अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले आफूविरूद्ध पनि सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको र आफूविरूद्ध पनि त्यो प्रयास भएको बताएका हुन्।
'व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो। मविरूद्ध पनि यो हतियार चलाउन खोजिएको थियो। अहिले कर्मचारीहरू भन्छन्,' सम्पत्ति शुद्धीकरण निवारण विधेयकबारे सांसदहरूले उठाएको प्रश्नमा जबाफ दिँदै मन्त्री वाग्लेले भने।
अहिलेको सरकारले त्यसो नगर्ने बताउँदै उनले आशंका नगर्न विपक्षी दलहरूलाई आग्रह गरे।
'पूर्वाग्रहप्रेरित भएर बदला लिनका लागि हो कि भन्ने कुराहरू आए। ठ्याक्कै विपरीत। पहिले पहिले त्यसो गरिन्थ्यो। प्रधानमन्त्री कार्यालय अन्तर्गत नै राखेर जसलाई दुःख दिनुपर्ने हो, जुन नेताको तेजोवध गर्नुपर्ने हो। उमाथि नै केन्द्रित भएर यो असाध्यै सशक्त हतियारको व्यापक दुरूपयोग राजनीतिक अपराधीकरण, राज्य संयन्त्रको अस्त्रीकरण गरिएको अप्रीय पाठबाट हामीले यसलाई प्रोफेसनल ट्र्याकमा ल्याउन खोजिरहेका छौं,' उनले भने।
मुलुकलाई ग्रे लिस्टबाट निकाल्नुपर्ने भएकाले पनि राज्यले त्यसलाई हतियारका रूपमा अगाडि लैजान नहुने उनले बताए।
'ग्रेलिस्टको टेक्निकल परिभाषा नै हामीले गरेका हर गतिविधिमाथि असाध्यै चर्को निगरानी भइरहेको छ। सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्नका लागि दुरूपयोग गर्यौं भने हामी ग्रे लिस्टबाट निस्कन सक्दैनौं,' उनले भने।
अर्थमन्त्री वाग्लेले कसैले धन कमाउँदैमा, घर ठड्याउँदैमा र अलिअलि तडकभडक जीवनशैली अपनायो भन्दैमा सम्पत्ति शुद्धीकरण लगाउन नमिल्ने बताए।
'सम्पत्ति शुद्धीकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले सम्बद्ध कसुर स्थापित गर्नुपर्छ। कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो भने त्यो प्राइमरी अपराध स्थापित गर्नुपर्छ। र त्यो क्राइमबाट आर्जितबाट लाभ हुन्छ त्यसलाई बैध बनाउन त्यो व्यक्तिले चालेका कदमहरू बल्ल शुद्धीकरण आकर्षित हुन्छ,' अर्थमन्त्री वाग्लेले भने।
त्यसैले सरकारले यस्तो संस्कृतिलाई तोड्न खोजेको अर्थमन्त्री वाग्लेको भनाइ छ। 'एउटै मात्र लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने हो। त्यसका लागि जेजे गर्नुपर्छ गर्ने जेजे गर्न हुँदैन नगर्ने,' उनले भने।
आफूमाथि पनि सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको भन्ने मन्त्री वाग्लेको अभिव्यक्तिमा विपक्षी दल गुरू बरालले नियमापत्ति जनाएका थिए।
'विगतका अभियोग के थियो? को कर्मचारीले त्यसरी सुनायो? उहाँले मनमा के लाग्छ त्यो भावना पोख्ने होइन। यहाँ त यथार्थ कुरा भन्नुपर्यो। हाउसभित्र अप्रमाणित कुरा भन्न यो ठाउँमा मिल्दैन भन्ने कुरातर्फ ध्यान आकृष्ट गर्न चाहन्छु,' बरालले भने।
यद्यपि सभामुख डोलप्रसाद अर्यालले यसमा चासो नदिई बैठक अघि बढाएका थिए।