विद्यालय र उच्च शिक्षामा काम गरेको लगभग तीन दशकमा अभिभावकबाट मैले अक्सर एकै खालको गुनासो र चिन्ता सुन्ने गरेको छु— मेरो बच्चा पढ्नमा पटक्कै चासो दिँदैन, खाली मोबाइल मात्र हेर्छ, खेल्न मात्र खोज्छ। गृहकार्य गर भन्यो कि अनुहार बिगार्छ। आखिर मेरो बच्चाले किन सिक्न सक्दैन? उसलाई पढाइमा किन चासो नभएको होला?
लामो समयसम्म धेरैलाई लाग्थ्यो कि केही बच्चा जन्मिँदै चलाख वा बुद्धिमान हुन्छन् र केही हुँदैनन्।
अझै पनि यदि कुनै बच्चालाई पढ्न–लेख्न गाह्रो भयो भने वा परीक्षामा कम नम्बर आयो भने हामी सजिलै भनिदिन्छौं— यो त कमजोर छ, ढिलो छ, अल्छी छ, बुद्धू छ!!!
तर मानिसको बुद्धिमत्ता र सिकाइको वास्तविकता योभन्दा निकै फरक र रमाइलो छ।
सिकाइ सबैका लागि एकदमै प्राकृतिक र सरल प्रक्रिया हो। बच्चाले विद्यालय जानुभन्दा धेरै अघिदेखि नै सिक्न सुरू गरिसकेको हुन्छ र विद्यालय छोडेपछि पनि यो क्रम रोकिँदैन।
सवाल के मात्र हो भने— के सबै बालबालिका हामीले चाहे जस्तै सिक्न सक्लान् त? हामीले जे चाह्यौं त्यही, जति मात्रामा चाह्यौं त्यति नै, जसरी चाह्यौं त्यसरी नै सिक्न सक्लान् त?
बच्चाको विशिष्टता आमाबुवाकै क्रोमोजोम र जीनले बनेको भए पनि ऊ धर्तीको एक अलग, भिन्न वा 'युनिक' मानव एकाइ हो। तसर्थ, उसका विशिष्टता अनुसार रूचि, शैली र क्षमता निर्माण हुने हुन्।
यहाँ सबैले प्रस्ट हुन जरूरी छ — सबै बालबालिकाले सिक्न सक्छन्, सबै सक्षम हुन सक्छन्। तर उसको विशिष्टता बमोजिम।
यही विशिष्टता नबुझ्दा हामी अभिभावक, पाठ्यक्रमविद र शिक्षकले भनेको बच्चाले मानिरहेको छैन। उसले आफ्नो विशिष्टता विपरीतका हाम्रा अपेक्षाप्रति शालीन विरोध गरिरहेको छ र ठूलो द्वन्द्वसँग जुधिरहेको छ।
पाठ्यक्रमलाई हामीले खेल र खेलमैदान भनेर बुझ्ने हो भने यहाँ कुन विद्यार्थीले कुन खेलमा रुचि र सक्षमता देखाउँछ, उनीहरूलाई सोहीअनुसारका लचिला र वैकल्पिक खेलहरू रोज्न दिनुपर्छ। फुटबल खेल्न नसक्नेले चेस खेल्न सक्ला, भारोत्तोलन नसक्नेले जिम्न्यास्टिक सक्ला, दौडन नसक्नेले सुटिङ राम्रो गर्ला इत्यादि।
तसर्थ, सबैले आफ्नो विशिष्टता र रोजाइ अनुसारको सामग्री, अवसर र बाटो पाउने हो भने अवश्य उत्कृष्ट सिकाइ गर्न सक्छन्।
विश्वभरि पाठ्यक्रममा यस्तो विशिष्टता र विविधतामा आधारित पाठ्यवस्तु र क्रियाकलापको विकल्प समेट्ने अभ्यास भएको धेरै भइसक्यो। हामी भने अझै 'लामो समयसम्म अपरिवर्तनीय पाठ्यपुस्तक' र 'पाठमुखी' सिकाइबाट माथि उठ्न सकेका छैनौं। अबको पाठ्यक्रम परिमार्जनमा आधारभूत सिकाइको तहदेखि नै 'विशिष्टता र विविधीकरण' को मान्यता अनुसारका रोजाइ समाविष्ट हुने अवसर सिर्जना गर्नुपर्छ।
भर्खरै म आफ्नो अध्ययनको सिलसिलामा धादिङको एक आधारभूत विद्यालयमा पुगेको थिएँ। त्यहाँ कक्षा १ मा एक शिक्षिकाले अग्ला डेस्क–बेन्चमा साना बालबालिकालाई क, का, कि, की… लेखाउन लगाइरहनुभएको थियो। तर विद्यार्थी मानिरहेका थिएनन्।
धेरैजसो आफू–आफूमा जिस्किरहेका, खेलिरहेका र चलिरहेका थिए। मैले शिक्षकसँग कुरा गर्दा 'पढाउनभन्दा पनि बच्चा कन्ट्रोल गर्न झन् गाह्रो छ' भन्ने मूल समस्या सुनाउनुभयो।
मैले देखेँ— साँघुरो र उकुसमुकुस कक्षामा विद्यार्थी निस्सासिए जस्ता छन्।
मैले उहाँसँगकै सरसल्लाहमा सानो परीक्षण गर्ने तयारी गरेँ र सोही अनुसार विद्यार्थीलाई 'बाहिर गएर खेल खेल्ने है' भनेको मात्र के भनेको थिएँ, सबैले उल्लासमय चिच्याहटमा बडो खुसी र उमंग मिश्रित संवेग व्यक्त गरे।
मेरो कार्य सजिलो थियो। धुलौटे आँगनमा मैले आफू पनि उनीहरूसँग खेल्दै धुलो जम्मा गर्न लगाएँ र सम्याउन लगाएँ। अनि उनीहरूलाई देखाउँदै एउटा सिन्काले धुलोमा आकार, ह्रस्व इकार, दीर्घ ईकार, ह्रस्व उकार, दीर्घ ऊकार जस्ता मात्राका चित्र कोरेँ। र, सबैलाई त्यस्तै चित्र बनाउन भनेँ।
दोस्रो पटक क, ख, ग, घ… सँग ती मात्रा सँगै जोडेर फेरि त्यस्तै धूलोमा चित्र बनाउने खेल खेलेँ। खेल–खेलमै अधिकांश सबैले मात्रा चिने र क, का, कि, की… लेख्न सके। सबै रमाए।
तर यो क्रियाकलापमा विद्यार्थीबीच ठूलो विविधता पाइयो। कोही विद्यार्थी ठूला अक्षर कोर्ने थिए, कोही साना। कोही एक्लै कार्य गर्ने थिए, कोही जोडा वा समूहमा। कोही नबोली कार्य गर्दै, कोही अरूलाई देखाउँदै, बोल्दै। कोही सुतेर लेख्ने थिए, कोही निहुरेर, कोही बसेर। कोही औंलाले लेख्ने थिए त कोही छेस्कोले। एकाध अरूको एकोहोरो हेर्ने पनि थिए।
यस्तो लाग्थ्यो, त्यहाँ ठूलो स्वतन्त्रता छ र स्वतन्त्रता अनुसारकै रोजाइ छ।
मेरो विधिसँग ती शिक्षकको विमति त थिएन, तर उहाँमा प्रधानाध्यापक, विद्यालय समिति र अभिभावकले यस्तो रूचाउनुहुन्न कि भन्ने ठूलो त्रास बुझ्न सकिन्थ्यो।
'हामीले अनुशासन, नियन्त्रण र एकरूपता देखाउन सके मात्र सबैले उत्कृष्ट शिक्षक मान्नुहुन्छ' भन्ने उहाँको आशय थियो।
अभिभावकज्यू, अब हामीले 'मेरो बच्चाले किन सिक्दैन?' भनेर सोध्ने होइन।
बरू हामीले सोध्नुपर्ने प्रश्न यो हो— मेरो बच्चाले कुन तरिकाबाट सबैभन्दा राम्रोसँग सिक्न सक्छ?
आमाबुबाको रूपमा तपाईं आफ्नो बच्चाको जीवनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण गुरू हुनुहुन्छ। बच्चाको दिमागले कसरी काम गर्छ, उसलाई कुन कुरामा बढी चासो छ र उसलाई कहाँनेर गाह्रो भइरहेको छ भन्ने कुरा बुझिदिनुभयो भने तपाईंले उसलाई सिकाइमा रूचि जगाउन सक्नुहुन्छ। उसको सफलताको बाटो चिन्न सक्नुहुन्छ। र, उसलाई सजिलै सही बाटोमा ल्याउन सक्नुहुन्छ।
शिक्षक साथीहरू, अबको हाम्रो पहिलो कार्य आफ्ना विद्यार्थीलाई चिन्नु हो। उनीहरूको विशिष्टता र विविधतालाई बुझेर सिकाइ तरिकामा विविधता र विकल्प सिर्जना गर्नु हाम्रो मूल कार्य हो। हरेक विद्यार्थी सिक्न सक्षम हुन्छ, तर उनीहरूको सिक्न सक्ने विषयवस्तु, गति, शैली र रूचि फरक फरक हुन सक्छन्।
त्यसैले एउटै तरिकाले सबैलाई सिकाउने होइन, प्रत्येक विद्यार्थीको सम्भावना उजागर गर्ने वातावरण निर्माण गर्नु नै प्रभावकारी शिक्षणको आधार हो।
बहु–बुद्धिमत्ताको आधारमा सिकाइ
सन् १९८० को दशकभन्दा अघि बुद्धिमत्तालाई प्रायः बौद्धिक वा संज्ञानात्मक क्षमता मानिन्थ्यो, जसलाई आइक्यू (IQ) परीक्षणबाट नाप्न सकिन्छ भन्ने विश्वास थियो। हुन त आइक्यूको हाउगुजी आजसम्म नभएको होइन। तर सन् १९८३ मा हावर्ड गार्डनरले आफ्नो पुस्तक 'फ्रेम्स अफ माइन्ड' मार्फत यो धारणालाई चुनौती दिँदै मानिसमा एउटै होइन, विभिन्न प्रकारका बुद्धिमत्ता हुन्छन् भन्ने विचार प्रस्तुत गरे।
यस विचारले हामी सबैलाई 'एउटा व्यक्ति कति चलाख वा बुद्धिमान छ?' वा 'उसको 'आइक्यू' लेभल कति छ?' भन्ने प्रश्नबाट 'एउटा व्यक्ति कुन–कुन तरिकाले चलाख वा बुद्धिमान छ?' भन्ने प्रश्नतर्फ केन्द्रित हुन प्रेरित गरेको छ।
गार्डनरका अनुसार हामी सबैमा बुद्धिमत्ताको फरक फरक प्रोफाइल हुन्छ, जसको अर्थ हामी केही क्षेत्रमा बलियो र केहीमा कमजोर हुन सक्छौं। यदि तपाईंको बच्चालाई कुनै परीक्षामा गाह्रो भइरहेको छ भने यसको अर्थ ऊ बुद्धिमान छैन भन्ने होइन। यसको अर्थ मात्र यो हुन सक्छ कि, उक्त परीक्षाले उसको विशेष क्षमता मापन गरेको छैन।
गार्डनरले पछि 'मल्टिपल इन्टेलिजेन्सेस: द थ्योरी इन प्राक्टिस (सन् १९९३)' भन्ने पुस्तकमार्फत बहु–बुद्धिमत्ताको अवधारणालाई वास्तविक कक्षाकोठा, विद्यालय र पाठ्यक्रम निर्माणमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पारे। विद्यार्थीमा रहेका फरक–फरक प्रकारका बुद्धिमत्तालाई कसरी पहिचान गर्ने र सोही अनुसार उनीहरूको क्षमता कसरी बढोत्तरी गर्ने भन्ने पक्षलाई सो पुस्तकले उल्लेख गरेको छ।
गार्डनरका अनुसार बुद्धिमत्ता एउटा मात्र स्थिर रूपमा नाप्न सकिने कुरा होइन। यो विभिन्न प्रकारका क्षमताहरूको समूह हो, जुन हरेक व्यक्तिमा फरक फरक रूपमा पाइन्छ।
उनका अनुसार ती बुद्धिमत्ताका निम्नलिखित ८ क्षेत्र छन्।
१. लिङ्ग्विस्टिक इन्टेलिजेन्स (भाषिक बुद्धिमत्ता) – यस्ता व्यक्ति अन्तरक्रियात्मक हुन्छन् र संवाद मन पराउँछन्। उनीहरू पढ्ने, लेख्ने, छलफल गर्ने तथा आफ्ना विचार व्यक्त गर्ने गतिविधिबाट राम्रोसँग सिक्छन्। कथा, संवाद, वादविवाद वा लेखन गतिविधिले उनीहरूको क्षमता प्रकट गर्न मद्दत गर्छ।
२. लजिकल–म्याथमेटिकल इन्टेलिजेन्स (तार्किक–गणितीय बुद्धिमत्ता)– यी व्यक्ति अंक, नियम/ढाँचा (प्याटर्न्स) र दिमाग लगाउने खेलमा रूचि राख्छन्। उनीहरू कारण–परिणाम बुझ्न, समस्या समाधान गर्न र तार्किक रूपमा सोच्न मन पराउँछन्। उदाहरण, प्रयोग र समस्या समाधानका गतिविधिबाट उनीहरूले प्रभावकारी रूपमा सिक्छन्।
३. म्युजिकल इन्टेलिजेन्स (सङ्गीत बुद्धिमत्ता)– यो ताल, आवाज र धुनप्रति प्राकृतिक रूचि भएका व्यक्तिमा देखिन्छ। उनीहरू गीत, लय, कविता वा संगीतसँग सम्बन्धित गतिविधिबाट छिटो सिक्छन्। पाठलाई गीत वा लयसँग जोड्दा सिकाइ अझ अर्थपूर्ण बन्छ।
४. स्पेसियल/भिजुअल इन्टेलिजेन्स (स्थानिक/दृश्य बुद्धिमत्ता)– पजल मिलाउन, चित्र कोर्न वा ब्लकबाट वस्तु बनाउन सिपालु व्यक्तिमा यो बुद्धिमत्ता देखिन्छ। उनीहरू चित्र, नक्सा, चार्ट, भिडिओ वा अन्य दृश्य सामग्रीमार्फत अवधारणा सजिलै बुझ्छन्।
५. किनेस्थेटिक इन्टेलिजेन्स (शारीरिक–गतिशीलता बुद्धिमत्ता)– यस्ता बच्चा शारीरिक क्रियाकलाप, खेलकुद वा वस्तु छोएर राम्रोसँग सिक्छन्। उनीहरू सुनेरभन्दा गरेर सिक्न रूचाउँछन्। भूमिका निर्वाह, प्रयोगात्मक कार्य र गतिविधिमा आधारित शिक्षण उनीहरूका लागि प्रभावकारी हुन्छ।
६. इन्टरपर्सनल इन्टेलिजेन्स (अन्तरवैयक्तिक बुद्धिमत्ता)– यो अरूका भावना बुझ्ने र समूहमा सहकार्य गर्ने क्षमता हो। यस्ता विद्यार्थी समूहकार्य, सहकारी सिकाइ र छलफलमार्फत राम्रोसँग सिक्छन्।
७. इन्ट्रापर्सनल इन्टेलिजेन्स (आत्मबोधात्मक बुद्धिमत्ता)– यी बालबालिका आत्मचिन्तनशील हुन्छन् र स्वतन्त्र रूपमा काम गर्न रुचाउँछन्। उनीहरू आत्मचिन्तन, व्यक्तिगत लक्ष्य निर्धारण र स्वअध्ययनमार्फत प्रभावकारी रूपमा सिक्छन्।
८. न्याचुरलिस्टिक इन्टेलिजेन्स (प्राकृतिक बुद्धिमत्ता)– प्रकृति, वातावरण, जनावर र वनस्पतिसँग सम्बन्धित अनुभवबाट सजिलै सिक्ने बच्चा यसअन्तर्गत पर्छन्। वास्तविक वातावरणसँग जोडिएको सिकाइले उनीहरूको रूचि र सिकाइ दुवै बढाउँछ।
गार्डनरका अनुसार प्रत्येक व्यक्तिमा सबै प्रकारका बुद्धिमत्ता कुनै न कुनै मात्रामा हुन्छन्, तर तिनको विकास र प्रयोग फरक फरक हुन्छ। त्यसैले मानिसहरू समान तरिकाले बुद्धिमान हुँदैनन्, बरू फरक फरक तरिकाले बुद्धिमान हुन्छन्।
कुनै विद्यार्थी कुनै क्षेत्रमा कमजोर देखिनु भनेको उसले सिक्न सक्दैन भन्ने होइन; उसलाई सिक्ने उपयुक्त तरिका र अवसर आवश्यक हुन सक्छ।
यस सिद्धान्तको मुख्य सन्देश भनेको हरेक विद्यार्थीले सिक्न सक्छ, तर सबै विद्यार्थीले एउटै क्षेत्रमा र एकै तरिकाले सिक्दैनन् भन्ने हो।
जब अभिभावकले आफ्नो बच्चामा यी क्षमताहरूको अनुपम मिश्रण छ भन्ने कुरा बुझ्छन्, तब उनीहरूले विद्यालयमा उच्च ग्रेड वा नम्बरको चिन्ता गर्न छोडेर आफ्नो बच्चा वास्तवमै कुन क्षेत्रमा अब्बल छ भनेर खोज्न थाल्छन्।
सिकाइका शैली र तरिका
जसरी बुद्धिमत्ताका विभिन्न प्रकार हुन्छन्, त्यसरी नै सिकाइका शैली र तरिका पनि फरक हुन्छन्। सिकाइको शैली भनेको कुनै व्यक्तिले सोच्ने, जानकारीलाई बुझ्ने र आफूले सिकेका कुराहरू देखाउने 'मनपर्ने तरिका' मात्र हो। धेरैजसो बच्चाले जुनसुकै शिक्षण विधिबाट पनि काम चलाउन सक्छन्, तर केही बच्चालाई सफल हुन विशेष शैली र तरिका नै चाहिन्छ।
रिचर्ड बेन ब्यान्डलर र जोन ग्राइन्डरले सन् १९७९ मा प्रकाशन गरेको पुस्तक 'फ्रग्स इन्टु प्रिन्सेस' मा व्याख्या गरेको 'भी–ए–के' मोडल सिकाइलाई बुझ्ने सबैभन्दा लोकप्रिय तरिकाहरूमध्ये एक हो, जसको अर्थ भिजुअल (हेरेर), अडिटोरी (सुनेर) र किनेस्थेटिक (गरेर/छोएर) भन्ने हुन्छ।
१. भिजुअल लर्नर हेरेर सिक्न मन पराउँछन् र उनीहरूलाई रेखाचित्र, नक्सा तथा पोस्टरहरू मनपर्छ। एवं, केही कुरा सम्झने प्रयास गर्दा उनीहरू अक्सर माथितिर हेर्ने गर्छन्।
२. अडिटरी लर्नर सुनेर सबैभन्दा राम्रोसँग सिक्छन्। उनीहरू कथा, छलफल तथा ठूलो स्वरमा कुराहरू दोहोर्याउन मन पराउँछन्, जसले गर्दा सोच्ने बेलामा उनीहरू अक्सर आफ्नो टाउको ढल्काउँछन् वा आँखा दायाँ–बायाँ सार्छन्।
३. किनेस्थेटिक लर्नर काम गरेर देखाउने वा 'डुअर्स' खालका हुन्छन्, जसलाई कुनै पनि कुरा वास्तवमै बुझ्न वस्तुहरू छुनु र यताउता चल्नुपर्ने हुन्छ। उनीहरूलाई शान्त कक्षाकोठामा लामो समयसम्म बसिरहन धेरै गाह्रो हुन्छ र कुराहरू बुझ्ने क्रममा उनीहरू तलतिर हेर्न सक्छन्।
ब्यान्डलर र ग्राइन्डरका अनुसार पनि कोही पनि असक्षम वा कमजोर हुँदैनन्। बरू उनीहरूले क्षमता प्रकट गर्ने सही तरिका मात्र भेटेका हुँदैनन्।
गेल वुडले आफ्नो प्रसिद्ध पुस्तक 'हाउ टु स्टडी (सन् २०००)'मा सिकाइका थप दुई तरिका— क्रमिक (सिक्वेन्सियल) र समग्र (ग्लोबल) सिकाइबारे उल्लेख गरेका छन्।
क्रमिक सिक्नेहरू कामलाई निश्चित क्रम वा चरणमा मिलाएर सिक्न मन पराउँछन् र उनीहरू क्रमबद्ध प्रक्रियाबाट सिक्दा सहज महसुस गर्छन्। तर समग्र सिक्नेहरू पहिले विषयवस्तुको पूर्ण मानसिक चित्र बनाएर सम्पूर्ण विषयलाई एकै पटक बुझ्न चाहन्छन् र उनीहरूलाई समग्र सन्दर्भ बुझ्दा सिकाइ सजिलो हुन्छ।
पीटर हनी र एलन मम्फोर्डले आफ्नो पुस्तक 'द म्यानुअल अफ लर्निङ स्टाइल्स (सन् १९८२)' मा सिकाइ शैलीहरूको अवधारणालाई अझ विस्तार गर्दै सिकाइलाई अभिव्यक्त गर्ने तरिकाका आधारमा व्यक्ति चार किसिमका हुने बताएका छन्—एक्टिभिस्ट, रिफ्लेक्टर, थियरिस्ट र प्राग्माटिस्ट।
- एक्टिभिस्ट (अभियानी)– प्रत्यक्ष अनुभव र व्यावहारिक कार्यमार्फत सिक्न रूचाउँछन् र नयाँ अनुभवमा अरूलाई पनि संलग्न गराउँदै कामैबाट सिक्न मन पराउँछन्।
- रिफ्लेक्टर (चिन्तक)– कार्य सुरू गर्नुअघि ध्यानपूर्वक अवलोकन गरेर सोच्छन्।
- थियरिस्ट (सिद्धान्तवादी)– तार्किकता, नमूना वा मोडल तथा व्यवस्थित संरचनामा आधारित सिकाइ मन पराउँछन्।
- प्राग्माटिस्ट (प्रयोजनवादी)– कुनै विचार वा ज्ञान वास्तविक जीवनमा कत्तिको प्रयोगात्मक र उपयोगी हुन्छ भन्ने कुरामा केन्द्रित भएर सिक्न चाहन्छन्।
यी वर्गीकरण प्रसिद्ध स्विस मनोवैज्ञानिक कार्ल जुङले सन् १९२१ मा प्रकाशित गरेको 'पर्सनालिटी टाइप्स' पुस्तकमा प्रस्तुत व्यक्तित्व सम्बन्धी सिद्धान्तमा आधारित छन्।
यसैमा आधारित भएर अमेरिकी आमा–छोरी क्याथरिन ब्रिग्स र इसाबेल ब्रिग्स मायर्सले २० वर्षको अनुसन्धानपछि सन् १९४४ मा व्यक्तित्व परीक्षणको साधन 'मायर्स–ब्रिग्स टाइप इन्डिकेटर (एमबीटीआई)' प्रकाशन गरे, जसको परिमार्जित स्वरूप हाल विश्वभर प्रचलनमा छ।
उनीहरूका अनुसार व्यक्तित्व र सिकाइका आधारमा मानिस ८ प्रकारका हुने कुरा उल्लेख छ— एक्स्ट्रोभर्ट, इन्ट्रोभर्ट, सेन्सर, इन्ट्युइटर, थिंकर, फिलर, जजर र पर्सिभर।
- एक्स्ट्रोभर्ट (बहिर्मुखी)– अरूसँग घुलमिल गर्न, छलफल गर्न र नयाँ कुरा तुरून्तै प्रयोग गरेर सिक्न रूचाउँछन्।
- इन्ट्रोभर्ट (अन्तर्मुखी)– कुनै काम गर्नुअघि राम्रोसँग सोच्न, मनन गर्न र आफ्नै विचारभित्र केन्द्रित हुन मन पराउँछन्।
- सेन्सर्स (इन्द्रीयकेन्द्रित)– तथ्य, अनुभव र व्यावहारिक कुरामा ध्यान दिन्छन्।
- इन्ट्युइटर (अन्तर्दृष्टिकेन्द्रित)– कल्पना, सम्भावना र नयाँ विचारतर्फ बढी आकर्षित हुन्छन्।
- थिंकर (चिन्तक)– निर्णय लिँदा तर्क, नियम र वस्तुगत आधारलाई महत्त्व दिन्छन्।
- फिलर (भावनाकेन्द्रित)– मानवीय सम्बन्ध, भावना र अरूको अवस्थालाई ध्यानमा राख्छन्।
- जजर (निर्णयकेन्द्रित)– योजनाबद्ध रूपमा काम गर्न र कामलाई समयमै टुंग्याउन रूचाउँछन्।
- पर्सिभर् (ग्रहणकर्ता)– प्रत्यक्षीकरणमार्फत थप जानकारी सङ्कलन गर्न र परिस्थिति अनुसार निर्णय गर्न मन पराउँछन्।
समग्रमा, यो वर्गीकरणले पनि मानिस फरक फरक तरिकाले सिक्ने, सोच्ने र निर्णय गर्ने भएकाले सबैका लागि एउटै सिकाइ शैली उपयुक्त नहुन सक्छ भन्ने तर्क थप बलियो बनाउँछ।
सिकाइका कठिनाइहरू
कहिलेकाहीँ बच्चाले नसिक्नुको कारण उनीहरूको तरिका वा शैली नभएर सिकाइको कुनै विशेष कठिनाइ हुन सक्छ। शिक्षक र अभिभावकले यो बुझ्नु धेरै महत्त्वपूर्ण छ कि यी समस्या कम बुद्धिमत्ताका लक्षण होइनन्। बरू यो दिमागले जानकारी लिने, बुझ्ने वा अभिव्यक्त गर्ने तरिकामा भएको भिन्नता मात्र हो। सही सहयोग र उपयुक्त शिक्षण विधि पाएमा यस्ता बच्चा पनि राम्रोसँग सिक्न सक्छन्।
आम सिकाइ कठिनाइमध्ये एक 'डिस्लेक्सिया' हो, जसले मुख्य रूपमा पढ्ने र हिज्जे लेख्ने क्षमतालाई असर गर्छ। उनीहरूलाई अक्षर, शब्द र ध्वनिबीचको सम्बन्ध बुझ्न तथा छिटो र शुद्ध रूपमा पढ्न कठिनाइ हुन सक्छ। यो प्रायः वंशानुगत रूपमा देखिन सक्छ। यो कुनै मानवीय कमजोरी वा गल्तीका कारण देखिने भने होइन।
अर्को सिकाइ कठिनाइ 'डिस्क्याल्कुलिया' हो, जसले अंक, गणना र गणितीय अवधारणा बुझ्न कठिन बनाउँछ।
त्यस्तै, 'डिस्ग्राफिया' भएका बच्चालाई लेखाइ, अक्षर मिलाउने वा आफ्ना विचारलाई लिखित रूपमा व्यक्त गर्न गाह्रो हुन सक्छ।
त्यसैगरी अर्को समस्या 'एटेन्सन–डेफिसिट/हाइपरएक्टिभिटी डिसअर्डर (एडिएचडी)' हो, जसले व्यक्तिको ध्यान केन्द्रित गर्ने, शान्त रूपमा बस्ने र आवेग (इम्पल्स) नियन्त्रण गर्ने क्षमतामा असर पुर्याउँछ। यस्ता बालबालिकामा बौद्धिक क्षमता सामान्य वा राम्रो भए तापनि उनीहरूलाई मस्तिष्कको कार्यप्रणालीका कारण ध्यान लामो समय टिकाइराख्न, एउटै काममा निरन्तर केन्द्रित हुन र व्यवहार नियन्त्रण गर्न कठिनाइ हुन्छ।
कतिपयमा 'अडिटोरी प्रोसेसिङ डिसअर्डर' हुन सक्छ। यस अवस्थामा आँखा र कानले सामान्य रूपमा काम गर्छन्, तर मस्तिष्कले सुनेका आवाजहरूलाई सही तरिकाले बुझ्न र व्याख्या गर्न धेरै संघर्ष गर्नुपर्छ। यसले गर्दा उनीहरूलाई भनिएका कुरा वा निर्देशन पालना गर्न र पृष्ठभूमिमा आउने आवाज वा हल्लालाई फिल्टर गर्न गाह्रो हुन्छ।
त्यसैगरी 'अटिजम स्पेक्ट्रम डिसअर्डर' भएका बच्चालाई सामाजिक सम्बन्ध बुझ्न, संवाद गर्न वा परिवर्तनसँग अनुकूल हुन कठिनाइ हुन सक्छ, तर उनीहरू कुनै विशेष क्षेत्रमा अत्यन्तै सक्षम पनि हुन सक्छन्। उनीहरू प्रायः नियमित दिनचर्या मन पराउँछन् र कुनै विषयमा गहिरो ज्ञान राख्न सक्छन्।
यी सबै सिकाइ कठिनाइहरूलाई सही रूपमा बुझी उपयुक्त सहयोग प्रदान गर्न सकेमा हरेक बच्चाले आफ्नै तरिकाले उत्कृष्ट प्रगति गर्न सक्छ।
आधारभूत सिकाइ वातावरण
हाम्रो दिमागले सबैभन्दा राम्रोसँग काम गर्न निश्चित कुरा आवश्यक पर्छ।
एलन प्रिचार्डले आफ्नो पुस्तक 'वेज अफ लर्निङ: लर्निङ थिअरिज एन्ड लर्निङ स्टाइल्स इन द क्लासरूम (सन् २००९)' मा दिमागी प्रक्रियालाई सक्रिय र प्रभावकारी बनाउन कक्षाकोठा तथा घरको वातावरण अत्यन्त महत्त्वपूर्ण हुने कुरा उल्लेख गरेका छन्।
उनका अनुसार बालबालिकाले राम्रोसँग सिक्न उनीहरूको शारीरिक, मानसिक र भावनात्मक आवश्यकता अनुसार अनुकूल वातावरण सिर्जना गर्न आवश्यक हुन्छ, जसलाई 'दिमाग–अनुकूल' (ब्रेन–कम्पाटिबल) वातावरणका रूपमा बुझ्न सकिन्छ। यस्तो वातावरणले सिकाइलाई सहज, अर्थपूर्ण र दीर्घकालीन बनाउँछ।
यसका लागि निम्न पक्ष आधारभूत सर्त हुन्।
पानी र पोषण– दिमाग ७५ प्रतिशत पानीले बनेको हुन्छ। शरीरमा थोरै मात्र पानीको कमी हुँदा पनि ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। राम्रो सिकाइका लागि बच्चाको शरीर र दिमाग दुवै स्वस्थ हुनुपर्छ, त्यसैले पर्याप्त पानी पिउनु र सन्तुलित खाना खानु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यसले सबै बच्चाको दिमागलाई सोच्न आवश्यक 'इन्धन' प्रदान गर्छ र सिकाइ सम्भव बनाउँछ।
अक्सिजन र हिँडडुल– धेरै समयसम्म एकै ठाउँमा बसिरहँदा दिमागमा जाने अक्सिजनको मात्रा कम हुन्छ, जसले सिकाइमा नजानिँदो गरी कठिनाइ ल्याउन सक्छ। शरीर चलाउन लिइने छोटा विश्रामहरूले दिमागलाई 'रिसेट' गर्न, ताजा बनाउन र ध्यान सुधार गर्न मद्दत गर्छ। त्यसैले हिँडडुल र गतिविधि सबै विद्यार्थीको सिकाइ सक्रिय बनाउन आवश्यक हुन्छ।
तनावमुक्त जागरुकता (रिल्याक्स्ड अलर्ट्नेस)– जब बच्चाले असुरक्षित वा अत्यधिक तनाव महसुस गर्छन्, उनीहरूको दिमागले कम काम गर्न थाल्छ र सिकाइ कमजोर हुन्छ। राम्रो सिकाइका लागि बच्चाले सुरक्षित महसुस गर्नुका साथै केही नयाँ चुनौती पनि पाउनुपर्छ।
गल्ती गर्दा डराउनु नपर्ने वातावरणले सबै बच्चालाई स्पष्ट रूपमा सोच्न र सिक्न सक्षम बनाउँछ। विद्यालयले डरमुक्त र सहयोगी कक्षाकोठा वातावरण बनाउनुपर्छ भने अभिभावकले घरमा बच्चाको गल्तीलाई सजाय होइन, सिकाइको अवसरको रूपमा लिनुपर्छ।
संवेग र भावनाको शक्ति– जब हामी रमाइलो र खुसी महसुस गर्छौं वा कुनै विषयप्रति उत्साहित हुन्छौं, तब हामी धेरै राम्रोसँग सिक्छौं। सकारात्मक भावना, माया, खुसी, खुला सञ्चार, उत्साह र जिज्ञासाले सिकाइलाई बलियो बनाउँछ। तसर्थ, अभिभावक र शिक्षकसँगको सकारात्मक संवेगात्मक सम्बन्धले बच्चाले कति सिक्छ भन्ने कुरामा ठूलो फरक पार्छ र यसले सबै बालबालिकाको सिकाइलाई सम्भव र प्रभावकारी बनाउँछ।
यही सन्दर्भमा नर्मन डोइज (२००७) को पुस्तक 'द ब्रेन द्याट चेन्जेस इटसेल्फ' र एरिक जेन्सन (१९९८) को 'टिचिङ विथ द ब्रेन इन माइन्ड' दुवैले दिमागी प्रक्रिया र सिकाइबीचको गहिरो सम्बन्धलाई स्पष्ट पार्छन्।
डोइजका अनुसार दिमाग स्थिर नभई लचिलो (प्लास्टिक) हुन्छ, जसले गर्दा प्रत्येक बालबालिकाले नयाँ अनुभव, अभ्यास र सिकाइमार्फत आफ्नो दिमागी क्षमता विकास गर्न सक्छन्। यससँगै दिमागमा नयाँ न्युरल सम्बन्ध (कनेक्सन) निरन्तर निर्माण भइरहन्छन्। यसलाई न्युरोप्लास्टिसिटी भनिन्छ।
त्यसैगरी, जेन्सनले सिकाइलाई न्युरल मार्ग (न्युरल पाथवेहरू) निर्माण र सुदृढ गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्दै प्रत्यक्षीकरण, अभ्यास र सही वातावरणले सिकाइलाई बलियो बनाउने कुरा जोड दिन्छन्।
दुवै पुस्तकले शिक्षक र अभिभावकलाई यो मुख्य सन्देश दिन्छन् कि सिकाइ क्षमता स्थिर वा जन्मजात रूपमा सीमित हुने कुरा होइन; सही सहयोग, अभ्यास र अवसर पाएमा प्रत्येक बालबालिकाले दिमागी क्षमतामा सुधार गर्न सक्छन् र 'सामान्य' भनिएका बालबालिका अनुभव र अभ्यासले पछि 'अब्बल' वा 'जिनियस' हुन सक्छन्।
त्यसैले कुनै पनि विद्यार्थीलाई 'सिक्न नसक्ने' भनेर होइन, 'अझै सिकिरहेको' भनेर बुझ्नुपर्छ।
सारमा, अभिभावक र शिक्षक दुवैको पहिलो दायित्व बच्चाको विशिष्टता र अद्वितीय बुद्धिमत्तालाई चिन्नु तथा सोही अनुरूपको सुरक्षित वातावरण, सिकाइ शैली र सिकाइका वैकल्पिक अवसरको वातावरण सिर्जना गर्नु हो। सबैको सिकाइ सम्भव भए पनि प्रत्येक बच्चाको रोजाइ, यात्रा र गति फरक हुन्छ।
तसर्थ, शिक्षकले विषयवस्तुको प्रतिनिधित्व र प्रस्तुतीकरण गर्दा, विद्यार्थीलाई सिकाइ क्रियाकलाप छनोट गर्दा र विद्यार्थीले सिकेको कुराको प्रस्तुतीकरण गर्ने अवसर दिँदा साझा विधि मात्र प्रयोग नगरी विभिन्न विकल्प प्रयोग गर्नुपर्छ।
डेभिड रोज र एन् मेयरले आफ्नो पुस्तक 'युनिभर्सल डिजाइन फर लर्निङ: थ्योरी एन्ड प्राक्टिस (सन् २०१४)' मा उल्लेखित तीन पक्ष—विषयवस्तुको प्रतिनिधित्व र प्रस्तुतीकरण, सिकाइ क्रियाकलाप छनोट र सिकाइको प्रस्तुतीकरणमा समावेश हुनुपर्ने बहुविधि (मल्टिपल मिन्स अफ रिप्रेजेन्टेसन, मल्टिपल मिन्स अफ एंगेजमेन्ट र मल्टिपल मिन्स अफ एक्सन एन्ड एक्सप्रेसन) लाई 'युनिभर्सल डिजाइन फर लर्निङ (युडिएल)' भनेका छन् र यो हाल विश्वभर शिक्षकको पेसागत विकास कार्यक्रमको अभिन्न विषय बनेको छ।
वास्तवमा, सिकाइ एउटै साँचोमा ढालिने कारखानाको उत्पादन होइन, यो त प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार र प्राकृतिक प्रक्रिया हो। सिकाइको मुख्य समस्या बच्चाको क्षमतामा होइन, हाम्रो परम्परागत पाठ्यक्रम, एकोहोरो शिक्षण विधि र 'एउटै ढाँचामा सबैलाई ढाल्ने' त्रुटिपूर्ण दृष्टिकोणमा छ। यसले गर्दा हाम्रो पद्धतिले धेरै बालबालिकालाई अन्यायपूर्ण रूपमा 'कमजोर' वा 'असफल' घोषणा गरिरहेको छ।
तसर्थ, अबको मूल प्रश्न बच्चाले किन सिकेन भन्ने होइन, बरू हामीले उसलाई उसको विशिष्टता अनुसारको वातावरण र विकल्प दिन सक्यौं कि सकेनौं' भन्ने हुनुपर्छ।
अभिभावक, शिक्षक र नीतिनिर्माता सबैका लागि स्पष्ट सन्देश छ— हरेक बच्चा फरक विशेषता र सम्भावनाले भरिएको हुन्छ; सही मार्गदर्शन, सहयोग र विकल्प पाएमा कुनै पनि बच्चा सिक्न असमर्थ हुँदैन।
(लेखक पेशल खनाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक र नेपाल शिक्षाशास्त्री समाजका अध्यक्ष हुन्)