सक्रिय राजनीतिमा होमिएको पनि बाह्र वर्ष पुगेछ।
एउटा भनाइ छ, 'बाह्र वर्षमा खोला पनि फर्किन्छ।'
यो बाह्र वर्षको अवधिमा मेरो सोच, दृष्टिकोण र राजनीतिक बुझाइ पनि धेरै परिवर्तन भएको महसुस गरेको छु। राजनीतिमा प्रवेश गर्दा जस्तो उत्साह थियो, आज पनि त्यो उत्साह कायमै छ, तर त्यो उत्साहसँगै अनुभव, जिम्मेवारी र परिपक्वता थपिएको छ।
मेरो राजनीतिक यात्रा विवेकशील नेपालीबाट सुरू भएको हो। त्यसपछि विभिन्न राजनीतिक उतारचढाव, संगठनात्मक अभ्यास, निर्वाचनमा उम्मेदवारी, आन्दोलन, छलफल र वैचारिक बहस पार गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिका रूपमा आइपुगेको छु।
यस अवधिमा मैले पार्टीभित्रका धेरै चरणहरू नजिकबाट देख्ने, भोग्ने अवसरहरूमा सहभागी थिएँ। तर पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म प्रतिनिधिका रूपमा सहभागी भएर सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अनुभव गर्ने अवसर भने पहिलो पटक प्राप्त भयो।
मेरा लागि यो प्रथम महाधिवेशन कुनै सामान्य कार्यक्रम थिएन। यो केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र पनि थिएन। यो पार्टीको संस्कार, संगठन, प्रणाली, नेतृत्वको क्षमता, कार्यकर्ताको धैर्य र भविष्यको दिशाको परीक्षण गर्ने एउटा महाकुम्भ थियो।
महाधिवेशन सकिएपछि आज कुनै पदाधिकारी, उम्मेदवार वा पक्ष–विपक्षको दृष्टिकोणबाट होइन, एउटा सामान्य सदस्य र प्रतिनिधिको हैसियतबाट केही अनुभूति, केही समीक्षा र केही अपेक्षा राख्न चाहन्छु।
सबैभन्दा पहिले भन्नुपर्दा, पहिलो महाधिवेशन अत्यधिक लम्बिनु राम्रो संकेत थिएन। कुनै पनि राजनीतिक दलको महाधिवेशनमा केही प्राविधिक समस्या आउन सक्छन्। नयाँ पार्टी भएकाले केही कमजोरी स्वाभाविक पनि हुन्।
तर तीन दिनमा सक्ने तालिका छ, सात दिनसम्म लम्बिनु व्यवस्थापनको कमजोरी नै हो।
प्रतिनिधि टुंगो नभएपछि बन्द सत्र पनि कामचलाउ गरियो। कसले कति खेर के बोले, के प्रतिवेदन पास गरे, केही पत्तो पाइएन। समाचारमा आए अनुसार सभापतिको प्रतिवेदन सात सेकेन्डमा पास भयो। संसारकै अच्चम्म भयो!
मलाई लाग्छ। पार्टीका विधान, विभिन्न प्रतिवेदनहरू पनि सतही छलफलमा ल्याउनुपर्छ। आज केन्द्रीय सदस्य जितेर गएका कतिले नयाँ विधान पढे? कतिले सुने? छातीमा हात राखेर भन्ने हो भने बनाउने र पढेर सुनाउने बाहेक कसैले नबुझे, नबुझाइयो।
यो विषयमा गहन छलफल चलाउने जिम्मा नयाँ समितिको हुनुपर्छ।
प्रतिनिधिहरू देशभरिबाट समय मिलाएर आफ्नो जिम्मेवारी मानेर आएका थिए। धेरैले कार्यालयबाट बिदा मिलाएका थिए, कसैले आफ्नै व्यवसाय बन्द गरेका थिए भने कतिपयले परिवारका महत्वपूर्ण काम स्थगित गरेका थिए।
यति ठूलो त्याग गरेर आएका प्रतिनिधिलाई दिनौंसम्म अनिश्चिततामा राख्नु उचित थिएन। सुन्दा सामान्य लाग्ने तर महत्वपूर्ण कुरा हो कि देशकै ठूलो दल, जसलाई आइटी बुझेको भनेर बुझिन्छ, त्यही पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचनको समयसम्म टुंग्याउन नसक्नु ठूलो लापरबाही हो।
महाधिवेशन लम्बिँदै जाँदा प्रतिनिधिहरूमा निराशा बढ्दै गयो। सुरूमा देखिएको उत्साह बिस्तारै थकानमा बदलियो। कतिपय प्रतिनिधि घर फर्किन बाध्य भए। कतिपयले मतदान नै गर्न पाएनन्। यसले महाधिवेशनको गरिमा मात्र घटाएन, प्रतिनिधिको सम्मानमा पनि प्रश्न उठायो।
तर यसको अर्थ सबै कुरा असफल भयो भन्ने होइन। यो पहिलो महाधिवेशन भएकाले केही कमजोरीहरूलाई क्षमायोग्य रूपमा लिन सकिन्छ। तर क्षमा गर्ने भनेको कमजोरी दोहोर्याउने छुट दिनु होइन।
यदि यही गल्ती दोस्रो महाधिवेशनमा पनि दोहोरियो भने त्यो अनुभवको अभाव होइन, गैरजिम्मेवारी हुनेछ। त्यसैले यस पटक भएका हरेक कमजोरीको गम्भीर समीक्षा गरेर सुधार गर्नैपर्छ।
यस महाधिवेशनले अर्को एउटा महत्वपूर्ण कुरा पनि देखायो। सामाजिक सञ्जालमा धेरै चर्चित भएपछि संगठनमा काम नगरेका भए पनि प्रतिनिधिहरूको मतले विजय भए।
सरासर हेर्दा उम्मेदवारहरूको मापदण्ड फेसबुक, टिकटक वा युट्युबहरूमा भाइरल हुनेहरूका बीच जस्तो देखियो। राजनीति संगठन निर्माणको यात्रा हो। जनताको सुखदुःखमा साथ दिने प्रक्रिया हो। कार्यकर्तासँग सम्बन्ध बनाउने अभ्यास हो।
विचार, व्यवहार र निरन्तरताले नेता बनाउनुपर्ने हो, तर भाइरलहरूले नतिजा आफ्नो पक्षमा पार्न सफल भए।
यस महाधिवेशनले एउटा नकारात्मक सन्देश दिएको छ। रास्वपाका प्रतिनिधिहरूले अन्ततः संगठनलाई बढी महत्व दिनेभन्दा भाइरलहरूलाई बढी महत्व दिए। सायद छोटो समयको पार्टीको यात्रा र नेताहरू नचिन्नुको कारण चिनेका अनुहारलाई मतदान गरे।
यसले पार्टीको भविष्यप्रति शंका जगाएको छ। यदि प्रतिनिधिहरूले केवल सामाजिक सञ्जालको प्रभावमा नभई निर्णय गरेका भए आज धेरै संगठनमा लागेका मानिसहरू स्थानमा हुने थिए। अब प्रतिनिधिहरूले संगठनमा काम गरेका, लामो समयदेखि योगदान दिएका र जिम्मेवारी पूरा गरेका व्यक्तिलाई प्राथमिकता दिनु पार्टीको लागि फाइदा हुनेछ।
कार्यक्रम आयोजक चितवन जिल्ला प्रति कुनै गुनासो रहेन। खानादेखि हलसम्म सबै कुरा राम्रो मान्नुपर्छ। समस्या पार्टीको संगठन विभाग र निर्वाचन समितिमा रह्यो।
निर्वाचन समिति आफ्नो अडानमा रहन सकेन भने केही नेताहरूले निर्वाचन समितिलाई स्थिर रहन दिएनन्। इलेक्ट्रिक मेसिनमा मतदान नौलो अनुभव मात्र होइन, प्रभावकारी पनि देखियो, तर निर्वाचन प्रक्रिया ढिला गर्नु र मेसिनमा नाम राख्ने तरिकाले प्रश्नहरू उब्जिएका छन्।
महाधिवेशनले केही सकारात्मक पक्ष पनि देखायो। देशभरिबाट आएका प्रतिनिधिहरूबीच परिचय बढ्यो। फरक भूगोल, फरक अनुभव र फरक सोच भएका साथीहरूसँग छलफल गर्ने अवसर मिल्यो। धेरै विषयमा गम्भीर बहस भए। संगठनभित्र लोकतान्त्रिक संस्कार अझै जीवित रहेको अनुभूति भयो।
निर्वाचनमा प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। जित्ने र हार्ने दुवै हुन्छन्। तर प्रतिस्पर्धा सकिएपछि संगठनलाई एक बनाउने जिम्मेवारी सबैको हुन्छ। चुनाव सकियो भने प्रतिद्वन्द्विता पनि सकिनुपर्छ।
नेतृत्वमा पुगेकाहरूले जितेको अहंकार होइन, अझ ठूलो जिम्मेवारी महसुस गर्नुपर्छ। पराजित साथीहरूले पनि संगठनप्रतिको आफ्नो योगदानलाई निरन्तरता दिनुपर्छ। किनकि पदभन्दा ठूलो पार्टी हुन्छ, पार्टीभन्दा ठूलो देश हुन्छ।
मलाई लाग्छ, यो महाधिवेशनले रास्वपालाई एउटा ऐना देखाएको छ। संगठन विस्तार गर्नुपर्छ। व्यवस्थापन बलियो बनाउनुपर्छ। प्राविधिक तयारी समयमै गर्नुपर्छ। प्रतिनिधिलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। निर्णय प्रक्रियालाई अझ पारदर्शी बनाउनुपर्छ।
हामीले नयाँ राजनीतिक संस्कृतिको कुरा गरेका छौं। त्यसैले नयाँ संस्कृतिको मापन भाषणले होइन, व्यवहारले हुन्छ। सुशासनको नारा दिने पार्टीले आफ्नै कार्यक्रम सुशासित ढंगले सञ्चालन गर्न सक्नुपर्छ।
यस महाधिवेशनले मलाई व्यक्तिगत रूपमा पनि धेरै कुरा सिकायो। राजनीति केवल चुनाव जित्ने माध्यम होइन, मानिस चिन्ने विद्यालय पनि रहेछ। सहकार्य, असहमति, आलोचना, धैर्यता र जिम्मेवारी, यी सबै राजनीतिका अनिवार्य पाठ हुन्।
आज बाह्र वर्षको राजनीतिक यात्रालाई फर्केर हेर्दा आफू पहिलेभन्दा धेरै परिपक्व भएको महसुस गर्छु। अझै सिक्न बाँकी धेरै छ। अझै सुधार गर्नुपर्ने धेरै पक्ष छन्। तर एउटा कुरा निश्चित छ— राजनीति भनेको निरन्तर सिकाइको यात्रा हो।
अन्त्यमा, मेरो आग्रह यति मात्र हो— पहिलो महाधिवेशनका कमजोरीलाई लुकाउने होइन, स्वीकार गर्ने साहस गरौं। राम्रो कामको प्रशंसा गरौं। गलत भएको ठाउँमा निडर भएर सुधारको माग गरौं।
यही संस्कारले मात्र रास्वपालाई बलियो, लोकतान्त्रिक र दीर्घकालीन राजनीतिक शक्ति बनाउन सक्छ।
आलोचना विरोध होइन, सुधारको आधार हो। प्रश्न उठाउनु असहयोग होइन, जिम्मेवारी हो। र संगठनलाई अझ राम्रो बनाउन सत्य बोल्ने साहस नै सबैभन्दा ठूलो योगदान हो।
मेरो बाह्र वर्षको राजनीतिक यात्राले यही सिकाएको छ— व्यक्ति होइन, प्रणाली बलियो हुनुपर्छ। चर्चा होइन, चरित्र बलियो हुनुपर्छ। भाइरल होइन, विचार र संगठन बलियो हुनुपर्छ। यदि हामीले यही बाटो समात्यौं भने पहिलो महाधिवेशनका कमजोरीहरू इतिहास बन्नेछन् र भविष्य अझ बलियो हुनेछ।
रास्वपाको पहिलो महाधिवेशन सकिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ स्वरूप बनेको छ। वडा, पालिका, जिल्ला, प्रदेशहरूमा बलियो सभापतिहरू चयन भएका छन्। उनीहरूले अब संगठनिक रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ। अभियानी मात्र होइन, अब राजनीतिज्ञ बन्न सक्नुपर्छ। अब महाधिवेशनको उत्साहभन्दा पनि महाधिवेशनबाट प्राप्त शिक्षा कार्यान्वयन गर्ने समय सुरू भएको छ।
यही शिक्षा व्यवहारमा उतार्न सकियो भने यो महाधिवेशन सफल भएको मानिनेछ।
(लेखक दीपक पौडेल पोखराका सामाजिक अभियानी र भ्रष्टाचार निवारण विभाग, गण्डकीका सचिव हुन्।)