विदेशमा आकर्षक करियर र सफल जीवन हुँदाहुँदै पनि स्वदेश फर्किएका क्यान्सर वैज्ञानिक डा. राजेन्द्र प्रसाद पंगेनी अहिले अनुसन्धान र नवप्रवर्तनमार्फत देश निर्माणमा जुटिरहेका छन्।
करिब १५ वर्ष बेलायत र अमेरिकामा उच्च शिक्षा तथा अनुसन्धानमा बिताएका उनी दुई महिनाअघि मात्र स्थायी रूपमा नेपाल फर्किएका हुन्।
उनले क्यान्सर बायोलोजीमा विद्यावारिधि (पिएचडी) गरेका छन्।
अमेरिकामा हुँदा त्यहाँका प्रतिष्ठित अनुसन्धान संस्थाहरूमा स्तन क्यान्सर र मस्तिष्क क्यान्सर सम्बन्धी अनुसन्धान गरेको डा. राजेन्द्रले बताए।
'मेरो मुख्य अनुसन्धानको क्षेत्र चाहिँ क्यान्सर नै हो,' उनले भने।
उनले नर्थवेस्टर्न युनिभर्सिटी, सिटी अफ होप नेसनल मेडिकल सेन्टर तथा नोभा साउथइस्टर्न युनिभर्सिटीमा वैज्ञानिक र सहायक प्राध्यापकका रूपमा काम गरेका थिए।

हाल उनी 'नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन' (निरी) का संस्थापक अध्यक्ष हुन्। सन् २०२१ मा स्थापना भएको यो संस्थाले नेपालका आवश्यकता अनुसार स्वास्थ्य, सामाजिक तथा शैक्षिक विषयमा अनुसन्धान गर्दै आएको छ।
डा. राजेन्द्रका अनुसार संस्थामा अहिले ४२ जना सदस्य छन् भने विभिन्न परियोजनामा करिब २५ देखि ३० जना अनुसन्धानकर्मी सक्रिय छन्।
'हामी विभिन्न देशमा छरिएका छौं। ४२ जनाले स्वयंसेवकको रूपमा काम गर्छौं,' उनले भने, 'केही अनुसन्धानकर्मी हामीले राखेका छौं।'
संस्थाले हाल क्यान्सर, मिर्गौला रोग, वृद्धवृद्धाको स्वास्थ्य, पारिवारिक स्वास्थ्य तथा सामाजिक विषयमा अध्ययन गरिरहेको छ।
काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा गरिएको एक अनुसन्धानमा तीन हजारभन्दा बढी बिरामीको तथ्यांक विश्लेषण गरिएको थियो।
अध्ययनले मधेसी समुदायमा पित्तथैलीको क्यान्सर, जनजाति समुदायमा पाचन प्रणालीसँग सम्बन्धित क्यान्सर तथा नेवार समुदायमा स्तन क्यान्सरको दर तुलनात्मक रूपमा बढी रहेको देखाएको उनले जानकारी दिए।
त्यस्तै, मुस्ताङको लोमान्थाङ क्षेत्रमा वृद्धवृद्धाको जीवनस्तरबारे पनि अनुसन्धान गरिएको छ। स्विट्जरल्यान्डको एक संस्थासँग सहकार्यमा गरिएको अध्ययनमा १८० परिवारका ज्येष्ठ नागरिकसँग संवाद गरी उनीहरूको स्वास्थ्य, सामाजिक अवस्था र जीवन अनुभवबारे तथ्यांक संकलन गरिएको उनको भनाइ छ।
संस्थाले सञ्चालन गरिरहेको अर्को महत्वाकांक्षी परियोजना 'नेपाल फ्यामिली कोहोर्ट स्टडी' हो। यस अन्तर्गत हालसम्म २० हजारभन्दा बढी परिवारको तथ्यांक संकलन गरिएको छ।
'यसमा अभिभावकको स्वास्थ्य, जीवनशैली र वातावरणीय प्रभावले सन्तानको स्वास्थ्य तथा विकासमा पार्ने असरबारे अनुसन्धान भइरहेको छ,' डा. राजेन्द्रले भने।
उनी सन् २०१८ देखि 'नेपाल फर्कौं महाअभियान' मा पनि सक्रिय छन्।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन योगदान गर्न प्रेरित गर्ने उद्देश्यले सुरू गरिएको अभियानमार्फत हजारौं नेपाली जोड्ने प्रयास गरिएको उनले बताए।
'म पनि यही अभियान अन्तर्गत नेपाल फर्किएको हुँ,' उनले भने, 'जे कुराको पनि सुरूआत आफैबाट हुनुपर्छ नि होइन!'
देश राम्रो हुने प्रतीक्षा गर्नेभन्दा देश बनाउन आफैं लाग्नुपर्ने कुरामा उनले जोड दिएका छन्।
यही सोचका साथ उनी अमेरिकाको जीवन र जागिर छाडेर नेपाल फर्किएका हुन्।
नेपालमै विश्वस्तरीय अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान, शिक्षा र नीति निर्माणलाई एकै ठाउँमा जोड्ने वातावरण तयार गर्नु उनको मुख्य लक्ष्य हो।