जेनजी आन्दोलनको वर्ष दिन पुग्दैछ। आन्दोलनका सबल र दुर्बल पक्षहरूमाथि लगातार बहस गर्न सकिन्छ। त्यो कुनै बेला गरौंला।
तर यसले देशको नीतिनिर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक उपस्थिति र सहभागिताको ढोका उघारेकोमा दुई मत सायद नहोला।
जेनजी आन्दोलनको प्रारम्भमा पुराना राजनीतिक दलहरूभित्र सुधार र रूपान्तरणका केही प्रारम्भिक संकेत देखिए। तर समयले नेटो काट्दै जाँदा दलहरूभित्र पुस्तान्तरण होला कि भन्ने आशा भने बिस्तारै चिसो हुन थालेको महसुस भएको छ।
उनीहरूको शैली हेर्दा सक्रिय राजनीति र पार्टीको नेतृत्वबाट सहजै बिदा हुने र आफ्नो दलका हैसियत भएका युवा पुस्तालाई हस्तान्तरण गरेर आफू अभिभावकको भूमिका निर्वाह गर्ने नियत हालसम्म देखिँदैन।
उमेरलाई लिएर कसैको संवैधानिक अधिकारमाथि औंला उठाउनु असंवेदनशील हुन सक्छ। त्यसैले यो बहस कसैको अधिकार खोस्न नभई, उमेर र अनुभव अनुसारको उचित भूमिका चयन होस् भन्ने चाहनाका रूपमा बुझ्नुपर्छ।
तर प्रश्न यी हुन्— उमेर पुगेर आराम गर्नुपर्ने बेलामा पनि पुराना नेताहरूले पद किन छाड्दैनन्? सात दशक उमेर पार गरेर असीको दशकतिर उकालो लागेका, पटक पटक प्रधानमन्त्री, मन्त्री, पार्टी अध्यक्ष वा सरकारका महत्त्वपूर्ण पद सम्हालिसकेका नेताहरू अझै पनि राजनीतिमा म बिना पार्टी/देश नै चल्दैन भनेर भ्रम पालेर किन निर्णायक शक्ति बन्न खोजिरहेका छन्? राजनीतिमा पुस्तान्तरणको कुनै सीमा हुनुपर्छ कि पर्दैन? के राजनीतिमा अवकाश भन्ने शब्द नै हुँदैन?
कामना गरौं, स्वास्थ्यका हिसाबले हाम्रा नेताहरू दीर्घायु हुन्। धेरै नेताहरूले नेपालको आधुनिक राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूले ३५ वर्षसम्म केही गरेनन् अर्थात् देशै डुबाउने काम गरे भनेर दोष दिने कुरा मात्र गर्दा उनीहरूलाई अन्याय हुन्छ।
तर उनीहरूले जे गरे, त्योभन्दा राम्रो गर्न सक्थे भन्ने कुरामा दुई मत हुँदैन। हामीले बुझ्नुपर्ने कुरा के हो भने हालसम्म उनीहरूको जे क्षमता थियो त्यही गरे।
एउटा महत्त्वपूर्ण यथार्थ भनेको, मेरो पुस्ताले उनीहरूको संघर्ष र बलिदान देखेको छ, तर सत्ताको आलिशान जीवनशैली र भोगविलास पनि उक्त पुस्ताको आँखाबाट लुकेको छैन।
उनीहरूको योगदानलाई इतिहासले आफ्नो ठाउँमा मूल्यांकन गर्नुपर्छ वा गर्नेछ। तर लोकतन्त्र स्थापना गर्न र जोगाउन उनीहरूको योगदान छ भन्दैमा जीवनको उत्तरार्द्धमा पनि पदमा बसिरहने सुविधा र अधिकार कसरी हुन्छ?
लोकतन्त्रमा विश्वास राख्ने वा आफूले यो देशको लोकतन्त्रका लागि जीवन बिताएको भनेर दाबी गर्ने नेताले लोकतन्त्रमा कुनै नेता अपरिहार्य हुँदैन भन्ने आधारभूत मान्यता पालना गर्नुपर्दैन?
आश्रम व्यवस्थाले दिएको उपयोगी सन्देश
हाम्रो पूर्वीय दर्शनले मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास गरी चार आश्रममा विभाजन गरेको छ। यो व्यवस्था दुई हजार वर्ष अगाडिको भए पनि यसको दर्शन आज पनि सान्दर्भिक छ।
बाल्यकाल र किशोरावस्थामा ब्रह्मचर्य (संयम) पालना गरिन्छ। बालक/किशोरले गुरूकुल वा आश्रममा बसेर वेद, शास्त्र, कला, विज्ञान, नीति र जीवनोपयोगी सीपहरू सिक्ने प्रचलन छ।
गृहस्थ जीवन समाजको आर्थिक र सामाजिक संरचनालाई बलियो बनाउँछ। यस अवस्थामा रहेका व्यक्तिले परिवारपोषण, आम्दानी गर्ने, राज्य सञ्चालनका लागि कर तिरेर सहयोग गर्ने र समाजसेवा गर्ने जिम्मेवारी वहन गर्नुपर्छ।
वानप्रस्थलाई 'अर्ध–संन्यास' को रूपमा लिइएको छ। यस अवस्थामा व्यक्तिले सामाजिक र राजनीतिक कार्यहरूबाट विरक्त हुँदै, आफ्नो भित्री आत्मकेन्द्रिततामा समय दिन्छ। यसको अर्थ प्राकृतिक जीवनमा फर्किनु हो।
अन्तिम चरण भनेको संन्यास हो। यसमा मानिसले अहंकार, घमन्ड, आक्रोश र लोभ त्यागेर भगवानको खोजीमा हिँड्छन्। संन्यासीले समाज र राज्यले नदिने 'स्वतन्त्रता' प्राप्त गर्ने प्रयास गर्छ र यो नै जीवनको अन्तिम उद्देश्य मानिन्छ।
यसको अर्थ वानप्रस्थ वा संन्यासमा मान्छे जंगलै पस्नुपर्छ भन्नुभन्दा पनि जीवनको हरेक चरणको आफ्नो जिम्मेवारी हुन्छ र एक चरणपछि अर्को चरणलाई ठाउँ दिनुपर्छ। आफ्नो भूमिका पनि त्यही अनुसार फेर्नुपर्छ।
हाम्रो राजनीतिमा यसको ठ्याक्कै उल्टो भइरहेको छ। जुन पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो, त्यही पुस्ता नेतृत्वमाथि आफ्नो पकड अझ बलियो बनाउन खोजिरहेको देखिन्छ।
बुढ्यौली हिँडाइ, बोलाइ र व्यवहारमा देखिन्छ। मान्छेको उमेर बढ्दै जाँदा अझ बढी शिष्टता, शालीनता र भद्रपन अपेक्षा गरिन्छ। तर हाम्रा वृद्ध नेताहरूको मञ्चमा बस्दा होस् वा भाषण गर्दा देखिने आक्रोश, घृणा, गाली, गैरराजनीतिक भाषा र षड्यन्त्र अशोभनीय देखिन्छ।
नेताहरू राजनीतिमा अवकाश किन लिँदैनन्?
जागिरेका रूपमा शपथ लिएका कुनै पनि कर्मचारीहरूको विश्वभर नै अवकाशको उमेर तोकिएको हुन्छ। व्यापारी, उद्योगी लगायत निजी क्षेत्रले समेत समयमै नेतृत्व हस्तान्तरणको योजना बनाउँछ। राजनीतिमा भने यस्तो प्रचलन देखिँदैन।
राजनीतिमा कुनै पद प्राप्त गर्न उमेरको व्यवस्था गरिएको छ। तर अधिकतम उमेर सीमा छैन।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य हुन न्यूनतम २५ वर्ष, राष्ट्रियसभा सदस्य हुन ३५ वर्ष र राष्ट्रपतिका लागि न्यूनतम ४५ वर्ष उमेर हुनुपर्छ। तर ८० वर्षको व्यक्ति पनि अन्य योग्यता पुगेमा कानुनी रूपमा चुनाव लड्न कुनै कानुनी बन्देज छैन।
उमेरकै आधारमा कसैलाई अवसरबाट रोक्नु आफैमा अर्को लोकतान्त्रिक प्रश्न हो। तर आराम खोजिरहेको बुढो शरीरले आराम खोज्छ, मनले शान्ति खोज्छ, समयमा खाना र औषधिमूलो खोज्न सक्छ। यसरी गरिएको नेतृत्वले कसैलाई फाइदा हुँदैन, न देशलाई, न पार्टीलाई वा न व्यक्तिलाई।
पाकेका अनुभवहरूबाट कुनै दल वा व्यक्तिलाई फाइदा हुन्छ भनेको अभिभावकत्वको रूपमा संकटका बेला दिने तटस्थ विचार हो। यसले बुढ्यौलीको साख र ओज बढाउँछ। जीवनको उत्तरार्द्धमा दैनिकी सुखद हुनेछ।
पदसँग जोडिएको राजनीति
नेपालमा राजनीतिमा फुट्न लागेका वा फुटिसकेका दलहरूको वैचारिक भिन्नता छुट्ट्याउन बडो कठिन छ। दलको स्थापना विचारभन्दा पदसँग र व्यक्तिगत अहम बढी जोडिएको स्पष्ट छ।
पार्टीको उच्च तहमा पुग्दा टिकट वितरणदेखि सरकार गठनसम्मको शक्तिमा 'इन्जोय' गर्नु वा प्रधानमन्त्री हुनु भनेको राज्यको स्रोत र प्रशासनमाथि प्रभावमै रमाइलो मान्ने नशा देखिन्छ। यही नशाका कारण पद वा कुर्सी छोड्नु भनेको त्यससँग जोडिएको प्रभाव, पहुँच र राजनीतिक हैसियत नै गुम्नु हो भन्ने सोचमा सधैं मतदाताहरूलाई अझै केही गर्न बाँकी छ भनिरहेका देखिन्छन्।
दशकौं हालीमुहाली गरेर बसेका नेताहरूलाई मात्र होइन, तिनका राप र तापले जीविका चलाएका कार्यकर्तामा पनि देश बनाउने काम उनकै वृद्ध नेताले मात्र गर्न सक्छन् भन्ने भ्रम देखिन्छ। यो भ्रम नेतृत्वको शक्ति होइन, कमजोरी हो। नेतृत्वको वास्तविक परीक्षा आफू कति समय पदमा बसियो भन्नेभन्दा पनि आफू हटेपछि कति सक्षम नेतृत्व तयार भयो भन्ने हो।
अनुभव र त्यागको तर्क कति सही?
आफ्नो स्वार्थका लागि अनुभव र त्यागको सिक्का देखाउनु सधैं उचित हुँदैन। प्रभावकारी राज्य सञ्चालन सहज काम होइन तर मूल कुरा अनुभव र त्याग नयाँ विचारसँग नजोडिए त्यो बिस्तारै जडता बनेर विद्रोहको झिल्को बन्छ।
युवा पुस्ताले रोजगार, प्रविधि, जलवायु परिवर्तन र विश्व अर्थतन्त्रलाई जुन ढंगले हेर्छ, त्यो तीन–चार दशकअघिको राजनीतिक पुस्ताभन्दा नितान्त फरक र अग्रगामी छ।
त्यसैले प्रश्न 'पुरानो कि नयाँ' होइन, पुरानो अनुभवलाई नयाँ पुस्ताको ऊर्जा र सोचसँग कसरी जोड्ने भन्ने हो।
केही दिनपछि पाँच महिना पुग्न लागेको सरकारको पूर्ण मूल्यांकन गर्नु न्याय नहोला। तर पनि युवालाई समेटेर बनेको सरकार अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको तर्कले पनि उमेर पाकेका पुराना नेताहरूमा फेरि हामीबाहेक विकल्प छैन भन्ने आत्मविश्वास बिस्तारै बौराउन थालेको देखिन्छ।
युवा नेतृत्व अपेक्षित नहुनुको अर्थ वृद्ध नेतृत्व स्वतः सक्षम हुनु पक्कै होइन। पाका नेताहरूको सक्षमता जनताले देखिसकेका छन्। त्यसलाई सम्मान गर्दै वृद्ध र पाकालाई विश्राम दिनु हो।
केही युवा नेताहरू प्रभावकारी भएनन् भने उनीहरूको विकल्प युवा पुस्ता नै हो।
उमेरका हिसाबले समाजमा वरिष्ठ भएका नेताहरूले बुझ्नु आवश्यक छ — एउटै पुस्ताले लामो समय नेतृत्व कब्जा गरिरह्यो भने अर्को पुस्ताले अभ्यास गर्ने अवसर कसरी पाउँछ? तपाईंका अग्रजले तपाईं युवा हुँदा अवसर नदिएको भए तपाईं अहिलेको स्थितिमा कसरी पुग्नुहुन्थ्यो?
नेताहरू कृपया आफ्नो सन्तानसरहका युवाहरूको विरोधमा षड्यन्त्र गर्न छाडेर उनीहरूलाई सफल पार्न डोहोर्याउनुहोस् र अभिभावकको भूमिकामा बस्नुहोस्।
नेपाल बाहिर संसारले के गरिरहेको छ?
अधिकांश देशले राजनीतिमा प्रवेशका लागि न्यूनतम उमेर तोके पनि अधिकतम उमेर सीमा तोक्ने अभ्यास विरलै पाइन्छ। लोकतन्त्रमा राजनीतिका लागि माथिल्लो उमेर सीमा छैन।
यसको अर्थ संसारमा वृद्ध नेतृत्वबारे बहस नै छैन भन्ने होइन। आजकल हामीकहाँ जस्तै अरू ठाउँमा यो बहस चर्किंदै गइरहेको छ।
भुटानमा राजनीतिमा माथिल्लो उमेर हद तोकिएको देखिन्छ। उम्मेदवारको उमेर २५ देखि ६५ वर्षभित्र हुनु अनिवार्य व्यवस्था छ। यस नियम राष्ट्रिय सभा र राष्ट्रिय परिषद दुवैका लागि लागू हुने भनिएको छ।
रोचक कुरा के भने, भुटानको संविधान, २००८ को धारा २, दफा ६ ले राजा, ड्रुक ग्याल्पोले ६५ वर्षको उमेर पुगेपछि अनिवार्य रूपमा गद्दी स्वेच्छिक वा अनिवार्य रूपमा त्याग्नुपर्ने संवैधानिक व्यवस्था गरेको छ।
बेलायतको उदाहरण हेर्दा, हाउस अफ लर्ड्सका सदस्यको अवकाश उमेर तोक्नेबारे बनेको संसदीय समितिले २०२६ जुलाई १५ मा बुझाएको प्रतिवेदनमा सबै सदस्यलाई अपवादबिना लागू हुने गरी ८० वर्षको अधिकतम अवकाश उमेर सिफारिस गरेको थियो। तर एकै पटक लागू गर्दा ठूलो संख्यामा अनुभवी सदस्यको पदावधि सकिने हुँदा यसलाई पाँच वर्षमा चरणबद्ध रूपमा लागू गर्ने व्यावहारिक बुँदा प्रस्ताव गर्यो।
प्रस्ताव अनुसार यो प्रक्रिया २०२९ जुलाइ ८ बाट सुरू हुनेछ। त्यस बेलादेखि अवकाशको उमेर ८५ हुनेछ। र, त्यसपछि हरेक वर्ष एक वर्ष घट्दै २०३४ सम्ममा ८० वर्षमा पुग्नेछ।
बाहिरको उदाहरण हेर्दा पनि नेपालले या त निश्चित उमेर पुगेपछि चुनाव लड्न नपाउने जस्तो कानुनी व्यवस्था ल्याउनुपर्ने देखिन्छ। या त दलभित्र स्वेच्छिक र संस्थागत अवकाशको संस्कृति विकास गर्नु बढी व्यावहारिक देखिन्छ। पहिलोभन्दा दोस्रो विकल्प राम्रो मानिन्छ।
दलका युवा नेताहरूले के गर्ने?
केही युवाहरूले केही राजनीतिक दलहरूभित्र परिवर्तनको वाहक बनेर पाका नेताहरूसँग अधिकार लिने आँट गरेका छन्। तर केही दलका केही युवा नेता सार्वजनिक रूपमा पुस्तान्तरणको कुरा गर्छन् तर निर्णायक समयमा पुरानै नेताका अगाडि लल्याकलुलुक हुन्छन्। टिकट, मन्त्री पद र चुनावी संरक्षणका लागि उनीहरू पुराना नेताको वरिपरि नै घुमिरहन्छन्।
यसरी पुस्तान्तरण कसरी होला र?
युवा उमेरैले आँट लिने अवस्था हो। नेताले आफ्नै विचार, संगठन र जनाधार बनाउनुपर्छ। पार्टीभित्र नेतृत्व परिवर्तनको स्पष्ट अडान राख्ने, दबाब दिने र सोही अनुरूप कार्यकर्तालाई परिचालन पनि गर्दै जानुपर्छ।
एउटै व्यक्ति वा झुन्ड अनन्त समय पार्टीको सर्वोच्च पदमा नबस्ने व्यवस्था र कार्यकारी पदमा कार्यकाल सीमा तोक्ने विषयको बहस चलाउने कुरामा युवाहरूको अगुवाइ अपरिहार्य छ।
तर मूल कुरो, वृद्ध हटाऊ भन्नु मात्र पर्याप्त कहिल्यै हुँदैन, युवाहरूले आफू झन् सक्षम छौं भनेर प्रमाण पनि दिनुपर्छ।
राजनीतिमा इमानदारी, दृष्टिकोण र परिणाम दिने क्षमता नै वास्तविक योग्यता हो। युवा हुनु मात्र आफैमा योग्यता होइन।
उमेर पाकेका नेताहरूले पदबाट बिस्तारै पछाडि हट्नु, दोस्रो पुस्ता निर्माण गर्दै लैजानु, उनीहरूलाई आफ्नो अनुभवले सहयोग गर्नु र सार्वजनिक जीवनमा नयाँ भूमिकाबाट योगदान गर्न सके समाज मात्र लाभान्वित हुन्छ। नेताहरूको छवि र साख पनि बढेर सम्मानित बुढ्यौली बिताउन सहज हुनेछ।
प्रश्न उमेरको होइन, संस्कारको हो
वानप्रस्थ वा संन्यासको अर्थ जंगल पस्नु होइन। वानप्रस्थलाई एउटा लाक्षणिक रूपमा प्रयोग गर्न खोजिएको हो। पार्टी अध्यक्ष वा पदाधिकारीबाट हटेर सल्लाहकार बन्न सकिन्छ। प्रधानमन्त्रीको दौडबाट बाहिरिएर विदेश नीति वा राष्ट्रिय सहमतिमा योगदान गर्न सकिन्छ।
अवकाश भनेको राजनीतिक मृत्यु होइन, केवल भूमिका परिवर्तन हो भनेर सोच्दा बढी लाभकारी हुनेछ।
पुराना नेताहरूलाई मात्र सबै दोष थुपारेर समस्या समाधान हुँदैन। पुराना नेतालाई बाँचुन्जेल नेतृत्वमा राख्न पार्टी, कार्यकर्ता र मतदाता, अवसर पाउनेबित्तिकै पुरानै गुटमा जाने युवा नेता र 'दाइ र कमरेड' लाई देवत्वकरण गर्ने राजनीतिक संस्कार बढी जिम्मेवार छन्।
हामीले आत्मसात गरेको पूर्वीय दर्शनले हजारौं वर्षअघि नै जीवनमा सबै कुरा सधैं आफ्नै हातमा नराखी एउटा चरणमा जिम्मेवारी लिनुपर्छ र अर्को चरणमा जिम्मेवारी हस्तान्तरण गरी अन्ततः मोहबाट मुक्त हुनुपर्छ भन्ने महत्त्वपूर्ण सार सिकाएको छ।
कुनै नेता सफल हुनुको अन्तिम प्रमाण ऊ कति पटक मन्त्री वा प्रधानमन्त्री भयो भन्ने होइन। बिपी कोइराला र मनमोहन अधिकारी एक पटक प्रधानमन्त्री बने, मदन भण्डारी र गणेशमान श्रेष्ठ कहिल्यै भएनन्। तर उनीहरूको सफलता र कदलाई, उनीहरू यति पटक प्रधानमन्त्री भएका भनेर कहिल्यै मूल्यांकन गरिएन।
त्यस कारण बुढ्यौलीले छोएका पुराना नेताले कुर्सीमा बसेर इतिहास बनाउने कि कुर्सी छाडेर इतिहास बनाउने र लोकप्रिय हुने मार्गमा अगाडि बढेर बुढेसकालमा हाइहाइ हुने, उनीहरूको छनोट हो।
युवा पुस्ताले पनि मन्त्री वा सत्ताको कुर्सी मात्र नखोजी, आफ्नो क्षमताले देशमा सकारात्मक माहोल ल्याउनेतर्फ सोच्नुपर्छ।
पुरानो पुस्ताले अनुभव हस्तान्तरण गर्न र नयाँ पुस्ताले क्षमतासहित जिम्मेवारी लिन सिके भने मात्र लोकतन्त्र संस्थागत हुँदै जानेछ।
नभए नेता जति फेरिए पनि समस्याले निरन्तरता पाउनेछ। जनताले नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक संस्कार अपेक्षा गरेका छन्।
नेताज्यूहरू, अब जिम्मेवारी छाडेर सबैको प्रिय हुनुहोस्। अलिकति आफ्नो रूचि अनुसारको काम, समाजसेवामा लाग्नुहोस्। प्रकृतिसँग रमाउनुहोस्, परिवारसँग समय बिताउनुहोस्। कहिलेकाहीँ आफ्नै औंला समाएर हुर्केका होनहार युवाहरूको क्षमता देखेर रमाउनुहोस्। आवश्यक परे मार्गदर्शन गर्नुहोस्।
यति गर्न सक्नुभयो भने तपाईंको जीवनको उत्तरार्द्ध सुखद हुनेछ। शुभकामना!!!
***
(लेखक रमेश अधिकारीले तीन दशक सुशासन तथा निर्वाचन प्रक्रियामा नेपालसहित श्रीलंका र अफगानिस्तानमा काम गरेका छन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)