नेतृत्वहरू सीमित घेरामा रमाउँदा र स्वार्थ सिद्ध गर्न उद्दत मानिसहरूको बन्धनमा पर्दा कसरी राजनीतिक दल, कम्पनी, संघसंस्थाहरू दिवालिया हुन्छन् र आफ्नो विरासत गुमाउन पुग्छन् भन्ने कुरा हामीले देखेका छौं, सुनेका छौं।
अहिले कति त आफ्नो अस्तित्व रक्षामा छन् भने कति पूर्ण रूपमा दिवालिया (टाट पल्टिएका) भएका छन्।
नेतृत्व र निकायहरू कसरी दिवालिया हुन्छन् अथवा विफल हुन्छन् भन्ने सम्बन्धमा केही लेख्नुअघि लगभग ५ हजार वर्षअघिको एउटा घटनाबाट सुरू गरौं।
हामीले महाभारतको कथा विभिन्न माध्यमबाट हेर्दै, सुन्दै आएका छौं। हिन्दु धर्मको एक महाकाव्य पनि हो महाभारत।
हस्तिनापुरको सिंहासनको अधिकारलाई लिएर सुरू भएको यो कथा क्रमशः बढ्दै गएर कुरूक्षेत्रको भीषण युद्धमा परिणत हुन्छ। जहाँ पाण्डवहरू धर्म, सत्य र न्यायको पक्षमा र कौरवहरू अधर्म, लोभ र अहंकारको पक्षमा उभिन्छन्।
महाभारतमा धृतराष्ट्र एउटा यस्तो पात्र हुन्, जसले सत्य र न्याय बुझ्दाबुझ्दै पनि गलत मानिसहरूको संगत, मोह र अन्धविश्वासमा पर्दा अन्ततः आफ्नो परिवार, राज्य र प्रतिष्ठा सबै गुमाउँछन्।
उनी शारीरिक रूपमा मात्र होइन, धेरै हदसम्म मानसिक रूपमा पनि 'दृश्टिविहीन' बनेका थिए। विशेषगरी दूर्योधन, शकुनी र दुशासन जस्ता स्वार्थी तथा अहंकारी व्यक्तिहरूको प्रभावमा परेर उनले बारम्बार गलत निर्णय गरे।
विदुर, भीष्म, द्रोण र श्रीकृष्णजस्ता ज्ञानीहरूले पटक पटक सचेत गराउँदा पनि धृतराष्ट्रले आफ्नो पुत्रमोहका कारण सत्यको पक्ष लिन सकेनन्। परिणाम स्वरूप कौरव वंशको विनाश भयो, महाभारतजस्तो भयानक युद्ध भयो, लाखौं मानिसको मृत्यु भयो र अन्ततः धृतराष्ट्र आफै पश्चातापको आगोमा जलेर जीवन बिताउन बाध्य भए।
धृतराष्ट्रको सबभन्दा ठूलो कमजोरी भनेको गलत मानिसहरूलाई नजिक राख्नु र योग्य तथा सत्य बोल्ने मानिसहरूलाई बेवास्ता गर्नु थियो।
यो त भयो पौराणिक घटना र त्यसबाट अहिलेको पुस्ताले लिनुपर्ने पाठ। अब समकालीन घटनाहरू हेरौं।
संसारमा शासनसत्ताको नेतृत्व गर्ने, कम्पनी/संघ/संस्थाको नेतृत्व गर्नेले सीमित व्यक्तिहरूको मात्र कुरा सुन्ने, आलोचना र वैकल्पिक विचारलाई बेवास्ता गर्दा अन्ततः सत्ता नै विलय भएका, कम्पनी, संघसंस्था असफल भएका, टाट पल्टिएका, दिवालिया भएका कैयौं उदाहरण छन्।
सोभियत युनियनको विघटन हेरौं।
बिबिसी नेपाली सेवाले २६ डिसेम्बर २०२१ मा आफ्नो अनलाइन संस्करणमा 'शक्तिशाली सोभियत संघ किन ढल्यो' शीर्षकमा समाचार छाप्यो।
उक्त समाचारमा पाँच आधारभूत कारण उल्लेख थियो— अर्थतन्त्र, सिद्धान्त, राष्ट्रवाद, मन अनि मस्तिष्क गुमाउनु र नेतृत्व।
बिबिसी नेपाली सेवाले उल्लेख गरेका पाँच कारणको समग्र विश्लेषण गर्दा एउटा साझा प्रवृत्ति देखिन्छ। ती सबै कारणले सोभियत नेतृत्व क्रमशः सीमित घेराभित्रको सूचनामा निर्भर हुँदै गएको अवस्थातर्फ संकेत गर्छन्।
स्थानीय तहका वास्तविक समस्या, आर्थिक कठिनाइ तथा जनअसन्तुष्टिका आवाजहरू निर्णय तहसम्म प्रभावकारी रूपमा पुग्न सकेनन् वा पर्याप्त महत्त्व पाएनन्। परिणाम स्वरूप नेतृत्वले देशको वास्तविक अवस्थाको समयमै सही मूल्यांकन गर्न सकेन, जसले आर्थिक, राजनीतिक तथा राष्ट्रियता सम्बन्धी अन्य संरचनागत समस्यासँग मिलेर अन्ततः सन् १९९१ मा सोभियत संघको विघटनमा योगदान पुर्यायो।
हाम्रै पञ्चायती व्यवस्थाको अन्त्य पनि त्यस्तै त्यस्तै कारणबाट भएको थियो। पञ्चायती व्यवस्थाको अन्त्यतिरको एउटा सानो घटना हेरौं।
विक्रम सम्वत् २०४५ चैतमा भारतले नेपालमा नाकाबन्दी लगायो। त्यसले जनस्तरमा पारेको प्रभाव र आपूर्तिका सम्बन्धमा बुझ्न तत्कालीन राजाले एउटा ठूलो बैठकको आयोजना गरेका थिए। बैठकमा राजाका भाइभारदार र उच्च निकायहरूको नेतृत्व सम्हालेर रजगज गरेका सरकारी पदाधिकारीहरूको उपस्थिति थियो।
उक्त बैठकमा नाकाबन्दीपछि देशको आपूर्ति अवस्थाका विषयमा जानकारी गराउन राजाबाट हुकुम हुँदा जिम्मेवारी लिएर बसेका सबैबाट राम्रो र ठिकठाक चलिरहेको र आपूर्ति व्यवस्था मिलाउँछौं, समस्या छैन भन्ने खालको ब्रिफिङ भएको थियो। तर फिल्डमा जनतामा नाकाबन्दीको प्रभाव राम्रै परिसकेको थियो।
नेतृत्वलाई गुमराहमा राखेर त्यहाँ ब्रिफिङ भएको थियो। तत्कालीन राजा महाराजाले पनि आफ्नै भाइभारदार, पदाधिकारी र दरबारियाहरूको सीमित घेरामा रमाएर शासन गर्दाको परिणाम नै शाहवंशीय शासकको २४० वर्षको इतिहास ढल्न पुग्यो।
२०४६ सालबाट बहुदलीय शासन व्यवस्था र त्यसको केही वर्षपछि नै गणतान्त्रिक शासन व्यवस्था आयो। राजा–महाराजाका ठाउँमा अर्का राजा–महाराजाहरू आए।
पञ्चायती व्यवस्थाको अन्त्यपछि करिब चार दशक सत्ताको बागडोर सम्हालेर रजगज गरेका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी) को सत्ता गर्ल्यामगुर्लुम ढल्यो।
यसरी उनीहरूको सत्ता अस्तित्व रक्षा नै गर्न नसक्ने गरी ढल्नुमा नेतृत्व सीमित घेरामा रमाउनु नै मुख्य कारण थियो। जतिसुकै विकृति, विसंगति भए पनि नेतृत्वलाई धृतराष्ट्र बनाएर चरम फाइदा लिन उद्दत स्वार्थी समूहका कारण नै नेताहरूको राजनीतिक विरासत धुलिसात भयो।
आफ्ना आसेपासे बाहेक नेताहरू कसैका कुरा सुन्दैनथे। आसेपासेले जे भन्यो त्यही सही लाग्थ्यो। आसेपासेलाई नै नेतृत्वकर्ताको शयनकक्षसम्म पुग्ने र कुरा लगाउने पहुँच हुन्थ्यो। सत्य र सही सल्लाह दिनेलाई कहिल्यै उनीहरूसम्म पहुँच हुँदै थियो। सही सल्लाह दिनेहरूको कुरा नै उनीहरूलाई अप्रिय लाग्थ्यो। किनभने नेतृत्वलाई यति नदेख्ने बनाइएको थियो कि, आफ्ना आसेपासेभन्दा सही र राम्रो मानिस यो संसारमै छैनन् भन्ने भान गराइएको थियो।
सत्ताको चौघेराभन्दा बाहिर संसार छ, मेरा अगाडि आउने बाहेक अरू मानिसहरू छैनन् भन्ने भ्रम उनीहरूमा पारिएको थियो। परिणाम स्वरूप नेपालको राजनीतिमा उलटपुलट भयो। अहिले उनीहरू आफ्नो अस्तित्व रक्षाको अवस्थामा छन्। आज ती राजनीतिक दल र तिनका नेताहरूको हालत र हविगत के छ, हामी सबैले देखेकै छौं। अब उठ्न कति वर्ष लाग्ने हो, थाहा छैन।
ड्यारोन आसेमोग्लु र जेम्स ए. रविन्सनको पुस्तक 'किन राष्ट्रहरू असफल हुन्छन्' मा जहाँ समावेशितामा जोड दिइन्छ, त्यहाँ आर्थिक विकास र दीर्घकालीन समृद्धि सम्भव हुन्छ भनिएको छ। जहाँ सीमित व्यक्ति वा समूहको स्वार्थका लागि शक्ति र स्रोतको नियन्त्रण र दुरूपयोग हुन्छ, त्यहाँ भ्रष्टाचार, असमानता, राजनीतिक अस्थिरता र आर्थिक पछौटेपन बढ्दै जाने बताइएको छ।
लेखकद्वयको निष्कर्ष छ, कुनै राष्ट्रको भाग्य अन्ततः त्यसका संस्थाहरू कति समावेशी वा शोषणकारी छन् भन्ने कुराले निर्धारण गर्छ।
नेपालका राज्य व्यवस्थाहरू कसरी असफल भए भन्ने तथ्यहरूलाई विद्वान् लेखकद्वयका निष्कर्षले पनि पुष्टि गर्छन्।
अर्को चर्चित उदाहरण छ, अमेरिकी कम्पनी वीवर्कको।
वीवर्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एडम न्यूमनले अनुभवी व्यवस्थापक तथा वरिष्ठ कार्यकारीहरूको सुझाव र चिन्तालाई बेवास्ता गर्दै, महत्त्वपूर्ण व्यवस्थापकीय पदहरूमा आफ्ना निकटस्थहरूलाई प्राथमिकता दिने र 'आफूलाई मनपर्ने कुरा मात्र सुन्ने' शैली अपनाए। जस कारण सरोकारवालाहरू क्रमशः विमुख हुँदै गए र अन्ततः करिब ४७ अर्ब अमेरिकी डलरको मूल्यांकन रहेको कम्पनी ध्वस्त भई दिवालियापनको अवस्थासम्म पुग्यो।
यस्तै कोडाकको उदाहरण पनि उल्लेखनीय छ।
डिजिटल क्यामरा प्रविधिको आविष्कार आफैले गरे पनि कम्पनीको नेतृत्वले आफ्ना सीमित सल्लाहकारहरूको प्रभावमा परेर पुरानो फिल्म व्यवसाय जोगाउने सोचलाई प्राथमिकता दियो। भित्रबाट आएका नवीन सुझाव र ध्यानाकर्षणलाई पर्याप्त महत्त्व नदिँदा कम्पनी समयको परिवर्तनसँग अनुकूल हुन सकेन र अन्ततः सन् २०१२ मा दिवालियापनको अवस्थामा पुग्यो।
हाम्रा सार्वजनिक निकायहरूमा पनि नेतृत्व वरिपरि 'भित्री घेरा' बन्ने गरेको पाइन्छ, देखिन्छ। यसले निर्णय प्रक्रियामा व्यापक सहभागिता घटाउँछ, रचनात्मक र आलोचनात्मक सुझावहरू दबिन्छन् र संस्थागत हितभन्दा केही व्यक्तिको प्रभाव बढेको देख्न सकिन्छ।
जेनजी आन्दोलनअघिसम्म प्रमुख राजनीतिक दलहरू सत्ताको 'म्युजिकल चेयर' मा रमाउँदा हाम्रा सरकारी निकायमा बिचौलियाहरूको रजगज थियो। उनीहरूले नै शासनसत्ता कब्जा गरेको आभास आम रूपमा थियो। सरकारी संस्थाहरू थिलोथिलो बनेका थिए भने सत्तासीनहरूलाई आफ्नो भित्री घेरामा पारेर आफूले चाहेको निर्णय गराउन बिचौलियाहरू सफल भएका थिए।
त्यसैको परिणाम आम निर्वाचनमार्फत नेतृत्व र पुराना दलहरूलाई जनताले थन्क्याइदिए। जेनजी आन्दोलनपछि आम निर्वाचनलगत्तै बनेको दुई तिहाइको सरकारले पनि यस्ता कुरामा सचेत भई राज्य सञ्चालन गर्नु बुद्धिमानी हुन्छ।
इतिहासले बारम्बार देखाएको छ कि संस्था कमजोर बनाउने कारण प्रायः बाह्य चुनौतीभन्दा पनि बढी नेतृत्वले सत्य सूचना सुन्ने क्षमता गुमाउँदा भएको देखिन्छ। कुनै पनि संस्थाको दीर्घकालीन सफलताका लागि नेतृत्वले आफूलाई मनपर्ने कुरा मात्र होइन, अप्रिय भए पनि सत्य कुरा सुनाउने व्यक्तिहरूलाई पनि स्थान दिनुपर्छ। सत्य कुरा सुन्ने साहस र हिम्मत राख्नुपर्छ।
यही कारणले नै सुशासनमा पारदर्शिता, जबाफदेहिता र बहुपक्षीय परामर्श भन्ने शब्दहरूलाई उच्च महत्त्व दिइएको हो।
अर्को यस्तो प्रवृत्ति राजनीतिक दलभन्दा बाहिर प्रशासन, कम्पनी, संघसंस्थाहरूमा पनि हावी रहेको पर्याप्त देख्न सकिन्छ र यो बढ्दै गएको महसुस पनि हुन्छ। नेतृत्वमा आउनेले सबैको कुरा सुन्ने चाहना समेत राख्दैन। नेतृत्वसँग पहुँच राख्नेहरूले नेतृत्वलाई बाहिरी सम्पर्कबाट सधैं रोक्ने प्रयास गर्छन्। नेतृत्व यतिसारो नदेख्ने भइदिन्छ कि यिनै सबै ठीक हुन्, यिनै सर्वज्ञानी छन् भन्ने निष्कर्षमा ऊ पुगेको हुन्छ।
जब नेतृत्वमा यो प्रवृत्ति देखिन्छ, त्यस्ता ठाउँहरूमा असन्तुष्टि बढ्ने, कार्य वातावरण बिग्रिने र अन्ततः संस्था नै धराशायी भएर जाने भइदिन्छ। ठीक धृतराष्ट्रले जस्तै, जब नेतृत्वले गलत मानिसलाई विश्वास गर्छ र सत्य बोल्नेलाई टाढा राख्छ, तब ओरालो यात्रा त्यहीँबाट प्रारम्भ हुन थाल्छ।
स्वार्थी समूहहरू नेतृत्वलाई वास्तविकताभन्दा टाढा राख्न सधैं उद्दत हुन्छन्। चाकडी गरेर गलत कुरालाई सही साबित गर्न खोज्छन् र इमानदार तथा स्पष्ट बोल्ने मानिसलाई नेतृत्वबाट टाढा राख्न हरसम्भव प्रयास गर्छन्। इमानदार र सही मानिसका विरूद्ध नेतृत्वको कानमा नानाभाँतीका कुरा लगाएर सधैं नेतृत्वको प्रिय बन्न न्वारानदेखिको बल लगाउँछन्।
कतिपय नेता वा पदमा आसीनहरू पनि आफ्नो वरिपरि 'हो मा हो मिलाउने' मानिस मात्र राख्न रूचाउँछन्।
विश्व बैंक र संयुक्त राष्ट्र संघ लगायतका संस्थाहरूको व्यवस्थापन सम्बन्धी अध्ययनहरूले पनि नेतृत्वले विविध स्रोतबाट सुझाव लिनुपर्ने र यस्तो 'ग्रुपथिंक' समर्थनबाट बच्नुपर्ने आवश्यकता औंल्याएका छन्। जब नेतृत्व केही व्यक्तिहरूको घेरामा सीमित हुन्छ, तब वास्तविक सूचना फिल्टर भएर मात्र पुग्ने खतरा बढ्छ।
व्यवस्थापनविद सीडनी फिङकल्स्टिनको पुस्तक 'ह्वाई स्मार्ट एक्जिक्युटिभ्स फेल' ले सफल र प्रतिभाशाली नेतृत्वसमेत किन असफल हुन्छ भन्ने प्रश्नको उत्तर खोज्छ।
पुस्तकको निष्कर्ष अनुसार नेतृत्वको असफलताको प्रमुख कारण बाह्य चुनौती मात्र होइन, नेतृत्व वरिपरि निर्माण हुने चाप्लुसीको घेरा, सत्य सूचना लुकाउने प्रवृत्ति र 'हो मा हो' मिलाउने संस्कृतिसमेत हो। जब नेतृत्वले योग्य र स्वतन्त्र विचार राख्ने व्यक्तिहरूलाई बेवास्ता गर्दै सीमित स्वार्थी समूहको प्रभावमा निर्णय गर्न थाल्छ, तब संस्थाभित्र उत्तरदायित्व, पारदर्शिता र नवप्रवर्तन कमजोर बन्छन्। परिणाम स्वरूप संस्था बिस्तारै आफ्नो उद्देश्यबाट विचलित हुँदै संकट र पतनतर्फ उन्मुख हुन्छन्।
यस आलेखमा मैले महाभारतको उदाहरण राखेँ। हाम्रै देशको उदाहरण पनि राख्ने प्रयास गरेँ र विश्वमा यस्तै प्रकृतिका घटनाहरूबाट भएका असफलताका उदाहरणहरू पनि राखेँ।
यी सबै उदाहरणहरूले एउटा गहिरो शिक्षा दिन्छन्— नेतृत्वमा बसेको व्यक्तिले मोह, पक्षपात, चाकडी र स्वार्थी समूहबाट टाढा रहनुपर्छ। सत्य बोल्ने मानिस कहिलेकाहीँ कठोर लाग्न सक्छ, तर उनीहरू नै वास्तविक हितैषी हुन्छन्।
कुनै पनि निकाय, संघ, संस्था वा राजकाजको जिम्मेवारीमा बस्नेले यदि केही सीमित व्यक्तिहरूको घेराभित्र बसेर मात्र निर्णय गर्छन्, आलोचनात्मक आवाजलाई टाढा राख्छन् र फरक विचारलाई शत्रु ठान्छन् भने नेतृत्व क्रमशः यथार्थबाट टाढिँदै जान्छ। यस्तो अवस्थामा यस्ता निकायभित्र सत्यभन्दा चापलुसी बलियो बन्न पुग्छ, जसको अन्तिम परिणाम निर्णयगत त्रुटि, संस्थागत कमजोरी र कहिलेकाहीँ दशकौंको विरासत बनाएका संस्था पनि क्षणभरमै पतनको मार्गमा जान सक्छन्।
सीमित घेराभित्र नेतृत्वलाई राख्न रमाउने स्वार्थी समूहका सल्लाह वा संगतले क्षणिक सुख वा शक्ति दिएको जस्तो देखिए पनि अन्ततः त्यसले पतनतर्फ नै लैजान्छ।
धृतराष्ट्रको जीवन केवल एउटा पौराणिक कथा मात्र होइन, आजको समाज, राजनीति, प्रशासन र संस्थागत जीवनका लागि गहिरो चेतावनी पनि हो, शिक्षा पनि हो।
(लेखक विदुरचन्द्र लामिछाने एफएनसिसिआईका उपनिर्देशक हुन्।)