करिब दस महिना अगाडि बेलायत आउनुअघि यता बस्ने साथीहरूले एउटा कुरा बारम्बार सम्झाएका थिए, 'नेपालभन्दा निकै जाडो हुन्छ, त्यसका लागि तयार भएर आउनू। यहाँ मौसमको भर हुँदैन। घरबाट निस्किँदा जति बेला पनि छाता वा रेनकोट साथमा राख्नू।'
त्यो सल्लाह मैले गम्भीरतापूर्वक लिएँ। सुटकेसभरि बाक्लो ज्याकेट र न्यानो लुगा बोकेर आएँ।
गर्मीका लागि भने खासै केही सोचिनँ। साथीहरूको अनुभव अनि मैले पढेको साहित्य र हेरेको चलचित्रबाट मेरो मनमा बेलायतको चित्र थियो— सधैं चिसो भइरहने, झरी परिरहने र बादलले ढाकिरहने देश।
भदौ महिनामा लन्डनको हिथ्रो विमानस्थलमा उत्रिएलगत्तै साथीहरूको कुरा सही रहेछ भन्ने महसुस भयो।
नेपालमा अझै वर्षा र गर्मीको मिश्रित मौसम भइरहँदा बेलायतमा भने ग्रीष्म ऋतु बिदा हुँदै शरदको आभास सुरू भइसकेको थियो। पहिलो साता नै नेपालको हिउँदको झल्को दिने चिसो अनुभव भयो।
हिउँदको अनुभव
डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिनामा यहाँ चिसो चरम अवस्थामा पुग्यो।
तापक्रम धेरैजसो ४–५ डिग्री सेल्सियसको आसपास रहन्थ्यो। कतिपय राती शून्य डिग्री नजिक पुग्थ्यो।
नेपालमा केही दिनबाहेक प्रायः घाम देखिने वातावरणमा हुर्किएको मानिसका लागि बेलायतको पहिलो हिउँद सजिलो अनुभव थिएन।
लगातार हप्तौंसम्म घाम नदेखिने, दिनभरि बादलले आकाश ढाकिरहने र झरीले वातावरण भिजाइरहने अवस्था मेरा लागि नयाँ थियो। यहाँ घाम देखिनु नै एउटा अदभूत समाचारजस्तो लाग्थ्यो।
त्यति बेला पहिलो पटक महसुस भयो, नेपालमा मैले सूर्यको प्रकाशलाई कति सहज रूपमा लिएका रहेछु। जाडो मौसममा हुस्सु, कुहिरो, वर्षा वा चरम प्रदूषणले आकाश ढाकेको दिनबाहेक घाम देखिनु हाम्रो लागि सामान्य कुरा हो। हातैले वा वासिङ मेसिनले कपडा धोएर घाममा सुकाउन पाउनु हाम्रो लागि सामान्य घटना हो।
जाडो मौसममा घरबाहिर निस्किएर घाममा जिउ तताउन पाउनु पनि हाम्रो लागि सामान्य कुरा हो।
तर, हिउँदको बेला बेलायतमा घाम देखिनु र देखिएको घाम पनि तातो हुनु यहाँका लागि विरलै हुने घटना थियो।
विश्वविद्यालयमा सहपाठी र प्राध्यापकहरूको अनुभवबाट थाहा भयो, हिउँदमा कतिपयलाई राम्रो निद्रा नलाग्ने रहेछ। केही दिनहरूमा अनिद्राको अनुभूति मैले पनि गरेको थिएँ।
कुराकानीबाट थाहा भयो, लामो समयसम्म सीमित सूर्यको प्रकाश, छोटो दिन र लगातार बादल लाग्ने मौसमले केही मानिसहरूको निद्रा, ऊर्जा र मनस्थितिमा असर पार्न सक्ने रहेछ।
धेरैले यसलाई सामान्य रूपमा 'विन्टर ब्लुज' भन्ने रहेछन्। केही व्यक्तिमा भने यो अझ गम्भीर हुँदै सिजनल अफेक्टिभ डिसअर्डर (Seasonal Affective Disorder–SAD) सम्म पुग्न सक्ने रहेछ।
त्यसैले बेलायतमा हिउँद केवल तापक्रमको विषय मात्र होइन रहेछ, मानसिक स्वास्थ्यसँग पनि जोडिएको विषय रहेछ।
तर प्रकृतिको चक्रसँगै मौसम पनि बदलिन सुरू भयो।
गर्मीको अनुभव
वसन्त ऋतु सुरू भएसँगै दिनहरू क्रमशः लामो हुँदै गए। चरम हिउँदमा दिउँसो साढे तीनदेखि चार बज्नासाथ अन्धकार फैलिन्थ्यो। केही महिनामै त्यही बेलायतमा राती दस बजेसम्म उज्यालो देख्न पाइयो। हरेक दिन केही मिनेटका दरले दिन लम्बिँदै गएको परिवर्तन आफैमा रोचक अनुभव थियो।
तापक्रम पनि बिस्तारै बढ्न थाल्यो। ४–५ डिग्री सेल्सियसको औसतबाट बढेर १५–१८ डिग्रीसम्म पुग्दा यहाँका मानिसहरूका लागि त्यो गर्मीको संकेत थियो।
त्यसपछि पार्कहरू भरिन थाले। मानिसहरू बाक्ला ज्याकेट हटाएर हल्का लुगामा देखिन थाले। सहरमा एउटा नयाँ ऊर्जा फर्किएजस्तो महसुस भयो।
सडकमा हिँड्दा पनि अर्कै अनुभव हुन थाल्यो। अपरिचितहरूले पनि बाटोमा हेर्दै मुस्कुराउँथे। कतिले अभिवादन गर्थे, कतिपयले 'ह्याभ अ गुड डे' (दिन शुभ रहोस्) भन्थे।
यसरी गर्मी (समर) मौसमले नयाँ रौनक ल्याएको महसुस भयो।
युरोपमा आधारित साहित्यमा गर्मी मौसममा मानिसहरू रमाएको र घुम्न गएको कथाहरू पढेको थिएँ। बेलायत आउनुअघि मलाई अचम्म लाग्थ्यो, गर्मी मौसममा कसरी घुम्न र रमाउन सकेका होलान्।
यहाँ आएपछि थाहा भयो, गर्मीलाई मैले नेपालको नजरबाट हेरेको रहेछु। गर्मी यहाँका लागि उत्सवजस्तै हुने रहेछ।
तर मेरो त्यो निष्कर्ष धेरै दिन टिकेन।
जुन महिनाको अन्तिम साता बेलायतले दशकौं यताकै असाधारण ताप लहरको सामना गर्यो।
२६ जुनमा इंल्यान्डको नर्फोकमा ३७.७ डिग्री सेल्सियस तापक्रम मापन भयो। यो तापक्रम वर्षको नयाँ राष्ट्रिय रेकर्ड थियो।
यहाँ लगातार तीन दिनसम्म जुन महिनाको उच्चतम तापक्रमको रेकर्ड तोडियो। मौसमविदहरूले यसलाई बेलायतमा बढ्दो चरम मौसम र जलवायु परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका समाचारहरू मिडियामा आए।
गत वर्ष म बस्ने सहरको अधिकतम तापक्रम करिब ३१ डिग्री पुगेको थियो भन्ने थाहा थियो। नेपालका तराईका जिल्लामा बसेर काम गरेको अनुभव भएकाले ४० डिग्रीसम्मको गर्मी पनि सहन सकिन्छ भन्ने आत्मविश्वास थियो।
तर केही दिनमै मैले बुझ्न थालेँ, नेपाल र बेलायतमा एउटै तापक्रमको फरक अनुभूति हुने रहेछ।
नेपालमा ३० डिग्री सेल्सियस हुँदा जति तातो महसुस हुन्छ, बेलायतमा त्यही तापक्रम अझ बढी असहज लाग्यो। कारण केवल तापक्रम थिएन, यहाँको पूर्वाधार थियो।
बेलायतका घर, कार्यालय, विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायात र अधिकांश भवनहरू चिसो मौसमलाई ध्यानमा राखेर बनाइएका रहेछन्। गर्मीका लागि भने धेरैजसो तयार रहेनछन्।
त्यो कुरा मैले विश्वविद्यालयको आफ्नै कोठाबाट महसुस गर्न थालेँ।
म बस्ने घरका झ्यालहरू सापेक्ष रूपमा साना थिए। सुरक्षाका कारण पूर्ण रूपमा खोल्न पनि मिल्दैनथ्यो।
घरका पर्खालहरू पनि ताप बाहिर निस्किन नदिने गरी राम्रोसँग 'इन्सुलेट' गरिएका रहेछन्। यसले गर्दा जाडोमा भित्रको ताप कायम रहने रहेछ।
हिउँदका लागि यो उत्कृष्ट व्यवस्था थियो। तर, गर्मी सुरू भएपछि यही संरचना समस्या बन्ने रहेछ।
कोठामा जाडोका लागि केन्द्रीय हिटिङ प्रणाली थियो। हिउँदभरि कोठाको एउटा प्यानलमा तातो पानी प्रवाह भएर न्यानो राख्ने व्यवस्था रहेछ। तर गर्मीका लागि न त एयर कन्डिसनर थियो, न त पंखा।
मेरो कोठामा दिउँसो करिब तीन बजेदेखि साँझ साढे ९ बजेसम्म सिधा घाम लाग्थ्यो। चरम गर्मी सुरू भएको केही दिनमै कोठा तातेर बस्नै नसक्ने भयो।
राती बाहिरको तापक्रम घट्न थाले पनि कोठाभित्र भने दिनभरि सञ्चित भएको ताप रातभरि रहिरहन्थ्यो। राती निदाउन मुस्किल पर्थ्यो। पंखा नभएको कोठामा सुत्ने प्रयास गर्नु आफैमा चुनौतीजस्तै लाग्थ्यो।
तापक्रम ३० डिग्री नाघेपछि म मात्र होइन, दक्षिण एसियाबाट आएका धेरै साथीहरू पनि अचम्मित भयौं।
नेपाल, भारत र बंगलादेशबाट आएका हामी केही सहपाठीलाई पनि गर्मीले अत्यधिक गाह्रो भइरहेको थियो।
नेपालमा गर्मी हुँदा हामी झ्याल खोल्छौं। पर्दा हटाउँछौं, हावा चल्न दिन्छौं। मैले पनि त्यही गरेँ।
तर यहाँ त्यसको उल्टो परिणाम आयो। बाहिरको तातो हावा सिधै कोठाभित्र पस्यो र इन्सुलेसनका कारण त्यो ताप लामो समयसम्म भित्रै थुनियो।
एक दिन विश्वविद्यालयबाट इमेल आयो। त्यसमा गर्मीबाट कसरी जोगिने भन्ने सुझावहरू थिए। त्यहाँ एउटा सल्लाहले मेरो ध्यान तान्यो, दिनको सबैभन्दा तातो समयमा झ्याल र पर्दा बन्द राख्नू, राती मात्र बाहिरको तापक्रम घटेपछि झ्याल खोल्नू।
त्यति बेला थाहा भयो, मैले त उल्टै गरिरहेको रहेछु।
विश्वविद्यालयको सुझाव अनुसार झ्याल र पर्दा बन्द राखेपछि केही राहत त मिल्यो, तर कोठाको गर्मी पूरै हटेन।
अन्ततः अरू धेरैले जस्तै धेरैजसो समय एसी भएको पुस्तकालय वा पार्कमा बिताउन थालेँ, जहाँ केही चिसो वातावरण पाइन्थ्यो। बाहिर निस्किँदा पनि दृश्यहरू नेपालभन्दा केही फरक देखिन्थे।
सडकमा हिँड्दा तातो हावाले अनुहार चरचर पोलिरहेको महसुस हुन्थ्यो। बाटोमा नाकबाट रगत बग्दै गरेका कतिपय मानिस भेटिन्थे।
कतिपय मानिसहरू गाडीका सबै झ्याल खोलेर र छाना (सनरूफ) खोलेर यात्रा गरिरहेका थिए। गाडीमा केही पुरूषहरूले शरीरको माथिल्लो भागको लुगा नै लगाएका थिएनन्। बाटोमा पनि गर्मीले गर्दा माथिल्लो भागको लुगा पूरै फुकालेर हिँड्ने पुरूषहरू धेरै भेटिन्थे।
पार्कहरू मानिसले भरिएका थिए। साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म रूखको छहारीमा पल्टिरहेका देखिन्थे। कतिपय घाँसे मैदानमा सुतिरहेका देखिन्थे।
तर सबैभन्दा कठिन अनुभव सार्वजनिक यातायातमा भयो।
एक दिन बस चढ्दा बाहिरभन्दा भित्रको गर्मी अझ असह्य लाग्यो। झ्याल बन्द, यात्रुहरूको भीड र पर्याप्त चिस्याउने व्यवस्था नहुँदा सबै पसिनाले भिजेका थिए।
यहाँ केही बस र रेलमा वातानुकूलित प्रणाली भए पनि सबै सार्वजनिक सवारीमा त्यस्तो सुविधा नहुने रहेछ।
यी दृश्यहरूले मलाई सोचमग्न बनायो।
नेपालमा पनि गर्मीले दुःख दिन्छ। तर त्यससँग जुध्ने हाम्रो आफ्नै जीवनशैली विकास भएको रहेछ। हाम्रा सार्वजनिक र निजी पूर्वाधारहरू केही हदसम्म तयार रहेछन्।
गर्मीमा तराईका धेरै ठाउँमा हामी बिहान चाँडै काम सुरू गर्छौं। दिउँसो केहीबेर विश्राम लिन्छौं। घरहरूमा पंखा सामान्य कुरा हो। गाउँका धेरै घरमा खुला आँगन हुन्छ। रूखको छहारी, चौतारी र गर्मीसँग अनुकूलित दैनिक बानीहरू हाम्रो जीवनको हिस्सा बनेका रहेछन्।
तर बेलायतमा गर्मी नयाँ चुनौती रहेछ। यहाँको समाजले पुस्तौंदेखि चिसोसँग जुध्न सिकेको छ, तर अत्यधिक गर्मीसँगको संघर्ष केही वर्षको मात्र रहेछ।
त्यसैले केही दिनको ताप लहरले पनि यहाँको दैनिक जीवन असामान्य बनाइदिने रहेछ। केवल चार–पाँच दिनको असाधारण तापक्रमले पनि एउटा विकसित देशको दैनिक जीवनलाई गम्भीर रूपमा प्रभावित गर्न सक्ने रहेछ।
गर्मीलाई मैले सुरूमा व्यक्तिगत असहजताका रूपमा मात्र लिएको थिएँ। तर केही दिनमै समाचारहरू हेर्दा यो समस्या मेरो कोठाभित्र मात्र सीमित नरहेको थाहा भयो।
अत्यधिक गर्मीका कारण बेलायतका केही अस्पतालहरूले आफ्नो बहिरंग सेवा बन्द गरेका थिए। कतिपय अस्पतालले शल्यक्रियाहरू स्थगित गर्नुपरेको थियो। केही ठाउँमा अत्यधिक तापका कारण एमआरआई स्क्यानरजस्ता उपकरणले अपेक्षित रूपमा काम गर्न सकेका थिएनन्।
इमर्जेन्सी सेवा बाहेकका उपचारहरूका तालिका सार्नुपरेको समाचार पनि सार्वजनिक भए।
यसको मुख्य कारण एउटै थियो, बेलायतका धेरै अस्पतालहरू चरम गर्मीलाई होइन, चिसो मौसमलाई ध्यानमा राखेर निर्माण गरिएका थिए।
यातायात क्षेत्रमा पनि असर देखियो। उच्च तापक्रमका कारण रेलका लिकहरू तातेर फैलिने जोखिम बढेपछि धेरै स्थानमा रेलको गति घटाइयो। कतिपय सेवामा ढिलाइ भयो र केही रूटमा सेवा अस्थायी रूपमा स्थगित गरियो। एसी नभएका कतिपय बसहरू बन्द गरिए।
सरकार र स्वास्थ्य निकायहरूले वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई सकेसम्म घरभित्र बस्न, प्रशस्त पानी पिउन र दिउँसोको घामबाट बच्न आग्रह गरे। बेलायतको स्वास्थ्य सुरक्षा निकायले उच्च तहको 'हिट हेल्थ अलर्ट' जारी गर्यो।
यो सबै देख्दा लाग्यो, यहाँ गर्मी केवल मौसमको परिवर्तन मात्र होइन, स्वास्थ्य, यातायात, शिक्षा र अर्थतन्त्रसम्म पुग्ने चुनौती बन्दै गएको रहेछ।
जलवायु वैज्ञानिकहरूका अनुसार पछिल्ला दशकहरूमा मानव गतिविधिबाट बढेको हरितगृह ग्यास उत्सर्जनका कारण युरोपमा ताप लहरहरू पहिलेभन्दा धेरै बारम्बार, धेरै लामो र अझ तीव्र हुन थालेका रहेछन्।
केही दशकअघि दुर्लभ मानिने चरम गर्मी आज क्रमशः नयाँ सामान्य बन्ने चरणमा रहेछ। यसलाई बदलिँदो जलवायुको चेतावनीका रूपमा वैज्ञानिकहरूले व्याख्या गरेका छन्।
बेलायतमा बसेर नेपाल सम्झिन्छु।
हामी पनि जलवायु परिवर्तनको प्रभावबाट टाढा छैनौं। हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्। मनसुनको तालमेल फेरिएको छ। कहिले असामान्य वर्षा र कहिले लामो खडेरीले जनजीवन प्रभावित बनाइरहेका छन्। कृषकको खेतीदेखि सहरी जीवनसम्म मौसमको अनिश्चितताले असर पारिरहेको छ।
फरक यति मात्र रहेछ, नेपाल र दक्षिण एसियाले जलवायु परिवर्तनका प्रभाव धेरै अघिदेखि भोगिरहेका छन्। बेलायत र युरोपले भने पछिल्ला वर्षहरूमा त्यसको तीव्रता नयाँ ढंगले महसुस गर्न थालेका छन्।
यसले एउटा गहिरो सत्य देखाउँछ, प्रकृतिले देश छुट्ट्याउँदैन।
धनी वा गरिब, विकसित वा विकासशील, उत्तर वा दक्षिण, हामी सबै एउटै पृथ्वीका बासिन्दा हौं। कसैले बढी कार्बन उत्सर्जन गरेको होला, कसैले कम। तर जलवायु परिवर्तनका प्रभाव सिमाना हेरेर नआउने रहेछन्।
मौसम अब केवल घाम, पानी र बादलको कुरा मात्र रहेन। यो स्वास्थ्यको कुरा हो। यो शिक्षा, पूर्वाधार, अर्थतन्त्र र सार्वजनिक नीतिको कुरा हो। अन्ततः यो मानव सभ्यताले आफ्नो भविष्यसँग कसरी सम्झौता गर्छ भन्ने प्रश्न पनि हो।
बेलायतमा चिसोको अपेक्षा गर्दै त्यसका लागि तयार भएर आएको म गर्मीबाट भने आत्तिएँ।
आफू आत्तिएर सार्वजनिक वृत्त र मिडियामा मौसमबारे भइरहेको बहस हेर्दा देख्दैछु — भविष्यको चिन्ता, विज्ञानको चेतावनी र साझा जिम्मेवारीको प्रश्न।
(लेखक विजयमणि पौडेल बेलायत सरकारको चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल युनिभर्सिटी अफ एक्सेटरमा शैक्षिक नेतृत्व र व्यवस्थापन अध्ययन गर्दै छन्।)
एक्स (ट्वीटर)- @mani_bijaya