कर्मकल्चर
जुन बेला कार्लो पेट्रिनीको निधन भएको खबरले संसारभर 'स्लो फुड मुभमेन्ट' का मानिसहरू दुःख साट्दै थिए, हाम्रो गाउँको चोकमा आइसक्रिम पसल खुलेको म हेर्दै थिएँ।
तनुहँ, व्यास–११ वडा कार्यालय भवनको पहिलो तलामा सडकतर्फ मुख पारेर सटरभित्र आइसक्रिम र कुल्फी हातहातै बिक्न थालेका थिए। म मोबाइलमा कार्लोको अगुवाइमा चलेको आन्दोलनबारे पढ्दै थिएँ।
रंगीन टेबल–छातामुनि बसेर चोकलाई गुलजार बनाउने गरी आइसक्रिम चुस्न आउने छरछिमेकी र बाहिरियाहरूले हाम्रो आर्थिक गतिविधि बढेको संकेत दिएका थिए। हाम्रो यसै भेगबाट निर्वाचित सांसदले अर्थमन्त्रीका रूपमा नयाँ आर्थिक वर्षको बजेट लेख्दै गरेको बेला गाउँका यस्ता गतिविधिबाट हाम्रो आर्थिक वृत्त खुसी हुने नै कारण थियो।
त्यसै पनि हाम्रो अर्थतन्त्रको आकार बढाउन बजार विस्तार हुनै पर्नेछ। हाम्रा विज्ञ, योजनाकार, नीतिनिर्माता र निजी व्यापारिक क्षेत्र यस्ता बढ्दो गतिविधिबाट थप प्रोत्साहित हुने गर्छन्। उनीहरूले आँकडा खेलाउन पाउनेछन्। आँकडाको अर्थतन्त्र चलायमान बनाउन हामीले खपत बढाउनुपर्छ।
भनौं न, हामीले आइसक्रिम चुसिदिँदा हाम्रो छिमेकको पसललाई मात्र होइन, अर्थतन्त्रलाई पनि उपलब्धि भएको मानिनेछ।
पसलका ग्राहकरूपी बालबालिकाको चहलपहलले स्थानीय रौनक बढाएको बेला म कार्लोको कथा फेरि पढ्दै थिएँ। उनको अगुवाइमा सन् १९८६ मा इटालीको रोमस्थित स्पेनिस स्टेप्स नजिक म्याकडोनाल्ड्स खुलेको विरोध गर्दै आन्दोलन सुरू भयो।
उनको चिन्ता थियो— छिटो, औद्योगिक र विश्वव्यापी फास्टफुड संस्कृतिले स्थानीय खानपान परम्परा र किसान समुदायलाई नष्ट गर्दैछ।
आन्दोलनले तीन वर्षपछि पेरिसमा औपचारिक रूप पायो, जब यसको घोषणापत्र जारी भयो। त्यसका मुख्य तीन कबोल थिए— स्वादिलो र पौष्टिक असल खाना, वातावरणमैत्री स्वच्छ उत्पादन, र किसान तथा श्रमिकलाई न्यायपूर्ण सम्मान तथा पारितोषिक।
'स्लो फुड मुभमेन्ट' लाई नेपालीमा ठ्याक्कै यही भन्नुपर्छ भन्ने छैन।
खासमा हाम्रो चिनारी नै त्यही हो— घरकै भान्साको खाना, आफ्नै रहनसहन, स्वाद र वासना अनुसारको मौसमी उत्पादन तथा चाडपर्व र रीत अनुसारका विविधतापूर्ण परिकार।
तर त्यो हाम्रो चरित्र बदलिँदो बस्ती, बसोबास र व्यस्तताका कारण यसरी बिथोलिँदै गएको छ कि हामी आज ठूलो विस्मयमा छौं।
गर्मी याम सुरू भएसँगै हाम्रो यो बेँसी उपत्यकाको उष्ण गर्मीमा खलखली पसिनालाई चुनौती दिन स्थानीयजनसँग पुराना उपाय अब आकर्षक रहेनन्। अंग्रेजी माध्यममा पढाइ हुने दुइटा सहित अन्य विद्यालयहरूको पायकमा पर्ने आइसक्रिम पसलले केटाकेटीलाई तान्ने गरी सुपथमा 'बर्थ डे केक' को आकर्षण पनि साइनबोर्डमा अंकित गरेको छ। अब वर्षैदिन जसको जन्मदिन परे पनि सुपथमा सजिलै र गाउँमै केक पाइने भएको छ।
हामीलाई यो खुसीको खबर हो। हाम्रो गाउँका बालबालिका खुसी देखिएका छन्, त्यसले परिवेशमा खुसियाली थपेको छ। विदेशबाट आफ्ना छोराछोरीलाई बर्थ डे केक मगाइदिन र सबै मिलेर केक काटेको मोबाइलमा लाइभ गर्न मिल्ने भएको छ।
त्यसै पनि हामीलाई चाहिएको विकास यही नै हो। हामीले जानेको गाउँघरलाई नै बजार बनाउने हो। ठूला बजार पुग्नुपर्ने थियो, अब पर्ने भएन। गाउँमै बजार आएपछि हामीलाई केही नपुगेको जस्तो पनि भएन।
बजारमा गाउँका चिजबिज त्यसै पनि जाँदैनन्। जस्तो, हाम्रो क्षेत्रको ठूलो बजार दमौलीमा हाम्रा स्थानीय उत्पादन कति नै खपत हुने हुन् र? कति सजिलै बाहिरबाट ट्रकका ट्रक सस्तोमा आएका आकर्षक सामान, दाल–चामल, तरकारीदेखि सबै खाले बेसाहा सहजै सुलभ छन्।
कार्लो र उनका अभियानी साथीहरूले सुरू गरेको 'धीमा खाना' आन्दोलन आज १६० भन्दा बढी देशमा फैलिएको छ। यसले किसान, भान्छे र खाद्य कार्यकर्ताहरूको विश्व सम्मेलन गर्छ, मुद्दाहरू उजागर गर्छ, लोप हुन लागेका परम्परागत खाद्य सामग्रीहरूको सूची निकाल्छ र शान्त, दिगो तथा समुदायमुखी सहरहरूको सञ्जाल निर्माणमा जोड दिन्छ।
जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता— विशेषगरी विश्वभर हराउँदै गएका परम्परागत बाली र बीउ जोगाउन—र स्वास्थ्य सचेतना बढाउन यो आन्दोलनको व्यापक महत्त्व छ।
त्यसै पनि प्रशोधित फास्ट–फुडसँग सम्बन्धित मोटोपन, मधुमेह र हृदयरोगले विश्वव्यापी मार पारेकै छ।
स्थानीय अर्थतन्त्र जोगाउन, स्थानीय तथा साना किसानको हित हेर्न अर्को विकल्प पनि छैन। सस्तो औद्योगिक खानासँग प्रतिस्पर्धा, सहरी जीवनको व्यस्तता, नयाँ पुस्तामा फास्ट–फुड संस्कृतिको दबदबाबीच स्थानीय खानपिनको संस्कृति टिकाउन उसै पनि अब निकै चुनौती थपिएका छन्।
जस्तो, हाम्रोमै म्याकडोनाल्ड्स मात्र होइन, यसकै नक्कल गरिएका फास्ट–फुडहरूको सञ्जाल राजमार्गभर फैलिएका छन्। ठूला बजार ताकिरहेका छन् र आफ्नो आकर्षक व्यापारिक चुम्बनले हामीलाई चुम्चुम्याइरहेका छन्।
कार्लोको अगुवाइमा आन्दोलन म्याकडोनाल्ड्सको विस्तारविरूद्ध सांकेतिक रूपमा सुरू भए पनि यसले अँगालेका विचारहरूले आजको पृथ्वीको संकटलाई सम्बोधन गर्ने व्यापक अर्थ राख्छन्।
यो सामाजिक तथा खाद्य आन्दोलनले स्थानीय परिकार, परम्परागत कृषि, जैविक विविधता र धीमा तथा सन्तोषी जीवनशैलीको आवाज बोकेको छ।
'ढिलो तर गुणस्तरीय जीवनशैली' को पक्षमा आवाज उठाउँदै यसले खाना केवल पेट भर्ने वस्तु मात्र होइन, संस्कृति, समुदाय, इतिहास, सभ्यता, संस्कार, वातावरण र पहिचानसँग जोडिएको कुरा हो भन्ने चेतना दिएको छ।
कार्लोले अगुवाइ गरे पनि पत्रकार, लेखक, सांस्कृतिक कार्यकर्ता, किसान समर्थक र रैथाने भोजन संस्कृतिप्रति चासो राख्नेहरूको सामूहिक प्रयासबाट यो आन्दोलन अघि बढेको हो।
यही आन्दोलन नभने पनि हाम्रो देशमा एउटा छिटो–छरितो खाना पुनर्जागरणको छनक भने देखिन्छ। नेवारी, थकाली, मैथिल, थारू लगायतका खानपानको ब्रान्डिङ बढ्दो छ। घरमै बनाइने अचार, गुन्द्रुक, सिन्की जस्ता परिकारप्रतिको चासो पनि बढेको देखिन्छ।
बजारको उर्लिँदो बेगले हाम्रोमा वैदेशिक रोजगारी, कृषिको रासायनीकरण, कम्पनीकरण, हाइब्रिडकरण र सहरीकरणले पारेका प्रभावका कारण रैथाने खानपिन उकास्न कठिन छ। त्यसमाथि हाम्रो परम्परागत ज्ञान हस्तान्तरणको गति सुस्त छ, अझ धेरै हदसम्म रोकिएको छ।
नेपालदेखि विश्वभर हामीलाई झकझक्याउने दीर्घ जागरणका अभियानीहरू चाहिएका छन्। कार्लो पेट्रिनी बिते पनि उनको जागरण आन्दोलन जारी छ। रहनेछ।