हामी चाहन्छौं, हाम्रा सन्तति स्वस्थ्य होऊन्। छिमेकीहरू सुरक्षित होऊन्।
तर वर्ल्ड ड्रग रिपोर्ट २०२५ ले असुरक्षाको कहालीलाग्दो तस्वीर देखाउँदै भन्छ — सन् २०२३ मा विश्वभर ३१ करोड ६० लाख लागुऔषध प्रयोगकर्ता छन्। पछिल्लो १० वर्षमा यो संख्या २८ प्रतिशतले बढेको छ।
लागुऔषधको बढ्दो प्रयोगले समाजमा अशान्ति फैलाउन, स्वास्थ्यमा समस्या सिर्जना गर्न र अपराधलाई बढावा दिन भूमिका खेल्छ। मानौं शान्त तलाउमा ढुंगा फालेपछि छचल्किने पानीझैं समाजलाई तरंगित गर्छ।
सारा विश्व जनस्वास्थ्य र नागरिक कल्याणका लागि साझा लक्ष्यका साथ अगाडि बढ्दैछ। तर ठूलो चुनौती छ — लागुऔषध।
लागुऔषध दुरूपयोग र अवैध ओसारपसार अनन्त समस्याको रूपमा प्रकट भई दिनानुदिन भीमकाय हुँदैछ। यसले परिवारहरूलाई टुटाइरहेछ। समाजलाई बिगारिरहेछ। शरीर र मानसिक स्वास्थ्यमा असर गरिरहेछ। युवाहरूलाई मृत्युको मुखसम्म घचेटिरहेछ। हिंसा र अपराध बढाइरहेछ। भ्रष्टाचार नियन्त्रणमा चुनौती थपिरहेछ। दिगो विकास लक्ष्य प्राप्तिमा अड्चन पुर्याइरहेछ।
गत आर्थिक वर्षमा नेपालमा मात्रै दर्जनौं किसिमका लागुऔषध बरामद भए। सयौं ठाउँमा लागुऔषध फेला परे। हजारौं मानिस पक्राउ परे। दसौं हजार ट्याब्लेट औषधि एकै जनाबाट बरामद भए। लाखौं मानिस प्रभावित देखिए। करोडौंको कालो र डरलाग्दो साम्राज्य बन्दैछ लागुऔषधको।
लागुऔषधको बेग्लै खतरनाक दुनियाँ तयार भइरहेको छ। यो दुनियाँमा लागुऔषध मुद्दाहरू निरन्तर नयाँ नयाँ चुनौतीको रूपमा देखिँदै छन्। तिनको ओसारपसार, कारोबार, प्रयोग, भण्डारणमा नवप्रवर्तनको प्रयोग बढ्दै छ। त्यसैले अर्बौंको लगानी गर्नुपरेको छ राज्यले यसको नियन्त्रण र रोकथामको लागि।
सन् २०२३ मा विश्वमा ६१ लाख युवा लागुऔषध प्रयोग वा ओसारपसार गर्दा पक्राउ परे। २६ लाखलाई मुद्दा चलाइयो। करिब १४ लाख लागुऔषधको प्रयोग, ओसारपसार वा उत्पादन आदिमा संलग्न रहेकोमा दोषी नै ठहरिए। नेपालमै पनि आर्थिक वर्ष २०८१/०८२ मा नेपालीसहित अठारभन्दा बढी देशका नागरिक गरी साढे ७ हजारभन्दा बढी मानिस पक्राउ परे।
पछिल्ला दशकमा विश्वव्यापी लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधहरूको संख्या बढ्दैछ। अवैध विश्वव्यापी अफिम बजारमा हेरोइनको एक शताब्दी लामो प्रभुत्व र अवैध आपूर्तिमा आएका परिवर्तनहरूले थप चुनौती दिइरहेका छन्। कोकिनको उत्पादन, बरामदको क्रम र प्रयोग बढ्दैछ। सिन्थेटिक औषधिहरूको उत्पादनको न्यून लागत र पत्ता लाग्ने जोखिम पनि कम हुनुले अवैध बजारमा तिनको वृद्धिमा योगदान पुगेको छ।
लागुऔषधको चुनौतीलाई परास्त गर्न यसलाई ठूलै शत्रु ठानेर युद्ध लड्नुपर्ने देखिन्छ। त्यसको लागि सर्वप्रथम लागुऔषधको परिचय, उत्पादन, प्रकार र अवस्थाको बारेमा बुझ्नु जरूरी छ।
गाँजा
गाँजा विश्वको सबैभन्दा विवादास्पद र सर्वाधिक प्रयोग हुने लागुऔषध हो। सन् २०२३ मा करिब साढे २४ करोड अर्थात विश्व जनसंख्याको ४.६ प्रतिशत मानिस गाँजाका नियमित सेवनकर्ता छन्। पछिल्लो एक दशकमा यो संख्या ३४ प्रतिशतले बढेको हो।
महादेशगत रूपमा उत्तर अमेरिकामा धेरै प्रयोग हुन्छ गाँजा। १५० भन्दा बढी देशमा यसको अवैध खेती हुन्छ। सन् २०२१ सम्म अफ्रिकाका ९, अमेरिकाका १५, एसियाका ६, युरोपका ३२, ओसेनियाका २ गरी ६४ देशले गाँजालाई मेडिकल प्रयोजनका लागि र करिब आधा दर्जन देशले मनोरञ्जन प्रयोजनका लागि गाँजालाई खुला गरिसकेका छन्। यो क्रम बढ्दो अवस्थामा छ।
अफिम
घातकको हिसाबले पहिलो नम्बरकै लागुऔषध हो अफिम। हेरोइन, मर्फिन, कोडेनजस्ता सुषुप्त बनाउने प्रकृतिका लागुऔषध अफिमबाटै तयार हुन्छन्। पछिल्लो एक वर्षमा अमेरिकामा मात्रै अफिमजन्य लागुऔषधहरूको ओभरडोजले हजारौंको ज्यान गएको छ।
विश्वभर अफिमका ६ करोडभन्दा बढी अर्थात जनसंख्याको १.२ प्रतिशत प्रयोगकर्ता छन्। सबैभन्दा बढी प्रयोग हुने क्षेत्र दक्षिण र दक्षिण पश्चिम एसिया हो। सन् २०२४ मा विश्वमा अफिमको सबभन्दा ठूलो उत्पादक म्यानमार भएको छ। म्यानमार एक्लैले विश्वको आधा अफिम उत्पादन गरेको छ।
५७ देशमा अवैध खेती हुने अफिमको दोस्रो ठूलो उत्पादक अफगानिस्तान हो। सन् २०२१ मा अफगानिस्तानमा २.७ बिलियन डलर (जिडिपीको १२ प्रतिशत) बराबरको अफिम अवैध निकासी भएको देखिन्छ।
एम्फेटामाइन टाइप स्टिमुलेन्टस् (एटिएस)
एम्फेटामाइन टाइप स्टिमुलेन्टस् (एटिएस) केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्ने औषधिहरूको समूह हुन्। जसमा सबैभन्दा बढी प्रयोग हुने एम्फेटामाइन र एस्टासी पर्छन्। तीन करोडभन्दा बढी मानिस एटिएस प्रयोग गर्छन्।
पछिल्लो एक वर्षमा एटिएस बरामदमा उल्लेख्य वृद्धि हुनुले यसको खतरनाक वृद्धिदर प्रस्ट हुन्छ। १०३ देशमा एस्टासी, १०५ देशमा एम्फेटामाइन र ११७ देशमा मेथफेटामाइन बरामद हुनुले यसको विश्वव्यापी सञ्जाल देखाउँछ। एम्फेटामाइन टाइप स्टिमुलेन्टस् बढी उत्पादन क्षेत्र पूर्वी र दक्षिण पूर्वी एसिया हो।
कोकिन
साढे दुई करोडभन्दा बढी अर्थात विश्व जनसंख्याको ०.५ प्रतिशत मानिस कोकिनका नियमित प्रयोगकर्ता छन्। उत्तर अमेरिका तथा पश्चिम र मध्य युरोप बढी प्रभावित हुन्।
पछिल्ला पाँच वर्षमा कोलम्बिया (६१ प्रतिशत), पेरु (२६.४ प्रतिशत) र बोलिभिया (१२.६ प्रतिशत) ले लगभग शतप्रतिशत कोकाको झार उत्पादन गर्दै आएका छन्।
सन् २०२० मा विश्वभर २ लाख चौतीस हजार हेक्टरमा कोकाको झार खेती भएको थियो। त्यसैगरी विश्वका आठ देशमा अवैध खेती गरेको पाइएको कोकामध्ये १ हजार ४२४ टन अवैध कोकिन बरामद गरिएको थियो।
न्यु साइकोएक्टिभ सब्स्टान्सेस
विश्वमा न्यू साइकोएक्टिभ सब्स्टान्सेसका दुई करोड अर्थात विश्व जनसंख्याको ०.४ प्रतिशत प्रयोगकर्ता छन्। नियन्त्रित औषधिका रूपमा प्रयोग हुने ट्रामाडोल (दुखाइ कम गर्ने औषधि), केटामाइन (पार्टीहरूमा मनोरञ्जनको लागि प्रयोग हुने), फेन्टानिल, बेन्जोडाइजेपाइन, एलएसडि आदि न्यू साइकोएक्टिभ सब्स्टान्सेसका उदाहरण हुन्।
तिनको प्रयोग कुनै क्षेत्र विशेष नभएर विश्वव्यापी छ। सन् २०२१ को अन्त्यसम्म एकहजार एक सय सत्ताइस किसिमका साइकोएक्टिभ सब्स्टान्सेसहरू पहिचान भएका छन् जसमध्ये पछिल्लो एक वर्षमा मात्रै ७७ नयाँ किसिमका फेला परेका छन्।
लागुऔषध कहाँ फस्टाउँछ?
एसियाका अधिकांश ठाउँमा अफिम प्रयोग डिस्अर्डर। उत्तर अमेरिकामा कोकिन प्रयोग डिस्अर्डर। पूर्वी र दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा एटिएस प्रयोग डिस्अर्डर व्यापक पाइन्छ।
सन् २०२३ मा सुइँको माध्यमबाट ड्रग्स लिने संख्या एक करोड चालिस लाखभन्दा बढी पुगेको छ भने विश्वभर ५९ ओटा एस्टासी उत्पादन कम्पनी नष्ट (डिस्मेन्टल) गरिएका छन्।
लागुऔषधको अवैध साम्राज्य त्यहाँ फस्टाउँछ जहाँ अभाव छ। द्वन्द्व छ। संकट छ। कानुनको शासन कमजोर छ। जहाँ राम्रो अभिभावकत्व छैन। जहाँ स्थानीय सरकार कमजोर छ। जहाँ लागुऔषधको समस्यालाई पूर्णतः बेवास्ता गरिएको छ।
नेपालमा यी सबै समस्याहरू रहेकाले लागुऔषध कारोबार र सेवनको उर्वर भूमि बन्ने खतरा बढ्दै गएको छ।
होइन भने एकै वर्षमा ६६ जिल्लाबाट लागुऔषधसहित करिब साढे ७ हजार मानिस पक्राउ पर्ने थिएनन्। अर्बभन्दा बढी रूपैयाँको ब्राउन सुगर एकै पटक बरामद हुने थिएन। दर्जनौं किसिमका लागुऔषधको ओसारपसार र कारोबार हुने थिएन। अपराधमा ठूलो हिस्सा यसकै हुने थिएन।
अन्त्यमा, लागुऔषधबाट सदियौंदेखि सारा विश्व आक्रान्त छ। कोलम्बिया, अफगानिस्तान जस्ता केही देशमा त ड्रग डिलर्सले राज्य सञ्चालनमै प्रभाव पारेको सुनिन्छ। गोल्डेन ट्रायंगल, गोल्डेन क्रिसेन्ट, एन्डेन जस्ता लागुऔषधको उर्वर क्षेत्रमा राज्य पनि निरीह देखिन्छ।
लागुऔषध ओसारपसारकर्ता नयाँ प्रयोगकर्तासम्मको पहुँच सुनिश्चित गर्न नवप्रवर्तनको खोजी गरिरहेका छन् ताकि उनीहरूको अर्बौं डलरको व्यवसाय थप फस्टाउन मद्दत पुगोस्।
त्यसैले अब सर्वप्रथम युवाहरूलाई कूलतमा पर्न नदिन सचेतना अभिवृद्धि गरिनुपर्छ। लागुऔषधको जोखिममा पर्न लागेकालाई निरूत्साहन गर्नुपर्छ। परिसकेका सुरूआतकर्ताहरूलाई पुनर्स्थापनामा लैजानुपर्छ।
अवैध ओसारपसार र कारोबार रोकथामको कारबाहीमा शून्य सहनशीलता अपनाइनुपर्छ।
लागुऔषधको समस्या निमिट्यान्न पार्नेभन्दा पनि न्यूनीकरण गर्दै जाने हो। प्रमुख तस्करी मार्गहरू, विमानस्थल र सीमाक्षेत्रलाई सुरक्षित राख्न पहल गरिनुपर्छ। कृषकहरूलाई अवैध लागुऔषधजन्य खेतीबाट दिगो वैध जीविकोपार्जनतर्फ सार्न अवसर सिर्जना गर्नुपर्छ।
होइन भने लागुऔषधको अन्धकार र खतरनाक दुनियाँमा प्रवेश गर्न युवाहरू थप हौसिइरहने छन् जसको मूल्य चुकाउन यो समाज, यो राज्यलाई हम्मे हम्मे पर्नेछ।
(लेखक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्)