कर्मकल्चर
सामाजिक सञ्जालमा गाली गर्नेहरू मलाई चाखलाग्दा लाग्छन्। उनीहरूका शब्दमा रिस, उत्तेजना, घृणा र निराशा मिसिएको हुन्छ।
ती प्रतिक्रियालाई व्यक्तिगत आक्रमणका रूपमा मात्र होइन, हाम्रो समयको मनोविज्ञान पढ्ने सामग्रीका रूपमा पनि हेर्न सकिन्छ।
समाजले के सोचिरहेको छ, कुन शब्दले जनमानसलाई उत्तेजित बनाइरहेको छ, कुन अवधारणाले लोकप्रियता कमाइरहेको छ— यस्ता प्रतिक्रिया त्यसका संकेत हुन्।
एक्समा पछिल्लोपल्ट मलाई एउटा प्रतिक्रिया आयो– हामीलाई देश विकास चाहिएको छ। अरू बाल मतलब!
यो वाक्य आजको नेपाली राजनीतिक (अप) संस्कृतिको एउटा गहिरो संकेत हो। हामी विधि, कानुन, परम्परा, सहमति, परामर्श र जबाफदेहिताको कुरा गर्छौं।
तर एउटा ठूलो समूह छ, जसलाई यी सबै झन्झटजस्ता लाग्छन्। उनीहरूलाई विकास चाहिएको छ, तर विकास भनेको के हो भन्ने प्रश्न चाहिँ अनावश्यक लाग्छ।
विकास कसले गर्ने, कसका लागि गर्ने, कसरी गर्ने, त्यसका मूल्य के हुन्, त्यसको सामाजिक र राजनीतिक अर्थ के हो— यी सबै प्रश्न उनीहरूका लागि गौण छन्।
विकास एउटा मन्त्र बनेको छ, जसलाई जति धेरै दोहोर्यायो उति धेरै देश बन्छ भन्ने विश्वास छ।
नेपालमा कथित वैकल्पिक राजनीतिको उदयसँगै यो भाष्य अझ बलियो भएको छ। नयाँ दलका समर्थकहरू प्रायः 'देशलाई विकास चाहिएको छ' भन्ने वाक्य दोहोर्याउँछन्।
उनीहरू सुशासनको कुरा पनि गर्छन्। तर सुशासन भनेको के हो, त्यसले कसरी काम गर्छ, विधि र संस्थासँग यसको सम्बन्ध के हो भन्ने प्रश्नमा भने प्रायः मौन देखिन्छन्।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनपछि सभापति रवि लामिछानेले 'हाम्रो विचार छैन भन्नेहरूलाई महाधिवेशनले जवाफ दिएको छ' भने। तर त्यो जबाफ के थियो भन्ने अझै स्पष्ट छैन।
किनकि कुनै पनि राजनीतिक विचार केवल विकासको नारा होइन। विचार भनेको विकासको अर्थ, दिशा र उत्प्रेरणाबारे स्पष्ट दृष्टिकोण हुनु हो।
यही ठाउँमा 'विकास' भन्ने शब्द नै फेरि पढ्नुपर्ने हुन्छ।
नेपालीमा विकास शब्द संस्कृतबाट आएको हो। यसको मूल अर्थ हो– फुल्नु, खुल्नु, विस्तार हुनु।
जीवविज्ञानमा यही अवधारणा 'इभोलुसन' अर्थात् क्रमिक परिवर्तनका रूपमा विकसित भयो। अर्थात् विकासको मूल अर्थ कुनै वस्तु वा समाजलाई बाहिरबाट थोपारिएको परिवर्तन होइन; समयसँगै भित्रबाट हुने रूपान्तरण हो।
तर आधुनिक काल्पनिकीमा विकासको अर्थ भिन्न बाटो आयो। दोस्रो विश्वयुद्धपछि विश्वलाई 'विकसित' र 'विकासोन्मुख' देशमा भेद गरियो।
सन् १९४९ मा अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले पहिलोपटक 'अविकसित क्षेत्र' भन्ने शब्द औपचारिक रूपमा प्रयोग गरेपछि विकास अन्तर्राष्ट्रिय राजनीतिको अवधारणा बन्यो। त्यसपछि विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले विकासलाई आर्थिक वृद्धिसँग जोडेर विश्वव्यापी मानक बनाइदिए।
नेपालमा पनि २० औं शताब्दीको मध्यदेखि विकासको अर्थ सडक, पुल, विद्युत्, विद्यालय, अस्पताल, योजना र बजेटसँग गाँसियो। विकास भनेको पूर्वाधार भयो। संरचना निर्माण भयो। त्यसअघि विकासको अर्थ विस्तार वा उन्नति प्रगति थियो, पछि त्यो भौतिक पूर्वाधारको पर्याय बन्न पुग्यो।
यहीँबाट प्रश्न सुरू हुन्छ।
आर्थिक वृद्धि विकासको एउटा नापो हो, सम्पूर्ण विकास होइन। कुनै देशको कुल गार्हस्थ्य उत्पादन बढ्न सक्छ, तर असमानता पनि बढ्न सक्छ। उद्योग खुल्न सक्छन्, तर वन नष्ट हुन सक्छन्, पर्यावरण कमजोर हुन सक्छ। ठूला आयोजना बन्न सक्छन्, तर समुदायहरूको स्वावलम्बन खलबलिने मात्र होइन, हजारौं मानिस विस्थापित हुन सक्छन्। सहर मौलाउन सक्छ, गाउँ रारून्ने बन्न सक्छ।
त्यसैले विकासले सधैं उन्नति, प्रगति गराउॅछ भन्ने मान्यता आज विश्वभर सन्देहमा परेको छ।
दिगो विकासको अवधारणा पनि यही आलोचनाबाट जन्मिएको हो। वर्तमान पुस्ताको आवश्यकतासँगै भविष्यको अधिकार सुरक्षित राख्नुपर्छ भन्ने विचारले विकासलाई नयाँ अर्थ दियो।
दिगो विकास स्वयं पनि आलोचनामुक्त छैन। आर्थिक वृद्धि र वातावरण संरक्षणलाई सँगै अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न अझै जारी छ।
दिगो विकास लक्ष्यहरू धेरै व्यापक छन्। कानुनी रूपमा बाध्यकारी पनि छैनन्। गरिब देशसँग त्यसलाई कार्यान्वयन गर्ने स्रोत छैन। त्यसैले यसको आकर्षण धेरै भए पनि व्यावहारिक चुनौती कम छैन।
विकसित र विकासोन्मुख देशबीच विकासको अर्थमा पनि मतभेद छ। जीवनको गुणस्तर, वातावरण, प्रविधि र दिगोपनलाई विकासको मापन मान्ने पनि छन्। गरिबी, रोजगारी, विद्युत, सडक र आधारभूत सेवामात्र केन्द्रित भएका समाज पनि छन्।
एउटा समाज कार्बन उत्सर्जन घटाउने कुरा गर्छ, अर्को ध्रुव पहिले उद्योग खोल्न पाउनुपर्ने माग राख्छ। दुवैको विकासको भाषा एउटै देखिए पनि अनुभव फरक छ।
'देशलाई विकास चाहिएको छ' भन्ने वाक्य आफैमा कुनै विचार होइन। विकास एउटा इच्छा न हो। विकास चाहियो कि चाहिएन भन्ने भन्दा पनि प्रश्न त कस्तो विकास चाहियो भन्ने हो। केको विकास?
के हामी आर्थिक वृद्धि मात्र खोजिरहेका छौं? कि समानता पनि? के हामी सडक मात्र बनाउँदैछौं कि नागरिक पनि निर्माण गर्दैछौं?
के हामी पूर्वाधार बनाइरहेका छौं कि लोकतान्त्रिक संस्था पनि बलियो बनाइरहेका छौं? के विकास विधिभन्दा माथि हो, कि विधिबाटै सम्भव हुन्छ?
यी प्रश्नबिनाको विकास अन्ततः विकास होइन, केवल निर्माण हुन्छ।
सामाजिक सञ्जालमा सबैभन्दा कम सोधिएको प्रश्न यही हो। विकास चाहिन्छ भन्नेमा लगभग सबै सहमत छन्। विकास भनेको के हो भन्नेमा बहस गर्न भने हामी कहाँ तयार छौं र?
सायद, नेपाललाई अहिले सबैभन्दा धेरै चाहिएको पनि विकासभन्दा पहिले यही बहस हो।
तर यस्तो बहसको कुनै आकर्षण हुँदैन। त्यसैले अलगोरिदम पनि बन्दैन। बहसको सट्टा हामीलाई 'विकास' नै चाहिएको छ!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle