कर्मकल्चर
म मञ्चमा उक्लिएपछि दर्शकदीर्घाको पछाडि उभिएका अग्ला भवनतिर ध्यान गयो।
एउटै फ्रेममा परेका दुई साइनबोर्डमा आँखा अडियो — पूर्वपट्टि मैथिली विकास कोष, पश्चिमपट्टि याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय।
त्यो दृश्य आफैमा मधेसको सांस्कृतिक तहहरूजस्तै लाग्थ्यो — भाषा, परम्परा र समयको सहअस्तित्व।
जनकपुरधाममा आयोजित मैथिली कला, साहित्य तथा नाट्य अन्तर्राष्ट्रिय महोत्सवको दोस्रो दिन थियो।
हाम्रो सत्र सुरू हुनै लाग्दा सहजकर्ताले ठूलो आशासाथ सोधिन्, 'तपाईं मैथिली बोल्नुहुन्छ नि है?'
म पानी–पानी भएँ।
हाम्रो छलफलको विषय पनि पानीकै थियो — पग पग पोखरी, पियासल लोक।
मेरो लहैलहैमा लागेर मैथिलभाषी दोस्रो वक्ताले पनि नेपालीमै बोल्न थाले।
केहीबेरमै दर्शकदीर्घाबाट एउटा चिट आयो — हामीले बुझ्ने भाषामा बोल्न लगाउनुपर्यो।
भारतबाट आएका सहभागीहरूलाई समेत सहज होस् भनेर भाषा तुरून्त फेरियो।
चार दिने महोत्सव चलिरहेका बेला मधेसको राजधानी चुनावी प्रचारको गुञ्जनले भरिँदै थियो। दिनभर सभा–जुलुस, राति मध्यरातसम्म विवाहका बाजा र बारातीले बजार गुलजार राख्थे।
यस पटक निर्वाचनले मधेसलाई राष्ट्रिय ध्यानको केन्द्र बनाएको छ।
प्रधानमन्त्रीका दाबेदारमध्ये गगन थापा सर्लाही– ४ बाट उम्मेदवार बनेर आएका छन् भने छिमेकी महोत्तरी–३ मा पुर्ख्यौली जरा जोडिएका बालेन्द्र शाह (बालेन) ले पहिलो पटक मैथिलीमै विशाल आमसभालाई सम्बोधन गर्दै आफूलाई 'मधेसी छोरा भएर होइन, सही उम्मेदवार सम्झेर' मत दिन आग्रह गरेका थिए।
त्यही सभास्थल तिरहुतिया गाछीमा घोषणापत्र सार्वजनिक गर्दा गगन दबाबमा देखिए। उनले मैथिली अभ्यास थालेका रहेछन्।
'आज म थोरै मैथिली बोल्छु,' घरिघरि कागज हेर्दै उनले भने, 'म इमानदारीसाथ स्वीकार गर्छु — मैथिली, भोजपुरी, बज्जिका वा थारू भाषा धाराप्रवाह बोल्न सक्दिनँ। तर प्रतिज्ञा गर्छु, छिट्टै यही मञ्चबाट यहाँकै भाषा, शब्द र लयमा बोल्नेछु।'


सिक्न खोजे के नसकिने रहेछ र? देश जोड्ने आकांक्षा राख्नेहरूले कम्तीमा देश बुझ्न चाहेको देखिनुपर्छ।
उनले केही दिनअघि आफ्नै निर्वाचन क्षेत्रमा भनेका थिए— म अब यहीँको भाषा सिक्नेछु, तपाईंहरूको नाम पनि भन्न सक्ने हुनेछु।
जेनजी आन्दोलनको ६ महिनामै चुनावको परिस्थिति बने पनि पुराना पार्टीलाई तयारीका लागि समय पुगेन। विशेष महाधिवेशनबाट सभापति बनेका गगन रातारात मधेसतिर मोडिए, भाषा सिक्न थाले। कांग्रेस बदलिएको देखाउने अवसर पाए, तर देश कसरी बदल्ने भन्ने विस्तार गर्न समय पाएनन्।
उनी स्थानीयसँग साक्षात्कार गर्न हिंडिरहेका हुन्छन्, तर भाषा सहज हुँदैन। महिलाहरूको कुरा सुन्न चाहन्छन्, बुझ्न सक्दैनन्; बुझाउन खोज्छन्, सम्प्रेषण पुग्दैन।
उनको जनादेशको रहस्य यहीँ लुकेको छ — इमानदार प्रयासको अनुभूति कति दिलाउन सक्लान्?
हामी गाउँ–देहात घुम्दै गर्दा उनका प्रतिस्पर्धी अमरेश सिंह घरदैलोमा चलाखीपूर्ण तर्क राख्दै गरेका भेटिए — मलाई जिताउनु भनेको बालेनलाई जिताउनु हो।
त्यही माहोलमा उज्यालो नेपाल पार्टीका शान्त उम्मेदवार पिताम्बर कुशवाहासँग भोजनको जोग जुर्यो।
उनले सम्झिए, '२०४८ सालमा नेकपा (मानन्धर) का सादगी उम्मेदवार बैजनाथ महतो साइकल चढेर प्रचार गर्थे — कसैले सोचेको थिएन जित्छन् भनेर।'


युग बदलिएको छ। घरदैलो मात्र होइन, चोकमा उम्मेदवार–मतदाता साक्षात्कार, छेउछाउ कार्यकर्ता, शुभेच्छुक र प्रचारकका लागि खानाको बन्दोबस्त—खर्चपर्च बढ्दो छ।
मधेसी पार्टीहरू शिथिलजस्तै छन्। एमाले कताकति देखिन्छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कताकति।
जे छ, कांग्रेस र रास्वपा। दुवैका प्रधानमन्त्रीका दाबेदार अनुहार चर्चामा छन्।
एक वाचाल छन्, राजनीतिक सुझबुझसहित संवाद र बहसका लागि तत्पर।
अर्का रहस्यमयी पोज दिँदै, गगल्स र दाह्रीको स्टाइल मार्दै र सटिक सूत्र बोल्दै हतार हतार गायब।
कसलाई जिताउने भनेर सोध्दा प्रायः को ओठमा एउटै शब्द झुन्डिएको पाइयो — 'परिवर्तन।'
यसको अर्थ मतपेटिकाले मात्र खोल्नेछ।
सर्लाहीपछि महोत्तरी पुग्दा एकडारा गाउँपालिकामा बालेनको पुर्ख्यौली परिसर अगाडि हामी रोकियौं। भाइभतिजा भेटिए, छरछिमेक भेला भए। सुडी समुदायले गर्व व्यक्त गर्नु स्वाभाविक थियो।
हरियो–पहेँलो गहुँ र तोरी बालीका बारी हुँदै डुल्दा छेउमै किशोरहरू क्रिकेट खेलिरहेका थिए।

मैले सोधेँ, 'त्यो परको कम्पाउन्ड कसको?'
'गाउँपालिका भएको?' एक किशोरले ब्याट रोकेर सोधे।
'हो।'
'तपाईंलाई थाहा छैन?,' उनी हाँसे, 'बालेन सरकारको।'
केही पर तरकारी गोडमेल गरिरहेका महिलाहरू भेटिए। मैथिली मात्र बोल्ने ती किसानले अनुहार छोप्दै 'बालम' भनेर सम्बोधन गरिरहेका थिए— बालेन्द्र भन्न गाह्रो, बालेन्दर भन्न असजिलो; सजिलो त 'बालम'।
त्यसरी प्रिय, आत्मीय वा देवलाई पुकार्ने शब्दबीच त्यही नाम चलिसकेको रहेछ।
बालेन के भन्छन्, के बोल्छन्, के गर्छन्— त्यसमा खासै चासो देखिँदैन। परिवर्तनको लहर छ; त्यसका लागि स्थानीय उम्मेदवार को हुन्, के भन्छन्— त्यो गौण छ।
प्रतिनिधिसभाका लागि निर्वाचन हो कि प्रधानमन्त्रीको? त्यसो त दुवैका लागि हो।
प्रतिनिधिसभा हुँदै प्रधानमन्त्रीको निर्वाचन हुँदैछ र प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचनझैं लाग्ने गरी दुई उम्मेदवारबीच यस्तरी प्रतिस्पर्धाको भान हुँदैछ, मानौं हामी दुई दलीय व्यवस्थातिर जाँदैछौं!
हमर कहल बात ठीक नै लागल, कि ने?
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle