बेइजिङ डायरी
चिनियाँहरूका लागि जुलाई १ सर्वाधिक महत्वको दिन हो।
सन् १९२१ जुलाई १ मा एक दर्जन चिनियाँ युवाहरूले श्रमिक तथा किसान लगायत सर्वहारा वर्गका जनताको मुक्तिका लागि चीनको दक्षिण पूर्वमा पर्ने शाङहाईबाट एउटा अभियान सुरू गरे।
त्यही अभियानले चिनियाँ कम्युनिस्ट पार्टी 'सिपिसी' स्थापना गर्यो।
यति बेला सिपिसी १०५ औं वार्षिकोत्सव मनाउँदैछ। ७७ वर्षदेखि अविछिन्न चिनियाँ सत्तामा रहेको सिपिसीको स्थापना दिवस भएकाले जुलाई १ चिनियाँहरूका लागि सर्वाधिक महत्वको दिन भएको हो।
सन् २०१७ अक्टोबर १८ देखि २४ तारिखसम्म बेइजिङमा सिपिसीको १९ औं राष्ट्रिय महाधिवेशन भएको थियो। महाधिवेशन सम्पन्न भएको एक साता नबित्दै अक्टोबर ३१ मा सिपिसीका महासचिव सी चिनफिङले केन्द्रीय समिति राजनीतिक ब्युरोका नवनिर्वाचित स्थायी समितिका सदस्यहरूलाई लिएर शाङहाई र च्याक्सिङको भ्रमण गरेका थिए।
नेता सीले ती स्थानमा गएर सिपिसी स्थापनाको इतिहास नबिर्सिने र तत्कालीन राजनीतिक संकल्प सधैं आत्मसात गर्ने घोषणा पनि गरेका थिए।
चिनियाँ नेताहरूले सामूहिक रूपमा अवलोकन गरेर चीन र चिनियाँलाई मात्र नभई विश्वलाई नै महत्वपूर्ण सन्देश दिएको यस क्षेत्रको विशेष अर्थ छ। चिनियाँ नेता सी चिनफिङले आफ्ना सम्बोधनहरूमा बारम्बार दोहोर्याउने वाक्यांश 'इतिहासको स्मरण' हो।
त्यति बेला चिनियाँहरू इतिहासको स्मरण गर्न उक्त ठाउँ पुगेका थिए।
महाधिवेशनमा व्यस्त तत्कालीन सिपिसी नेताहरू
सी चिनफिङसँगै चिनियाँ नेताहरूले सामूहिक रूपमा अवलोकन गरेको शाङहाईको त्यही गल्ली हो, जसले सिपिसी जन्माएको थियो। त्यसैले यो स्थल चीनका लागि मात्र होइन, विश्वकै लागि अध्ययनको केन्द्र बनेको छ।
शाङहाई चीनकै सबभन्दा विकसित आधुनिक वाणिज्य केन्द्र हो। गगनचुम्बी महलहरूले भरिभराउ शाङहाई अवलोकनमा जाने व्यक्तिहरू टोपी खस्ने भवन छोडेर हुआनफू जिल्लास्थित चिटिक्कको दुई तले भवनतिर झुम्मिन्छन्।
शिखुमन भवन त्यही घर हो जहाँ १०५ वर्ष अगाडि सिपिसी जन्मिएको थियो।
शाङहाईको हुआनफू जिल्लाको नानछाङ मार्गमा राखिएको एक सूचनापाटीमा लेखिएको छ 'सिपिसी स्थापना स्थल'।
सूचनापाटी राखिएको ठाउँबाट दुई किलोमिटरको दुरीमा रहेको भवन चाहिँ 'नवयुवा' पत्रिकाको सम्पादकीय कार्यालय थियो।
नवयुवा त्यति बेला एउटा प्रगतिशील पत्रिका थियो जसले चिनियाँ युवालाई राष्ट्र निर्माणका लागि प्रोत्साहित गर्थ्यो। समाज परिवर्तनका लागि युवाहरूको जिम्मेवारी बोध गराउँदै देश निर्माण र विकासको बहस चलाउँथ्यो।
त्यही बहस र छलफलमा सहभागी युवाहरूकै सक्रियतामा सिपिसी स्थापना भएको हो।
एउटा समान्य गल्लीमा स्थापित नवयुवा पत्रिकाको अफिसबाट सुरू भएको बहसले चिनियाँ इतिहासमा यस्तो बाटो बनायो, जसले आज गौरवशाली १०५ वर्षको इतिहास निर्माण गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा एक्काइसौं शताब्दीमा उदाइरहेको चीनको भविष्य यही गल्लीमा कोरिएको थियो।
चीनमा क्रान्तिको बिउ रोप्ने अभियानले सिपिसी स्थापना गरायो।
यही भवनमा बसेर छन तुसिउले कम्युनिस्ट पार्टीको घोषणापत्रको शुद्धाशुद्धी हेरेका थिए। घोषणापत्र चिनियाँ भाषाम छन वाङताओले अनुवाद गरेका थिए। घोषणापत्रको पहिलो प्रकाशन अहिले जम्मा १२ प्रति मात्र प्राप्त छ।
नवयुवा पत्रिकाको कार्यालयदेखि दुई किलोमिटरको दुरीमा शिखुमन भवन पर्छ। यही भवनमा सिपिसीको पहिलो राष्ट्रिय महाधिवेशन भएको थियो।
अहिले यो भवन संग्रहालयका रूपमा छ। यसको संग्रहालय सिपिसीको पहिलो राष्ट्रिय महाधिवेशन भएको ऐतिहासिक स्थल, शपथ ग्रहण हल र नयाँ प्रदर्शनी भवन मिलेर बनेको छ।
यो राष्ट्रिय प्रथम श्रेणीको संग्रहालय र राष्ट्रिय 'फाइभ–ए' स्तरीय पर्यटक आकर्षण हो। फाइभ–ए भनेको चीनका सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य हो। यो संग्रहालयलाई चीनमा देशभक्ति, भ्रष्टाचार विरोधी र राष्ट्रिय रक्षा शिक्षाका लागि राष्ट्रिय आधार मान्ने गरिन्छ।
पहिलो महाधिवेशनमा सहभागीहरू
सन् १९२१ जुलाई २३ मा, यही स्थानमा सिपिसीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। यस ऐतिहासिक बैठकमा चीनका विभिन्न स्थानका १३ प्रतिनिधिहरू सहभागी भएका थिए। त्यति बेला सिपिसीका जम्मा ५० मात्र सदस्य थिए।
शिखुमनलाई सन् १९५२ मा ऐतिहासिक स्थल मानेर मर्मतपछि संग्रहालयका रूपमा सर्वसाधारणका लागि खोलिएको थियो। तर पनि यसको उति चर्चा भएको थिएन।
सन् २०१९ अगस्ट ३१ मा नयाँ भवन निर्माण सुरू भई सन् २०२१ जुन ३ मा यसलाई औपचारिक रूपमा उद्घाटन गरियो। नयाँ भवनको कुल क्षेत्रफल लगभग ९,६०० वर्ग मिटर छ। तब यसको चर्चा र लोकप्रियता बढेको हो।
संग्रहालयमा 'महान सुरूआत: सिपिसीको स्थापना इतिहास प्रदर्शनी' नयाँ भवनको भूमिगत तलामा छ, जसको क्षेत्रफल लगभग ३,७०० वर्ग मिटर छ। यो प्रदर्शनी 'प्रारम्भिक लक्ष्य' नामक नारामा केन्द्रित छ र यसमा ७ वटा खण्डहरू छन्। प्रदर्शनीमा ऐतिहासिक कलाकृति, तस्बिर, भिडिओ, तैल चित्रकला, मूर्तिकला, यथार्थपरक पुनर्निर्माण र बहु–मिडिया श्रव्यदृश्य माध्यमहरू प्रयोग गरिएको छ।
संग्रहालयमा १२ लाख ८० हजारभन्दा बढी वस्तु छन्। त्यहाँ 'कम्युनिस्ट घोषणापत्र' का ७२ विभिन्न संस्करणहरू प्रदर्शनी गरिएको छ, जसमध्ये छन वाङताओद्वारा अनुवादित पहिलो पूर्ण चिनियाँ संस्करण पनि समावेश छ।
संग्रहालयको सबभन्दा महत्वपूर्ण सामग्री भनेको नै 'कम्युनिस्ट घोषणापत्र' को प्रारम्भिक संस्करणहरू हुन्। विशेष गरी सन् १९२० का संस्करणहरूलाई 'प्रमुख सम्पत्ति' मानिएको छ।
सन् १९२१ जुलाई २३ का दिन सिपिसीको पहिलो राष्ट्रिय महाधिवेशन शाङहाईको वाङ्छी लु १०६ नम्बर (हालको शिन्क लु ७६) मा रहेको ली हानचुनको घरमा सुरू भएको थियो। उक्त घरलाई शिखुमन भनिन्थ्यो।
कार्ल मार्क्सको हस्तलिखित घोषणापत्र (दायाँ) र सिपिसीको घोषणा।
पहिलो राष्ट्रिय महाधिवेशन भएको डुंगा
त्यो समयमा शाङहाई फ्रान्सको उपनिवेश थियो। फ्रान्सेली अधिकार क्षेत्रमा रहेको शिखुमनको अर्थ चाहिँ 'शैलीको ढोका' हो।
उक्त घरलाई गोप्य रूपमा अर्थात् भूमिगत रूपमा राष्ट्रिय महाधिवेशन गर्न छनोट गरिएको थियो।
जुलाई २३ देखि ३० सम्म सोही भवनमा महाधिवेशन चल्यो। तर जुलाई ३० दिउँसो बैठक चलिरहँदा अचानक एक अपरिचित व्यक्ति (फ्रान्सेली गुप्तचर) बैठक कक्षमा पस्यो। सुरक्षाको दृष्टिले बैठक तुरून्त स्थगित गरियो र सबै सदस्यहरू त्यहाँबाट भाग्न सफल भए।
त्यसको केही मिनेटपछि नै फ्रान्सेली पुलिस आएर घर खानतलासी गर्यो तर कसैलाई पनि पक्रिन सफल भएन।
शिखुमनबाट महाधिवेशनलाई शाङहाईकै च्याक्सिङमा सारियो। त्यहाँ सार्नुको पछाडि पनि रोचक कारण छ।
उक्त महाधिवेशनका एक जना प्रतिनिधि ली (शिखुमनका तत्कालीन मालिक) की पत्नी वाङ हुइवु च्याक्सिङकी स्थानीय बासिन्दा थिइन्। उनकै सुझावमा बाँकी कामका लागि च्याक्सिङ नानहु (दक्षिणी ताल) मा सारियो।
सन् १९२१ अगस्ट सुरुतिर महाधिवेशनका प्रतिनिधिहरू रेलमा चढेर च्याक्सिङ पुगे र पहिले नै भाडामा ठिक्क लिइएको एउटा डुंगामा चढेर बैठक जारी राखे। सोही डुंगामा बसेर उनीहरूले 'पार्टीको पहिलो घोषणापत्र' पारित गरे र केन्द्रीय नेतृत्व पनि चयन गरे। अनि सिपिसी स्थापनाको औपचारिक घोषणा भयो।
सिपिसी स्थापना भएको शिखुमनलाई नै संग्रहालय बनाइएको हो। महाधिवेनको बाँकी भाग रहेको च्याक्सिङ नानहुको डुंगा पनि संरक्षण गरेर राखिएको छ।
खासमा सिपिसीको स्थापनाकालमा महाधिवेशन भएको डुंगा नै चाहिँ संरक्षण गरिएको होइन। किनभने सन् १९४९ अक्टोबर १ मा सिपिसी चीनको सत्तामा आउँदा उक्त डुंगा नस्ट भइसकेको थियो। सन् १९५९ मा ऐतिहासिक महत्व बोकेको उक्त डुंगाको प्रतिकृति बनाइयो।
महाधिवेशन स्थलको एउटा कोठा
चीनले सन् १९५८ मा स्मारकका रूपमा डुंगा पुनः निर्माण गर्ने निर्णय गर्यो। तत्कालीन प्रत्यक्षदर्शी वाङ हुइवुको स्मृतिमा आधारित भएर पहिलो राष्ट्रिय महाधिवेशनका प्रतिनिधि तोङ पिवुले स्वीकृत गरेपछि डुंगा तयार भएको थियो।
अध्यक्ष माओ चतोङले अनुमोदन गरेपछि डुंगा प्रदर्शनीमा राखिएको हो।
यो लगभग १६ मिटर लामो र ३ मिटर चौडा छ। यसलाई हरेक वर्ष सानो मर्मत, दुई वर्षमा ठूलो मर्मत गरिन्छ। हरेक वर्ष हुने मर्मतमा १० पटकभन्दा बढी तोरीको तेल लगाएर काठको संरक्षण गरिन्छ भने हरेक दुई वर्षमा ६ सयभन्दा बढी काठका टुक्राहरू खोलेर सफा गरिन्छ।
सन् १९५९ मा बनाइएको यो प्रतिकृति डुंगा अहिले पनि चच्याङ प्रान्तको च्याक्सिङ सहरस्थित 'नानहु' तालको मध्य भागमा राखिएको छ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष सन् २०२१ को शुभकामना मन्तव्यमा सिपिसीको स्थापनालाई मार्मिक र प्रतीकात्मक रूपमा व्यक्त गरेका थिए।
उक्त वर्ष सिपिसीले शतवार्षिकोत्सव मनाउँदै थियो।
सीले शुभकामना मन्तव्यमा भनेका थिए, 'सन् १९२१ मा शाङहाईमा तैरिएको सानो रातो अहिले विशाल जहाज बनेर समुद्रमा यात्रा गरिरहेका छ।'
१०५ वर्ष पहिले जम्मा ५० जना सदस्य भएको सिपिसीमा आज १० करोड ९० लाख सदस्य छन्। तीमध्ये ३ करोड १० लाख अर्थात् लगभग ३१ प्रतिशत महिला छन्।
सन् २०२३ डिसेम्बरसम्म सिपिसीका ५१ लाख ७६ हजार आधारभूत संगठन छन्। सन् २०२२ को दाँजोमा एक लाख ११ हजार थप (२.२ प्रतिशतले बृद्धि) भएको सिपिसीको वेबसाइटमा उल्लेख छ।
त्यसैगरी सिपिसीको आधारभूत तहका पार्टी समितिको संख्या २ लाख ९८ हजार र मुख्य विभागको संख्या ३ लाख २५ हजार पुगेको जनाइएको छ।
सिपिसीको शाखा विभागको संख्या ४५ लाख ५४ हजार थियो। उल्लिखित तथ्यांकमा तीन वर्षमा केही विस्तार भएको हुनुपर्छ।
सिपिसी विश्वमै सबैभन्दा लामो समय सत्तामा रहने राजनीतिक दल हो। यसको नेतृत्वमै ८० करोडभन्दा बढी चिनियाँहरू गरिबीबाट मुक्त भएका छन् र आज चीन समृद्धको बाटोमा यात्रारत छ।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)