छविलाल भट्टराई दोस्रो कार्यकालका लागि गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हुन्। उनले नेपाली कांग्रेसको वडा सभापतिको जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्।
अरू जनप्रतिनिधि र राजनीतिक नेता–कार्यकर्ताहरू साँझ–बिहान चिया पसलमा गफगाफमा व्यस्त हुँदा उनी हातमा हँसिया र कोदालो बोकेर आफ्नै खेतबारीमा पसिना बगाइरहेका भेटिन्छन्।
उनको परिचय जनप्रतिनिधि र राजनीतिक कार्यकर्तामा मात्र सीमित छैन।
राजनीतिलाई सेवा र कृषिलाई आफ्नो जीवनको मुख्य मन्त्र भन्ने छविलाललाई सिंगो गाउँपालिकाले एक 'रोल मोडल' कृषकका रूपमा चिन्छन्। विगत ८ वर्षयता वडा नम्बर ६ चोरकाटेमा १५ रोपनी जग्गामा उनी फलफूलका बोट हुर्काइरहेका छन्।
जेठ र असारमा पाक्ने विभिन्न प्रजातिका लिची र असारदेखि भदौसम्म पाक्ने आँपसँगै एभोकाडोको बगैंचामा उनको मेहनत देखिन्छ।
'पैसा कमाउनकै लागि विदेश जानुपर्छ भन्ने मलाई लाग्दैन। आफ्नै खेतबारीका कान्लामा मात्रै फलफूलका बोट लगाए पनि चार–पाँच वर्षपछि त्यसले प्रतिफल दिन थाल्छ,' उनी भन्छन्।
फलफूल खेतीलाई भविष्यको पेन्सनका रूपमा लिने छविलाल मुलुकमा आर्थिक समृद्धि कृषिबाटै ल्याउन सकिने बताउँछन्।
'आफ्नै माटोमा पसिना बगाउन सक्ने हो भने नेपालमै सुन फलाउन सकिन्छ,' उनी भन्छन्।
२०६८ सालदेखि व्यावसायिक तरकारी खेती सुरू गरेका छविलाल वार्षिक ५ देखि ६ लाख रूपैयाँसम्म आम्दानी गर्थे। तर खेतीलाई नियमित खनखोरस, रेखदेख र सिँचाइ चाहिन्थ्यो। उत्पादन बजार पठाउन मात्रै पनि सधैं एक/दुई जना जनशक्ति व्यस्त भइरहनुपर्थ्यो।
कृषि कर्ममा उनलाई भाइ काशीराम र श्रीमती इन्दिराले सघाउँथे।
२०७४ सालमा छविलाल पहिलो पटक वडा सदस्य निर्वाचित भए। जनप्रतिनिधि भएपछि जनताका काम, वडा र गाउँपालिकाका बैठक र सामाजिक काममा दिन बित्न थाले। खेतीलाई पहिलेको जस्तो समय दिन गाह्रो भयो।
राजनीति र कृषि दुवैलाई सँगसँगै कसरी अगाडि बढाउने भन्ने चुनौतीबीच उनले कृषि क्षेत्रमै कम समय लाग्ने विकल्प खोजिरहेका थिए। २०७५ सालको एउटा भ्रमणले उनलाई विकल्प देखाइदियो।


वडाका किसानलाई लिएर जनप्रतिनिधिको टोली अवलोकन भ्रमणका लागि सर्लाही पुगेको थियो। त्यहाँ बागवानी केन्द्र पुगेपछि छविलालले फलफूल खेती गर्ने योजना बनाए।
'त्यहाँ ५ सय रोपनी जग्गामा आँप र लिची लगाइएको रहेछ। त्यो देखेपछि मैले पनि तराईमा हुनसक्ने यो खेती पहाडको माटोमा किन नगर्ने भन्ने भयो,' उनले भने, 'यसमा तरकारी जस्तो दैनिक रेखदेखको झन्झट हुँदैन। जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै सजिलै गर्न सकिन्छ।'
भ्रमणबाट फर्केलगत्तै उनले सोही वर्ष ५०/६० वटा आँप र लिचीका बिरूवा रोपे। पहिलो वर्ष रोपेका बोटमा अहिले लटरम्म फल लागिरहेका छन्। हरेक वर्ष थप गर्दै बगैंचामा १२० भन्दा बढी बोट पुगेका छन्।
सबभन्दा पुराना बोटले अहिले प्रतिबोट १ क्विन्टलसम्म उत्पादन दिन थालेको छविलाल बताउँछन्। पछिल्ला बोटको उत्पादन पनि राम्रो छ।
आँप र लिचीको उत्पादनबाट उत्साहित भएर उनले पाँच वर्षदेखि एभोकाडो (घ्यूफल) को खेती पनि थपेका छन्। अहिले एभोकाडोका १५० बोट छन्। एक–दुई वर्षभित्र २ सय बोट पुर्याउने लक्ष्य छ।
उनलाई फलफूल खेतीको सबभन्दा राम्रो पक्ष एक पटकको लगानी र मेहनतले वर्षौंसम्म आम्दानी लिनुलाई मान्छन्।
'सरकारी जागिरमा २० वर्ष सेवा गरेपछि बल्ल पेन्सन खान पाइन्छ। बहुवर्षीय फलफूल खेतीमा चार/पाँच वर्ष राम्रो मेहनत गर्ने हो भने लगानी उठ्छ। त्यसपछिको १०, १५, २० वर्षसम्म आउने उत्पादन भनेको शतप्रतिशत नाफा मात्रै हो,' उनले भने, 'एक पटकको लगानीले जीवनभर आम्दानी दिन्छ।'
उनले बगैंचाको जमिन पूर्ण उपयोग गरेका छन्। खेतमा बिरूवा नहुर्किउन्जेल उनले बीचको भागमा धान खेती गरे। अहिले पनि कान्ला, आली र कुना कुनामा फलफूलका बिरूवा हुर्किँदै छन्। धान पनि रोपिएको छ।
फलफूलका बोटहरू ठूला भएपछि पनि खाली ठाउँमा अदुवा, बेसार, खुर्सानी र अन्य तरकारी सजिलै लगाएर अतिरिक्त आम्दानी गर्न सकिने उनी बताउँछन्।
बहुवर्षीय फलफूल खेतीको सजिलो पक्ष भनेको पुस–माघमा बोट वरिपरि खनखोरस गरेर मल हालिदिएपछि धेरै दैनिक रेखदेख गरिरहनुपर्दैन।
धेरै किसान बजार नपाएर चिन्तित हुन्छन्। छविलाललाई भने बजारको समेत कुनै समस्या छैन। चोरकाटे बजारमै रहेकाले उपभोक्ता सिधै बगैंचामै पुग्छन्।
'अहिले लिची पाकेको छ। जेठ अन्तिमदेखि पाक्न सुरू गरेको हो, असार अन्तिमसम्म रहन्छ। बोटबाटै किलोको दुई सय रूपैयाँमा बिकिरहेको छ,' उनले खुसी हुँदै भने।
आँप पनि असारदेखि भदौसम्म पाक्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने उनले बताए।
उनका अनुसार असार र साउनमा आँप बजारमा पर्याप्त आपूर्ति हुने भएकाले प्रतिकिलो एक सय रूपैयाँमा बिक्छ। भदौरे जातको आँपको मूल्य भने डेढ सयदेखि दुई सय रूपैयाँसम्म पुग्छ। बजारमा एभोकाडोको माग र मूल्य त झनै धेरै छ।
आँप र लिचीमा अहिलेसम्म कुनै ठूलो रोगको समस्या छैन। तर यस वर्ष परेको असिनाका कारण फलहरू नपाक्दै फुट्ने समस्या देखिएको छ।
राजनीति र कृषि दुवैलाई नजिकबाट नियालेका छविलाल अनुदान खानकै लागि फर्म दर्ता गर्ने, तर काम नगर्नेहरूका कारण कृषि पेसा उपेक्षित बनेको बताउँछन्।
'वास्तविक किसानका लागि सरकारले छुट्टाएको बजेट कागजमा खेती गर्नेहरूका गोजीमा पुग्ने गरेको छ। त्यस्ता व्यक्ति र फर्म निरूत्साहित गर्नुपर्छ, उनले भने।
छविलालले गाउँपालिकाबाट किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न उपलब्ध गराइने ५० प्रतिशत अनुदानमा केही बिरूवा ल्याएका थिए। तर अनुदानको पछि लागेर झन्झटिलो प्रशासनिक प्रक्रियामा नअल्झिएको उनको भनाइ छ।


अरू किसान पनि फलफूल खेतीमै लाग्न सके यसको आयात रोक्न सकिने उनी बताउँछन्।
'म जनप्रतिनिधि हुँ, तर वडाको कामबाहेक बाँकी समय खेतबारीमै बिताउँछु। मैले काम गरेको देखेर गाउँका युवा र कृषकलाई पनि सिकाइ र उत्प्रेरणा मिलोस् भन्ने उद्देश्य हो,' उनले भने।
वडा नम्बर ६ मा मात्र अहिले १८ सय रोपनीभन्दा बढी उर्वर र धान फल्ने खेत बाँझै छ।
जमिन भएका सबैले थोरै थोरै भए पनि फलफूल खेती गर्ने हो भने विदेशबाट आयात हुने फलफूलको परिमाण घट्ने उनको भनाइ छ।
'आफ्नै माटोको स्वच्छ फलफूल खान पाइन्छ र नेपाली पैसा विदेश जानबाट जोगिन्छ,' उनी भन्छन्।
सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डे पनि छविलालको प्रशंसा गर्दै थाक्दैनन्।
'उहाँ त सिंगो गाउँपालिकाकै लागि एक उदाहरणीय र प्रेरणादायी कृषक हुनुहुन्छ। उहाँले भाषण मात्र होइन, व्यवहारमै गरेर देखाउनुभएको छ,' पाण्डेले भने।
छविलाल जस्ता कृषक जनप्रतिनिधिको कदर गर्दै आगामी दिनमा गाउँपालिकाले वास्तविक किसानलाई प्रोत्साहन गर्ने र बाँझो जमिन उपयोग गर्ने नीतिलाई प्राथमिकता दिने उनले बताए।