'मेरा खुसीहरू साना हुन्। यति साना हुन् कि तिनीहरूलाई मबाट पर लैजान कसैले चाह समेत नराखोस्!'
मलाई लामो समयसम्म उद्धरणहरू फगत शब्दका पुलिन्दा मात्र हुन् भन्ने लागिरह्यो।
आजभोलि, उद्धरणहरूले मथिंगल हल्लाइदिन्छन् बेलाबखत।
सोच्ने तरिका नै बदलिदिन्छन्।
समय, परिस्थितिसँगै बुझाइमा पनि आएको परिवर्तनले होला सायद।
जस्तोसुकै सोचाइ किन नहुन्, एउटा 'फरक दृष्टिकोणको दुरीमा' मात्र त टाढा हुने रहेछन् बुझाइहरू।
बिहान ठिक लागेको कुरा स्वयंलाई बेलुका बेठिक लाग्न सक्छ। आजभन्दा केही पहिले आफूले कठोरतापूर्वक अडान लिएको विचार अहिले फर्केर हेर्दा 'त्यो विचारलाई मैले त्यसरी अडान किन लिएँ होला' भन्ने लाग्न सक्छ।
स्वाभाविक हो।
हामी अहिले जे छौं, त्यो क्षणपछि नै त्यही नरहन सक्छौं।
हेर्दा सङ्लो देखिए पनि हामी पनि असंख्य कणहरूले बनेका त हौं।
बन्ने र भत्किने प्रक्रिया स्वतः भइरहेकै हुन्छ। र, यो स्वाभाविक पनि त हो।
विगत बितेर गइसक्यो। भविष्य आएकै छैन। जे छ, यही वर्तमानको त्यही क्षण नै त छ।
हामीले यस्तै यस्तै आसयका कुरा कैयौं पटक सुनिसकेका छौं पनि।
यसरी अक्षरमा लेख्न त सजिलो छ। तर, व्यवहारमा सबैभन्दा कठिन!
म पहिलोपल्ट विपश्यना ध्यान पाँच वर्ष पहिले गएको थिएँ। ध्यानबाट फर्केर आएपछि ममा के परिवर्तन आए भन्न त सक्दिनँ। तर, अनुभूतिजन्य स्तरमै केही परिवर्तन आएको महसुस गर्छु।
पाँच वर्षपछि म पुनः विपश्यना ध्यान गएँ। नियमित अभ्यास नगरेको म यो यसपालि पनि नयाँजस्तै भइसकेको थिएँ।
पाँचौँ दिनमा 'अब सक्दिनँ कि' जस्तो लाग्यो। रातभर तारा हेर्दै रोएर रात कटाएँ अनि बहाना बनाएर निस्किएँ।
हाम्रो कर्मको साँचो पुरस्कार प्राप्त वस्तुमा होइन, त्यसले हामीलाई बनाउने व्यक्तित्वमा निहित हुन्छ — विपश्यनाका दौरान नेपथ्यबाट यो आवाजले झस्काइरह्यो।
मन एकाग्र पार्न अलि सफल हुन्छु कि भनेर गएको म झनै विचलित भएँ जस्तो लाग्यो अनि फर्किएँ। त्यो समयलाई भरपुर सदुपयोग गर्नुको साटो मलाई प्रत्येक मिनेट नै कहिले बित्ला जस्तो हुनपुग्यो, अनि लाग्यो, यसरी तड्पिएर त के ध्यानमा बस्नु।
ध्यानमा बस्दा मलाई लाग्यो — ओहो, यो संसारमा सबैभन्दा कठिन कार्य भनेकै ध्यानमा बस्नु पो रहेछ।
'जिन्दगीको कठिन कुरा' भनेर मैले निकाल्ने निष्कर्ष मेरो समयक्रम अनुसार परिवर्तन हुन्छ।
पढ्न बसेको एक घन्टामा मैले पाँच पटक मोबाइल चलाएँछु आज।
अहिले यो लेख्दै गर्दा मलाई लाग्दैछ — पढ्नु पो सबैभन्दा कठिन कार्य रहेछ।
बाल्यावस्थामा, दसैंमा घर गएको बेला दिदी र आमासँगै म खेतमा धान बोक्न गएँ। दिदी–आमाले आफूले बोकेको भन्दा निकै हलुका भारी मलाई बोकाइदिनुभयो। मेरो बोकेर उठ्न लाग्दा यति गह्रौं लाग्यो कि म उठ्नै सकिनँ।
अनि, यति ठूलो भारी मलाई बोकाउने भन्दै रोइदिएँ।
त्यो समय मलाई 'भारी बोक्नु चाहिँ सबैभन्दा कठिन कार्य रहेछ' भन्ने लागेको थियो।
के कठिन, के हलुका।
आफूले गर्न नपर्ने कामहरू सधैं हलुका अनि आफूले गर्ने कामहरू सधैं कठिन लाग्ने रहेछ मलाई।
सायद, हामीलाई।
अर्थात्, यो त हामीले आफ्नो सहजता अनुसार बनाएको कार्य त रहेछ नि है।
हेर्दा सामान्य नै छ त यो वाक्य। तर यसले बोक्ने सत्य कति गहिरो रहेछ।
अहिले लाग्छ, ममा एउटा कुराको कमी रहेछ — धैर्य। जुन बेला जे गर्नुपर्ने त्यो चाहिँ नगर्ने अनि पछि पछुताउने।
पढ्ने समयमा खेल्न मन लाग्ने अनि खेल्ने समयमा पढ्न पाए हुनेझैं लाग्ने। स्वयंले गल्ती गरेर त्यसको नतिजा भोगेपछि मात्र पाठ सिक्ने।
आफैले गरेको गल्तीबाट मात्र पाठ सिक्न त यो छोटो जिन्दगीमा कहाँ सम्भव होला र है!
'ध्यानमा अरू कोही बसिदियोस्, त्याग अरू कसैले गरिदियोस् तर बुद्धत्व चाहिँ तपाईंलाई प्राप्त होस् — यो कहिल्यै सम्भव छैन।
बुद्धत्व प्राप्त गर्नु, दुःखबाट छुटकारा पाउनु, हरेक प्रक्रियालाई समतामा रहेर निरीक्षण गर्न सक्ने गुण विकास गर्नु कसैले एकाधिकारयुक्त अधिकार होइन — विपश्यनाको 'आनापाना' दौरान नेपथ्यबाट गुरू श्याम गोइन्काले भनेको आवाज आश्रम छोड्नुअघि दर्जनौं पटक मनमा त आयो। तर सकिनँ।
विपश्यना बीचैमा छाडे पनि अहिले म नियमित रूपमा विपश्यना ध्यान अभ्यास गरिरहेको छु। अहिले पनि मलाई ध्यान बस्दा यही नै सबैभन्दा कठिन कार्य अनि लगत्तै पढ्न बस्दा यही नै सबैभन्दा कठिन कार्य रहेछ भन्ने नै लाग्छ।
'तिमी नभएको भए, सायद, कहिल्यै अस्तित्वमा समेत नआउने कुरालाई दृश्यमा लैजान प्रयत्न गरिराख,' आफ्नो जिन्दगीको सबैभन्दा मनपर्ने भनाइ सुनाउँदै अध्यात्ममा गहिरो रुचि राख्ने एक साथीले एकपटक सोधिन् — ह्वाउ इज द वेदर इन्साइड यू साथी?
यो आशयको प्रश्न त आफूले पनि हजारौं पटक सोधियो होला। मलाई पनि हजारौं पटक सोधे होलान्। तर, यसरी कहिल्यै कसैले सोधेका थिएनन्।
दिनहुँ ध्यान गर्ने, आफूलाई दैनिक आइपर्ने कुराहरूलाई समताको नजरले हेर्ने उनले अध्यात्मबारे जसरी मलाई बुझाउने प्रयत्न गरिन्— म अवाक भएँ।
यसरी पनि कुराहरू बुझ्न र बुझाउन सकिन्छ भनेर मलाई पहिलो पटक कसैले प्रभावित पार्यो।
प्रत्येक पटक ध्यानमा बस्दा रोएरै टुंगिने गरेको आफ्नो यथार्थ बताउँदा उनले भनिन् — यो गिलासमा किन आधा मात्र पानी भयो भनेर पनि कोही रोइरहेको छ भने त्यो जायज हो। आँसु आएको बेला जबर्जस्ती रोक्नु पो गलत हो त, बग्न दिनु त स्वाभाविक प्रक्रिया हो नि साथी।
कहिलेकाहीँ हाम्रा आँखा आँसुले भिज्नैपर्छ ताकि संसारलाई अझ सफा दृष्टिले हेर्न सकियोस्।
अहिलेसम्म यो लेख पढेर यहाँसम्म पुग्नुभएको तपाईंलाई सोधौं?
ह्वाउ इज द वेदर इन्साइड यू साथी?
भित्र पानी परिरहेको बेला जबर्जस्ती पानी छोपेर घाम भएजस्तो देखाउँछु भनेर त सम्भव कहाँ होला र है!
'सबै सिद्धान्तहरू जान, सबै सीपहरूमा निपुण बन। तर, जब कुनै मानव आत्मालाई स्पर्श गर्छौ, तब केवल अर्को मानव आत्मा बनेर पुग।'
स्वास्थ्य शिविरमा आँखा अगाडि दर्जनौं बिरामी थिए।
'स्माइल, आऊ बस। अब तिम्रो पालो,' मैले आठ वर्षे बच्चालाई हात समाएर राखेँ।
जातले मगर उसले 'यो कताको मान्छेले मेरो नाम कसरी थाहा पायो' भनेर यसरी चकित परेर साथीहरूलाई हेरिरह्यो, आश्चर्यमिश्रित भावमा।
केही मिनेट 'म त जादुगर हो नि' भनेर गफ लगाएपछि अन्ततः नपत्याउने अवस्था आएपछि मैले सत्य ओकलेँ, 'तिमीले समाइरहेको कागजमा तिम्रो नाम प्रस्ट देखिएको थियो। त्यही देखेर भनेको! नत्र त कसरी सक्नु नि!'
आफूसँग आएका बिरामीलाई नामसहित नाता लगाएर बोलाएको त कैयौं पटक सुनिरहेकै छु। तर त्यसरी बोलाउनुको हार्दिकता कति सुन्दर हुन्छ भन्ने कुरा मैले एक सहकर्मी साथीको व्यवहारबाट देखेँ।
आफूसँग आएका प्रत्येकको ओपिडी कार्डमा नाम हेर्दै नाता जोडेर बोलाइसकेपछि 'के भएर आउनुभएको नि' भनेर सोध्ने उहाँको शैलीलाई ओपिडीमा आएकाहरूलाई बस्न पनि नपाइ 'के भएर आउनुभएको' भनेर बढो हतार भएझैं सोध्ने म स्वयंको शैली सम्झिएँ।
पछि बिरामी हेरिसकेपछि 'सधैं यसैगरी हेर्नुहुन्छ तपाईं बिरामी' भनेर सोध्दा उहाँले माथिको भनाइ सुनाउँदै नामसहित बोलाउँदाको हार्दिकताबारे आफूले यी वर्षहरूमा भोगेको अनुभवबारे जसरी भन्नुभयो। बढो सुन्दर लाग्यो!
उहाँको भनाइबाट सिकेरै हो मैले रूबी भ्यालीका ती विकट विद्यालयका हजार बढी विद्यार्थीहरू प्रत्येकलाई नामले नै बोलाएँ।
मलाई यसको प्रभाव सुन्दर लाग्यो।
अहिले यो लेख्दै गर्दा लागिरहेछ — एक चिकित्सकमा समता मिसियो भने झनै कति सुन्दर हुने रहेछ।
'ल, यो चाहिँ बाबुको अनुहार हेरेको पैसा' एक जना नवजात शिशुको धेरै मेहनत गरेर सकुशल जन्म भएपछि मैले अनायासै खल्तीबाट सय रूपैयाँ झिकेर दिएँ।
'बच्चाको मुख हेर्ने' चलनलाई मान्ने उनीहरू मेरो त्यो सामान्य कर्मबाट यति खुसी भए कि मलाई लगत्तै लाग्यो — ओहो! यति सानो कर्म गरेर दिन सक्ने यति ठूलो खुसी पहिल्यैदेखि दिनेबारे मैले आजसम्म किन नसोचेको होला!
अनि, त्यो दिनबाट मैले सानै रकम भए पनि दिन थालेको छु।
हाम्रो जस्तो देश, जहाँ श्रीमतीलाई आफ्नो शुक्रकीट दिनेबित्तिकै श्रीमान वैदेशिक रोजगारीमा जान हतारिन्छ, जहाँ प्रसव वेदनामा छट्पटाइरहेकी आफ्नी श्रीमतीलाई भिडिओ कलबाट सान्त्वना दिनुपर्ने अवस्था छ, यस्तो बेला नौ महिना आफ्नो पेटमा राखेर हुर्काएकी आमाभन्दा पहिले त्यो बच्चा लिने सौभाग्य पाउने हामी स्वास्थ्यकर्मीले देखाउने सामान्य व्यवहारले कति सुन्दर छाप पर्ने रहेछ भन्ने कुरा मैले अनुभूतिको स्तरमा पाएको छु।
प्रेम बाँड्नेहरू गरिब को भएका छन् र है!
हामी बाँचिरहेको समाज। पापीहरूले भरिएको समाज, जहाँ प्रत्येकले अर्कोलाई केवल फरक तरिकाले पाप गरेको भन्दै गाली गरिरहेको भेटिन्छ। यस्तो समाजमा अरूको मन बुझाउनभन्दा हामी स्वयंको मन बुझाउन प्रयत्न गर्नु बढी लाभदायक हुनेरहेछ। अरू मान्छे कठोर वा दयालु भइदिऊन् भनेर कल्पनुसम्म ठिक छ, तर त्यो हाम्रो हातमा छैन। हाम्रो हातमा के चाहिँ छ भने, हामी स्वयं चाहिँ दयालु भइदिन सक्छौं।
अध्यात्मले केही मात्रामै भए पनि यो कुराको आभास गराएको छ।
मैले आजसम्म जिन्दगीमा कैयौं मान्छेहरूबाट धेरै जीवन-उपयोगी व्यवहारहरू सिकेको छु।
आजको यो बिन्दुमा 'ह्वाउ इज द वेदर इन्साइड यू साथी' भन्ने प्रश्न सबैभन्दा सुन्दर लागिरहेछ।
मैले धेरैलाई यही प्रश्न सोध्ने गरेको छु।
अरूले के सोच्ला भनेर सोचेको सोचै गर्ने हामीहरू आफ्नो अन्तर्मनले के सोच्छ भनेर कहिल्यै सोचेका छौं?
अरूको खुसीको लागि बाँच्दा बाँच्दै आफ्नै जिन्दगी सकिनै लागेको आभास गरेका छौं?
मलाई पछिल्लो समय अध्यात्म अनि समतापूर्ण व्यवहार गर्न सिकाउने साथी- Thank You for Existing!
मैले मेरो जिन्दगीको कुनै बिन्दुमा अलिकति भए पनि समतापूर्ण व्यवहार देखाउन सकेँ भने त्यसको श्रेय यो प्रश्नको महत्त्व बुझाइदिनेलाई दिनेछु।
तपाईँहरू सबैको अन्तर्मनको मौसम सधैं सफा रहिरहोस्।
भवतु सब्ब मंगलम्।