा संकटहरू एक्लै तह लगाओस्!
जसले आवश्यक पर्दा नियम तोडोस् र आफ्नो नियम आफै बनाओस्! कहिले ठाउँको ठाउँ भ्रष्ट प्रहरीको नाक भाँचोस्, कहिले 'लम्पट नेता' लाई नांगेझार पारेर चोक र गल्ली घुमाओस्!
त्यो नाथे इतिहासको के काम, इतिहास भत्काओस्! त्यो नाथे कर्मचारीको के काम, सबैलाई एक निर्णयमा खारेज गरिदिओस्! संविधान किन चाहियो, कानुन किन चाहियो, जेल किन चाहियो? यी सबै पुराना कुरा हुन्। र, ठेगान लगाओस् सबै पुरानाहरूलाई!
चिटिक्क परेको कपाल, मिलेका लुगा, 'एंग्री यङ म्यान' को लुक्स, केही स्टारडम।
हामीलाई यस्तो नायक चाहिएको छ, जसले आत्ममुग्ध भई भनोस् — म जहाँ उभिन्छु, लाइन त्यहीँबाट सुरू हुन्छ!
र, उसको डाइलग सुनेर हामी अभागी मान्छेहरू ताली बजाइरहन पाऔं।
विचार गरौं त, के यस्तो सम्भव छ?
के हामीलाई देश बनाउन यस्तै हिरो चाहिएको हो?
राजनीतिमा यस्तो किमार्थ सम्भव छैन। किनभने, राजनीति आख्यान होइन। न त यो सिनेमा हो, न जादुको संसार।
राजनीति समाजमा विद्यमान आशा, अपेक्षा, द्वन्द्व र अन्तरविरोधहरूको एक साझा अभिव्यक्ति हो। जसले सुविचारित सामूहिक प्रयत्नहरू मार्फत मान्छेका सपनाहरू साकार बनाउँछ।
सिनेमाको संसार कल्पनाको संसार हो जहाँ सबै कुरा पूर्वनिर्धारित हुन्छ।
तर समाज अलिखित ग्रन्थ हो जहाँ हजारौं वर्षको संघर्षको इतिहास, लाखौं मानिसका आकांक्षा र अनगिन्ती सपनाहरू एकसाथ समयसँग आबद्ध भएर बसेका हुन्छन्।
अतः राजनीतिले समाजका ती यावत शृंखलाहरूसँग दैनिक साक्षात्कार गर्नुपर्छ, जो न पूर्वनिर्धारित हुन्छन्, न सरल। राजनीति त्यस्तो सामाजिक प्रक्रिया हो जसले अगाडि बढ्ने हाम्रो प्रयत्नलाई 'सिनर्जी' दिन्छ र परिवर्तन सुनिश्चित गर्छ। अतः राजनीति सनक होइन, सुविचारित प्रयत्न हो।
यसरी हेर्दा, हिरो र नेताबीच त्यति नै फरक छ, जति सिनेमा र जीवनबीच।
हिरो कथाले बनाउँछ; नेता सामाजिक र राजनीतिक प्रक्रियाले।
यसर्थ, नेतालाई थाहा हुन्छ — सत्य एक्लैले स्थापित गर्न सकिँदैन। त्यसैले ऊ सामूहिक प्रयत्नको अगुवाइ गर्छ। नेताले इतिहास, सभ्यता र समाजका अन्तरविरोधसँग जुध्न संगठन निर्माण गर्छ। सामूहिक ज्ञान र चेतनाको विस्तार गर्दै सभ्यतालाई आकार दिन्छ।
हिरोले चमत्कार गर्छ; नेताले चमत्कार गर्दैन, नेतृत्व गर्छ।
हिरोले झैं नेताले जादु गर्दैन। बरू मानिसलाई एकताबद्ध गर्दै भविष्यका लागि उत्प्रेरित गर्छ।
नेताले मान्छेलाई गन्तव्यतिर डोहोर्याउँछ। समस्यासँग लड्न प्रेरित गर्छ। मैदानमा मान्छेसँगै उभिन्छ। र, सामूहिक प्रयत्नका लागि प्रेरित गरिरहन्छ।
त्यसो भए मेरो साथी किन नायक खोजिरहेको छ?
मान्छेहरू किन सडकमा उभिएर कुनै हिरो आउने बाटो कुरिरहेका छन्?
त्यसको खास कारण छ। जब राजनीतिमा लय हराउँछ, तब आम मानिसको मनमा खटपटी पैदा हुन्छ। त्यो खटपटीमा विचारमाथि हाबी हुन्छ भावना। जब विचारले भावनालाई नियन्त्रण गर्ने शक्ति गुमाउँछ, तब मानिस अलौकिक अपेक्षामा मन्त्रमुग्ध हुन पुग्छ र नेताको बदलामा खोज्नपुग्छ हिरो।
आज नेपाली समाजको एउटा हिस्सा यही मानसिक अवस्थाबाट गुज्रिरहेको छ।
यो आम निरासाको एउटा खास अवस्था हो, कुनै आकस्मिक सनक होइन।
यो हाम्रो समाजले भोगेको दीर्घकालीन धोका र अपमानको परिणाम हो।
जस्तो — नेता (?) बाट धोका पाएका मान्छेहरू, आज एउटा यस्तो अलौकिक नायकको खोजिमी छन् जो नेताभन्दा फरक होस् र आवश्यक पर्दा उनीहरूलाई समेत तह लगाओस् र अपमानको बदला लेओस्।
जब नागरिकले राज्यबाट सधैं पीडा, अपमान र हेपाइ बेहोर्नुपर्छ, तब उसलाई आफ्नै शक्तिमा शंका हुन थाल्छ। ऊ आफूलाई निरीह ठान्छ। उसको सार्वभौमशक्ति निराशाले संकुचित हुन्छ। कमजोर मान्छेले अलौकिक शक्तिको प्रार्थना गर्नु एक स्वाभाविक अवस्था हो।
एक नागरिक जो लगातार आफ्ना संकटहरूको समाधान खोजिरहेको छ, तर समाधान कतै देखिँदैन, यस्तो बेला या त ऊ ईश्वरको शरण पर्छ, या त नायकको।
किनभने, उसलाई यस्तो एक पात्र चाहिन्छ जो बलियो, निर्भिक र आक्रामक होस्। र, आफ्ना संकटहरू उसले छु–मन्तर गर्दैमा हटिजाऊन्!
अर्थात्, सात दशकभन्दा बढी समयदेखि पूरा नभएका सपनाहरूको दबाबमा परेको हाम्रो समाज आज एउटा अलौकिक 'विकल्प' खोजिरहेको छ। एकजना पालनहार, एकजना जादुगर!
यो सबै खोजिरहँदा, मान्छेले बिर्सिएको छ — राजनीतिको सामूहिक चेतना।
उसले बिर्सिएको छ — संगठित तागत।
उसले बिर्सिएको छ — आफैभित्रको लोकतान्त्रिक शक्ति र सार्वभौमिकता।
जब समाजमा निराशा, असन्तोष र आक्रोश व्यापक बन्छ, यही निराशाको गर्भबाट 'हिरो' को अपेक्षा प्रबल बन्दै जान्छ। र, यो अहिले हाम्रो समाजमा देखापरिरहेको छ।
हिरो खोज्ने मनोविज्ञानभित्र एउटा मौन आत्मस्वीकृति लुकेको देखिन्छ — सबै असफल भए!
हिरो खोज्नु सामूहिक जिम्मेवारीबाट मान्छेलाई पलायन गर्ने एक निराश मनोवृत्ति हो। यो खासमा उपहारका रूपमा हामीले पुराना राजनीतिक दलहरूबाट पाएका थियौं र नयाँले त्यसलाई संगठित रूपमा अझ मलजल गरेर हुर्काउँदै लगेका छन्।
यस अर्थमा, हिरो खोज्नु भनेको नागरिक कमजोर हुनुको एक दुखान्त चित्र हो जुन अहिले हाम्रो समाजमा व्यापक तहमा फैलिएको छ। र, 'मास फ्रस्टेसन' को रूपमा देखापरेको छ।
त्यसैले हिरो खोज्नेहरूका दुःखलाई भावनात्मक मात्र होइन, सामाजिक, ऐतिहासिक र मनोवैज्ञानिक परिप्रेक्ष्यबाट बुझ्न आवश्यक छ। र, त्यही रूपमा उनीहरूको निराशा तोड्न आवश्यक छ।
किनभने, यो हाम्रो नेतृत्वको ऐतिहासिक असफलताको एक राजनीतिक परिणति हो जसको राजनीतिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ। अन्यथा, अरू उपायबाट यसको समाधान भेटिँदैन।
बुझ्नुपर्ने के छ भने — समाज बदल्ने शक्ति कुनै एक व्यक्तिमा होइन, नागरिक स्वयंमा हुन्छ। त्यसैले राजनीतिमा हिरो होइन, सामूहिकतामा विश्वास गर्ने नेतृत्व चाहिन्छ।
यही लोकतन्त्रको आधारभूत सार हो।
त्यसैले त संसारका महान राजनीतिज्ञहरू हिरो थिएनन्, नेता थिए।
नेपालमै हेर्ने हो भने, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई — यी सबै सिनेमाले बनाएका हिरो थिएनन्। उनीहरू थिए सामाजिक यथार्थको ढुंगेबाटोमा हिँडेका अविश्रान्त पथिक।
किनकि, हिरोको स्थान सिनेमा हो र नेताको स्थान हो समाज।
नेता विचार, ज्ञान, निष्ठा र आदर्शको अभिव्यक्ति हो। नेतासँग फ्यान हुँदैनन्, सचेत कार्यकर्ता हुन्छन्। आलोचनात्मक कार्यकर्ता। त्यही आलोचनाले नेतालाई निरन्तर 'सेल्फ–करेक्ट' गराइरहन्छ।
नेताले मानिसलाई लड्न सिकाउँछ, एक्लै लड्दैन। नेताले त फगत संघर्षको दिशा मात्र देखाउँछ, लड्नुपर्छ नागरिक स्वयंले।
हिरो पर्दाको सत्ता हो। हिरो कथाको प्रतिछाया हो।
नेता सामाजिक प्रक्रियाको अगुवा हो।
हिरो प्रश्नभन्दा पर हुन्छ। तर राजनीतिको आधार हो, प्रश्न।
हिरो सिनेमाभित्र बस्छ, नेता समाजमा।
हिरोले जबाफ दिँदैन, नेताले जबाफ दिनुपर्छ।
सत्य कुरा के हो भने, राजनीतिमा हिरो नआएर हाम्रो देश बिग्रिएको होइन। संकट विचार, निष्ठा र सपनाको क्षय हो। संकट व्यक्तिवादको हो, सामूहिकताको अभावको हो। संकट नैतिक पतन हो। संकट परम्परागत जडता हो। र, समाधान त्यहीँबाट खोज्नुपर्छ जहाँबाट समस्या सिर्जना भएका थिए।
अन्यथा, जब राजनीति सिनेमा बन्न थाल्छ, तब त्यो रोमाञ्चक त देखिन्छ तर जीवन बदल्दैन।
अतः आज हामीलाई न जंगबहादुर चाहिएको हो, न कुनै नायक वा प्रभु परमेश्वर।
आज हामीलाई चाहिएको हो — क्षमता, निष्ठा र दुरदृष्टि भएको नेतृत्व जसले लोकतान्त्रिक प्रक्रियामा विश्वास गरोस्।
भनिन्छ, अभागीहरू नायक खोज्छन्। तर, आफ्नो सामर्थ्यमा विश्वास गर्नेहरू खोज्छन्, योग्यतम् नेता।
अतः आज हामीलाई टाढै बसेर हात हल्लाउने हिरो होइन, मान्छेका बीचमा उभिने नेता चाहिएको हो। यस्तो नेता जसलाई हेर्न, छुन, प्रश्न गर्न, जबाफ खोज्न र उत्तरदायी बनाउन सकियोस्। जसले लोकतन्त्रको आदर्शलाई आफ्नो जीवनको ऊर्जा बनाओस्।
स्पष्ट छ — रोमाञ्चकता, भावुकता र भ्रमले राजनीति बदल्दैन। र, आत्ममुग्ध कल्पनाले मात्र हाम्रा संकट समाधान हुँदैनन्।
त्यसैले हिरोको मोह त्यागौं। आज हामीलाई चाहिएको छ योग्यतम् नेता। यस्तो नेता, जसले असफलताको ऐतिहासिक दुश्चक्र तोड्न हामीलाई सघाओस्। सँगसँगै हातेमालो गर्दै हामीसँगै सुदूर गन्तव्यका सपना भेट्न अगाडि बढोस्!
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab