पर्वतका सुदर्शन गुरूङ सन् २०२२ देखि बेलायतमा कन्सल्टेन्ट हेमाटोलोजिस्ट (रक्तरोग विशेषज्ञ) छन्।
उनी बेलायतको मेडवे म्यारिटाइम अस्पतालको हेमाटोलोजी विभागमा कार्यरत छन्। उनी यो विभागका प्रमुखसमेत हुन्।
बेलायतकै किङ्स कलेज अस्पतालमा पनि पार्टटाइम कार्यरत छन् भने रोयल आर्मी मेडिकल सर्भिसेसमा समेत आबद्ध छन्। उनी बेलायती सेनाको रिजर्भ फोर्समा छन्। हाल उनी मेजर (सेनानी) पदमा कार्यरत छन्।
'मेरो मुख्य काम मेडवे म्यारिटाइम अस्पतालमै हो। यससँगै बेलायती सेनामा वर्षमा एक महिना काम गर्छु। आवश्यक परे अरू समयमा पनि काम गर्नुपर्छ,' उनले भने।
हरेक वर्ष दुई हप्ताको सैनिक अभ्यास पनि हुन्छ। रक्तरोग सम्बन्धी विभिन्न तालिम र केही अनुसन्धानमा पनि उनी सहभागी हुन्छन्।
३९ वर्षीय सुदर्शन सन् २०१२ मा बेलायत गएका हुन्। उनका आमाबुबा बेलायतमै थिए। बुबा, हजुरबुबा र जिजुबुबा सबै सैनिक सेवामा भएकाले उनलाई पनि सेनामा काम गर्ने इच्छा थियो।
सुदर्शन काठमाडौंको बुढानीलकण्ठ स्कुल पढेका हुन्। नेपालमै एमबिबिएस गरेर उनी थप पढ्न बेलायत गए। गएको पाँचौं महिनामा अस्पतालमा काम गर्न थाले। पढाइ पनि अघि बढाए।
'बेलायतमा कन्सल्टेन्ट बन्न एमबिबिएस सकेपछि १० वर्षको तालिम आवश्यक पर्छ। म सन् २०१६ मा रोयल कलेज अफ फिजिसियन्सको सदस्य बनेँ। त्यसपछि सन् २०२० मा कन्सल्टेन्ट हेमाटोलोजीको तालिम पूरा गरेँ,' सुदर्शनले भने, 'बेलायतमा एउटा चिकित्सकले हेमाटोलोजी, रक्त क्यान्सर र प्रयोगशाला प्याथोलोजी तीनवटै विषयको तालिम लिन्छ।'

सन् २०२२ देखि सुदर्शन बेलायतको मेडवे म्यारिटाइम अस्पतालमा काम गरिरहेका छन्।
रक्तरोगको निदान र उपचार गर्ने, रक्तअल्पता, थालासेमिया, सिकल सेल रोग, हिमोफिलिया लगायत रोगको उपचार गर्ने तथा रक्त क्यान्सरका बिरामीको उपचार गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको उनले बताए।
रगत जम्ने वा अत्यधिक बग्ने समस्या भएका बिरामीको उपचार गर्ने, परीक्षण रिपोर्टको विश्लेषण गरी सही उपचार योजना बनाउने, अन्य विशेषज्ञ चिकित्सकसँग मिलेर जटिल बिरामीको उपचार गर्ने, जुनियर डाक्टर तथा मेडिकल विद्यार्थीलाई प्रशिक्षण दिने तथा अनुसन्धानमा समेत संलग्न हुनुपर्छ।
बेलायती सेनाका लागि अहिले छुट्टै अस्पताल नभएकाले चिकित्सकहरूलाई रिजर्भ फोर्समा राखिने उनले जानकारी दिए्। उनी बेलायती सेनाका एक मात्र रिजर्भ हेमाटोलोजिस्ट हुन्।
'बेलायती सेनामा मेरो स्थायी जागिर हो, तर पार्टटाइम। हाम्रो पदोन्नति पनि हुन्छ। म मेजर पदबाट प्रवेश गरेको हुँ। अब दुई–तीन वर्षमा लेफ्टिनेन्ट कर्नेल हुन्छु,' उनले भने, 'सेनाबाट पाउने पारिश्रमिकमा कर तिर्नुपर्दैन। नियमित सैनिकले पाउनेजस्तो आवास र बालबालिकाको शिक्षा सम्बन्धी सुविधा हुँदैन, तर रेल यात्रामा छुट लगायत सुविधा पाइन्छ।'
उनी बेलायत बाहिर पनि अनुभव आदानप्रदानका लागि जान्छन्। युएईका अस्पतालहरूमा भिजिटिङ कन्सल्टेन्टका रूपमा समेत जान्छन्।
केही समयअघि मात्र युएईको शाम अस्पतालमा नयाँ हेमाटोलोजी सेवा सुरू गराउने क्रममा उनी सहभागी थिए। गत वर्ष सोही अस्पतालमा बोन म्यारो डायग्नोस्टिक सेवा सञ्चालन गराउन गएका थिए। उनले युएईका अस्पतालहरूमा रक्तरोग सम्बन्धी उपचारका तालिम पनि दिँदै आएका छन्।
नेपालका पाटन, वीर लगायत अस्पतालहरूसँग पनि सहकार्य गर्दै आएको उनले बताए।
'म अहिले यो गरेँ र त्यो गरेँ भन्ने हैसियतमा छैन। तर हेमाटोलोजीमा काम गर्ने चिकित्सकहरूसँग कुनै न कुनै रूपमा जोडिएको छु। नेपालबाट बेलायत आउने चिकित्सकहरूलाई सक्दो सहयोग गर्दै आएको छु,' सुदर्शनले भने।
हेमाटोलोजीको क्षेत्रमा नेपाल बिस्तारै अघि बढिरहेको उनी बताउँछन्।
'कतिपय सेवा त दक्षिण एसियाकै उत्कृष्ट छन्। यसका बाबजुद क्लिनिकल ट्रायल पनि गर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ,' उनले भनेर।
सिकल सेल एनिमियाको उपचारमा केही योगदान गर्ने प्रयासमा आफू रहेको उनले बताए।
