हामी नेपालीहरूको खानपान संस्कृति र उपभोग शैलीमा पछिल्लो एक दशकयता अभूतपूर्व परिवर्तन आएको छ। परम्परागत पारिवारिक भान्साको परिधिबाट बाहिर निस्किएर चमेना (स्न्याक्स) अहिले सहरी तथा ग्रामीण दुवै अर्थतन्त्रको बलियो स्तम्भ बनेको छ।
बिहानको मकै, भटमास र कटुसदेखि बेलुकाको मःम, पास्ता, बेकरी, फ्रोजन स्न्याक्स र मल्टिप्लेक्सको पपकर्न–नाचोजसम्म आइपुग्दा नेपालमा खाजा भोक मेटाउने साधन मात्र रहेन, यो जीवनशैली, मनोरञ्जन, गिग इकोनोमी र औद्योगिक उत्पादनको मुख्य अंग बनेको छ।
यद्यपि, वार्षिक १.५ खर्ब रूपैयाँभन्दा बढीको यो विशाल अर्थतन्त्रलाई राज्य र नोकरशाहीले अझै पनि 'छुटपुट खाजा–नास्ता' का रूपमा मात्र हेर्ने संकुचित दृष्टिकोण राखेको छ।
एकातिर बहुराष्ट्रिय फुड चेनहरूको तीव्र प्रवेश र आधुनिक स्न्याक्सको दबदबाले हाम्रा रैथाने परिकारहरू लोपोन्मुख हुने जोखिममा छन् भने, अर्कातिर झन्झटिलो आयात नीति, सरकारी निकायहरूको त्रास र खाद्य उद्योगीमाथि लगाइने फौजदारी अभियोजनले स्वदेशी लगानी नै सखाप हुने अवस्था सिर्जना भएको छ।
चमेना उद्योगको वर्तमान परिदृश्य र बजारको आकार
नेपाली खाजा स्न्याक्स बजारमा असंगठित क्षेत्रको ठूलो उपस्थिति रहेकाले यसको शतप्रतिशत आधिकारिक तथ्यांक पाउन कठिन छ। तर औद्योगिक अध्ययन, भन्सार तथ्यांक र खपतको आधारमा नेपाली चमेना बजारलाई मुख्य चार भागमा विभाजन गरेर हेर्न सकिन्छ।
क) प्याकेज्ड स्न्याक्स र चाउचाउ (वार्षिक ४० अर्बदेखि ५० अर्ब रूपैयाँभन्दा बढी)
नेपालको फास्ट मुभिङ कन्ज्युमर गुड्स (FMCG) क्षेत्रमा चाउचाउ, भुजिया, दालमोठ, आलु चिप्स, कुर्कुरे र प्याकेज्ड स्न्याक्सको बजार सबैभन्दा तीव्र गतिमा बढेको छ। स्वदेशी चाउचाउ उद्योगले नेपाललाई आत्मनिर्भर बनाउनुका साथै वैदेशिक रोजगारीमा गएका नेपाली र दक्षिण एसियाली बजारमा निर्यातको ढोका समेत खोलेको छ।
ख) रेस्टुरेन्ट, फास्टफुड, बेकरी र फ्रोजन स्न्याक्स (वार्षिक ६० अर्बदेखि ७० अर्ब रूपैयाँभन्दा बढी )
मःम, पास्ता, बर्गर, पिज्जाका साथै आधुनिक क्याफे र बेकरी संस्कृतिले सहरी बजार कब्जा गरेको छ। यसमा पछिल्लो समय फ्रोजन स्न्याक्सको बजार ह्वात्तै बढेको छ। फ्रोजन मःम, किमा, फ्रेन्च फ्राइज, ससेज, नगेट्स, फ्रोजन पराठाहरूले रेस्टुरेन्टको सञ्चालन लागत घटाएका छन। व्यस्त सहरिया घरपरिवारका लागि खाना पकाउने समय बचत गरिदिएका छन्।
त्यसैगरी, पाउरोटी, केक, पेस्ट्री, बिस्कुट जस्ता बेकरी उद्योगले नेपालभर दैनिक लाखौं उपभोक्तालाई ताजा खाजा पुर्याउँदै ठूलो परिमाणमा मैदा, चिनी, मखन र जनशक्ति खपत गरिरहेको छ।
ग) मनोरञ्जन र यात्रा स्न्याक्स
सडक सञ्जालको विस्तारसँगै नेपालीहरूमा यात्रा गर्ने र सप्ताहान्त मनाउने संस्कृति बढेको छ। सडक किनारका साना खाजाघरदेखि मल्टिप्लेक्स सिनेमा हल, सांगीतिक कन्सर्ट र स्पोर्ट्स स्टेडियमसम्म पपकर्न, नाचोज र सफ्ट ड्रिंक्सको खपत बहुगुणित भएको छ।
मल्टिप्लेक्स सिनेमा हलहरूको कुल आम्दानीको उल्लेख्य हिस्सा फिल्मको टिकटबाट भन्दा 'फुड एन्ड बेभरेज' बिक्रीबाट हुन थालेको छ।
घ) स्ट्रिट फुड र असंगठित बजार (वार्षिक २५ अर्बदेखि ३५ अर्ब रूपैयाँभन्दा बढी)
चटपटे, पानीपुरी, सेकुवा, चिया–समोसा र सडक किनाराका खाजा पसलहरू पूर्ण रूपमा असंगठित र नगदमा आधारित भए पनि यसले दैनिक लाखौं न्यून आय भएका नागरिक र विद्यार्थीलाई सस्तो खाजा उपलब्ध गराएको छ।
अनि हजारौंलाई तत्काल रोजगारी दिएको छ।
आधुनिक जीवनशैली, गिग इकोनोमी र बजार विस्तारका कारकहरू
नेपालमा चमेना उद्योग यसरी विशाल हुनुमा केवल जनसंख्या कारण छैन, यसका पछाडि गम्भीर सामाजिक–आर्थिक परिवर्तनहरू जिम्मेवार छन्।
सहरीकरण र डेमोग्राफिक परिवर्तन्— कामकाजी महिलाहरूको संख्यामा वृद्धि, एकल परिवार र व्यस्त सहरी जीवनशैलीका कारण घरमा परम्परागत शैलीमा घण्टौं लगाएर खाजा पकाउने समय घट्दै गएको छ। यसले 'रेडी–टु–इट' र 'रेडी–टु–कुक' खाजाको माग बढाएको छ।
गिग इकोनोमी र डिजिटल प्लेटफर्म— पठाओ, फुडमान्डु, इनड्राइभ र फुडगन्ज जस्ता फुड डेलिभरी र राइड–सेयरिङ एपहरूको आगमनले सहरी अर्थतन्त्रमा क्रान्ति ल्याएको छ।
यसले ठूलो पूर्वाधार र आधुनिक किचन सेटप नभएका साना 'क्लाउड किचन' हरूलाई पनि बजारमा टिकाइराखेको छ। हजारौं युवाले राइडर र डेलिभरी एजेन्टका रूपमा लचिलो कार्यसमयमा स्वरोजगारी पाएका छन्।
डिजिटल भुक्तानी — क्युआर कोड, फोनपे र डिजिटल वालेटको सर्वव्यापी पहुँचले सानाभन्दा साना स्ट्रिट फुड पसलदेखि ठूला मल्टिप्लेक्ससम्म पारदर्शी र सहज कारोबार सम्भव बनाएको छ।
चुनौतीहरू
रैथाने खाजाको संकट र बहुराष्ट्रिय ब्रान्डको प्रभाव
नेपाली उपभोक्ताको खर्च गर्ने क्षमता र खानपानको रूचि बढेसँगै बहुराष्ट्रिय ब्रान्ड र भारतका स्थापित ब्रान्डहरूले नेपालमा प्रभाव जमाएका छन्।
यसको अर्को पाटो दर्दनाक छ। हाम्रा मौलिक र पौष्टिक रैथाने खाजाहरू— सेलरोटी, अनर्सा, लाखामरी, यःमरि, पुष्टकारी, गुँदपाक, कटुस, र गुन्द्रुक–भटमास लोपोन्मुख हुने अवस्थामा पुगेका छन्।
रैथाने परिकार पछाडि पर्नुका विविध कारण छन्। यसमध्ये केही प्रमुख छन्।
मानकीकरणको अभाव — विदेशी वा व्यावसायिक ब्रान्डका उत्पादनहरूको स्वाद, आकार र गुणस्तर सधैं उस्तै हुन्छ, तर हाम्रा रैथाने खाजाहरू अझै घरेलु र असंगठित उत्पादनमा मात्र सीमित छन्।
शेल्फ लाइफ र प्याकेजिङ — आधुनिक स्न्याक्सलाई महिनौंसम्म बिग्रिन नदिने प्रविधि र आकर्षक प्याकेजिङ छ तर हाम्रा सेलरोटी वा अनर्सालाई २–३ दिनभन्दा बढी ताजा राख्न पर्याप्त रिसर्च एण्ड डेभलपमेन्ट र प्रविधिको विकास र बजारीकरण हुन सकेको छैन।
सांस्कृतिक परिचयको संकुचन — रैथाने खाजालाई चाडपर्व वा पूजाआजामा मात्र सीमित गरियो, जसले गर्दा नयाँ पुस्ताको दैनिक जीवनशैलीसँग यी परिकारहरू जोडिन सकेनन्।
नीतिगत चुनौती
प्रशासनिक चक्रव्यूह, क्वारेन्टाइन र नीतिगत तगारो
डेढ खर्ब रूपैयाँभन्दा बढीको बजार ओगटेको यो उद्योगलाई राज्यको तर्फबाट प्रोत्साहन हुनुको साटो पाइलैपिच्छे नियन्त्रण र सास्ती दिने काम भइरहेको छ।
कच्चा पदार्थमा परनिर्भरता र आयातमा बन्देज— नेपाली दालमोठ, भुजिया, चाउचाउ र बेकरी उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थहरू — बदाम, मकै, गहुँ, भटमास, मैदा, मुंग, चना र केराउ आदिको स्वदेशी उत्पादन नगण्य छ। तर वाणिज्य विभागले केराउ आयातमा एक्कासि लगाउने अस्वाभाविक बन्देज वा कोटा प्रणालीले स्वदेशी उद्योगहरू कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुग्छन्।
क्वारेन्टाइन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अकस्मात परिवर्तन हुने जाँच परीक्षण मापदण्ड र प्रावधानहरू— भन्सार नाकामा विषादी, भाइरस परीक्षण नियन्त्रणका नाममा आयात अनुमति मा आकस्मिक कडाइ एवं क्वारेन्टाइन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पर्याप्त जनशक्ति, उच्च प्रविधि अभावका कारण औद्योगिक कच्चा पदार्थ बोकेका गाडीहरू हप्तौंसम्म नाकामै रोकिन्छन्।
परीक्षणका नाममा हुने ढिलाइले डेमरेज र डिटेन्सन शुल्क बढाउँछ। अन्ततः उत्पादन लागत बढाएर स्वदेशी उद्योगलाई विदेशी उत्पादनको तुलनामा निरिह प्रतिस्पर्धी बन्न बाध्य बनाउँछ।
किसान र उद्योगबीचको कडी टुट्नु—कृषि मन्त्रालयले स्वदेशी कृषकलाई मकै, भटमास वा चना, केराउ,बदाम उत्पादनमा न त सहुलियत दिन सकेको छ न कुनै उत्प्रेरणा का कार्यक्रम दिन सकेको छै। उद्योगका लागि आवश्यक कच्चा पदार्थ तर जसको स्वदेशमा उत्पादन नै छैन, भए पनि २ महिनाको माग समेत धान्न सक्दैन भन्ने थाहा भए उद्योग मन्त्रालयले ती वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्न सकेको छैन।
खाद्य उद्योगीमाथि फौजदारी अभियोजन, मिडिया आतंक र सामाजिक दृष्टिकोण— नेपाली उद्यमशीलताको सबैभन्दा ठूलो अभिशाप भनेको लगानीकर्तालाई हेर्ने नकारात्मक सामाजिक र कानुनी दृष्टिकोण हो।
सामान्य व्यावसायिक त्रुटिमा फौजदारी अभियोजन— खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ जसमा समयसापेक्ष व्यावहारिक संशोधन अभाव छ जसले प्राविधिक त्रुटि, लेबल सम्बन्धी सानो भूल वा भण्डारणको कमजोरीलाई पनि ज्यान मारे सरहको आपराधिक कसुर मानेर उद्योगीलाई सिधै थुन्ने र फौजदारी मुद्दा चलाउने प्रावधान राखेको छ।
नियतवश विषादी मिसाउने अपराधी र अञ्जानमा प्राविधिक गल्ती हुन पुगेका उद्योगीबीच कानुनी भिन्नता र सो सम्बन्धी स्पष्टता छुट्ट्याइएको छैन।
मिडिया आतंक — प्रयोगशालाको अन्तिम र आधिकारिक रिपोर्ट नआउँदै, अनुगमन टोलीले सस्तो लोकप्रियताका लागि युट्युब र पत्रकार लिएर उद्योगमा अनुगमनको आतंक खडा गर्ने, मिडिया र सामाजिक सञ्जालमा उद्योगको नाम सार्वजनिक गरिदिने परिपाटी बसेको छ। यसले गर्दा वर्षौंको मेहनत र अर्बौंको लगानीमा बनेको ब्रान्ड इमेज एकै दिनमा ध्वस्त हुन्छ।
उद्यमीलाई 'माफिया' ठान्ने मानसिकता— स्वदेशमै लगानी गरेर हजारौंलाई रोजगारी दिने र राज्यलाई कर तिर्ने उद्यमीलाई समाज र प्रशासनले 'शोषक' वा 'माफिया' को रूपमा चित्रण गर्छ। यसै नीतिका कारण नयाँ पुस्ताका उद्यमीहरू स्वदेशमा उत्पादनमूलक उद्योग खोल्न छाडेर व्यापार वा विदेश पलायनतर्फ आकर्षित भइरहेका छन्।
रूपान्तरणका लागि स्पष्ट खाका र समाधानका उपायहरू
नेपालको चमेना उद्योगलाई थप उचाइमा पुर्याउन, स्वदेशी लगानी जोगाउन र रैथाने खाजालाई विश्वव्यापी बनाउन तत्काल निम्न कदमहरू चाल्नु अनिवार्य छ।
कानुनी र नीतिगत सुधार
खाद्य ऐन २०८१ का अव्यावहारिक दण्ड प्रावधान तत्काल संशोधन गरी प्राविधिक त्रुटि र आपराधिक नियतबीच स्पष्ट विभाजन गरिनुपर्छ। लेबल नमिलेको वा भण्डारणमा समस्या देखिएको खण्डमा आर्थिक जरिवाना, उत्पादन रोक्का वा सुधार्ने मौका दिने व्यवस्था हुनुपर्छ। उद्योगीलाई थुन्ने फौजदारी अभियोजन हटाइनुपर्छ।
भन्सार नाकाहरूमा आधुनिक र द्रुत गतिको परीक्षण प्रयोगशाला स्थापना गरी २४ घण्टाभित्र क्वारेन्टाइन र खाद्य परीक्षणको रिपोर्ट आउने व्यवस्था गरिनुपर्छ।
रैथाने खाजाको आधुनिकीकरण र ब्रान्डिङ
प्रविधि र सेल्फ लाइफ— नेपालका कृषि तथा खाद्य अनुसन्धान परिषद र विश्वविद्यालयहरूले रैथाने खाजा (सेलरोटी, अनर्सा, लाखामरी, गुँदपाकको सेल्फ लाइफ बढाउने, भ्याकुम प्याकेजिङ गर्ने र गुणस्तर मानकीकरण गर्ने प्रविधि विकास गर्नुपर्छ।
क्याफे कल्चर र रैथाने परिकार को फ्युजन— रैथाने खाजालाई आधुनिक क्याफे र मल्टिप्लेक्सहरूमा पपकर्न र नाचोज जस्तै आकर्षक प्याक र स्वादमा बिक्री गर्ने नीति ल्याइनुपर्छ।
बेकरी र फ्रोजन स्न्याक्स उद्योगको प्रवर्द्धन
फ्रोजन स्न्याक्स र बेकरी उद्योगका लागि आवश्यक पर्ने चिसो भण्डारण र ढुवानी शृंखला र भण्डारण पूर्वाधार र उपकरणमा सरकारले कर छुट र विद्युत महसुलमा सहुलियत दिनुपर्छ।
बेकरीका लागि आवश्यक कच्चा पदार्थ (मैदा, बटर, इस्ट) को गुणस्तर नियन्त्रण र आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ।
ठेक्का खेती र कच्चा पदार्थमा आत्मनिर्भरता
दालमोठ, भुजिया र चिप्स उद्योगलाई चाहिने परिष्कृत जातका आलु, मकै, भटमास, बदाम, चना, मुंग र केराउको उत्पादनका लागि किसान र उद्योगीबीच सिधा 'कन्ट्र्याक्ट फार्मिङ' गराउने कानुनी ढाँचा तयार गरिनुपर्छ।
यसले किसानलाई निश्चित बजार र मूल्यको ग्यारेन्टी दिन्छ भने उद्योगलाई कच्चा पदार्थको आयातमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गराउँछ।
मर्यादित उद्यमी
राज्यलाई मात्र दोष नदिई खाद्य तथा चमेना उद्योगीहरूले आफ्नो व्यवसाय मर्यादित बनाउन र आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डमा खरो उतार्न निम्न कदमहरू चाल्नुपर्छ।
गुणस्तर र प्रमाणीकरण— उद्योगमा HACCP, GMP र ISO 22000 जस्ता अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड लागू गरी आफ्नै ल्याबमार्फत नियमित परीक्षण गर्ने।
प्रविधि र सरसफाइ— उत्पादनमा मानिसको प्रत्यक्ष स्पर्श घटाउन स्वचालित मेसिन, भ्याकुम/नाइट्रोजन प्याकेजिङ र कडा पेस्ट–कन्ट्रोल कायम गर्ने।
पारदर्शिता र नैतिकता — पोषणतत्व, ऊपभोग्य म्याद र एलर्जी गराउने तत्वको सत्य लेबलिङ गर्ने; अखाद्य रङ वा गुणस्तरहीन तेलको प्रयोग र अस्वस्थ प्रतिस्पर्धा पूर्ण रूपमा रोक्ने।
जनशक्ति तालिम — कामदारहरूलाई व्यक्तिगत सरसफाइ र खाद्य सुरक्षाको नियमित तालिम दिने।
उत्तरदायी मिडिया
अनुगमनका क्रममा अन्तिम कानुनी पुष्टि नभएसम्म ब्रान्डको नाम सार्वजनिक गरेर 'ट्रायल बाई मिडिया' गर्दा जनमानसमा पर्न सक्ने भ्रम र उद्यमशिलतामा कस्तो नकारात्मक असर पुग्न जान्छ भन्ने कुरा गम्भीरतापूर्वक र विवेकशील ढंगले सोच्नु जरूरी हुन्छ।
निष्कर्ष
नेपालको चमेना उद्योग केवल खाजा–नास्ताको व्यापार होइन, यो कृषि, उद्योग, सेवा क्षेत्र, प्रविधि र रोजगारीलाई एकै ठाउँमा जोड्ने अर्थतन्त्रको बलियो संवाहक हो। बढ्दो सहरीकरण, सुगम यातायात, मल्टिप्लेक्स, कन्सर्ट र गिग इकोनोमीको विकासले यस बजारलाई झन् ठूलो र गतिशील बनाउँदै लगेको छ।
राज्यले उद्यमीलाई 'सम्पत्ति सिर्जनाकर्ता' को रूपमा सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ।
यदि राज्यले यस उद्योगलाई शंकाको दृष्टिले हेर्ने पुराना कानुन र नोकरशाही तगारोहरू हटाएर उत्पादनमैत्री र उद्योगीमैत्री वातावरण सिर्जना गर्छ भने, यसले आयात प्रतिस्थापन मात्र गर्दैन, नेपाली रैथाने स्वादलाई विश्व बजारमा पुर्याएर विदेशी मुद्रा आर्जनको नयाँ ढोका समेत खोल्नेछ।
समयमै नीतिगत चेत खुलोस्, उद्यमी जोगाउनु नै अर्थतन्त्र जोगाउनु हो।
(लेखक पुरूषोत्तम रिजाल 'रिजाल फुड एन्ड वेभरेजेज प्रालि' का प्रबन्ध निर्देशक हुन्।)