भदौ १० गतेको विनाशकारी बाढीको सबैभन्दा त्रासद भिडिओ सम्भवतः त्यो सिसिटीभी फुटेज हो जसले नेपाल–चीन सिमानाको तिब्बततर्फको भन्सारमा विनाशअघिका अन्तिम क्षणहरू देखाउँछ।
त्यो हेर्दै गर्दा तत्काल ममा स्वभावतः त्रास र बेचैनीको भाव आयो।
तर सँगै यो पनि लाग्यो— हामी बाँचिरहेको समयको शक्तिशाली विम्ब त्यो दृश्य हो।
त्यहाँ मानिसले बिताएका अन्तिम २० सेकेन्ड बीस वर्ष बनाइदिनुस्। बाढीमा बगेर पुरिनुअघि आतंकित भएर कुदिरहेका केही दर्जन मानिसलाई आठ अर्ब मानिस बनाइदिनुस्।
सिंगो मानव सभ्यताको कथा त्यही बीस सेकेन्ड अर्थात् आउँदो बीस वर्षमा समेटिन्छ।
aतात्दो होइन, उम्लिँदो पृथ्वी
सन् १९०० र सन् २००० बीचका सय वर्षमा पृथ्वीको औसत तापक्रम जम्मा ०.२ डिग्री सेल्सियसले बढेको थियो। अर्थात् ०.२ डिग्री प्रति शताब्दी। पछिल्ला दशकहरूमा पृथ्वी तात्ने दर ०.३५ डिग्री प्रति दशक अर्थात् २८ वर्षमा १ डिग्री पुगेको छ।
त्यस हिसाबले पृथ्वीको तापक्रम सन् २०४० अघि नै औद्योगिक युगपूर्वको भन्दा २ डिग्रीले बढिसकेको हुनेछ।
जलवायु संकटबारे अध्ययन गरेर कम्तीमा पाँच दशक बिताएका बेलायती वैज्ञानिक बिल म्याकगायरका अनुसार स्याटलाइटहरूको मापन अनुसार पृथ्वी तात्ने दर त्योभन्दा पनि बढी अर्थात् ०.५ डिग्री प्रति दशक छ।
त्यो भनेको शताब्दीमा ५ डिग्री सेल्सियस अर्थात् अघिल्लो शताब्दीभन्दा २५ गुणा बढी हो।
अघिल्लो वर्ष जर्मन फिजिकल एन्ड मिटिरियोलोजिकल सोसाइटीले प्रकाशित गरेको रिपोर्ट अनुसार सन् २०५० सम्म ३ डिग्रीको तापक्रम बढोत्तरी एकदमै सम्भव छ।
त्यो हुनु भनेको सन् २१०० सम्म पृथ्वीको औसत तापक्रम ५ देखि ६ डिग्री सेल्सियससम्मले बढ्नु हो।
पृथ्वी यति तीव्र रूपमा तात्दा के हुन्छ त? यसको आंशिक जबाफ पृथ्वीको भौगर्भिक इतिहासमा पाउन सकिन्छ।
आजभन्दा ५ करोड ६० लाख वर्ष अगाडि अचानक पृथ्वीको वायुमण्डलमा भारी मात्रामा कार्बन थपियो।
परिणाम — केही हजार वर्षको अवधिमा पृथ्वीको तापक्रम ५–८ डिग्री सेल्सियसले बढ्यो। समुद्रको सतह बीसौं मिटर बढ्यो। कति समुद्रमा त ५० मिटरसम्मले सतह माथि आयो। साविकका धेरै प्रजातिहरू लोप भएर गए भने अरू धेरै विकास भए।
अहिलेको मानवसिर्जित वैश्विक तताइको सबैभन्दा राम्रो तुलना हुने भनेर पिइटीएम (पेलियोसिन–इयोसिन थर्मल म्याक्सिमम) भनिने त्यो अवधिलाई लिइन्छ। तर पृथ्वीको अहिलेको तताइ त्यो बेलाभन्दा पनि भीषण छ।
बिल म्याकगायरका अनुसार पृथ्वीको तात्ने रफ्तार अहिले पिइटीएमभन्दा १० गुणाले बढी छ।
पृथ्वीमा अहिले चलिरहेको कार्बन उत्सर्जन कति अभूतपूर्व हो भन्ने बुझ्न या गत ८ लाख वर्षको आँकडासहितको यो ग्राफ हेरौंः

यो ग्राफको सबभन्दा चिन्ताजनक कुरा वायुमण्डलमा कार्बन डाइअक्साइड कति पुग्यो भन्दा पनि त्यसको बढ्ने दर (ग्राफको स्लोप) कति तीव्र छ भन्ने हो।
पृथ्वीको वायुमण्डलमा यो तहको कार्बन डाइअक्साइड पछिल्लो पटक कहिले थियो भनेर खोज्ने हो भने झन्डै डेढ करोड वर्ष अगाडि पुगिन्छ।
अथवा मानिसले पृथ्वीलाई यस्तो जलवायुमा पुर्याएको छ जुन डेढ करोड वर्षयता विकसित भएका कुनै पनि प्रजातिले भोगेका छैनन्।
रसुवा बाढीको जलवायु 'कनेक्सन'
यो वितण्डा सुरू भएलगत्तै भूकम्पका कारण हिमताल विस्फोट भएको हुन सक्ने भन्ने समाचारहरू आएका थिए। तर मैले यो लेख लेख्दै गर्दाको पछिल्लो जानकारी अनुसार अमेरिकी भौगर्भिक अध्ययन संस्था युएसजिएसका अनुसार यसको कारण 'ग्लेसियल कोल्याप्स' थियो। अर्थात् हिमनदीको एउटा ठूलो हिस्सा भास्सिएर तल बजारिँदा त्यसले ४.४ रेक्टर स्केलको कम्पन सिर्जना गरेको थियो।
मिहिन व्याख्या जे भए पनि यसको प्रत्यक्ष सम्बन्ध हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण आइरहेको बदलावसित छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले तयार पारेको 'क्लाइमेट टाइम मेसिन' को यो चित्र एकपल्ट हेरौं—

सन् १८८४ देखि २०२२ सम्मको विश्वभरको तापक्रमको डाटाबाट तयार पारिएको यो छोटो भिडिओको अन्तिम अर्थात् २०२२ मा पृथ्वीका विभिन्न भूभागहरूको तापक्रमको वितरण यो तस्वीरले देखाउँछ।
चित्रको तल दिइएको कलर कोड अनुसार पृथ्वीमा केही समुद्री क्षेत्रहरू अहिले पूर्वऔद्योगिक तहकै तापक्रममा वा त्यसभन्दा चिसो भएका पनि छन् तर जमिन रहेका सबै हिस्साको तापक्रम बढेको छ। तिनमध्ये पनि पृथ्वीका सर्वाधिक ठूला हिमभण्डारहरूमध्ये एक उत्तरी ध्रुवको आर्कटिकमा तापक्रम सबैभन्दा तीव्र रफ्तारमा बढेको छ र चार डिग्री सेल्सियस काटिसकेको छ।
त्यहाँबाट दक्षिणतिर आउँदै गर्दा एसियाको ठूलो उत्तरी भूभाग पनि ३ देखि ४ डिग्रीसम्मले तातिसकेको छ। कुनै बेला वर्षभरि हिउँले ढाकिने रूसको साइबेरियामा यसै डढेलो लाग्न थालेको छैन।
जब नेपालको हिमालय र तिब्बत क्षेत्रको कुरा आउँछ, यहाँको तापक्रम वृद्धि पनि २.५ र ३ डिग्रीको हाराहारी अर्थात् विश्वव्यापी औसतभन्दा दोब्बर जति छ। यसमा पनि फेरि बिल म्याकगायरले भनेझैं स्याटेलाइटको डाटामा जाने हो भने त्यो तताइ झन् बढी छ।
परिणाम के भने, एकतिर हिमनदी पग्लिने, छोटिने र हराउने क्रम तीव्र छ। त्यसका कारण आगामी दशकहरूमा हिमालय उत्तरका डेढ अर्ब र दक्षिणका दुई अर्ब (भारत, नेपाल, पाकिस्तान र बंगलादेश समेत) मानिसहरूको ताजा पानीमाथिको पहुँच संकटमा छ।
पानीको अभावको तत्कालीन कारण भूमिगत जलाधार रित्तिँदै जानु हो। जलाधार रित्तिनुको कारण भने हिमनदी सुक्नु मात्र नभई तात्दै गएका हिमालहरूका कारण बदलिँदो मौसम र प्रभावित हुँदै गरेको वर्षा पनि हो।
बिल म्याकगायर भन्छन्— यसअघि जतिखेर पृथ्वी यति तातेको थियो, त्यो बेला वायुमण्डलमा बादल बन्ने प्रक्रिया नै अवरूद्ध भएको थियो। पछिल्ला दशकहरूमा भारत लगायतका उष्ण क्षेत्रहरूमा त्यो प्रक्रिया देखिन थालिसकेको छ।
अर्कोतिर, रसुवामा हामीले अहिले देखेजस्ता विपत्तिहरूको सम्भावना अहिले आकाशिएर गएको छ।
कारण— हिमरेखा माथि सर्दै गएसँगै पहिले हिउँ पर्ने ठाउँहरूमा अब बर्सेनि पानी पर्न थालेको छ। लाखौं वर्षदेखि हिउँले ढाकिएर बसेका नाजुक हिमाली भूभागमा अचानक भीषण वर्षा हुन र तिनको संरचना खल्बलाउन थालेको छ।
परिणाम— अहिलेको जस्तो 'ग्लेसियल कोल्याप्स' देखि सिंगो पहाड पल्टेर आउने प्रलयकारी पहिरोहरूको जोखिम बढेर गएको छ।
अब के गर्ने?
अहिले तत्कालका लागि सबैभन्दा आवश्यक कुरा हो आसन्न संकटको आकारको बोध।
अहिलेसम्म नेपाल मात्र नभई सिंगो हिमालय र महाभारत क्षेत्रका देशहरू पाकिस्तान, भारत र चीनले पहाडहरूलाई दोहनका विषय मात्रै बनाएका छन्। यस्तो विनाश नेपालमा भन्दा पनि अझ बढी भारत र चीनमा छ। दुवै देश हिमाली क्षेत्रमा भीमकाय बाँध हालेर जलविद्युत निकाल्नेदेखि चार लेनका राजमार्गहरू बनाउने होडमा छन्।
नेपालमा पहाड हुँदै हिमाल उक्लिसकेको डोजरे विकासको त कुरै छाडौं।
त्यसैले हिमालयको ओल्लो छेउदेखि पल्लो छेउसम्म मानिस जातिले आफ्नो खुट्टामा आफै बञ्चरो हानेजस्तो देखिएको छ। हिमालको भूगर्भविज्ञानदेखि जलवायु विज्ञानसम्म विज्ञता हुनेहरूको कुनै पनि देशको नीति निर्माण तहमा पहुँच र प्रभाव रहेको देखिँदैन।
त्यसैले नेपालले तत्काल गर्नुपर्ने भनेको बदलिँदो जलवायुबीच सिंगो हिमाली र पहाडी क्षेत्रको जोखिमको नक्सांकन (रिस्क म्यापिङ) हो। त्यसो नहुँदा हाम्रो देश हरेकपल्ट यस्तै महाविनाश पर्खेर बस्ने अनि धनजनको क्षतिपछि रोइकराइ मात्रै गर्ने अवस्थामा छ।
क्षति रोक्न विपत्ति सूचना प्रणाली कसरी विकास गर्ने? चीनसितको समन्वय कसरी बढाउने? हाम्रो राजमार्गहरूलाई कसरी डिजाइन गर्ने? कतै तिनको विकल्प नै खोज्नुपर्ने पो हो कि? नयाँ बस्ती कहाँ विकास गर्ने? जोखिममा रहेका कुन बस्तीलाई कसरी व्यवस्थित रूपमा सार्ने?
जलविद्युत आयोजना बनाउँदा तिनमाथि विपत्तिको जोखिम कसरी मूल्यांकन गर्ने? अब कहाँ र कस्ता आयोजना बनाउने?
यदि एकै सिजनमा एउटा जलाशय भर्ने गरी पहाड बगाएर ल्याउने पहिरोहरूको जोखिम छ भने अब जलाशययुक्त जलविद्युत नै कहाँ र किन बनाउने? अर्ध–जलाशययुक्त वा जलाशयरहित आयोजनाहरू बनाउँदा पनि जोखिम कसरी न्यूनीकरण गर्ने?
यी कठिन तर अब लगत्तै जबाफ नखोजी नहुने प्रश्नहरू हुन्।
दीर्घकालमा के गर्ने भन्ने प्रश्न त अहिले झनै पेचिलो छ।
सन् २०२० मा प्रकाशित एउटा जलवायु मोडलका अनुसार यही रफ्तारमा पृथ्वी तात्ने हो भने सन् २०७० सम्म पृथ्वीमा साढे तीन अर्ब मानिस बस्ने भूभाग अहिलेको सहारा मरूभूमिको मध्यभाग जत्तिकै तातो हुनेछ।

तीमध्ये चानचुन १ अर्ब मानिस हाम्रा छिमेकी देशहरू भारत, पाकिस्तान र बंगलादेशबाट विस्थापित हुनेछन्। उनीहरूसित ज्यान बचाउन उत्तर हानिनेबाहेक अर्को विकल्प रहने छैन। तीमध्ये १५ देखि २० करोड मानिसहरू नेपालको भागमा पर्न सक्नेछन्।
अहिलेकै अन्धाधुन्ध विकास र कृषि कायम रहने हो भने तबसम्म नेपालकै तराई–मधेसको उल्लेख्य हिस्सा मरूभूमीकरण भइसकेको हुन सक्नेछ। हिमालभरिका हिमनदीहरू लुप्तप्रायः भएका हुनेछन्। धेरै हिमाल समेत वर्षभर कालो पहरा बनिसकेका हुनेछन्।
हिउँ र पानीमा आधारित नेपालको पर्यटन, कृषि र जलविद्युत तीनै क्षेत्र थला परेसँगै हाम्रो अर्थतन्त्र तहसनहस भइसकेको हुनेछ।
बिल म्याकगायरले भनेझैं बादल बन्ने प्रक्रिया नै अवरूद्ध हुने हो भने कुनै कुनै वर्ष सिंगो मनसुन नै गायब हुन सक्नेछ। बहुवर्षीय खडेरीहरू पर्दै गए भने हिमनदीपछिको ताजा पानीको दोस्रो स्रोत अर्थात् हिमाल र पहाडी भूभागको भूमिगत जलाधार पनि क्रमशः रित्तिँदै जान सक्नेछ।
जंगली डढेलो यति भीषण हुनेछ कि एकै सिजनमा जंगलहरू मरूभूमि बन्न सक्नेछन्।
त्यसैले आसन्न संकट यति विकराल छ कि मेरो हैसियत यी विषयमा अध्ययन गरेका आधारमा सम्भावित समस्या देखाउने मात्रै छ, समाधान सुझाउने छैन।
तर यति निश्चित छ — अहिलेकै जस्तो अन्धाधुन्ध र अदूरदर्शी विकास गर्ने हो भने एक दिन सिंगो नेपालको संकटमा पर्नेछ।
समयमै संकटको आकार र चरित्र बोध गरेर होसियार बन्यौं र विकासका ठाउँमा दिगो विकासलाई प्राथमिकतामा राख्यौं भने सायद हाम्रो सभ्यता र हाम्रा जीवनहरू केही भए पनि लम्बिन सक्नेछन्।
(जलवायुदेखि एआईसम्मको संकटले मानव जातिलाई कसरी तहसनहस पार्दैछ भन्ने विषयमा केन्द्रित लेखकको आख्यान कृति प्रकाशनोन्मुख छ।)