भिडभाडको मौकामा महिलाहरूले घाँटीमा लगाएका सुनका गरगहना लुट्ने क्रम रुपन्देहीमा बढ्दै गएको छ।
विशेष गरी हाटबजारमा भिडभाड हुने भएकोले त्यस्ता स्थानमा घाँटीमा लगाएका सुनका सिक्री लुट्ने क्रम बढेको हो।
सोही क्रममा रुपन्देहीका विभिन्न स्थानहरूबाट महिलाले लगाएका सुनका सिक्रीहरू लुटेर फरार भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बुधबार रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं ६ सुर्यपुरा स्थित हाटबजारमा भिडभाडको मौका पारी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो।
उक्त सिक्री लुटेर भाग्ने क्रममा प्रहरीले बारा बारागढी गाउँपालिका वडा नं. ३ शिवपुरा बस्ने २५ वर्षीय विकाश रायलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले रायको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको १ थान सुनको सिक्री बरामद गरेको जनाएको छ।
पक्राउ परेका रायलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लुम्बिनीमा पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै असार १० गते तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभर टोल स्थित चाँदनी मार्गमा मोटर साइकलमा आएका अपरिचित व्यक्तिहरूले बाटोमा हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए।
प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा भैरहवाका एक जना र भारतीय तिन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सुनका गरगहना लुटेर भागेका सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीय प्रदीप कान्दु तथा भारतको गोरखपुर बस्ने ३२ वर्षीय राहुल जयसवाल, महाराजगन्ज बस्ने २२ वर्षीय प्रिन्स जयसवाल र बिहार बस्ने ३० वर्षीय नितेश कुमार गुप्तालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २ तोला ९९ लाल ७ पोइन्ट र ९० लाल ७ पोइन्ट तौल भएका दुइ थान सुनको सिक्री तथा एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चार जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।