अमेरिकी केन्द्रीय बैंकको प्रमुख भएर झन्डै दुई दशक विश्व बजारमा प्रभाव जमाएका एलन ग्रिनस्पानको अघिल्लो साता १०० वर्षको उमेरमा निधन भएको छ।
अमेरिकी अर्थतन्त्र गतिशील बनाएकोमा प्रशंसकहरूबाट प्रचुर प्रशंसा बटुलेका उनले अर्थतन्त्रलाई संकटमा धकेलेको भनेर आलोचकहरूबाट उत्तिकै गाली पनि खाएका थिए।
राज्य सञ्चालन, अर्थतन्त्र, नीति निर्माण, सार्वजनिक संस्थाहरू तथा अर्थ–राजनीतिमा रूचि हुनेहरूका लागि उनको असामान्य पेसागत जीवन निकै चाखलाग्दो र शिक्षाप्रद छ।
ग्रिनस्पान अमेरिकी केन्द्रीय बैंक/फेडरल रिजर्भको अध्यक्ष नियुक्त भएको एक सातामै सेयर बजारमा ठूलो संकट आएको थियो।
'ब्ल्याक मन्डे' भनेर चिनिने १९८७ अक्टोबर १९ को उक्त दिन सेयर बजार परिसूचक डाव जोन्स २२ प्रतिशतले घटेको थियो।
अमेरिकी बजारले मात्र ५ खर्ब डलर बराबरको सम्पत्ति गुमाएको थियो। सोही घटनाबाट तर्सिएर संसारभरको सेयर बजारले थप १७ खर्ब डलर गुमाएको विश्वास गरिन्छ।
विगतमा सस्तो ब्याजले उचालेको सम्पत्तिहरूको मूल्य, टाउको उठाउँदै गरेको महँगी र इरान अमेरिका द्वन्द्वले त्यस दिनको सेयर बजार संकट निम्त्याएको दाबी गर्नेहरू धेरै छन्। ग्रिनस्पानले पनि ती दाबीहरूलाई कहिल्यै खण्डन गरेनन्। बरू जसोतसो संकट पार लगाए।
६ जना राष्ट्रपतिले रूचाएको मान्छे
ग्रिनस्पानको संकट पार लगाउने खुबी देखेरै हुनुपर्छ, अमेरिकाका ६ जना राष्ट्रपतिले उनलाई रूचाएका थिए।
रिचर्ड निक्सनले १९६८ को राष्ट्रपतीय चुनावी अभियानमा उनलाई नीति सल्लाहकार बनाएका थिए। यसमार्फत ग्रिनस्पान रिपब्लिकन पार्टीसँग नजिक भए।
जेराल्ड फोर्डले उनलाई आर्थिक सल्लाहकार परिषदको प्रमुख बनाए।
रोनाल्ड रेगन राष्ट्रपति भएपछि ग्रिनस्पानलाई सामाजिक सुरक्षा प्रणाली पुनरवलोकन आयोगको संयोजक बनाए। सामाजिक सुरक्षा प्रणालीप्रति रिपब्लिकन पार्टीको दृष्टिकोण सकारात्मक थिएन। त्यो प्रणाली दिगो छैन, चाँडै धराशायी हुन्छ भन्ने ठम्याइ थियो।
ग्रिनस्पानको आयोगले सामाजिक सुरक्षा प्रणालीबाट लाभग्राहीले पाउने लाभमा केही कटौती गर्न र तिर्नुपर्ने योगदान रकम बढाउन सिफारिस गर्यो। ग्रिनस्पान ह्वाइट हाउसको झन् प्रिय भए।
सन् १९८७ मा रेगनले उनलाई केन्द्रीय बैंक— फेडरल रिजर्भको अध्यक्ष बनाए।
पछि क्रमैसँग जर्ज एच बुश, बिल क्लिन्टन र जर्ज डब्लू बुशले सोही पदमा पुनः नियुक्त गरे। यसरी ग्रिनस्पान दुई दशक केन्द्रीय बैंकको नेतृत्वमा रहे।
अमेरिकाको दुवै दलका प्यारो बनेका ग्रिनस्पानको छवि सर्वसाधारणमाझ सेलेब्रिटीको जस्तो थियो। उनको नामका अगाडि 'माइस्ट्रो', 'ओरेकल' लगायतका विभिन्न विशेषण लगाएर मिडियामा चर्चा हुन्थ्यो।
राष्ट्रपतिहरूको एजेन्डालाई मूर्त रूप दिने र सँगसँगै फेडरल रिजर्भ बैंकको स्वायत्तता पनि रक्षा गर्ने उनको कार्यकौशलको प्रशंसा गर्नेहरू धेरै छन्।
आँधिबेहरीमा अर्थशास्त्री
शीतयुद्धपछिको अमेरिकी पुँजीवादको विजय यात्रालाई नेतृत्व गर्ने पंक्तिमा ग्रिनस्पान पनि थिए। फेडरल रिजर्भको प्रमुखलाई कतिपयले राष्ट्रपति पछिको शक्तिशाली पद मान्छन्।
दुई दशकमा अमेरिकाको वास्तविक कुल गार्हस्थ्य उत्पादन तीन गुणाले बढ्यो, मुद्रास्फीति न्यून तहमा रह्यो, बेरोजगारी दर पनि न्यून तहमै रह्यो, सेयर बजार परिसूचक १० गुणाले बढ्यो।
यो अवधि अमेरिकी इतिहासकै बलियो र लामो आर्थिक विस्तारमध्येको एक भयो।
आशावाद, जीवनस्तरमा व्यापक सुधार, बजारको शक्तिमा विश्वास, प्रविधिको तीव्र विकास र खुकुलो नियमन त्यो समयको विशेषता रह्यो। संसारभरको बचत अमेरिकामा ओइरियो।
ग्रिनस्पान बजार–मैत्री अडान राख्थे। आलोचकहरू यिनै अडानले विनाशकारी परिणाम ल्याएको आरोप लगाउँछन्।
आलोचकहरूको कथन छ — बैंकहरू फुक्काफाल भए, जनताको पैसामा जुवा खेले। धनीहरू असाध्यै धनी भए, गरिब झन गरिब भए। आर्थिक असमानता सहनै नसकिने तहमा पुग्यो!
यसै अवधिमा खुला व्यापारका कारण अमेरिकीहरूले रोजगारी गुमाउनुपर्यो। उत्पादनशीलभन्दा सट्टेबाजी कारोबार बढेर गयो। सेयर र घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढेर गयो भन्ने गुनासो उनीहरूको छ।
अर्थतन्त्र गतिशील राख्ने ग्रिनस्पानको तरिकाले यो सबै संकट निम्त्याएको हो भन्ने ठहर उनीहरू गर्छन्। उनले ब्याजदर न्यून तहमा दबाएर राख्दा, सजिलै र सस्तो पैसा उपलब्ध हुँदा सट्टेबाजी कारोबार बढेको निष्कर्ष आलोचकले निकालेका छन्।
विवेकहीन उत्साह
यस्ता आरोपबारे ग्रिनस्पान जानकार थिए। सन् १९९६ को एउटा गोष्ठीमा उनले प्रयोग गरेको विवेकहीन उत्साह (Irrational Exuberance) भन्ने शब्दावली चर्चित भयो।
'द च्यालेन्ज अफ सेन्ट्रल बैंकिङ इन् अ डेमोक्र्याटिक सोसाइटी' शिर्षकको गोष्ठीमा उनले उक्त शब्दावली प्रयोग गरेका थिए। भाषणको मस्यौदा बनाउने क्रममा गोष्ठीको अघिल्लो दिन नुहाउँदै गर्दा उक्त शब्दावली फुरेको कुरा उनले आत्मकथामा लेखेका छन्।
तर्कहीन अति उत्साहले सम्पत्तिको मूल्यलाई कसरी अस्वाभाविक रूपमा बढाउन सक्छ भन्ने सन्दर्भमा ग्रिनस्पानले त्यस्तो कुरा गरेका थिए।
उनले भनेका थिए, 'सम्पत्तिहरूको बजार मूल्य र अर्थतन्त्रको सम्बन्ध नजरअन्दाज गर्ने वा अकर्मण्य भएर बस्ने गर्नु हुँदैन।'
उनले किन त्यसो भनेका थिए भने, सन् १९९४ मा ३५ सय हाराहारी रहेको सेयर बजार परिसूचक डाउ जोन्स १९९६ मा झन्डै दोब्बर बढेर सात हजार नजिक पुगेको थियो।
त्यो घटना डट–कम बबलको नामले चर्चित छ। सूचना प्रविधि क्षेत्रका नयाँ नयाँ कम्पनी बजारमा आएका थिए। रातारात धनी भइन्छ भन्ने लोभमा मान्छेहरू अन्धाधुन्ध त्यस्ता कम्पनीको सेयर किन्थे।
सुरूमा उनको कुरा सुनिएन, सेयर बजार बढी नै रह्यो। तर, सन् २००० मा शिखरमा पुगेको सूचना प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यले सन् २००२ मा धूलो चाटेका थिए।
धेरै पछि मात्र सेयरको मूल्य अत्यधिक बढेको रहेछ भन्ने हेक्का कारोबारीहरूलाई भयो।
यसै विषयमा नोबेल अर्थशास्त्री तथा येल विश्वविद्यालयका प्राध्यापक रोबर्ट शिलरले पुस्तक लेखेका छन्।
'इरासनल एक्जुबरेन्स' (२०००) नामक उक्त पुस्तकको पहिलो संस्करणमा शिलरले सेयरको मूल्य वर्खामा पानीका फोकासरी कसरी उठ्छ र फुट्छ भन्ने व्याख्या गरेका छन्।
दोस्रो संस्करणमा घरजग्गालाई जोडेका छन् र तेस्रो संस्करणमा ऋणपत्र पनि जोडिएको छ।
नीतिगत तथा संस्थागत संरचनाले मात्रै अर्थतन्त्रमा संकटको उत्पादन गर्दैनन्, पात्रहरूको भूमिका पनि उत्तिकै हुन्छ। विवेकशील भनिएका मान्छेले सधैं विवेकी व्यवहार प्रदर्शन गर्दैनन्। लोभ र त्रासले मान्छेलाई गाँजिरहेको हुन्छ।
अनि राजनीतिको खेलमा विजयी हुने ध्याउन्नमा लागेका राजनीतिकर्मीले सर्वसाधारणलाई गलत उत्प्रेरणा दिइरहेका हुन्छन् भन्ने संकेत ग्रिनस्पानको वक्तव्य र शिलरको पुस्तकमा पाइन्छ।
त्यस्ता उत्प्रेरणाले मान्छेलाई लोभी बनाउँछ। सानो घर भए पर्याप्त हुनेलाई ठूलो घर चाहिन्छ, एउटा घर भए पुग्नेलाई धेरै घर चाहिन्छ।
यस्तै लोभका कारण आफूले थाम्न सक्नेभन्दा बढी ऋण लिएर उनीहरू सम्पत्ति खरिद गर्न थाल्छन्। सेयर लगायतका सम्पत्तिहरूमा यस्तै प्रवृत्ति हाबी भएको थियो।
सस्तो ऋणले सेयर, घरजग्गा वा ऋणपत्र जस्ता मूर्त तथा अमूर्त सम्पत्तिलाई तासका पत्तीमा रूपान्तरण गरेका थिए।
ग्रिनस्पान अर्थतन्त्रबारे बोल्दा अत्यन्तै परिष्कृत भाषा प्रयोग गर्थे। उनले बोलेका कतिपय कुरा उनकै सहकर्मीलाई पनि बुझ्न कठिन पर्थ्यो।
उनी पदमा बसुन्जेल मिडियामा कम देखा परे। अरू सार्वजनिक मञ्चहरूमा पनि कमै देखिने उनले कहीँकतै बोले भने राम्रै बोलेका होलान् भन्ने अनुमान धेरैले गर्थे।
पर्दा पछाडिको खेलाडी
कतिपयले ग्रिनस्पानलाई पर्दा पछाडिको राजनीतिक खेलाडी पनि मान्छन्। जर्ज डब्लू बुश (पिता) ले सन् १९९२ मा बिल क्लिन्टनसँग चुनाव हार्नुको एउटा कारण ग्रिनस्पानको नीति पनि हो भन्छन् उनीहरू।
अर्थतन्त्रको गति सुस्त भएका बेला ग्रिनस्पानले ब्याजदर उच्च बनाउँदा आर्थिक गतिविधि घट्यो र जनतामा असन्तुष्टि बढ्यो भन्ने उनीहरूको भनाइ छ। यो काम उनले नियोजित रूपमा गरेका थिए र क्लिन्टनका सहयोगीहरूसँग सल्लाहमै गरेका थिए भन्ने दाबी उनीहरूको छ।
त्यति मात्रै होइन, क्लिन्टन समेत खुकुलो वित्तीय नियमन र बजारमैत्री नीति अवलम्बन गर्न राजी भए। ग्रिनस्पानकै कारण क्लिन्टन डेमोक्र्याटिक पार्टीको लाइनभन्दा पर गएर बजेट घाटा घटाउने र सामाजिक सुरक्षा प्रणाली कसिलो बनाउने नीतिका पक्षधर भए भन्ने तर्क उनीहरूले गरेका छन्।
तर सन् २००१ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका जर्ज डब्लू बुश (छोरा) सँग पनि ग्रिनस्पानको सम्बन्ध सुमधुर रह्यो। बुशले आयकर कटौती प्याकेज ल्याए। बजेट घाटा कम गर्ने रिपब्लिकन पार्टीकै पुरानो अडान बुशले छोडे।
क्लिन्टनलाई बजेट घाटा कम गर्न सल्लाह दिने ग्रिनस्पानले नै बुशलाई घाटा बढे पनि फरक नपर्ने भनेर उकासेको अनुमान आलोचकले गरेका छन्। यसलाई प्रशंसकहरू पार्टीगत कोरा सिद्धान्तभन्दा तथ्यमा आधारित नीति तर्जुमा गर्नुपर्छ र कार्यान्वयनमा लैजानुपर्छ भन्ने ग्रिनस्पानको शैली भनेर प्रशंसा गर्छन्।
ग्रिनस्पानले भने दलगत राजनीतिमा आफुलाई मुछ्ने कथनहरूको खण्डन गर्दै आएका थिए। रिपब्लिकनहरूले त्यति बेला सत्ताका लागि सिद्धान्तलाई तिलाञ्जली दिँदा दुवै चिज गुमाएको दाबी उनले गरेका छन्।
अर्थात् बजारको यथार्थ बिर्सिएर चुनाव जित्ने लोभमा पार्टीको आधारभूत सिद्धान्त छोड्नु नै पिता बुशले चुनाव हार्ने एक कारण बनेको विश्लेषण ग्रिनस्पानले गरेका छन्।
मुद्रास्फीतिलाई हेर्ने फरक नजर
उत्पादन लागत बढ्दा वा मुद्राको आपूर्ति बढ्दा मुद्रास्फीति देखापर्छ भन्ने पराम्परागत बुझाइ बदल्नुपर्ने निष्कर्ष ग्रिनस्पान र समकालीन अर्थशास्त्रीले निकालेका थिए।
प्रविधिमा द्रुत प्रगति र बढ्दो विश्वव्यापी प्रतिस्पर्धाले तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि उच्च मुद्रास्फीति बेहोर्नै पर्ने स्थिति बदलिदिएको दाबी ग्रिनस्पानले गरेका थिए। उच्च आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिबीच बलियो सकारात्मक सम्बन्ध अनिवार्य होइन भन्ने उनको तर्क थियो।
प्रविधिका कारण सबै प्रकारका उद्योगहरूले कम लागतमा बढी उत्पादन गर्न सक्षम भएका थिए। प्राविधिक विकासले उत्पादकत्व बढाएको थियो।त्यसै कारण ग्रिनस्पानले ब्याजदर तल्लो तहमा राख्ने कुरामा जोड दिएका थिए। पहिले ब्याजदर र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने विश्वास थियो।
सन् १९९० को उत्तरार्द्धसम्म ग्रिनस्पानका नीतिहरूले सही काम गर्यो। लाखौं नयाँ रोजगारी सिर्जना भए। उद्योग, व्यापार फस्टायो। सेयर बजार पनि उकालो लाग्यो।
बजार आफै सच्चिएन
नयाँ शताब्दी सुरू भएसँगै उनको जादु सकिए जस्तो भयो। उनका नीतिले सम्पत्तिहरूको अस्वाभाविक मूल्य वृद्धि रोक्न सकेन। बजार आफै सच्चिने कुनै संकेत देखा परेन।
अमेरिका बाहेक उच्च प्रतिफल प्राप्त हुने अरू पनि लगानी गन्तव्य देखा परे। पुँजी बाहिरिन थाल्यो। तैपनि आर्थिक गतिविधिलाई क्षति नपुर्याइ वा बेरोजगारी नघटाई सम्पत्तिको मूल्य घटाउन सकिँदैन भन्ने जिद्दी उनले गरिरहे।
बाहिरी बल प्रयोग गरेर घरजग्गा वा सेयरको मूल्य घटाउने प्रयास झन् महँगो हुनेछ भन्ने चेतावनी उनले दिएका थिए। बरू घरजग्गामा प्रदान गरिएको कर्जालाई सुरक्षण गरी धितोपत्र जारी गर्ने कुरा उनलाई मनपरेको थिएन।
त्यति मात्रै होइन, त्यस्ता धितोपत्रलाई बिमा र ग्यारेन्टी गर्ने खडा गरिएका सरकारी कम्पनी (फेडरल नेसनल मर्टगेज एसोसिएसन र फेडरल होम लोन मर्टगेज कर्पोरेसन) पक्षमा उनी थिएनन्। तर राजनीतिक निर्णयका सामु उनी निरीह भए।
सरकारले लागू गर्ने नियमभन्दा बजारका शक्तिले कुशलतापूर्वक स्रोतको व्यवस्थापन गर्छन् भन्ने उनको अटल विश्वास थियो।
उनले पटक पटक भनेका थिए— बजार शक्तिले नै सहभागीहरूका जोखिमपूर्ण व्यवहार उजागर गर्न र दण्डित गर्न सक्छ।
डेरिभेटिभ्स मोह
डेरिभेटिभ्सप्रतिको ग्रिनस्पानको मोह अचम्मैको थियो। डेरिभेटिभ्सले प्रणालीमा अनावश्यक जोखिम फैलाइरहेको आलोचकहरूको धारणा थियो। ग्रिनस्पान भने जोखिम वहन गर्ने क्षमता भएका सहभागीका लागि कारोबार खुला गरिदिए हुन्छ नियमन गर्नुपर्दैन भन्थे।
त्यसैले संगठित एक्सचेन्जभन्दा बाहिर ओटिसी मार्केटमा कारोबार हुने डेरिभेटिभ्सहरू चलनचल्तीमा आए।
यसमा पनि ग्रिनस्पान गलत भए। डेरिभेटिभ्सको राम्रो ज्ञान भएका र पर्याप्त जोखिम वहन क्षमता भएका फर्महरू पनि टाट पल्टिए।
दुई जना नोबेल पुरस्कार विजेता अर्थशास्त्री (माइरन सोल्स र रबर्ट मेट्रोन) ले सञ्चालन गरेको 'लङटर्म क्यापिटल म्यानेजमेन्ट जस्तो फर्म' ले पनि घुँडा टेक्नुपर्ने अवस्था आयो।
डेरिभेटिभ्ससँग जोडिएको लिम्यान ब्रदर्स टाट पल्टिएपछि सन् २००८ को वित्तीय संकटले तीव्र गति लिएको थियो।
ग्रिनस्पान गल्ती सहजै स्वीकार गर्नेमध्ये पर्छन्।
सन् २००७ को एउटा टेलिभिजन अन्तर्वार्तामा उनले भनेका थिए — घटनालाई पछिबाट हेर्दा गल्ती गरियो कि भन्ने देखिन्छ तर त्यो नियतवश थिएन। खासगरी सेप्टेम्बर ११ को हमलापछि उत्पादक र उपभोक्ता दुवैको मनोबल उच्च राख्ने, उत्पादन तथा रोजगारी सिर्जना सहज बनाउन नियमनलाई खुकुलो बनाउँदा अवाञ्छित नतिजाका रूपमा वित्तीय संकट देखापर्यो। कसै न कसैले निर्णय गर्नैपर्छ। त्यस्तो निर्णय भावनाप्रधान हुनु हुँदैन र सम्भावित नोक्सानी कम हुने गरी निर्णय गर्नुपर्छ। मैले त्यस्तै निर्णय गरेँ।
केन्द्रीय बैंकको शक्ति
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बजारमा ठूलै उथलपुथल ल्याउन सक्छ र त्यसलाई आफ्नो अनुकूल बनाउन राजनीतिक नेतृत्व मार्फत दबाब सिर्जना गर्नुपर्छ भन्ने मानसिकताले संसारभर काम गर्छ।
त्यस्तो दबाब रोक्न ग्रिनस्पान सक्षम थिए।
कतिपयले सिद्धान्तको आवरणमा यस्तो दबाब अघि बढाउँथे। आर्थिक चक्र वा बजारको उतारचढाव कसरी काबुमा राख्ने भन्ने वैचारिक विवाद चलिरहेकै समयमा ग्रिनस्पान फेडरल रिजर्भको प्रमुख भएका थिए।
एकथरी सरकारको भूमिका बढाउने पक्षमा तर्क गर्थे अर्काथरी बजारको।
सिद्धान्तका आवरणमा आउने दबाबलाई उनले तार्किक रूपमा परास्त गरे।
मुद्रास्फीति नियन्त्रण गर्ने केन्द्रीय बैंकको प्राथमिक काममा सफल भएको श्रेय उनले पाएका छन्। सन् १९८७ को तेल संकट, पूर्वी एसियाको वित्तीय संकट, डट कम बबल, सेप्टेम्बर ११ को आतंकवादी हमला लगायत बेलाबेलामा देखा परेका आर्थिक झट्का व्यवस्थापन गर्न ग्रिनस्पान सफल भए। अर्थतन्त्रमा अपुरणीय क्षति भएन।
कार्यकालको अधिकांश समय ग्रिनस्पानले मूल्य स्थिरता कायम गरे, व्यवसायी र उपभोक्ताको मनोबलमा उल्लेख्य गिरावट आएन। अमेरिकी डलर बलियो रह्यो, अन्तराष्ट्रिय व्यापार अमेरिकाकै पक्षमा थियो।
यस्ता घटनाहरूले ग्रिनस्पानलाई बलियो बनायो। उनका अडानमा प्रश्न गर्नेहरू सरकारमा र फेडरल रिजर्भमा कम हुँदै गएका थिए।
बजार पुँजीवादका पक्षधर
ग्रिनस्पानको कार्यशैलीमा आयन रान्डको दार्शनिक प्रभाव थियो। रान्ड बजार पुँजीवादको वकालत गर्थिन्।
ग्रिनस्पान युवाकालमा रान्डको भित्री घेरामा थिए। उनीहरू सरकार र बजारबीचको सम्बन्धमा घण्टौं बहस गर्थे।
छलफलका सबै विषयमा उनीहरूको मत एउटै हुँदैन थियो तर सीमित सरकार, थोरै कर, थोरै नियमन र थोरै सरकारी खर्च बारेमा उनीहरूको धारणा समान थियो।
बजारको स्वतन्त्रतामा विश्वास गर्ने व्यक्तिले सरकारी हस्तक्षेपको केन्द्र (फेडरल रिजर्भ) मा बसेर आफ्नो वैचारिक अडान कायम राख्ने चुनौती ग्रिनस्पान सामु थियो। त्यसैले नैतिक लाभलाई आदर्श बनाएर र यथार्थपरक कार्यान्वयनमा लैजाने सन्तुलनको शैली उनले आफै विकास गरे।
ग्रिनस्पानको युवाकालमा केन्सियन अर्थशास्त्र फेसनमा थियो। बेलायती अर्थशास्त्री जोन मिनार्ड केन्स अर्थतन्त्रमा सक्रिय सरकारी भूमिकाको पक्षमा थिए।
उनको विचारबाट युरोप र अमेरिका दुवै तर्फका सरकारहरू प्रभावित थिए। अर्थतन्त्रमा माग सिर्जना गर्न, उत्पादन बढाउन, रोजगारी बढाउन र सम्पत्तिको पुनर्वितरणका लागि सरकारी खर्च अनिवार्य हुन्छ भन्ने केन्सको तर्क थियो।
यस्तो तर्क खण्डन गर्ने वैचारिक पृष्ठपोषण ग्रिनस्पानले रान्डबाट पाएका थिए। रान्डको भित्री घेरा 'कलेक्टिभ' ले उनलाई पुँजीवाद कुशल र व्यावहारिक मात्र होइन, नैतिक पनि छ भनेर दृढ बनाएको थियो। त्यसैले फैलिएको होइन सीमित सरकारका पक्षमा ग्रिनस्पान टिकिरहे।
ग्रिनस्पानको विरासत
ग्रिनस्पानको नेपालसँग प्रत्यक्ष साइनो छैन। तर उनी हाम्रा लागि चर्चायोग्य पात्र होइनन् भन्नु गलत हुनेछ।
सार्वजनिक नीति निर्माण र कार्यान्वयनमा स्पष्ट हुन नसकिरहेको अवस्थामा हामी छौं। कुन कुरा सरकारले गर्ने हो, कुन बजारले भन्ने कुरामा अलमल गरिरहेका हामीहरूका लागि ग्रिनस्पानको समयले सिकाएको पाठ महत्वपूर्ण छ।
उनले आर्थिक समृद्धि र संकटको सामना गरे। धेरै राम्रो काम गरे, केही भूल गरे अनि भूल स्वीकार गरे। स्वतन्त्रताले दिने लाभको पक्षमा दृढ रहे। निरपेक्ष स्वतन्त्रताले ल्याउने संकटलाई स्वीकार गरे।
कुनै पनि लोकतान्त्रिक समाजमा बहुसंख्यक जनता असन्तुष्ट रहे लाभको अनुभूति गर्न पाएनन्, धेरैलाई ठगिए भन्ने लाग्यो भने त्यस्तो समाजमा स्वतन्त्रता दिगो नहुने निष्कर्ष उनले निकाले।
उनको निष्कर्ष हाम्रा लागि उपयोगी छन्। प्रतिक्रियावादी नीति निर्माण हाम्रो कमजोरी हो। कुनै काम बिग्रियो भने हामी जहिल्यैसुकै दोषी पात्रहरू खोजिरहेका हुन्छौं।
असल नियतले बनाइएका नीति र कार्यान्वयन गर्ने योग्य पात्र हुँदा पनि सोचेजस्तो नतिजा हात नपर्न सक्छ भन्ने दृष्टान्त ग्रिनस्पानले दिएका छन्।
भव्य सिद्धान्तले भन्दा यथार्थपरक कार्यक्रमले नतिजा दिन्छ। बजारको गतिशीलता कुनै व्यक्तिविशेषको काबुमा हुँदैन। संकटको पूर्वानुमान गर्ने क्षमताको विकास अपरिहार्य छ।
अर्थतन्त्रलाई अति वित्तीयकरण गर्ने, नयाँ नयाँ वित्तीय औजार (डेरिभेटिभ्स) र कारोबारको शैली (इन्ट्राडे) भित्र्याउने रहर पालेका हामीहरूका लागि ग्रिनस्पानले नेतृत्व गरेको समयले पक्कै पनि आँखा खुल्ने पाठ सिकाएको छ।
सेयर बजारको उतारचढाव, घरजग्गा कारोबारको उत्थान र पतन, उत्पादनमुखीभन्दा विनिमयमुखी कारोबारमा लिप्त हामीहरूलाई ग्रिनस्पानको कथाले सिकाउने पाठ कम महत्वको होला र?
एक्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)