त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय हो। यसले नेपालको उच्च शिक्षा, मानव संसाधन उत्पादन तथा राष्ट्रिय विकासमा ऐतिहासिक योगदान पुर्याएको छ।
तर वर्तमान समयमा विश्वविद्यालयले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली, प्रशासनिक ढिलासुस्ती, राजनीतिक हस्तक्षेप, कमजोर अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।
यस्ता समस्याहरू समाधान गर्न सक्षम, दूरदर्शी, प्रेरणादायी तथा ओजस्वी नेतृत्व आजको प्रमुख आवश्यकता बनेको छ। त्रिभुवन विश्वविद्यालयको ओजस्वी नेतृत्वको व्यक्तित्व, दृष्टिकोण, आत्मविश्वास, इमानरिता, प्रेरणा तथा प्रभावकारी निर्णय क्षमताद्वारा विश्वविद्यालयको गुणस्तर, परिवर्तन र सुधार गर्न सकिन्छ।
विश्वविद्यालयले दक्ष, योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्छ। यसले समाजका समस्या समाधान गर्न वैज्ञानिक तथा बौद्धिक अध्ययन गर्छ। साथै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नु, नयाँ ज्ञान, सिद्धान्त र प्रविधिको खोज तथा विकास गर्न अनुसन्धान गरी ज्ञानको विकास गर्नु हो।
विद्यार्थीको बौद्धिक, नैतिक, सामाजिक तथा नेतृत्व क्षमता विकास गरी जिम्मेवार नागरिक बनाउनु विश्वविद्यालयको लक्ष्य हो। लोकतान्त्रिक र वैज्ञानिक चेतना विकास गर्न स्वतन्त्र विचार, आलोचनात्मक चेतना, सहिष्णुता र वैज्ञानिक दृष्टिकोण विकास गराई लोकतान्त्रिक समाज निर्माणमा सहयोग गर्नु विश्वविद्यालयको उद्देश्य हो।
विश्वविद्यालय केवल डिग्री दिने संस्था मात्र नभई राष्ट्र निर्माण गर्ने बौद्धिक केन्द्र पनि हो। विश्वविद्यालयले समाजका आवश्यकता अनुसार नीति, अनुसन्धान र जनचेतनामार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउँछ। आधुनिक समाजमा विश्वविद्यालयलाई देशको बौद्धिक मेरूदण्डका रूपमा हेरिन्छ।
संसारका प्राचीन तथा प्रसिद्ध विश्वविद्यालयहरूमा तक्षशिला विश्वविद्यालय र नालन्दा विश्वविद्यालय मानिन्छन्। यी विश्वविद्यालयहरूले प्राचीन समयमा शिक्षा, दर्शन, राजनीति, चिकित्सा तथा अनुसन्धानको केन्द्रका रूपमा ठूलो योगदान दिएका थिए। तक्षशिला हालको पाकिस्तानको गन्धार क्षेत्रमा थियो।
यसको स्थापना करिब ईसा पूर्व ७०० वर्षतिर भएको मानिन्छ। तक्षशिला र नालन्दा विश्वविद्यालयहरूले प्राचीन एशियाली सभ्यता तथा विश्व शिक्षाको विकासमा ऐतिहासिक योगदान दिएका थिए। यी विश्वविद्यालयहरू केवल शिक्षा केन्द्र मात्र नभई ज्ञान, अनुसन्धान र सभ्यताको प्रतीकका रूपमा चिनिन्छन्।
अक्सफोर्ड विश्वविद्यालय बेलायतमा अवस्थित छ। यसको स्थापना करिब १०९६ तिर भएको मानिन्छ। यहाँ राजनीति, दर्शन, विज्ञान, साहित्य, कानुन, चिकित्सा आदि विषयमा उच्च शिक्षा प्रदान गरिन्छ।
धेरै नोबेल पुरस्कार विजेता, प्रधानमन्त्री तथा विश्वप्रसिद्ध विद्वानहरू यहाँबाट अध्ययन गरेका छन्। हार्वर्ड विश्वविद्यालय अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिज सहरमा अवस्थित छ। यसको स्थापना १६३६ मा भएको थियो, र यो अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय मानिन्छ। हार्वर्ड विश्वस्तरीय अनुसन्धान, व्यवस्थापन, कानुन, चिकित्सा र राजनीतिशास्त्रका लागि प्रसिद्ध छ।
अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालय आधुनिक विश्वका ज्ञान, अनुसन्धान र नेतृत्व विकासका प्रतीक मानिन्छन्। प्राचीनकालमा तक्षशिला र नालन्दा जस्तै, आजका समयमा यी विश्वविद्यालयहरूले शिक्षामा महत्वपूर्ण योगदान गरिरहेका छन्।
त्रिभुवन विश्वविद्यालयको उद्देश्य
त्रिभुवन विश्वविद्यालय ऐन १९९३ अनुसार, विश्वविद्यालयको प्रमुख उद्देश्यहरू नेपालको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम मानव संसाधन तयार गर्ने हो। विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने हो। बहुआयामिक क्षेत्रमा अनुसन्धान गर्ने हो।
राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्ने, कला, विज्ञान, प्रविधि र पेशागत क्षेत्रहरूमा व्यापक, अनुभवजन्य र समयसापेक्ष अनुसन्धान गर्ने हो। ज्ञान सिर्जनामा संकाय सदस्यहरू र विद्यार्थीहरूलाई संलग्न गराउने हो।
ऐतिहासिक सिंहावलोकन
त्रिभुवन विश्वविद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखी १९५९ मा स्थापित भएको थियो। यो नेपालको पहिलो विश्वविद्यालय हो, जसको उद्देश्य ज्ञानको प्रचार र सिर्जना गर्नु, अनुसन्धानमा जोड दिनु र नेपाली सम्पदाको सुदृढीकरण गर्नु हो।
विश्वविद्यालयले युवाहरूलाई अत्याधुनिक ज्ञान र समकालीन समाजको अपेक्षा तथा आवश्यकताहरू पूरा गर्न आवश्यक अन्तर्दृष्टि प्रदान गर्ने जिम्मेवारी वहन गरेको छ।
विश्वविद्यालयले समयसँगै पाँच संस्थानहरू, चार संकायहरू, ४० केन्द्रीय विभागहरू, चार अनुसन्धान केन्द्रहरू, ६२ आंगिक क्याम्पसहरू र ३,००,००० भन्दा बढी विद्यार्थीहरू सहित १०८५ सम्बद्ध कलेजहरू समेटेर विशाल आकार लिएको छ।
यसको सञ्चालनको लगभग ६ दशकमा विश्वविद्यालयले देशको उच्च शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको छ र यसको भूमिका निरन्तर विस्तार हुँदै गइरहेको छ।
विश्वविद्यालय आफ्नै त्रिवि ऐन अन्तर्गत सञ्चालन भइरहेको छ। राज्य व्यवस्था अनुसार सन् २००६ सम्म तत्कालीन राजा यसको कुलपति हुने व्यवस्था थियो। नेपाल संघीय गणतन्त्रको रूपमा घोषणा भएपछि प्रधानमन्त्री र शिक्षामन्त्रीले क्रमशः विश्वविद्यालयको कुलपति र सहकुलपति हुने व्यवस्था गरिएको छ।
कार्यकारी अधिकारको प्रयोग उपकुलपति, रेक्टर र रजिस्ट्रारहरूले गर्ने व्यवस्था गरिएको छ। विश्वविद्यालयलाई स्थापनाकालदेखि नै स्वायत्त विश्वविद्यालयको रूपमा स्थापित गरिएको हो। यो सरकारी विश्वविद्यालय हो। यस विश्वविद्यालयमा सबै नेपाली नागरिकहरू र विश्वका युवाहरूले पनि अध्ययन गर्न पाउने व्यवस्था छ।
त्रिभुवन विश्वविद्यालयको भिजन २०३०
त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालय बनाउने दीर्घकालीन योजना भिजन सन् २०३० रहेको छ। यो विश्वविद्यालयको दीर्घकालीन रणनीतिक योजना हो, जसले विश्वविद्यालयलाई आधुनिक, अनुसन्धानमुखी, गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।
यस योजनाले शैक्षिक सुधार, डिजिटल प्रविधि, अनुसन्धान विस्तार, विश्वविद्यालय पुनर्संरचना तथा विश्वस्तरमा सुधारलाई मुख्य प्राथमिकता दिएको छ।
शैक्षिक गुणस्तर सुधार
सबै विश्वविद्यालयको प्रथम उद्देश्य उच्चस्तरको जनशक्ति उत्पादन गर्ने हो। उच्चस्तरको जनशक्ति उत्पादन गर्न शैक्षिक गुणस्तरयुक्त तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा आवश्यक छ। एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको शताब्दी हो। यस शताब्दीमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आवश्यक छ।
त्रिभुवन विश्वविद्यालयको इतिहास त्यति लामो नभए पनि वर्तमान अवस्थामा अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालय जस्तै उच्चस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्य राख्न सक्नुपर्छ। यस विश्वविद्यालयमा अध्ययन गरी विश्वका उच्चस्तरका विश्वविद्यालयहरूमा अध्ययन गरेका नेपाली युवाहरूले उत्कृष्टता हासिल गरेर सेवा प्रवाह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन भएका छन्। नेपालका अधिकांश सरकारी क्याम्पस यस विश्वविद्यालय अन्तर्गतका हुन्। यस विश्वविद्यालयका चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, कानुन, शिक्षा, मानविकी आदि क्षेत्रमा प्रमुख योगदान छ।
देशका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक दक्ष जनशक्ति यस विश्वविद्यालयकै उत्पादन हो। नेपालमा खुलेका प्रायः सबै विश्वविद्यालयहरूको नेतृत्वमा पुग्ने उच्चस्तरको जनशक्ति यसै विश्वविद्यालयको उत्पादन हो।
यस विश्वविद्यालयबाट उत्पादित प्राविधिक जनशक्ति, चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि आदि क्षेत्रका जनशक्ति विश्वव्यापी रूपमा गुणस्तरीय छन्। अन्य विधामा पाठ्यक्रम पुरानो हुनु, अनुसन्धान कमजोर हुनु तथा व्यावहारिक शिक्षाको कमीका कारण अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्न चुनौती देखिएको छ।
मानव संसाधन विकास
त्रिविले प्राध्यापक, शिक्षक, प्रशासक, चिकित्सक, इन्जिनियर, कानुनविद, राजनीतिज्ञ लगायत दक्ष जनशक्ति उत्पादन गरेको छ। नेपालको प्रशासन र राजनीतिक नेतृत्वमा त्रिविका विद्यार्थीहरूको ठूलो योगदान छ। साथै प्राविधिक क्षेत्रमा विशेषगरी चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि र वनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
राजनीतिक हस्तक्षेप
विश्वविद्यालयमा विद्यार्थी राजनीति तथा दलगत प्रभाव अत्यधिक देखिन्छ। यसले शैक्षिक वातावरण, प्रशासनिक निर्णय तथा गुणस्तरमा नकारात्मक असर पार्ने गरेको छ। यसले उत्पादन गरेको दक्ष जनशक्तिले देशको राजनीतिको नेतृत्व गर्नु स्वाभाविक हो। तथापि विश्वविद्यालयका प्राज्ञिक कार्यमा राजनीतिक हस्तक्षेप गर्नु बेठिक हो।
अहिलेसम्म यही हुँदै आएको छ।
अब नीति निर्माणमा राजनीति र प्राज्ञिक कार्यमा राजनीतिको हस्तक्षेप अन्त्य गर्न बोर्ड अफ ट्रस्टीमार्फत कुलपति, सहकुलपति, उपकुलपति, रेक्टर र रजिस्ट्रार स्वतन्त्र, निष्पक्ष तथा प्राज्ञिक मूल्यांकनका आधारमा नियुक्त गरिनुपर्छ।
डिजिटल रूपान्तरण
विश्वका आधुनिक विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न डिजिटल प्रणाली, अनुसन्धान क्षमता तथा नवप्रवर्तनमा अझ सुधार आवश्यक छ। वर्तमान युग नै विज्ञान र प्रविधिको युग हो। तसर्थ डिजिटल भर्ना, अनलाइन कक्षा, डिजिटल पुस्तकालय, ई–लर्निङ प्रणाली जस्ता आधुनिक प्रविधिको प्रयोग बढाउँदै शिक्षालाई थप प्रभावकारी बनाउने माध्यम बनेका छन्।
यी प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गर्नु आजको आवश्यकता हो। सो आवश्यकता पूर्ति गर्न डिजिटल प्रणालीलाई कुशल नेतृत्वले मात्र व्यवस्थापन गर्न सक्छ। विश्वविद्यालयको सबै जनशक्तिलाई डिजिटलमैत्री बनाउनु वर्तमानको माग हो।
ई–गभर्नेन्सको माग यसले पूरा गर्छ। यसरी आधुनिक प्रविधि प्रयोग बढाउँदै शिक्षालाई थप प्रभावकारी बनाउन सकिने अवसर छ।
अनुसन्धान केन्द्र
त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरी देशको चौतर्फी विकास गर्नु आवश्यक छ। जबसम्म विश्वविद्यालयहरूलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिँदैन, तबसम्म देशको आर्थिक विकास सम्भव छैन।
संसारको विकासको नमूना अध्ययन गर्दा जुन जुन मुलुकले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाएका छन् र संसारका ख्यातिप्राप्त विश्वविद्यालयहरूबाट ज्ञान आर्जन गरेका विज्ञहरूले स्वदेशमा नीति निर्माण र कार्यान्वयनमा सहयोग तथा सहभागिता जनाएका छन्, ती मुलुकको विकास तीव्र गतिमा भएको छ।
नेपालमा पनि त्रिविसँग रहेका चार वटा अनुसन्धान केन्द्रलाई अनुभवजन्य ज्ञान उत्पादनमा लगाउन राज्यले लगानी गर्न आवश्यक छ।
अर्थशास्त्र, सार्वजनिक प्रशासन, विकास र नीति अनुसन्धानमा केन्द्रित सेडा छ।
नेपाल तथा एसियाली समाज, संस्कृति, राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अनुसन्धानका लागि सिनास छ।
विज्ञान, प्रविधि, जैविक विविधता, वातावरण, कृषि तथा नवप्रवर्तन अनुसन्धानका लागि रिकास्ट छ।
शिक्षा नीति, पाठ्यक्रम, शैक्षिक सुधार तथा शैक्षिक विकाससम्बन्धी अनुसन्धानका लागि सेरिड छ।
यी चार अनुसन्धान केन्द्रहरूले नेपालमा उच्च शिक्षा, नीति निर्माण, विज्ञान, समाज तथा राष्ट्रिय विकास सम्बन्धी अनुसन्धान अगाडि बढाउने कार्य गर्दै आएका छन्। अझ यी संस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।
पूर्वाधार विकास
भौतिक पूर्वाधार विकासका लागि पर्याप्त जग्गा, भवनहरू, हलहरू, कक्षाकोठाहरू आवश्यक छन्। धेरै क्याम्पसहरूमा पर्याप्त भवन, प्रयोगशाला, पुस्तकालय, प्रविधि तथा शैक्षिक सामग्रीको कमी छ।
विश्वविद्यालयको उन्नयनका लागि भौतिक पूर्वाधार पनि समयसापेक्ष रूपमा विकास गरिनु आवश्यक छ। वर्तमान समयमा विज्ञान तथा प्रविधिमैत्री भौतिक पूर्वाधारको विकास अति आवश्यक हो।
त्रिवि सेवा आयोग
शिक्षा नीति युगअनुरूप वैज्ञानिक र व्यवहारिक हुन आवश्यक छ। वर्तमान समयको माग युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने शिक्षा नीति हो। त्यसका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधन गर्न आवश्यक छ।
त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था परिवर्तन गरी बोर्ड अफ ट्रस्टीका आधारमा विश्वविद्यालय सञ्चालन हुने व्यवस्था गर्न आवश्यक छ। त्यस्तै त्रिवि सेवा आयोगबाट स्वतन्त्र, निष्पक्ष र योग्यताक्रमका आधारमा भर्ना तथा पदोन्नति हुने व्यवस्था गर्न आवश्यक छ।
अहिलेसम्म त्रिवि सेवा आयोगले स्वतन्त्र, निष्पक्ष र योग्यताक्रमका आधारमा नियुक्ति तथा पदोन्नति नगरेकाले विश्वविद्यालयको गुणस्तर सुधार हुन सकेको छैन। नियमित रूपमा हरेक वर्ष रिक्त रहेका प्राध्यापक पदमा विज्ञापन गर्ने तथा योग्य र सक्षम प्राध्यापकहरूलाई योग्यताक्रमका आधारमा पदोन्नति गर्ने काम भएको छैन।
चार–पाँच वर्षमा विज्ञापन हुने र त्यसमा सेवा आयोगको मनपरीतन्त्रले योग्य प्राध्यापकहरू निराश भएका छन्। विश्वविद्यालयको गरिमामा आँच आउने काम भएको छ।
त्रिविका विभिन्न क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरू आ–आफ्नो विधामा उच्चस्तरका हुन आवश्यक छ। प्राध्यापक योग्य, सक्षम तथा आफ्नो विधामा अब्बल नभई उसले दिने ज्ञान उच्चस्तरको हुन सक्दैन।
अहिलेको विज्ञान र प्रविधिको विकाससँगसँगै अगाडि बढ्ने प्राध्यापक आवश्यक छ। विश्वविद्यालयमा जागिर खाने होइन, विश्वविद्यालयको नेतृत्वले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने नीति ल्याउने हो।
प्राध्यापकले त्यसको कार्यान्वयन गरी आफू अब्बल बन्न र विद्यार्थीहरूलाई उच्चस्तरको ज्ञान प्रदान गरी उच्च गुणस्तरको जनशक्ति उत्पादन गर्ने हो।
परीक्षा प्रणाली सुधार
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पहिलो विश्वविद्यालय भएकाले यसको संरचना पनि ठूलो छ। यससँग जनशक्ति र प्रणाली पनि छ। तथापि अहिले विश्वविद्यालयका सबै विधाका स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा सञ्चालन भएका छन्।
त्यसैगरी स्नातक तहका केही कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन भएका छन् भने केही वार्षिक कार्यक्रमहरू पनि छन्। परीक्षाफल प्रकाशन गर्दा सेमेस्टर प्रणाली भने पनि वार्षिक प्रणाली जस्तै लामो समय लाग्ने गरेको छ।
त्रिभुवन विश्वविद्यालयको मूल समस्या नै परीक्षा समयमा नहुने र समयमा परीक्षाफल प्रकाशित नहुने हो। यसमा परिवर्तन गर्न विश्वविद्यालयले क्यालेन्डर बनाई त्यसको कार्यान्वयन कडाइका साथ गर्नुपर्छ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि त्रिविको परीक्षा सञ्चालनमा डिन कार्यालयको केन्द्रीयता लादिएको छ।
विश्वविद्यालयका देशभरका विभिन्न क्याम्पसहरूमा स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुने तर प्रश्नपत्र निकाल्नेदेखि सबै परीक्षा सम्बन्धी कार्य तथा उत्तरपुस्तिका परीक्षण पनि केन्द्रबाटै हुने भएपछि कसरी समयमा परीक्षाफल प्रकाशित हुन सक्छ?
यस्तो प्रणालीमा परिवर्तन गरी सेमेस्टर प्रणालीलाई सेमेस्टर प्रणालीकै आधारमा, जहाँ जुन प्राध्यापकले अध्यापन गर्छ, उसैलाई विद्यार्थीको क्षमताको ज्ञान हुने हुँदा वस्तुनिष्ठ भई परीक्षाफल प्रकाशन गर्ने व्यवस्था गरिनु आजको आवश्यकता हो।
परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणपत्र वितरणमा हुने ढिलाइ त्रिविको प्रमुख समस्या हो। यसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यमा असर पुर्याउँछ।
विश्वविद्यालयको नेतृत्व कस्तो हुने
विश्वविद्यालयको नेतृत्व कस्तो हुने भन्ने सन्दर्भमा केही विश्वविद्यालयका दृष्टान्त हेर्दा अमर्त्य सेनले नालन्दा विश्वविद्यालयको नेतृत्व गरेका थिए। उनी विश्वप्रसिद्ध अर्थशास्त्री, नोबेल पुरस्कार विजेता तथा विश्वविद्यालय नेतृत्वकर्ता हुन्।
जोन हेनरी न्युम्यान आधुनिक विश्वविद्यालय शिक्षाको दर्शन विकास गर्ने महान शिक्षाविद हुन्। डेरेक बोक हार्वर्ड विश्वविद्यालयलाई अनुसन्धान र गुणस्तरीय शिक्षामा अगाडि बढाउने नेतृत्वकर्ता हुन्।
काठमाडौं विश्वविद्यालयको पूर्वाधार खडा गरी नेतृत्व गर्न सफल कुशल उपकुलपति प्रा.डा. सुरेशराज आचार्य हुन्। उनले यसको उन्नयनका लागि विशेष योगदान दिएका कारण काठमाडौं विश्वविद्यालय स्थापित भएको हो।
त्रिभुवन विश्वविद्यालयको उन्नयनमा केदारभक्त माथेमाको नाम पनि भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा अग्रस्थानमा रहेको देखिन्छ। त्यसैले अब त्रिभुवन विश्वविद्यालयका लागि ओजस्वी, दूरदर्शी, कुशल प्रशासक, अनुसन्धानकर्ता, प्राज्ञिक, बहुआयामिक र त्रिभुवन विश्वविद्यालय बुझेको प्राध्यापक उपकुलपति आजको आवश्यकता हो।
त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको मेरूदण्डका रूपमा रहेको विश्वविद्यालय हो। यससँग विशाल शैक्षिक पहुँच, मानव संसाधन उत्पादन तथा अनुसन्धान विकासका महत्वपूर्ण अवसरहरू छन्।
तर राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, गुणस्तर समस्या तथा पूर्वाधार अभाव जस्ता चुनौतीहरू समाधान गर्न सके मात्र यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था बन्न सक्नेछ।
यसका लागि प्राज्ञिक व्यक्तित्व, कुशल प्रशासक, असल व्यवस्थापक, विश्वविद्यालयसम्बन्धी सम्पूर्ण ज्ञान भएको, सरल, बहुप्रतिभाको धनी, दूरदर्शी तथा इमानदार व्यक्ति उपकुलपतिका लागि उपयोगी हुनेछ।
त्रिभुवन विश्वविद्यालयको नेतृत्व गर्ने यस्तो दूरदर्शी प्राध्यापक होस्, जसको चार वर्षको नेतृत्वले यसको गुणस्तर विकासमा कोशेढुंगा सावित होस्।
'भिजन २०३०' को कार्यान्वयन तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित मोडलको समेत अध्ययन गरी भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दूरदर्शी नेतृत्व आजको समयको माग हो।
(लेखक डा. गिरधारी दाहाल राजनीतिशास्त्री हुन्। उनी पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका पूर्वविभागीय प्रमुख हुन्।)