विश्व फुटबलका महान् खेलाडी लियोनल मेसी अहिले आफ्नो जन्मभूमि अर्जेन्टिनाको रोजारियोमा छन्।
आफ्ना पिता तथा उनका एजेन्ट जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएपछि मेसी अमेरिकाको मेजर लिग सकर (एमएलएस) का खेल छाडेर त्यहाँ पुगेका हुन्।
अर्जेन्टिनाको रोजारियो सहरस्थित एउटा मेडिकल क्लिनिकमा लामो समयको बिरामीपछि शनिबार बिहान मेसीका बुबाले अन्तिम सास फेरे।
जर्जले आफ्नो जीवनका अन्तिम महिनामा श्रीमती सेलिया, छोराहरू रोड्रिगो र माटियस, र छोरी मारिया सोलको साथमा बिताएका थिए।
मेसीको व्यावसायिक करियर सम्हाल्नुअघि जर्ज एक सामान्य स्टिल कारखानाका मजदुर थिए।
उनले केही समय केमिकल टेक्निसियनको रूपमा पनि काम गरे। जर्ज आफैं पनि युवावस्थामा कुशल फुटबलर थिए र 'नेवेल्स ओल्ड ब्वाइज' को टोलीबाट मिडफिल्डरका रूपमा खेल्थे।
तर, अर्जेन्टिनामा अनिवार्य सैन्य सेवामा जानुपर्ने भएपछि उनले आफ्नो खेल जीवन त्याग्नुपरेको थियो। आफूले खेल्न नपाए पनि उनले आफ्नो छोरा भित्रको अद्भूत क्षमतालाई पहिचान गरे र मेसीको सपनालाई आफ्नो काँधमा बोके।

सन् २००० को सुरुतिर जब १३ वर्षका मेसीलाई लिएर जर्ज स्पेनको बार्सिलोना पुगे, त्यो समय निकै चुनौतीपूर्ण थियो।
एउटा अन्तर्वार्तामा मेसीले ती दिनहरू सम्झँदै भनेका थिए, ‘हामी बार्सिलोना पुग्दा निकै गाह्रो थियो। कहिलेकाहीँ म एक्लै कोठामा थुनिएर रुन्थेँ, मेरो बुबा पनि मलाई नदेखाई त्यसै गरी रुनुहुन्थ्यो। हामी दुवै एकअर्काको अगाडि ठिक छौँ जस्तो गर्थ्यौँ, तर वास्तवमा हामी पीडामा थियौँ।’

त्यो कठिन मोडमा जर्जले मेसीलाई सोधेका थिए— ‘तिमी के गर्न चाहन्छौ? हामी यहीँ संघर्ष गर्ने कि घर फर्कने?'
मेसीले बस्ने इच्छा देखाए र जर्जले आफ्नो परिवार र देश छोडेर छोराको भविष्यका लागि स्पेनमै बस्ने साहसी निर्णय गरे। त्यही त्यागले मेसीका लागि 'ला मासिया' (बार्सिलोनाको एकेडेमी) को ढोका खोलिदियो र फुटबलको इतिहास बदलिदियो।
मेसीका लागि जर्ज केवल उनका बुबा मात्र थिएनन्, एक कठोर र दूरदर्शी प्रबन्धक (एजेन्ट) पनि थिए।
मेसीको बार्सिलोनासँगको ऐतिहासिक सम्झौतादेखि लिएर पेरिस सेन्ट जर्मेन (पिएसजी) र इन्टर मियामीसम्मको यात्रामा जर्जकै मुख्य भूमिका थियो।
मेसीको नाममा रहेका व्यापारिक ब्रान्ड, होटल, रेस्टुरेन्ट र रियल स्टेटका लगानीहरूको व्यवस्थापन जर्जले नै कुशलतापूर्वक सम्हाल्दै आएका थिए।
मेसी भन्छन्, ‘मलाई सधैं मेरो बुवाको स्वीकृतिको खाँचो पर्थ्यो। सानैदेखि आजसम्म पनि हरेक खेल सकिएपछि म उहाँलाई सोध्थेँ— मैले कस्तो खेलेँ?’
२०२६ को विश्वकपको समयमा जर्जको स्वास्थ्य निकै कमजोर भइसकेको थियो। जसका कारण उनी खेल हेर्न अमेरिका जान सकेनन्।
विश्वकपमा अल्जेरिया विरुद्धको खेलमा गोल गरेपछि मेसी मैदानमै भावुक भएर रोएको दृश्यले धेरैलाई अचम्ममा पारेको थियो। पछि मेसीले स्पष्ट पारेका थिए कि त्यो आँसु गोलका कारण नभई घरको व्यक्तिगत समस्या (बुबाको बिग्रँदो स्वास्थ्य) का कारण थियो।
इजिप्ट विरुद्धको खेलमा पनि मेसीको तनावका कारण जर्जको स्वास्थ्य नै रहेको खुलासा भएको थियो।

मेसीको बाल्यकालको क्लब 'नेवेल्स ओल्ड ब्वाइज' ले श्रद्धाञ्जली दिँदै भनेको छ— ‘जर्ज मेसी त्यस्तो स्तम्भ हुनुहुन्थ्यो, जसले अनुशासन र मायाका साथ विश्वकै सर्वश्रेष्ठ खेलाडीको करियरलाई जग दिनुभयो।’
सन् २००७ मा जर्जले मेसीका लागि एउटा भिडियो सन्देशमा भनेका थिए— हामी हरेक समस्याबाट झन् बलियो भएर निस्कनेछौँ। म चाहन्छु कि तिमी एक राम्रो खेलाडी मात्र होइन, सधैं एक असल मान्छे बनिरहनू। मानिसहरूले तिमीलाई तिम्रो खेलका लागि मात्र होइन, तिम्रो व्यक्तित्वका लागि पनि माया गरून्।
आज जर्ज मेसी भौतिक रूपमा हामीमाझ नरहे पनि, उनले विश्व फुटबललाई दिएको ‘उपहार’ (लियोनल मेसी) र उनले देखाएको संघर्षको बाटो सधैं अमर रहनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)