आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने 'नीति, संगठन र नेतृत्व' विषयक कार्यशालामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले विभिन्न विषयमा धारणा राखेका थिए। उनले संस्थाहरू भत्किए लोकतन्त्र भत्किने भन्दै हिजोका सहिद र राजनीतिक दलहरूले बलिदान तथा जेलनेल भोगेर लोकतन्त्र बलियो बनाएको बताएका थिए। अहिले लोकतन्त्र कमजोर नभए पनि कुशासन समस्या भएको उनले जिकिर गरे। आफूहरूका क्रियाकलाप र गतिविधिका कारण लोकतन्त्र कमजोर बनाउने काम गर्न नहुनेमा उनले जोड दिएका थिए। प्रस्तुत छ, उनले गरेको भाषणको सम्पादित अंश।
राजनीतिमा प्रतिबद्धता कस्तो हुनुपर्छ भन्ने एउटा प्रसंगबाट सुरू गर्न चाहन्छु।
कुनै समय कार्यकर्ताहरू आफ्नो नेतृत्वलाई भन्थे रे— कमरेड, म भोलि सहिद हुन्छु। मैले सहिद हुन पाउनुपर्छ। पार्टीको नीति र विचारप्रति प्रतिबद्ध भएर म अग्रपंक्तिमा जान्छु। सहिद मैले हुन पाउनुपर्छ।
त्यसका लागि समेत झगडा पर्थ्यो रे।
मैले त्यो नीति, त्यो विचार वा त्यसको समर्थन गर्न खोजेको होइन। त्यो तहको प्रशिक्षण र प्रतिबद्धताको कुरा गर्न खोजेको हुँ।
त्यस्तो प्रशिक्षण जुन मुलुकको हितका लागि होस्, देशको, जनताको, समानताको, लोकतन्त्रको हितका लागि होस्। नागरिकको जनजीवन उकास्नका लागि होस्।
त्योभन्दा ठूलो प्रतिबद्धता के हुन्छ?
म प्रशिक्षणको त्यो तहको कुरा गरिरहेको छु जहाँ मानिसहरू आफ्नो नेतृत्व र आफ्ना नीतिका लागि 'पहिला म' भन्छन्।
हाम्रो मात्र होइन, जुनै पनि राजनीतिक दलमा अलिकति गहिरो ढंगले लागौं, नीति-विचारमा काम गरौं, सिद्धान्तनिष्ठ भएर काम गरौं भन्ने कुराको अभाव सिंगो समाजले महसुस गरेको सत्य हो। हाम्रो नेतृत्व चुनावकेन्द्रित हुँदै गयो। नेता चुनावकेन्द्रित र पदकेन्द्रित हुँदै गए।
त्यसको प्रभाव आज समाजमा परेको छ।
आज हामी समाजमा 'यो भएन, त्यो भएन' भनेर धेरै गुनासो गर्छौं। त्यो पनि प्रतिबद्धताको कमीको प्रभाव हो। हामी प्रतिबद्ध छैनौं।
मैले आफूलाई केन्द्रमा राखेर यो भन्न खोजेको होइन। तर परिस्थिति र जिम्मेवारीले मलाई पार्टीको सभापति बनाइसकेपछि आफ्ना केही अनुभव र अनुभूति बाँड्नुपर्ने हुन्छ।
पार्टीभित्रका साथीहरूको योग्यता, क्षमता, विज्ञता र अनुभवलाई म कहिल्यै चुनौती दिन सक्दिनँ। सभापति बन्दैमा म अरूभन्दा बढी जान्ने भएँ भन्ने पनि होइन। म अरूभन्दा विद्वान भएँ भन्ने होइन। बढी पढेको वा बढी अनुभव गरेको मानिस हुँ भन्ने दाबी पनि मेरो छैन। हाम्रै पार्टीमा कयौं साथी हुनुहुन्छ जसको क्षमता, विज्ञता र योग्यतालाई मैले कुनै हालतमा चुनौती दिन सक्दिनँ।
तर जिम्मेवारीले कहिलेकाहीँ अनुभव साटफेर गर्न प्रेरित गर्दो रहेछ।
एक समय यस्तो पनि आएको थियो, जति बेला म २१ सिटको दलको नेता थिएँ। मलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो। मेरो हस्ताक्षर मात्र बाँकी थियो। 'भइदिऊँ न त' भनेको भए त्यति गाह्रो थिएन।
तर त्यतिखेर मेरो दिमागमा एउटै कुरा आयो— यत्रो आन्दोलन, यत्रो आशा र यत्रो भरोसा कहाँ जान्छ?
म प्रधानमन्त्री भइहालेको भए दुई महिना प्रधानमन्त्री हुन्थेँ होला। चार महिना हुन्थेँ होला। छ महिना हुन्थेँ होला। धेरै भए सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला। तर देशले यत्रो आन्दोलन कुरेर बसेको थियो। देशले यत्रो परिवर्तन कुरेर बसेको थियो। देशले यस्ता होनहार मानिसहरू कुरेर बसेको थियो।
त्यो आन्दोलनलाई आफ्नो पदका लागि प्रयोग गर्ने अधिकार मसँग थिएन। त्यतिखेर साँच्चै मलाई त्यही महसुस भएको हो।
म गर्वका साथ भन्न सक्छु — किस्तीमा आएको प्रधानमन्त्री पदलाई मैले हाँसीहाँसी नमस्कार गरेको हुँ।
मैले यसलाई असाध्यै ठूलो गर्वको विषय बनाएर प्रस्तुत गर्न खोजेको होइन। इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हुँ। किनकि यो आन्दोलनले, यो 'मुभमेन्ट' ले केही ठूलो कुरा कुरिरहेको थियो।
मैले यो कुरा भनेर त्यागीको उपाधि खोजेको पनि होइन। म यति मात्र भन्न चाहन्छु— राजनीतिमा त्यति प्रतिबद्धता चाहिन्छ। आँट चाहिन्छ। साहस चाहिन्छ। हिम्मत चाहिन्छ।
भोलि आउने चुनावमा यही पार्टीका कयौं साथीले कुनै कारणले टिकट पाउनुभएन भने सबभन्दा पहिले मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला। त्यस्तो पनि हुन सक्छ। मलाई चिन्ता लाग्ने कुरा, त्यो कति धेरै हुन्छ भन्ने हो।
जसोतसो राजनीति हाम्रो पोल्टामा आइपुगेको छ। त्यसको अर्थ देशको राजनीतिलाई हाम्रो व्यक्तिगत लाभ र स्वार्थका लागि प्रयोग गर्नु होइन। मेरो चिन्ता यति मात्र हो।
आज हाम्रो पार्टीमा धेरै युवा छन्। युवा केन्द्रीय सदस्य छन्। युवा सांसद छन्। युवा मन्त्री छन्। कुनै पनि देशले यति धेरै युवा केन्द्रीय सदस्य, यति धेरै युवा सांसद र यति धेरै युवा मन्त्री एकै पटक पाएको नहोला।
कसैले यसलाई हल्का रूपमा लिन सक्छ। प्रतिपक्षले 'यत्तिकै आए, हावाहुरी आयो' पनि भन्न सक्छ।
तर एउटा कुरा याद गर्नुपर्छ। आज हामीले बाटो बिरायौं भने संसारभरि एउटा सन्देश जान्छ— युवाको नेतृत्वले काम नगर्ने रहेछ। युवा भनेर मात्र नहुने रहेछ। नेपाललाई हेर्नुस्।
त्यसपछि संसारका अरू देशले पनि त्यही भन्नेछन्। हाम्रो शिर झुक्नेछ। हामीले शिर झुकाउने काम गर्नु हुँदैन।
केही गर्न सकिएन भने पनि गलत नगर्न त सकिन्छ। राम्रो केही गर्न सकिएन भने नराम्रो केही नगर्न त सकिन्छ। कम्तीमा आफूले आफूसँग यति प्रतिबद्धता गर्न सकिन्छ।
हिजो हामीले दोष लगाउने धेरै मानिस थिए। धेरै नेता थिए। उनीहरूलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमाथि उभिएर आफूलाई अग्लो देखाउन पनि सकिन्थ्यो। आज कसलाई दोष देखाउने?
अब हामीले दोष देखाएर मात्र उम्किने ठाउँ छैन। अब हामीले बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन। कचकच गरेर बस्ने ठाउँमा हामी छैनौं। उहाँहरूले सकेको जति गर्नुभयो। धन्यवाद।
हामीले अबको ३५ वर्षको योजना ल्याउनुपर्छ। अबको ३५ वर्ष कस्तो बनाउने, त्यो हाम्रै हातमा छ।
आउने ३५ वर्ष यो देशलाई कहाँ लैजाने, अबको हाम्रो शिक्षा नीति के हो, स्वास्थ्य नीति के हो, आमनागरिकले हाम्रो नेतृत्वमा के पाउँदैछन्, हाम्रो विकास नीति के हो, हाम्रो वैदेशिक नीति के हो, हाम्रा नीतिका कारण देशलाई हामी कहाँ पुर्याउँदैछौं, हाम्रो अर्थतन्त्रले कुन आकार ग्रहण गर्दैछ, हाम्रो सामाजिक लोकतन्त्रको अभ्यासबाट हामी कुन उपलब्धि हासिल गर्न खोज्दैछौं— अब हाम्रो ध्यान र समय अब यसमा जानुपर्छ।
म पार्टीका साथीहरूसँग जहिले पनि मुख्यतः एउटै कुराको अपेक्षा गर्छु— प्रतिबद्धताको।
कहिलेकाहीँ यही कुरा दोहोर्याउँदा म बोरिङ पनि सुनिन सक्छु। तर जिम्मेवारीमा बसेपछि चिन्ता लाग्दो रहेछ। चिन्ता लागेपछि आफ्ना साथीलाई सम्झाउन मन लाग्दो रहेछ। बुझाउन मन लाग्दो रहेछ। कहिलेकाहीँ अलिकति 'ओरिएन्टेसन' दिएजस्तो गर्न मन लाग्दो रहेछ।
मैले एक पटक टेलिभिजनमा पनि एउटा उदाहरण दिएको थिएँ।
एउटा ठूलो घरको चौथो वा पाँचौं तलामा एक जना बूढो मानिस बसेको हुन्छ। राति एउटा रातो बल्ब बलेको हुन्छ। त्यो बूढो मानिस पाँच तला तल ओर्लिन्छ। त्यो सानो बल्ब निभाउँछ। त्यसपछि फेरि माथि गएर सुत्छ।
एउटा बल्बले कति नै पैसा खर्च हुने हो र? पाँच तलाको घर भएको सम्पन्न बूढो मानिसलाई त्यसले कति नै फरक पर्ने हो र?
तर त्यो जिम्मेवारी हो। त्यो अभिभावकत्व हो।
त्यति राति पाँच तला ओर्लिएर एउटा बल्ब भए पनि निभाऊँ, यति भए पनि बिजुली वा पैसा चुहावट नहोस् भन्ने सोच नै जिम्मेवारी हो।
मलाई कताकता त्यही जिम्मेवारी महसुस हुन्छ। त्यसैले कहिलेकाहीँ झर्को लाग्ने गरी पनि भनिरहन्छु।
देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलको सबैभन्दा ठूलो नेता भनेको देशको सबैभन्दा जिम्मेवार मानिस हो। त्यो जिम्मेवारीको महसुस मैले आफूसँग मात्र राखेर हुँदैन। त्यो पार्टीका साथीहरूसँग बाँड्नुपर्छ।
जिम्मेवारीको बाँडफाँट राम्रोसँग गर्न सक्यौं भने हामी बलियो बन्छौं। केही जिम्मेवारी मैले लिने हो। केही अरूले लिने हो। यसरी अघि बढ्यौं भने हामी साँच्चै बलियो पार्टी बन्छौं।
आज सबैले हामीलाई आशंकाको दृष्टिले हेरेका छन्। हामी १८२ जना छौं। म यहाँबाट भन्न सक्छु— मेरा कारणले तपाईंहरूको शिर झुक्दैन।
म ग्यारेन्टीका साथ र प्रतिबद्धताका साथ यो भन्न सक्छु। मेरो कारणले अन्जानमा कुनै गल्ती वा कमजोरी भयो भने म राजनीतिक रूपमा त्यसलाई सच्याउनेछु। क्षमा याचना गर्नुपर्ने भयो भने गर्नेछु। फेरि तपाईंहरूको शिर उठाउने जमर्को गर्नेछु। लडेँ भने फेरि उठेर दौडिने प्रतिबद्धता पनि व्यक्त गर्न सक्छु।
त्यही प्रतिबद्धता पार्टीका प्रत्येक साथीले गर्नुपर्छ। प्रत्येकले भन्न सक्नुपर्छ— सभापतिज्यू, मेरा कारणले पार्टीको शिर झुक्दैन। ढुक्क हुनुहोस्। म ग्यारेन्टी गर्छु।
हामीले विभिन्न क्षेत्रमा काम गर्नुपर्नेछ। मुलुकका लगभग हरेक क्षेत्रका मानिस अहिले राजनीतिमा आएका छन्। त्यसैले नेपालको संसद, सरकार र मन्त्रीहरूमाथि सबैको ध्यान गएको छ। यस्तो लाग्छ, देशमा राजनीतिबाहेक केही पनि चलेको छैन। सायद होला पनि!
मोडल राजनीतिमा छन्। कलाकार राजनीतिमा छन्। वैज्ञानिक छन्। प्राध्यापक छन्। खेलाडी छन्। व्यापार–व्यवसाय क्षेत्रका उद्यमी छन्। पत्रकार छन्। हरेक क्षेत्रका मानिस राजनीतिमा आएपछि स्वाभाविक रूपमा हरेक क्षेत्रको ध्यान राजनीतिमा गएको छ। अन्य गतिविधि कम भएजस्तो समेत लाग्छ।
जब सिंगो देशको ध्यान राजनीतिमा छ र विभिन्न पेसा–व्यवसाय गरेका मानिस 'राजनीति सच्याउँछौं' भनेर आएका छन् भने इतिहासमा योभन्दा बढी जिम्मेवार हुने समय कहिल्यै हुँदैन।
म कसैलाई पढाउन वा सिकाउन खोजिरहेको छुइनँ। म केवल एउटा कुरा माग्न चाहन्छु— इतिहासले हामीलाई दिएको जिम्मेवारीबाट हामी कतै विचलित नहोऔं। जानेर वा नजानेर, झुक्किएर पनि हाम्रा क्रियाकलापका कारण यो देशको लोकतन्त्र कमजोर नहोस्। यो हाम्रो पहिलो जिम्मेवारी हो।
आज विभिन्न संस्थाहरू डराएका छन्। संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ। तर लोकतन्त्र एकै पटक गर्ल्यामगुर्लुम ढल्ने कमजोर घर पनि होइन।
हिजोका सहिदहरूले बलिदान दिएका छन्। हिजोका राजनीतिक दलका मानिसले जेलनेल भोगेका छन्। उनीहरूले लोकतन्त्रलाई बलियो बनाएका छन्। यो कमजोर छैन। कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो। अघिल्लो पुस्ताले यसलाई बलियो बनाएको छ।
भोलि उनीहरूले हामीलाई भन्न सक्छन्— हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौं। सुशासनको कुरामा बाहेक राजनीतिक हिसाबमा हामी बलिया थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर गयौ। जनताले तिमीहरूलाई जिताए। तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो?
त्यो प्रश्न सोधियो भने हामीसँग जबाफ हुने छैन।
हामी त्यो मोडमा जानेवाला छैनौं। हामी आफ्नो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौं। त्यसैले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ।
राजनीति हामीले किन चुन्यौं, सबैका आ–आफ्ना कारण होलान्। एउटाको कारण अर्कोसँग नमिल्न पनि सक्छ। तर हामी आइपुगेको ठाउँ एउटै हो। यो मौकालाई इतिहासले दिएको महत्त्वपूर्ण अवसरका रूपमा लिएर अघि बढ्नुपर्छ।
हाम्रा क्रियाकलाप, गतिविधि र अभिव्यक्तिले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्।
आफ्नै परिवारभित्र पनि कहिलेकाहीँ अनुरोध गर्नुपर्छ। आफ्नै परिवारका मानिसलाई सम्झाउनुपर्छ। बुझाउनुपर्छ। मिलाउनुपर्छ। यसको अर्थ म पार्टीका साथीहरूसँग असन्तुष्ट छु भन्ने होइन।
म त गर्व गर्छु कि म त्यस्तो पार्टीको सभापति हुँ जसमा १०१ होनहार युवा जोडिएका छन्। म जहाँ पनि यो कुरा गर्वका साथ भन्न सक्छु। तर जिम्मेवार भएपछि थोरै चिन्ता लाग्दो रहेछ।
त्यो चिन्ता मैले आफ्नै साथीहरूसँग व्यक्त नगरेर कहाँ गर्ने? यो असन्तुष्टि होइन। यो चिन्ता हो। र, त्यो चिन्ताको निवारण गर्ने जिम्मेवारी पनि हामी सबैको हो।
अब स्थानीय निर्वाचन आउँदैछ। स्थानीय निर्वाचनभन्दा अगाडि 'म त रास्वपाको केन्द्रीय सदस्य हुँ' वा 'म त रास्वपाको सांसद हुँ' भनेर केन्द्रमै अल्मलिएर बस्ने होइन। अन्तर्वार्ता र छलफलमा मात्र अल्मलिएर बस्ने होइन। गाउँ गाउँ जानुपर्छ। दुरदराज पुग्नुपर्छ। टोल टोल र बस्ती बस्ती पुग्नुपर्छ। हामीले के काम गरिरहेका छौं र के गर्दैछौं भन्ने बताउनुपर्छ।
त्यो हाम्रो जिम्मेवारी हो। त्यसरी मात्र पार्टी बलियो हुन्छ।
स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा पछि पर्न सक्छौं।
म फेरि भन्छु— अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झन् बलियो छ। बलियो प्रतिपक्षलाई राजनीतिक ढंगले सामना गर्न सकेनौं भने यसले अर्कै ठाउँमा पुर्याउन सक्छ। यस पटक पनि मुलुकले वर्षौंदेखि देखेको सपना पूरा गर्न सकेन भने मुलुक निराशामा प्रवेश गर्न सक्छ।
तर हामी त्यो चरणमा पुगेका छैनौं। सरकारका कामकारबाही र गतिविधिमा कहिलेकाहीँ कुनै निर्णय विवादित हुन्छन्। कुनै निर्णय आम नागरिकको असाध्यै ठूलो वाहवाही पाउने खालका पनि हुन्छन्। महत्त्वपूर्ण कुरा सरकारको नियत हो। सरकारले लिने नीति हो। त्यसमा केही पनि समस्या छैन।
निर्णयमाथि विवाद भइरहन्छ। तर सुशासनको मुद्दा उठाएको रास्वपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन। यो हाम्रा लागि सबैभन्दा ठूलो कुरा हो।
आज कसैले हामीलाई 'तिमीहरूले भ्रष्टाचार गर्यौ', 'तिमीहरूको यो काण्ड भयो', 'यहाँ अनियमितता गर्यौ' भनेर भन्न सकेका छैनन्। यो हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण कुरा हो।
तर यतिले मात्र पर्याप्त हुँदैन। सबै काम सरकारको पहिलो वर्षमै देखिने पनि होइनन्। यो जग हाल्ने बेला हो। जग हाल्दा माथिको संरचना तुरून्त देखिँदैन।
मैले निरन्तर यही कुरा भनिरहेको छु। सरकारले १०० दिन पूरा गरेपछि पनि हामी निरन्तर छलफलमा छौं। पार्टीले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ। नयाँ साथी पार्टीमा आउने क्रम छ। खाली पदहरूमा पदपूर्ति गर्ने काम भइरहेको छ।
म आफै मधेसतर्फ जाने तयारीमा छु। सम्भवतः चाँडै, हप्ता-दस दिन वा दुई हप्तामा मधेस यात्रामा निस्किनेछु। त्यहाँ अधिवेशनहरू गर्नुपर्नेछ।
अन्य साथीहरू गाउँ गाउँ जानुहुनेछ। केन्द्रीय सदस्य र जिम्मेवार साथीहरूलाई विभिन्न ठाउँको जिम्मेवारी दिएर पठाइनेछ। उहाँहरू त्यहीँ बसेर आम नागरिकसँग कुराकानी गर्नुहुनेछ। उहाँहरूका दुःखसुख सुन्नुहुनेछ। गुनासा सुन्नुहुनेछ। तिनलाई समाधान गर्ने बाटोमा जानुहुनेछ।
हामी देशैभरि जानेछौं। पार्टी पूर्ण रूपमा चलायमान हुनेछ। यसमा कुनै शंका छैन।
त्यसबीच सरकारका कामकारबाहीबारे आम नागरिकले सोधेका हरेक प्रश्नको जबाफ र समाधान हामीसँग हुनुपर्छ। सरकारले गरेका कयौं काम छन्। ती काम छायामा पार्ने कोसिस पनि हुन्छ। किनकि यो राजनीति हो।
राजनीतिमा कहाँ आफ्नो ठाउँ भेटिन्छ भनेर मानवीय संवेदनामा समेत नेपथ्यमा बसेर विभिन्न पार्टीका साथीले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजिरहेका हुन्छन्। त्यो उहाँहरूको तरिका हो। हामीलाई त्यसमा केही भन्नु छैन। हाम्रो काम भनेको आम नागरिकले हामीलाई के भनेर भोट दिएका थिए भन्ने सम्झनु हो। त्यो कुरा पूरा गर्नु हो। त्यसमा खबरदारी गर्नु हो।
हामीले जति कुरा गरे पनि, जति भाषण गरे पनि, जति कार्यशाला चलाए पनि त्यसले परिणाम बदल्न सकेन भने त्यसको अर्थ छैन। त्यसैले परिणाम बदल्नुपर्छ। परिणाम ल्याउन परिणाम नै ल्याउनुपर्छ।
अन्त्यमा म फेरि एउटै कुरा सम्झाउन चाहन्छु। हामी इतिहासको एउटा यस्तो साक्षी हौं, यस्तो पुस्ता हौं, जसको काँधमा यो देशले परिवर्तनको आशा राखेको छ।
हामीले अनेक देशका इतिहास पढेका छौं। एउटा मोडमा कुनै एउटा नेता आयो। त्यो नेताले देशको भाग्य बदल्यो।
अब पढ्ने होइन, अब बदल्ने हो। त्यो नेता पनि हामी हो। त्यो देश पनि यही हो। यही देश नेपाल हो।
भोलि कसैले हामीलाई 'तिमीहरूको भिजन पुगेन, सोच पुगेन, इमानदारिता पुगेन, मेहनत पुगेन' भन्यो भने त्योभन्दा ठूलो दुर्भाग्य अर्को हुनेछैन। तर हामी प्रतिबद्धताका साथ आएका छौं भने इतिहासमा हामीले पढेजस्तै एउटा अवसर नेपालले पनि पाउन सक्छ। विश्व रंगमञ्चमा त्यो कथा नेपालको हुन सक्छ। त्यस्तो नेता हामीमध्ये कोही एक हुन सक्छ।
आज पार्टीसँग जोडिएका सबै साथीबाट पार्टीले ठूलो अपेक्षा गरेको छ। पार्टीको माध्यमबाट सिंगो देशले परिवर्तनको ठूलो आशा राखेको छ। यो आशाको बल्दै गरेको दियो निभ्न दिनु हुँदैन। घन्टीको आवाज मधुरो हुन दिनु हुँदैन। यसलाई गुञ्जायमान बनाउनुपर्छ। यो मुलुकको समृद्धिको खाका कोर्ने जिम्मेवारी हामीले लिएका छौं।
आम नागरिकले हामीमाथि अगाध विश्वास गरेका छन्। जनताको विश्वास मर्न दिनु हुँदैन। आफ्नो पुस्ताको, आफ्ना छोराछोरीको विश्वास मर्न दिनु हुँदैन।
अब बितेको ३५ वर्षको हिसाब गरेर मात्र बस्ने होइन। अब हामीले ३५ वर्षको योजना ल्याउने हो। अब देश बदल्ने जिम्मेवारी हाम्रो हो।