नायक बन्ने कि खलनायक?
कसैले वर्तमान प्रधानमन्त्रीलाई यो प्रश्न सोध्यो भने, त्यसको जबाफ के आऊला?
सायद उनी रिसाऊलान्। उनका सल्लाहकारहरू रिसाऊलान्। सदस्यहरु रिसाऊलान्। हुन सक्छ उनी मौन बस्लान्।
अथवा, यो प्रश्न उनका लागि महत्वहीन पनि हुन सक्छ।
यो अवश्य हो कि, राजनीति गर्ने कसैले पनि आफू खलनायक बन्ने सभ्भावनाबारे सोच्दैन।
तर नसोचेर के हुन्छ? किनभने, कहिलेकाहीँ नचाहँदा नचाहँदै, थाहै नपाइ परिस्थिति बदलिन्छ। आफूलाई सबै ठिकठाक छ भन्ने लाग्छ तर ठिक केही पनि हुँदैन। र, कमजोरीहरू यसरी थपिँदै जान्छन्, कति बेला समयको प्रवाहले लपेट्छ, थाहै हुँदैन।
कहिलेकाहीँ यस्तो हुन्छ, कहिले र कहाँ गल्ती भयो, सोच्न नपाउँदै समय गलत कुइनेटोबाट अगाडि बढ्छ। कता चुँडियो विश्वासको धागो र कसरी बिस्तारै बिस्तारै मान्छेको माया घृणामा बदलियो, न नायकलाई थाहा हुन्छ, न उसका सेवक र सहयोगीहरूलाई।
भइजान्छ यस्तो कि, एउटा महान नायक थाहै नपाइ खलनायक बनिदिन्छ। अनि इतिहासमा ऊ यसरी दुत्कारिन्छ, जसलाई चाहेर पनि कसैले बदल्न सक्दैन।
आफ्नो कार्यकालको सय दिन पुग्नै लाग्दा, म हाम्रा प्रधानमन्त्रीलाई इतिहास पढ्न आग्रह गर्छु। इतिहासबाट सिक्न आग्रह गर्छु। र, यो लेख मार्फत म इतिहासको त्यो आँखिझ्याल उपहार दिन चाहन्छु, जहाँबाट देखिन्छ, नायकहरूको खलनायक तर्फको स्खलन र पतनको डरलाग्दो यात्रा।
प्रसंग सुरू गरौं मुसोलिनीबाट।
मलाई लाग्छ, हाम्रा प्रधानमन्त्रीले मुसोलिनीको नाम अवश्य नै सुनेको हुनुपर्छ।
सन् १९२२ अक्टोबर २८ मा इटालीमा भएको 'मार्च अन रोम' पछि मुसोलिनी इटालीको प्रधानमन्त्री बने। पहिलो विश्वयुद्धले थोपरेको आर्थिक संकट, तीव्र बेरोजगारी र अपमानबाट गुज्रिरहेको इटालीका लाखौं नागरिकले ठाने, उनी नायक हुन्। उनी आशा हुन्। उनी इटालीको नयाँ सम्भावना हुन्।
जनताको निरासा सम्बोधन गर्दै मुसोलिनीले इटालीलाई पुनः शक्तिशाली बनाउने वाचा गरे। नभन्दै, प्रारम्भिक वर्षहरूमा उद्योगको विस्तार भयो, रेल सेवा सुधारियो, मान्छेमा विश्वासको उज्यालो छायो।
तर केही वर्षमै मुसोलिनीमा अहंकार चुलिँदै गयो। उन्माद भरिँदै गयो।
भ्रमवश नै सही, मुसोलिनीलाई लाग्न थाल्यो — उनी स्वयं राज्य हुन्।
मुसोलिनीको राजनीति मुख्यतः 'फासीवाद' मा आधारित थियो। जसले उग्रराष्ट्रवाद र एकतन्त्रीय तानाशाहीलाई प्रवर्द्धन गर्थ्यो।
परिणाम, लोकतन्त्रका आधारभूत सिद्धान्तहरूमाथि प्रहार हुँदै गए। बिस्तारै उनले स्थापित राज्य संयन्त्रलाई कमजोर बनाउन थाले। लोकतान्त्रिक मूल्यहरू भत्किँदै गए। प्रेस स्वतन्त्रता संकुचित भयो। आलोचकहरू राज्यको निगरानीमा परे।
मुसोलिनीले आफूलाई एक मात्र शक्तिशाली नेता (इल दुचे) का रूपमा स्थापित गरे। विपक्षीहरूलाई आफ्ना 'ब्ल्याक शर्ट्स' दस्तामार्फत हिंसात्मक कारबाही गर्न र जेल हाल्न थाले।
इटालीलाई फेरि रोमन साम्राज्य जस्तै शक्तिशाली बनाउने उनको सपना थियो। त्यसैले उनमा शासकीय उन्माद त थियो नै, युद्ध उन्माद पनि झाँगिदै गयो।
परिणाम, दोश्रो विश्वयुद्धमा उनले विस्तारवादी नीति लिए र हिटलरसँग गठबन्धन गरे।
सन् १९४५ अप्रिल २७ मा जति बेला सहयोगी सेनाहरू इटालीतर्फ बढ्दै थिए, मुसोलिनी आफ्नी प्रेमिका क्लारा पेटाचीसँगै जर्मन सैनिकको भेषमा स्विट्जरल्यान्ड भाग्न अगाडि बढ्दै थिए। उनीहरूलाई इटालियन कम्युनिस्ट विद्रोहीहरूले पक्राउ गरे।
भोलिपल्ट अर्थात् सन् १९४५ अप्रिल २८ मा, मुसोलिनीलाई गोली हानेर मृत्युदण्ड दिइयो। उनको शव मिलानको 'पियाजाले लोरेटो' चोकमा ल्याएर क्रुद्ध भिडको अगाडि उल्टो झुन्ड्याएर राखियो।
र, यसरी मुसोलिनीको दुर्भाग्यपूर्ण अन्त्य भयो।
नायक खलनायकको यो प्रसंगमा आउने, अर्को भयानक नाम छ एडल्फ हिटलरको।
सन् १९३३ जनवरी ३० मा उनी जर्मनीको लोकप्रिय र शक्तिशाली चान्सलर नियुक्त भए। त्यो यस्तो समय थियो, जति बेला देश आर्थिक मन्दी, अराजकता र अस्थिरताले थिलथिलो थियो।
लाखौं जर्मनलाई लाग्यो, हिटलर उनीहरूका नायक हुन् जसले सबै संकट समाधान गरिदिने छन्।
चान्सलर बने लगत्तै हिटलरले संसद भंग गरे। कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाए। अहिले जस्तो त्यो समय सामाजिक सञ्जाल थिएन, त्यसैले हिटलरले आफ्नो प्रचार गर्न जोजेफ गोयबल्सलाई प्रचारमन्त्री नियुक्त गरे। हिटलरको महिमागान तीव्र पारियो।
उनले राज्यको शक्ति पृथकीकरणलाई समेत आधात गर्दै कानुन बनाउने सम्पूर्ण अधिकार आफ्नो हातमा लिए र एक वर्ष नहुँदै आफूलाई सर्वोच्च न्यायाधीश समेत घोषित गरे।
बिस्तारै नाजी आतंक व्यापक बन्दै गयो। विरोधीहरूले जेल भरिए। बिस्तारै सुरू भयो इतिहासकै सबैभन्दा क्रुर नरसंहारमध्ये एक— होलोकास्ट। जसमा करिब ६० लाख यहुदीसहित लाखौं निर्दोष मानिस मारिए।
सन् १९३९ सेप्टेम्बर १ मा पोल्यान्डमाथिको आक्रमणसँगै दोस्रो विश्वयुद्ध सुरू भयो।
युद्धमा, जब सोभियत सेनाले बर्लिन सहरको पूर्वी हिस्सामा बमबारी सुरू गर्यो, तब युद्ध निर्णयक बन्यो। यो सन् १९४५ अप्रिल १५–१६ को कुरा हो।
युद्ध जटिल हुँदै गयो र अप्रिल २१ सम्म, रेड आर्मीले बर्लिन वरपरका सबै क्षेत्र कब्जा गरे।
अन्ततः जर्मनी पराजित भयो।
सन् १९४५ अप्रिल ३० का दिन एक तानाशाहका रूपमा हिटलरले बर्लिनको एक बंकरमा प्रेमिका सहित आत्महत्या गरे। यसरी जर्मन नागरिकहरूको कुनै समयको एक नायक, इतिहासकै सबैभन्दा बदनाम तानाशाहका रूपमा समाप्त भए।
इतिहासमा अभिलेखित यस्ता कथाहरू धेरै छन्।
त्यसमध्ये अर्को त्रासदीपूर्ण कथा छ, लिबियाको तानाशाह कर्णेल गद्दाफीको।
भनिन्छ, गद्दाफी सानैदेखि षड्यन्त्रमूलक योजना बनाउन खप्पिस थिए। उनी कुटिल थिए र अत्यन्तै दृढ पनि। सानैदेखि उनि खतरनाक शासक बन्ने सपना देख्थे।
परिणाम, सन् १९६९ सेप्टेम्बर १ मा गद्दाफीले नेतृत्व गरेको सेनाका कनिष्ठ अधिकारीहरूको एउटा समूहले राजा इद्रिसविरूद्ध रक्तपात विहीन 'कू' गर्यो।
त्यो यति सजिलै भयो कि, राजा इद्रिस उपचारका क्रममा टर्कीमा थिए। गद्दाफीले राजतन्त्र अन्त्य भएको घोषणा गरे।
निकै पातलो शरीर भएका २७ वर्षीय गद्दाफी जब सत्तामा आए, सारा मान्छे उत्सुक बने। चिटिक्क परेको लुगा लगाउने र सजिएर हिँड्ने गद्दाफीको दृढता यति प्रखर थियो, मान्छेहरू उनलाई एक क्रान्तिकारी मान्थे र लिबियाको 'चे ग्वेभारा' ठान्थे।
शासन चलाउन उनले 'रेभोलुसनरी कमान्ड काउन्सिल' गठन गरे र आफू त्यसको अध्यक्ष बने।
गजब कुरा के भने, उनले आफूलाई शासक त बनाए तर अन्य सैन्य तानाशाहजस्तो आफूलाई जनरल घोषणा गरेनन्। बरू 'सेरेमोनियल प्रोमोसन' का रूपमा आफूलाई क्याप्टेनबाट कर्णेल बनाए। र, कर्णेल गद्दाफीका नामले चर्चित बने]।
यद्यपि उनी सेनाको 'कमान्डर इन चिफ' थिए।
शासन आफ्नो हातमा लिएपछि उनले त्यहाँको प्रचलित संविधान खारेज गरे र नयाँ कानुन ल्याए जसलाई 'दि इन्टरनेसनल थ्योरी' भनियो। गद्दाफीले आफूलाई 'किङ अफ द किङ' का रूपमा स्थापित गर्न चाहे। र, उनका मान्छेहरूले उसलाई एक अद्भूत क्षमतावान मान्छेका रूपमा प्रचार गरे।
अहंकार, शक्तिको केन्द्रीकरण, लोकतन्त्रको संकुचन, व्यक्तिपुजा र भ्रष्टाचार बिस्तारै लिबियाको दुखान्त बनेर देखा पर्न थाले। मान्छेका दुःख असाध्यै चर्का थिए, तर शासक थिए आफ्नै मस्तीमा।
परिणाम, सन् २०११ आइपुग्दा, मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भए र त्यो विद्रोहको आँधी लिबियामा अझ चर्को गरी उठ्यो।
गद्दाफी शासन विरूद्धको नागरिक प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायत सहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले समर्थन गरे। गद्दाफीलाई हटाउन, नेटो गठबन्धनले लिबियामा आक्रमण गर्यो। अन्ततः भाग्दै गर्दा उनी समातिए र मारिए।
नायक कसरी खलनायक बन्छ, त्यसको दुखान्त उदाहरण रोमानियाको इतिहासमा पनि लिपिबद्ध छ।
सन् १९६५ मा रोमानियामा चाउचेस्कु शासक बनेर उदाए। त्यो सत्ता उनले कम्युनिस्ट पार्टीको विरासतमा प्राप्त गरेको थिए।
जब उनी सत्तामा आए, सबै कुरा अनपेक्षित बन्दै गए। अर्थात्, त्यसपछि सुरू भयो चाउचेस्कुको स्तुतिगान, अहंकार र हठको युग।
सत्तासीन हुनासाथ उनले देशको औद्योगिकीकरणका लागि अर्बौं डलर ऋण उठाए। परिणाम सोचेजस्तो भएन। उल्टो त्यो ऋणको ब्याजले सारा अर्थव्यवस्था प्रभावित भयो। ऋण तिर्नकै लागि रोमानियाका सबै कृषि र औद्योगिक उत्पादन राज्य नियन्त्रित व्यापारमा प्रयोग हुन थाले।
परिणाम, जनता गरिबी र भोकको शिकार हुँदै गए। खाद्यान्न, बिजुली, पानीमा खर्च कटौती गर्न सरकारले कडा नीति लियो।
देश र नागरिक जीवन संकटमा भए पनि शासकको सनक कम थिएन। परिणाम, आफ्नो विद्धता देखाउन चाउचेस्कुले राजनीतिशास्त्र र अर्थशास्त्रको मानार्थ पिएचडी लियो। रोमानियाका सार्वजनिक स्थलमा चाउचेस्कुको तस्बिर टाँस्न अनिवार्य गरियो। उनका किताब पढ्न उर्दी जारी भयो।
सन् १९७४ मा चाउचेस्कु रोमानियाको पूर्ण कार्यकारी अधिकार सहितको रास्ट्रपति बने। आफ्ना लागि राजाहरूले झैं राजदण्ड बोक्ने परम्परा स्थापित गरे।
सनककै कारण चाउचेस्कुले राजधानी बुखारेस्टमा संसारकै सबभन्दा ठूलो दरबार बनाउने निर्णय गरे। गरिबी र भोकमरीले थलिँदै गएको देशको तानाशाही शासक कति लहडी थियो भन्ने जान्न, आफैमा यो उदाहरण काफी छ।
तर उनको दुर्भाग्य, विशाल आकारको त्यो दरबार बनेर नसक्दै रोमानियामा क्रान्ति भयो।
आफ्नो शासनको विरोध गर्नेलाई उनी भन्थे, 'रोमानियामा परिवर्तन त्यस बेला मात्र आउँछ जब स्याउको रूखमा नासपाती फल्न थाल्छ।'
उनको यही भनाइलाई व्यंग्य गर्दै आन्दोलनको समय विद्यार्थीहरूले राजधानी बुखारेस्टका सबै रूखहरूमा नासपाती झुन्डियाइदिए।
परिणाम, सन् १९८९ डिसेम्बरमा जनविद्रोहले अन्तिम धक्का हान्यो। चाउचेस्कु भाग्न खोजे तर सकेनन् र पक्राउ परे। सन् १९८९ डिसेम्बर २५ मा संक्षिप्त सैनिक अदालतले उसलाई मृत्युदण्ड सुनायो र त्यही दिन गोली हानी मारियो।
यी कथाहरूसँग समान अर्थ राख्ने इतिहासमा अरू पनि अनेक कथा लिपिबद्ध छन्। अफ्रिकामा रोबर्ट मुगाबेको कथा यस्तै अर्को कथा हो।
यसले नायकहरूको पतनको अर्को सिलसिला देखाउँछ।
सन् १९८० अप्रिल १८ मा जिम्बाब्वे स्वतन्त्र भएपछि बनेको सरकारको पहिलो प्रधानमन्त्री थिए रोबर्ट मुगाबे।
त्यो आफैमा उनको नायकत्वको राप र ताप बुझ्न सकिने घटना हो। किनभने उनी थिए औपनिवेशिक शासनविरूद्धका संघर्षका महानायक।
प्रारम्भिक वर्षहरूमा उसको नेतृत्वमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भए। तर समयसँगै सत्ता व्यक्ति केन्द्रित बन्दै गयो। नीतिहरू असफल भए। मुद्रास्फीति विश्वकै सबभन्दा उच्चस्तरमा पुग्यो। विपक्षमाथि दमन बढ्यो।
एक समय 'राष्ट्रपिता' मानिएका नेता बिस्तारै विवादमा पर्दै गए। र, सन् २०१७ नोभेम्बर २१ मा उनले जनदबाब थेग्न नसकी राजीनामा दिए। जब उनले राजीनामा दिए, मान्छेहरूले हर्षउल्लास गरे। र, सारा देश खुसीले नाच्यो।
नेपाली राजनीतिमा पनि केही यस्ता व्यक्तित्व छन् जसको राजनीतिक यात्रा 'आशाको केन्द्रबाट आलोचनाको केन्द्र' बनेको थियो।
जस्तो गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल 'प्रचण्ड', केपी शर्मा ओली र शेरबहादुर देउवा आदि यो सन्दर्भमा आउने प्रतिनिधि नाम हुन्।
पटक पटक सत्ता गठबन्धन परिवर्तन, खराब र अलोकतान्त्रिक शासनशैली, सुशासनका अपूरा अपेक्षा, चरम भ्रष्टाचार, राज्यको दलीयकरण र अधिकार उल्लंघनका अनेक प्रसंगले उनीहरूको छविलाई विवादास्पद बनाउँदै लग्यो।
उनीहरू यसरी चुके, समयले कहिले नायकबाट खलनायक बनायो, स्वयं उनीहरूलाई पत्तो भएन।
प्रश्न आउँछ — यी सबै उदाहरणको अर्थ के हो? किन यस्तो भयो? के सत्ताले मानिसलाई बदल्छ? कि मानिसको वास्तविक चरित्र सत्तामा पुगेपछि मात्र देखिन्छ? अन्यथा, नायकहरू किन र कुन कारण खलनायक बन्छन्, जो उनीहरू स्वयंलाई पनि थाहा हुँदैन?
यहाँ राजनीतिशास्त्री तथा बेलायतका पूर्वपार्लियामेन्ट मेम्बर जोन इमेरिच एडवार्ड डलबर्गको एउटा प्रसिद्ध भनाइ सम्झिनु उपयुक्त हुन्छ।
उनी भन्छन्, 'शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ र निरपेक्ष शक्तिले मानिसलाई अझ धेरै भ्रस्ट बनाउँछ।'
यस्तो हुन्छ कि, जब कुनै नेता जनताको असाधारण समर्थन लिएर सत्तामा पुग्छ, त्यसपछि ऊ बिग्रिने सम्भावना साधारण अवस्थामा भन्दा धेरै बढेर जान्छ। त्यस्तो बेला उसका अगाडि दुइटा बाटो हुन्छन्।
एउटा, संस्थालाई आफूभन्दा बलियो बनाउने।
अर्को, आफूलाई संस्थाभन्दा बलियो बनाउने।
इतिहासले जुन नेतालाई नायकझैं अविचलित सम्मान गर्यो, उनीहरू पहिलो बाटाका पथिक थिए। जो इतिहासको कठघराबाट खलनायक घोषित भए, उनीहरूले रोजेका थिए दोस्रो बाटो।
दोस्रो बाटो हिँड्नेहरूमा केही साझा समस्या थिए र छन्। प्रारम्भमा उनीहरूले लोकप्रिय जनमत लिए र बिस्तारै आफूलाई राज्य, संविधान वा दलभन्दा माथि राख्न थाले। उनीहरू दाबी त देश बनाउने गर्थे तर बिस्तारै उनीहरूलाई लाग्न थाल्यो, उनीहरू स्वयं देश हुन्।
उनीहरूमा आत्मालोचनात्मक चेतनाको अभाव देखिँदै गयो। उनीहरू प्रशंसकसँग मात्र रमाउन थाले र प्रश्न, आलोचना र सुझाव उनीहरूलाई गाली लाग्न थाल्यो। नागरिकसँग संवाद टुट्यो। व्यक्ति–पूजा आम बन्यो। राज्य र राजकाज एक व्यक्तिको सनकमा संकुचित हुँदै गयो।
बिस्तारै यस्तो भयो, असहमतिलाई देशद्रोह वा विश्वासघातका रूपमा चित्रण गरियो। अहंकार बढ्यो। लोकप्रियतालाई स्थायी जनादेश ठान्न थालियो। आफूले जे गरे पनि सही हुन्छ भन्ने भ्रम बढ्दै गयो। भ्रष्टाचार वा त्यसप्रति सहिष्णुता थाहै नपाई राज्यको चरित्र बन्दै गयो।
व्यवहारमा राज्य पक्षपाती र अपारदर्शी हुँदै गयो। कानुन सबैका लागि समान रूपमा लागू हुन छोड्यो। सरकार वा शासकले नैतिक वैधता गुमाउँदै गयो।
बिस्तारै बिस्तारै गरिबी, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत मुद्दा ओझेलमा पर्दै गए। प्रारम्भमा नायकसँग आम मान्छेका अपेक्षा धेरै हुनु स्वाभाविक हुन्छ। तर अपेक्षाहरू पूरा नहुँदा निरासा पनि धेरै र सघन हुँदै जान्छन्। परिणाम, वाचा र व्यवहारबीच दुरी बढ्न थाल्छ।
तर हुन्छ के भने, शासकहरू राज्य र राजकाजमा देखापरेका आफ्ना गल्ती सच्याउनुभन्दा त्यसलाई जायज ठहराउने प्रयासमा लाग्छन्।
परिणाम, त्यहीँबाट लोकप्रियता खस्किँदै जान्छ। नायकत्व बिस्तारै अहंकार, संस्थागत कमजोरी र वैधनिकताको संकटमा पर्छ। र, पतनको सिलसिला सुरू हुन्छ।
यो प्रसंग यही टुंग्याउदै, अब म सिधा हाम्रा प्रधानमन्त्रीलाई सम्बोधन गरेर भन्न चाहन्छु — महोदय, माथिका सन्दर्भहरू मैले किन यहाँ उल्लेख गरेँ भन्ने तपाईं अवश्य नै बुझ्नुहुन्छ।
अब म तपाईंलाई यो लेख मार्फत थप तीनवटा कुरा भन्न चाहन्छु। यसलाई एक आलोचकबाट प्राप्त उपहार ठानेर ग्रहण गर्नुहोस्।
पहिलो, आफ्नो ऐतिहासिक दायित्व सम्झिनुहोस्। र, विनम्रसाथ आफ्नो औचित्य पुष्टि गर्नुहोस्।
तपाईंले आफ्नो उदयलाई एक नायकत्वका रूपमा लिनुभयो भने त्यो तपाईंकै लागि दुर्भाग्य हुनेछ। किनभने, तपाईं नायक होइन। र, जे भइरहेको छ, त्यो चमत्कार पनि होइन।
पार्टी बन्नु, चुनाव जित्नु र तपाईं प्रधानमन्त्री हुनु एक लोकतान्त्रिक प्रक्रिया र अस्थायी परिघटना हो।
यति कुरा बुझ्नुभयो भने यसले तपाईंलाई उदार, जिम्मेवार र गम्भीर बनाउने छ।
मेरो सुझाव छ — कृपया नायक हुनुको भ्रम त्याग्नुहोस् र नेता बन्नुहोस्।
नायकत्वले सामूहिकता समाप्त गर्छ। लोकतन्त्र कमजोर बनाउँछ। योजनाबद्ध विकासका प्रयत्नहरूलाई अवमूल्यन गर्छ र चमत्कारलाई संस्थागत गर्ने प्रयत्न गर्छ। नायकत्व अराजनीतिक कुरा हो। यो अराजनीतिक परिकल्पना हो। अराजनीतिक तरिकाबाट राजनीतिक समस्याहरू समाधान हुँदैनन्।
मेरो दोस्रो सल्लाह छ, भुइँ नछोड्नुहोस्।
यहाँ भुइँ भनेको समाज हो, सभ्यता हो, इतिहास हो, मान्छेले भोगेका सुख र दुःखको बोध हो। तपाईं आफूले टेकेको भुइँको मर्यादा भुल्नुभयो भने त्यो तपाईंकै लागि दुर्भाग्य हुनेछ। ख्याल गर्नुहोला, इतिहासले बारबार कसैलाई पनि मौका दिँदैन।
नभुल्नुहोला, राजनीति जनताको सामूहिक चेतना र संघर्षको प्रतीकात्मक शब्दावली हो।
सय दिनहरू बिताउँदै गर्दा, प्रधानमन्त्री महोदयलाई यति कुरा सम्झाउँछु, महोदय तपाईंको हनिमुन सकियो!
कृपया अब बिउँझिनुहोस् र वरिपरि जे देखिन्छ, त्यसभन्दा परपरसम्म हेर्नुहोस्।
फेरि भन्छु, यो कुरा ख्याल गर्नुहोस्, कल्पनाको नायकले हाम्रो यथार्थ बदल्न सक्दैन। र, त्यो कति बेला खलनायक बन्छ, स्वयं उसैलाई थाहा हुँदैन।
महोदय, इतिहासबाट सिक्नुहोस् र समयसँग खेलवाड नगर्नुहोस्।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab