सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा जेठ १८ देखि २२ सम्म भारत भ्रमण गरे।
भाजपालाई चिनौं भन्ने अर्थ लाग्ने 'नो बिजेपी (Know BJP)' भनिने पार्टी–कूटनीतिमा समेत प्रयोग गरिने अवधारणा अन्तर्गत रविलाई निमन्त्रणा गरेर उक्त दलले पार्टी–कूटनीतिलाई भारतको राष्ट्रिय हितमा उत्कृष्ट तरिकाले उपयोग गरेको छ।
रविको भव्य स्वागत गरिएको उक्त भ्रमणलाई लिएर नेपालमा सधैंझैं सकारात्मक र नकारात्मक दुवैथ री टिकाटिप्पणी भए। तर भाजपाको उक्त पार्टी–कूटनीतिलाई नेपाल, भारत, भाजपा, रास्वपा र रविले कसरी उपयोग गरे र गर्न सक्छन् भन्ने सन्दर्भमा वस्तुनिष्ठ, सैद्धान्तिक र व्यावहारिक विश्लेषण कमै भएका छन्।
यो लेख त्यही रिक्तता सम्बोधन गर्ने प्रयास हुनेछ।
नेपाल र भारतबीच राज्यस्तरमा मात्रै नभई सामाजिक स्तरमा पनि सघन सम्बन्ध छ। यसर्थ यी दुई मुलुकबीच सरकार, विदेश मन्त्रालय र कूटनीतिक निकायको स्तरमा मात्र नभई राज्यका अन्य निकाय र सामाजिक स्तरमै अनेक अन्तरक्रिया हुन्छन्। यस पटक समन्वय र सञ्चारका अनेक माध्यम हुँदाहुँदै पनि भाजपाले सन्दर्भ पहिचान गरेर पार्टी–कूटनीति प्रयोग गर्ने सिर्जनशील तरिका अपनाएको देखिन्छ।
पार्टी–कूटनीतिको प्रयोग
फरक मुलुकका राजनीतिक पार्टीबीचको अन्तरक्रिया र पार्टी–कूटनीति अन्तर्राष्ट्रिय राजनीतिमा खासै पुरानो परम्परा र प्रचलन होइन। अमेरिका लगायत उदारवादी लोकतान्त्रिक मुलुकको दबदबा रहेको वर्तमान विश्व संरचनामा राष्ट्रहरूको सार्वभौमिकतालाई सर्वोपरि ठानिन्छ। निर्णय प्रक्रियामा राज्यभन्दा माथि कुनै पनि निकाय हुँदैन भन्ने बलियो सैद्धान्तिक मान्यता छ।
यस्तो सैद्धान्तिक प्रणालीले राष्ट्रहरूबीचको सम्बन्ध र कूटनीतिमा राज्यभित्रका निकाय (सब–स्टेट एक्टर) को भूमिका गौण हुने ठान्छ।
यसै कारण बहुदलीय लोकतान्त्रिक शासन प्रणाली अँगालेका मुलुकमा राजनीतिक दल शासन प्रणालीमा महत्त्वपूर्ण भए पनि शासनसत्तामा पुगेपछि मुलुकको रूचि सर्वोपरि हुन्छ भन्ने मान्यताका आधारमा दल लगायत राज्यभित्रका निकायको विदेश नीति र कूटनीतिमा गौण भूमिका मानिएको हो।
एकल कम्युनिस्ट पार्टी प्रणाली भएका मुलुकमा भने सैद्धान्तिक रूपमै राज्यलाई पार्टीको अस्त्र र रूचि अनुसार चलाउनुपर्ने प्रणाली ठानिने हुनाले राज्यको कूटनीति बाहेक कम्युनिस्ट पार्टीको दलीय कूटनीतिलाई पनि सशक्त रूपमा अगाडि बढाइन्छ।
उदाहरणका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले पार्टी–कूटनीतिलाई आक्रामक ढंगले प्रयोग गर्छ। सिपिसीको यस्तो पार्टी–कूटनीति एमाले र माओवादी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको समयमा नेपालमा पनि देखिएको थियो।
सन् १९९० पछि भने प्रचलित सैद्धान्तिक मान्यता विपरीत बहुदलीय शासन प्रणाली अपनाएका मुलुकमा समेत पार्टी–कूटनीतिलाई सीमित मात्रामै भए पनि प्रयोग गर्दै जान थालिएको छ। अन्तर्राष्ट्रिय राजनीतिका प्रभावशाली सिद्धान्तले जुनसुकै व्यवस्था, दल र परिस्थितिमा पनि राज्यका रूचि स्थिर रहन्छन् भन्ने दाबी गरेका भए पनि दल विशेषको सरकार बन्दा राज्यको विदेश नीति र सम्बन्धमा धेरैथोरै परिवर्तन आउने विभिन्न अध्ययन र उदाहरणले नै देखाएका छन्।
उदाहरणका लागि, नेपालमा कम्युनिस्ट र गैरकम्युनिस्ट सरकार हुँदा उनीहरूको परराष्ट्र सम्बन्धमा केही न केही फरक देखिएकै हुन्छ। नेपालजस्तो परराष्ट्र नीति र सम्बन्ध बलियोसँग संस्थागत नभइसकेको मुलुकमा मात्र होइन, विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकामा पनि रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सरकार हुँदा त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा केही फरक देखिँदै आएको छ।
विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतमा समेत दलविशेषको सरकार हुँदा परराष्ट्र नीति र कूटनीतिमा केही भिन्नता देख्न राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनकै विज्ञ हुनुपर्दैन। सन् १९९० पछि विकसित हुँदै गएको सीमित पार्टी–कूटनीतिको सन्दर्भमा नै भाजपाले हालैका वर्षमा अँगालेको पार्टी–कूटनीतिलाई हेरिनुपर्छ।
सदस्य संख्याका हिसाबले विश्वकै सबभन्दा ठूलो राजनीतिक दल भाजपाले सम्भवतः माथि उल्लेख गरिएको सैद्धान्तिक मान्यताकै कारण पार्टी–कूटनीतिलाई खासै धेरै प्रश्रय दिएको पाइँदैन। भाजपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको अस्तित्व उक्त पार्टीको वेबसाइटमा देखिए पनि उक्त विभागको आफ्नै वेबसाइटसमेत छैन।
रविलाई भारत भ्रमण गर्न निम्तो दिइएको अवधारणा 'नो बिजेपी' शब्दावली प्रयोग गरेर भाजपाको मुख्य वेबसाइटमा खोज्दा यो अवधारणाको प्रयोगबारे जानकारी पाउन सकिन्छ। भाजपा पार्टी–कूटनीतिको विश्लेषण कुनै सैद्धान्तिक आधार र नियमित व्यवहारको शैलीभन्दा पनि यस्तै जानकारीका आधारमा गर्नुपर्ने अवस्थाले पनि यो तरिका संस्थागत नभइसकेको र विरलै प्रयोग हुने प्रस्ट हुन्छ।
रविको 'हाई प्रोफाइल' भारत भ्रमणपछि नै भारतीय प्रभावशाली सञ्चार माध्यमले समेत नो बिजेपी अवधारणाबारे रूचि लिएर खोज अनुसन्धान गर्न सुरू गरेबाट पनि भाजपाले पार्टी–कूटनीति धेरै उपयोग गर्ने अवधारणा र रणनीति होइन भन्ने बुझ्न सकिन्छ।
नो बिजेपी पार्टी–कूटनीतिमा मात्रै केन्द्रित अवधारणा पनि होइन। भाजपाको आधिकारिक वेबसाइटमा जनाइए अनुसार यो अवधारणा अन्तर्गत भाजपाले यसअघि पार्टी स्तरमा युरोपेली, पश्चिम एसियाली, अफ्रिकी लगायतका राजदूतसँग अन्तरक्रिया गरेको छ।
ती अन्तरक्रियामा भाजपाले उसको स्थापना, आदर्श, वैचारिकी, विकासक्रम, विश्वदृष्टि आदिबारे छलफल गरेर उनीहरूमा रहेका भाजपाबारे संशय हटाउन खोजेको देखिन्छ। पश्चिमी मुलुकका ज्ञान उत्पादनका क्षेत्र र सञ्चारमाध्यममा भाजपालाई हिन्दुवादी, दक्षिणपन्थी, मुस्लिमविरोधी, अतिवादी जस्ता रूपमा चित्रणबाट सिर्जना गरिने भ्रम हटाउने उद्देश्यले नो बिजेपी अभियान प्रयोग भएको देखिन्छ।
यसबाहेक भारतभित्रकै विश्वविद्यालयका विद्यार्थीलाई भाजपाबारे गहन जानकारी दिन र उक्त दलबारे रहेका आशंका निवारण गर्न पनि नो बिजेपी अवधारणा प्रयोग भएको छ।
भाजपाले नेपाल लगायत अन्य मुलुकका नेताहरूलाई उक्त पार्टीको केन्द्रीय कार्यालयको भ्रमण गराएको भए पनि पार्टी–कूटनीतिकै माध्यमबाट विदेशी नेतालाई भ्रमणमा निम्त्याएको उदाहरण भने कमै छन्।
भारतका चर्चित सञ्चार माध्यममा आएका समाचार अनुसार नो बिजेपी कार्यक्रममा निमन्त्रणा गरिएका मध्ये रवि सम्भवतः सबभन्दा उच्च प्रोफाइलका नेता हुन्। कूटनीतिक प्रोटोकलका कारण यस्तो गर्नुपरेको देखिन्छ।
विदेश नीति निर्माण र सञ्चालनमा राष्ट्रिय हितलाई सर्वोपरि राखिने भए पनि त्यसलाई व्यवहारमा उतारिने कूटनीतिमा भने प्रोटोकल र प्रक्रियामा धेरै महत्व दिइएको हुन्छ। यही कारण रवि लाई राज्यको औपचारिक कूटनीतिक प्रक्रियाभन्दा पनि पार्टी–कूटनीतिको च्यानल प्रयोग गरेर निम्तो दिइएको हुनुपर्छ।
रवि नेपालको शक्तिशाली सत्तारूढ दलको प्रभावशाली सभापति मात्र नभएर संस्थापक पनि हुन्। करिब ४ वर्षअघि उनकै पहलमा स्थापना भएको मात्र होइन, उक्त दलको अस्तित्व र विकासक्रम उनकै व्यक्तित्व र निर्णय वरिपरि नै घुमेको छ। रास्वपाको हालै सम्पन्न पहिलो महाधिवेशनले पनि उक्त पार्टीमा रविको प्रभाव स्पष्ट देखाएको छ।
दलमा मात्र नभई सरकारमा नै उनको बलियो प्रभाव भए पनि राज्य प्रशासनको संरचनामा उनी सांसदभन्दा माथि छैनन्। यसैले उनलाई निम्तो दिन भाजपाको विरलै प्रयोग हुने पार्टी–कूटनीतिको च्यानल प्रयोग गरिएको देखिन्छ।
उनको निमन्त्रणा पार्टी–कूटनीतिमार्फत भए पनि उनलाई भारतमा दिइएको आतिथ्यता र त्यहाँ भएका भेटघाटले उनको भ्रमणको दायरा यसभित्र मात्रै सीमित नरहेको प्रस्ट झल्किन्छ।
भारतका रूचि र भाजपाको कदम
रविलाई निमन्त्रणा गर्ने पार्टी–कूटनीतिको कदममा भाजपाले राज्य र पार्टीका रूचिको बीचमा गजबको तादात्म्य मिलाएको छ।
गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसकै परिणाम स्वरूप हुन पुगेको फागुन २१ को चुनावले नेपालको राजनीतिक धरातलमा धेरै नै बदलाव ल्याएको छ।
प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत र प्रत्यक्ष र समानुपातिक दुवैतर्फ करिब ४८ प्रतिशत जनमत ल्याएको दल रास्वपाको नेतृत्वमा भएको सरकारसँग राम्रो सम्बन्ध राख्नुपर्ने बाध्यता भारतलाई छ।
त्यसका लागि सबैभन्दा उचित पात्र प्रधानमन्त्री बालेन र वर्तमान सरकार नै हुन्थे, तर यो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न प्रधानमन्त्री बालेन नराम्ररी चुके। प्रधानमन्त्री बालेनको व्यक्तित्वलाई काम गर्ने तर कम बोल्ने भनेर रहस्यको पर्दाले ढाक्न खोजिएको भए पनि हालसम्मका उनका प्रस्तुतिका आधारमा भन्नुपर्दा उनमा भूराजनीति र बाह्य सम्बन्धबारे राम्रो ज्ञान नभएको मात्र होइन, केही वैयक्तिक सीमितता र कमजोरी पनि देखिएका छन्।
कुशल सञ्चार क्षमताको कमी, अन्योल, अहम र कमजोरी लुकाउन खोज्ने उनी र उनको टोलीको रणनीतिको कारण नेपालको परराष्ट्र नीति र सम्बन्धमा प्रधानमन्त्रीले खेल्न सक्ने भूमिका निर्वाह गर्नबाट उनी चुकिरहेका छन् भन्ने बुझ्न अब खासै कठिन छैन।
प्रधानमन्त्रीको भूमिकाको अभावमा सिर्जना भएको खाडल पुर्ने हरसम्भव कोसिसमा परराष्ट्रमन्त्री शिशिर खनाल कुशल र केही हदसम्म सफल देखिएका छन्। तर सरकार सञ्चालन र राजनीतिक प्रभावका हिसाबले खनाल निर्णायक भूमिकामा छैनन्।
त्यसैले भारतको वर्तमान संस्थापनले उसको अत्यन्तै महत्वपूर्ण छिमेकी नेपालको राजनीतिमा प्रभावशाली व्यक्ति र संस्था खोज्ने क्रममा रास्वपाका सभापति रविलाई छानेर भारत भ्रमणमा निम्त्याएको बुझ्न सकिन्छ।
नेपालको सरकारसँग सघन अन्तरक्रिया गरिरहनुपर्ने बाध्यता भारतलाई छ। विश्व शक्ति–राजनीतिको एक प्रमुख मध्यम शक्ति, विश्वको सबैभन्दा धेरै जनसंख्या भएको र लोकतान्त्रिक मुलुक भएर मात्र होइन, हाम्रो देशलाई तीनतिरबाट घेरेकाले भारत हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ।
भारतका केही विज्ञ र सञ्चारमाध्यमले भारतका लागि नेपालको महत्व जानीजानी वा अज्ञानताका कारण नजरअन्दाज गर्न खोजे पनि नेपालसमेत भारतका लागि असाध्यै महत्वपूर्ण छिमेकी हो।
नेपालको संवेदनशील भूराजनीतिक अवस्थिति, आन्तरिक राजनीतिमै पर्ने गहिरो प्रभावले हाम्रा दुई छिमेकी भारत र चीन, विश्वकै महाशक्ति अमेरिका, विश्वका अन्य प्रभावशाली मुलुक र अन्तर्राष्ट्रिय संघसंस्थासँग धेरै सन्तुलित सम्बन्धको माग गर्छ।
भारत र चीनबीच रहेर भौगोलिक कारणले भूपरिवेष्ठित भए पनि व्यावहारिक कारणले नेपाललाई भारत–वेष्ठितसमेत भन्ने गरिन्छ। भौगोलिक मात्र नभई इतिहासको विकासक्रमका कारण भारतसँगको आर्थिक परनिर्भरता नै भन्न मिल्ने किसिमको अन्तरनिर्भरताले भारत नेपालका लागि सबैभन्दा महत्वपूर्ण छिमेकी मात्र भएको छैन, नेपालको परराष्ट्र मामिलामा सन्तुलन कायम गर्दा सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने मुलुक बनेको छ।
यो परिस्थितिले यी दुई मुलुकबीच आर्थिक, सामाजिक र सांस्कृतिक निकटता मात्रै सिर्जना गरेको छैन, इतिहासदेखि नै भारतको नेपालप्रतिको नजर पनि निर्धारण गरेको छ। यिनै कारणले भारतका लागि नेपाल क्षेत्रफल र जनसंख्याका हिसाबले तुलनात्मक रूपमा सानो भए पनि धेरै नै महत्वपूर्ण छिमेकी बन्न गएको छ।
नेपाललाई आफ्नो प्रभाव क्षेत्रको मुलुक ठान्ने, नेहरू (प्रधानमन्त्री जवाहरलाल) कालदेखि नै नेपालका हिमाललाई पनि भारतको प्राकृतिक सुरक्षा पर्खाल ठान्ने, नेपालले परराष्ट्र र सुरक्षा मामिलामा भारतको रूचिको रेखा ननाघोस् भन्ने भारतीय दीर्घकालीन नीति विशेषतः भूगोलका कारण सिर्जित भएका र त्यसकै आधारमा मलजल पाउँदै गएका नीति हुन्।
भारतको गंगा जलाधार क्षेत्रमा बस्ने करिब ४० करोड मानिस र उनीहरूको जीविकोपार्जनमा नेपालबाट बगेर जाने नदीका पानीमा भारतको परनिर्भरताले पनि नेपाललाई प्रभावमै राखिराख्नुपर्ने बाध्यता भारतले ठानेको छ।
नेपालबाट बगेर गंगामा मिसिने नदीले गंगाको पानीमा बर्खामा ४० प्रतिशतजति र संवेदनशील सुख्खा मौसममा ७० प्रतिशतजति योगदान गर्छन्। त्यहीमाथि विश्वकै सबभन्दा धेरै जनसंख्या भएको र ठूलो लोकतन्त्र भारतले नेपाल लगायत दक्षिण एसियाका मुलुकमा प्रभाव बनाइराख्न खोज्नु वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक अभ्यासमा शक्ति सम्प्रेषण गर्ने तरिकामै पर्छ।
त्यसैले भारतले नेपालमा भइरहेको प्रभाव घट्न नदिन र सकेसम्म अझै बढाउन निरन्तर कोसिस गरिरहन्छ। शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट उसका यस्ता रूचि कायम राखिरहन खोज्नु पनि भारतीय दृष्टिकोणबाट उचित नै देखिन्छ।
त्यसका लागि कतिपय अवस्थामा भारतले नेपालको आन्तरिक राजनीतिलाई आफूअनुकूल प्रभावित पार्न खोजेका उदाहरण इतिहासमा प्रशस्तै पाइन्छन्। भारतको रणनीतिक सोच र अवधारणामा नेपाल महत्वपूर्ण मुलुक भएकाले नेपालसँग स्थिर, मित्रतापूर्ण र आफ्नो सकारात्मक प्रभाव रहेको सम्बन्ध बनिरहोस् भन्नेमा भारत सचेत देखिन्छ।
भारतको यस्तै रणनीतिक सोचकै आधारमा सन् १९४७ मा भारत स्वतन्त्र हुँदादेखि नै नेपालसँगको सम्बन्ध व्यवस्थापन गर्दै आइरहेको छ।
इतिहासका विभिन्न चरणमा नाकाबन्दी लगायत कारण नेपालमा बढ्दै गइरहेको भारतविरोधी भावनाका कारण नेपालसँगको सम्बन्धमा कूटनीति लगायत सकारात्मक शैलीको प्रयोग गर्नुपर्छ भन्ने भावना पनि भारतमा बढ्दै गइरहेको छ।
भारतमा सन् २०१४ मा भाजपाको सरकार बनेपछि झन् नेपालसँगको सम्बन्ध थप गम्भीरतापूर्वक लिइएको कूटनीतिक क्रियाकलापले देखाएका छन्। भारतले नेपालसँगको सम्बन्ध र नेपालको अवस्था र अवस्थितिलाई यति गम्भीरतापूर्वक लिन्छ कि, कहिलेकाहीँ नेपालको आन्तरिक राजनीतिलाई आफू अनुकूल बनाउन यहाँको आन्तरिक राजनीतिक विकासक्रममा समेत हस्तक्षेपकारी र देखिने भूमिका निर्वाह गर्न पुग्छ।
विदेश नीति र कूटनीति सञ्चालनका स्थापित मान्यताका आधारमा भारत सरकार सम्भवतः नेपाल सरकार र प्रधानमन्त्री बालेन शाहलाई नै पहिलो प्राथमिकतामा राखेर सुमधुर सम्बन्ध बनाउन चाहन्छ। तर प्रधानमन्त्री बालेनको अस्पष्ट, अपरिपक्व र रहस्यमयी शैलीका कारण उनीसँग सम्बन्ध राख्न असजिलो भएपछि रास्वपाका सर्वशक्तिमान सभापतिसँग भारतले सम्बन्धको हात बढाउन चाहनु पनि उत्तिकै स्वाभाविक हो।
रवि त्यसका लागि सबभन्दा उपयुक्त पात्र हुन्, किनकि उनी सत्तारूढ दलको सभापति मात्र होइनन्, संस्थापक पनि हुन्।
रास्वपालाई अहिलेको अवस्थामा ल्याइपुर्याउन उनले समय–मौकामा लिएका निर्णयहरूको निर्णायक महत्व छ। रविको उक्त पार्टीमा खास कसैलाई नटेर्ने बालेनमाथि पनि केही हदसम्म नियन्त्रण र प्रभाव छ।
हालै चितवनमा भएको रास्वपाको महाधिवेशनले पनि उक्त दलमा रविको प्रभाव र नियन्त्रण स्पष्ट देखाएको छ। सभापतिमा उनी निर्विरोध निर्वाचित हुनु, निर्वाचित उपसभापति, महामन्त्री लगायत पदाधिकारी उनको रूचि र इच्छा अनुरूप हुनुले उनको प्रभाव प्रस्ट्याएका छन्।
प्रधानमन्त्री बालेन शाहका पक्षधरहरू सभापतिबाट हुने मनोनयनबाट जानुपर्ने परिस्थितिले पनि रवि पार्टीभित्र सर्वशक्तिमान रहेको प्रस्ट देखाउँछ। तसर्थ प्रधानमन्त्री बालेन शाह सुलभ तरिकाले उपलब्ध हुन नसक्ने भएपछि भारतका लागि रविभन्दा उपयुक्त व्यक्ति अरू थिएनन्।
रविलाई पार्टी–कूटनीतिको माध्यमबाट निमन्त्रणा गरेर भाजपाले भारतभित्र र नेपालमा पनि विभिन्न सन्देश दिन सफल भएको छ।
पहिलो, नेपालको शक्तिशाली सत्तारूढ दल रास्वपाका सबभन्दा प्रभावशाली नेता तथा पार्टीका संस्थापकलाई निमन्त्रणा गरेर नेपालको नयाँ संस्थापनसँग भाजपाको मात्रै होइन, भारत सरकारकै राम्रो सम्बन्धको सुरूआत गर्ने प्रस्टसाय भारत र भाजपाले देखाएका छन्।
रविलाई भाजपाका अध्यक्ष नितिन नवीनले मात्र भेटेनन्, प्रधानमन्त्री नरेन्द्र मोदी, सरकार र पार्टी दुवैतिर शक्तिशाली गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर आदिले पनि भेटे। यसरी भारतको राष्ट्रिय हितमा भाजपाको पार्टी–कूटनीति प्रयोग गरेर भाजपाले लोकतान्त्रिक मुलुकमा समेत पार्टी–कूटनीतिलाई राष्ट्रको कूटनीतिको हिस्सा बनाउन सकिन्छ भन्ने गज्जब उदाहरण दिएको छ।
बहुदलीय शासन प्रणाली भएका लोकतान्त्रिक मुलुकमा पार्टी–कूटनीतिको सम्भावना देखाउने गजब उदाहरणका रूपमा यसलाई लिन सकिन्छ।
दोस्रो, नेपाल रणनीतिक रूपमा भारतको महत्वपूर्ण छिमेकी भएकाले नेपालसँग निरन्तर अर्थपूर्ण संवाद र अन्तरक्रिया गरेर विश्वासको वातावरण बनाइराख्न भारत इच्छुक छ भन्ने सन्देश पनि यो भ्रमणमा समाहित छ।
त्यसका लागि परम्परागत र राज्यहरूबीच हुने कूटनीतिक प्रयास पूर्ण हुन नसके पार्टी–कूटनीति लगायत कूटनीतिका विभिन्न ट्र्याक प्रयोग हुन सक्छन् भन्ने उदाहरण पनि यो भ्रमणबाट प्रस्तुत भएको छ।
तेस्रो, प्रधानमन्त्री बालेन शाह नेपालको खासगरी पहाडी समाजमा व्याप्त भारतविरोधी राष्ट्रवाद अँगाल्न पुगे भने उनलाई सन्तुलनमा राख्न रवि पक्षसँगको मित्रतालाई प्रयोग गर्नु भाजपा र भारतीय संस्थापनको उद्देश्य हुन सक्छ।
विगतमा दोहोरो पासपोर्ट, सहकारी प्रकरण लगायतमा संलग्नताका कारण रवि आफैले स्थापित गरेको पार्टीले प्रचण्ड बहुमत ल्याउँदा पनि प्रधानमन्त्री बन्न पाएका छैनन्। खासगरी अदालतमा विचाराधीन मुद्दाका कारण रविको राजनीतिक भविष्यमा अझै अनिश्चितता छ।
अझै पनि नेपाली समाजका धेरै अवयवमा भारतको प्रभाव छ भन्ने विश्वास नेपालमा व्याप्त छ। नेपालभित्रकै राजनीतिक र सामाजिक कारण न्यायालयबाट समेत उनले सफाइ पाए भने बालेन शाहलाई नै प्रधानमन्त्रीबाट विस्थापित गर्नुपर्ने अवस्था वा बाध्यतामा उनी पुग्न सक्छन्।
त्यस्तो अवस्थामा रविसँग राम्रो सम्बन्ध हुनु भारत र भाजपालाई भारतीय राष्ट्रिय हितका दृष्टिकोणबाट उचितै हुन्छ।
चौथो, रविको भाजपाको पार्टी–कूटनीतिको अवधारणामा भएको सहभागिता भाजपाका लागि भारतभित्र र बाहिर पार्टी–कूटनीतिको सदुपयोगको राम्रो प्रस्थानबिन्दु बन्न सक्छ। यसै अवसरमा भारतका प्रभावशाली सञ्चार माध्यमले भाजपाको पार्टी–कूटनीतिबारे अध्ययन–अनुसन्धान गरेर यसबारे विस्तृत रूपमा प्रकाशन र प्रसारण गर्न थाल्नुले उक्त दललाई पार्टी–कूटनीतिलाई थप सशक्त बनाउन मद्दत पनि गर्न सक्छ।
भाजपाको निम्तोमा रविको भारत भ्रमणलाई लिएर नेपालमा अनेक षड्यन्त्रका सिद्धान्त बजारमा आएका छन् — भारत रविलाई उकासेर प्रधानमन्त्री बालेनलाई विस्थापित गर्न चाहन्छ। रास्वपा जस्तो बलियो राजनीतिक शक्तिलाई फुटाउन चाहन्छ।
यस्तै षड्यन्त्रका सिद्धान्त अगाडि सारिएका छन्।
तर अहिलेको नेपालको राजनीतिक यथार्थ र भारतको नेपाल दृष्टिको आलोकमा यस्तो निष्कर्ष निकाल्नु अपरिपक्व र हतारो हुन्छ। रास्वपा वैचारिक रूपमा पहिलाको एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी जस्तो वामपन्थी र चीनप्रति झुकाव राख्ने दल होइन। नेपाली कांग्रेसजस्तै बहुदलीय लोकतन्त्रमा विश्वास गर्ने उदारवादी र गैरवामपन्थी दल हो।
वैचारिक रूपमा र उक्त दलमा प्रभावशाली व्यक्तिहरूको विगतका कारण उक्त दल चीनसँगभन्दा भारत र बहुदलीय व्यवस्था भएका मुलुकसँग सैद्धान्तिक र वैचारिक हिसाबले नजिक छ। रास्वपाभित्र समस्या उत्पन्न भएमा र त्यसमा भारतको हात रहेको धारणा बनेमा त्यसले नेपालको नयाँ लोकतान्त्रिक दल र खेमामा भारतविरोधी भावना थप बलियो बन्छ।
त्यसैले रास्वपामा भारतले विग्रह ल्याउने कोसिस गर्नुपर्ने र रविलाई समर्थन गरेर शाहलाई विस्थापित गर्न कोसिस गर्नुपर्ने आधार देखिँदैन।
कहिलेकाहीँ बलियो जनमतसहितको सरकार बन्दा नेपालमा भारतविरोधी नेपाली राष्ट्रवाद मौलाउने गरेको भारतीय बुझाइ छ। नेपालका लोकप्रिय शासकले आफ्नो कमजोरी छोप्न भारतको विरोध गर्ने गरेको उसको बुझाइ छ।
भारतसँग सीमा जोडिएको र भारतको हिन्दीभाषी मुख्यभूमिसँग सामाजिक र सांस्कृतिक रूपमा धेरै नजिक भएको नेपालको तराई–मधेसमा गत फागुन २१ को चुनावमा मधेसी मूलकै भएका कारणले समेत बालेन लहरको बाढी नै आएको थियो। मधेस प्रदेशका ३२ मध्ये ३० वटा क्षेत्रमा रास्वपाले जित हात पारेको थियो।
नेपाली समाज र राजनीतिको भाष्य कब्जा गर्न सामाजिक सञ्जालको बलियो हात रहेकाले र त्यहाँ प्रधानमन्त्री बालेनको लोकप्रियता अझै पनि रहेकाले मधेसबाट उनको प्रभाव खासै घटेको छैन। भारतसँग सीमा जोडिएको नेपालको मधेसलाई भारतले रणनीतिक रूपमा विशेष संवेदनशील मान्छ र त्यहाँ भारत सकेसम्म नकारात्मक छवि बनाउन चाहँदैन।
त्यसैले भारतले अहिलेदेखि नै बालेन शाहलाई प्रतिस्थापित गर्न भूमिका खेल्छ भनेर अनुमान लगाउनु अपरिपक्व र हतारो दुवै हुन जान्छ।
बरू बालेन शाह नेतृत्वको सरकारले भारतको रूचि बर्खिलाप हुने निर्णय खासै नगरोस् भन्नेमा भारतको नीति र कूटनीति केन्द्रित हुने अनुमान सहजै लगाउन सकिन्छ। रविसँग निकट सम्बन्ध विकास गर्ने पहल गरेर भारतले बालेन शाहलाई सन्तुलित हुन र भारतविरोधी रवैया नअपनाउन मनोवैज्ञानिक सन्देश भने दिएको छ।
रास्वपा र रविका रूचि
भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि भारत भ्रमणमा जाँदा भारत र भाजपाका रूचि मात्र सम्बोधन भएका छैनन्। नेपाल राज्य, रास्वपा र व्यक्तिगत रूपमा सभापति रविका लागि पनि उल्लेख्य केही उपलब्धि भएका छन्।
प्रधानमन्त्री बालेन शाहसँग चाहे अनुसार सम्बन्ध विकास गर्न भारतले नसकिरहेको अवस्थामा नेपालभित्रको शक्ति सन्तुलनमा शाहजस्तै प्रभावशाली तर उनीभन्दा बढी समन्वयकारी शैली भएका रविसँगको विश्वासको सम्बन्धले केही हदसम्म नेपाल र भारतको सम्बन्धलाई स्थिरता दिन सहयोग गर्छ।
संसदमा झण्डै दुई तिहाइ बहुमत र झण्डै ४८ प्रतिशत जनमत प्राप्त गरेको नेपालको सत्तारूढ दल अनि सरकारको सबभन्दा महत्वपूर्ण र प्रभावशाली छिमेकी भारतका बीच संवादमा रिक्तता हुनु नेपालको राष्ट्रिय हितको दृष्टिकोणबाट उचित हुन सक्दैन।
भारतका प्रधानमन्त्री, गृहमन्त्री, विदेशमन्त्री लगायत उच्चपदस्थसँग रविको भेटले भारत र नेपालका बीचमा विश्वास बढाउन र अविश्वास कम गराउन ठूलै मद्दत पुग्छ।
रविको भ्रमणले नेपालको नयाँ तर शक्तिशाली सत्तारूढ दल रास्वपाको अन्तर्राष्ट्रिय समुदायमा स्वीकार्यता र साख बढाउन पनि सहयोग गर्छ। भारतजस्तो नेपालका लागि सबभन्दा महत्वपूर्ण छिमेकीसँग रास्वपाको विश्वासको सम्बन्धको जग बस्नु राजनीतिक दलका रूपमा रास्वपाका लागि महत्वपूर्ण राजनीतिक पुँजी हो।
यो भ्रमण रविलाई व्यक्तिगत रूपमा र उनको दलमा उनीसँग बढी नजिक रहेको समूहलाई पनि सामाजिक र राजनीतिक पूँजी निर्माण गर्ने अवसर बनेको छ।
त्यसलाई रविले पनि उच्चतम उपयोग गरेका छन्। रवि नेपाली राजनीतिको यस्तो पात्र बन्न पुगेका छन्, जसको व्यक्तित्व र निर्णायक मोडमा लिएका निर्णयका कारण रास्वपा स्थापनाको छोटो अवधिमै अहिलेसम्मको नेपाली इतिहासमै सबभन्दा ठूलो राजनीतिक दल बन्न पुगेको छ।
विगतमा नेपालको नागरिकता समेत त्यागेका, दोहोरो पासपोर्ट लिएका, वैधानिक रूपमा नेपालको नागरिक नहुँदै नेपालमा सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री बनेका, सहकारीबाट अनधिकृत रूपमा ऋण लिएका, सर्वसाधारणको सहकारीको बचत खतरामा पर्ने गरी सञ्चारगृहमा लगानी गरेका, अनधिकृत रूपमा जेलबाट बाहिर निस्किएका जस्ता कैयौं कानुनी र सामाजिक रूपमा समेत दाग लाग्ने किसिमका आरोप उनीमाथि छन्।
यीमध्ये धेरैजसोमा राजनीतिक प्रभाव र सामाजिक सञ्जालबाट भाष्य सिर्जना गरेर उनले कानुनी रूपमा उन्मुक्ति पाउँदै आएका भए पनि प्रश्नहरू अझै बाँकी छन्। आफूले स्थापना गरेको मात्र नभई आफ्नै व्यक्तित्वका कारण स्थापित दल सबभन्दा ठूलो दल बन्दा पनि उनी नेपालको प्रधानमन्त्री बन्न पाएका छैनन्।
नेपालको आन्तरिक राजनीतिमा समेत बलियो प्रभाव भएको भारतलाई खुसी पार्न सक्ने हो भने आफूलाई जुनसुकै परिस्थितिमा पनि फाइदा हुने रविजस्ता 'चतुर' राजनीतिज्ञले नबुझ्ने कुरै भएन।
माथि नै उल्लेख गरिएको छ, भारतले तत्कालै प्रधानमन्त्री बालेनका विकल्पमा रविलाई उक्साउने सम्भावना छैन। अहिलेसम्मको बोली र व्यवहार हेर्दा भारतले उक्साउँदैमा रवि उक्सिन्छन् जस्तो पनि देखिँदैन।
तर भारतको विश्वास जितेका रवि बालेनलाई प्रभावित गर्न मात्र होइन, उनलाई सन्तुलनमा राख्न आत्मविश्वासका साथ लाग्न सक्छन्। भारतले रविलाई भ्रमणमा निम्त्याएर बालेनलई त्यस्तै मनोवैज्ञानिक सन्देश दिएको हुन सक्छ।
त्यसैगरी भारतसँगको राम्रो सम्बन्धले रविलाई पार्टीको मोर्चामा मात्र नभई सरकारी कामकारबाहीमा पनि बालेनलाई सन्तुलनमा राख्न सहयोग गर्न सक्छ। इतिहासका कैयौं घडीमा नेपालका राजनीतिज्ञले नेपालको घरेलु राजनीतिमा आफ्नो स्थान बलियो बनाउन र दलभित्र र बाहिरका आफ्ना आलोचक र विपक्षीलाई सन्तुलनमा राख्न बाह्य शक्ति, खासगरी भारत र त्यहाँका शक्तिशाली समूहको सहयोग र समर्थन खोज्दै र लिँदै आएका उदाहरण प्रशस्तै पाइन्छन्।
छोटो समयमा राजनीतिको खालमा अद्वितीय बाजी मारेका रविले शक्ति सन्तुलनको यो आयामबारे नबुझ्ने प्रश्नै रहेन। भारतीय पक्ष र रवि पक्ष मिलेर अहिले नै बालेनलाई विस्थापित गर्ने कदम चाल्छन् भन्नु अहिलेको धरातलीय यथार्थ हेर्दा अतिशयोक्ति हुन्छ।
रविका हालैका अभिव्यक्ति हेर्ने हो भने अहिले प्राप्त जनमतको भार बुझ्न र यसलाई हल्का र निःसर्त रूपमा नलिन उनी सतर्क छन् भन्ने प्रस्ट देखिन्छ। बरू दुवै पक्षले सल्लाह गरेर र संयुक्त रूपमा नभई अलग–अलग रूपमा बालेनमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेर उनलाई सन्तुलनमा राख्न उक्त भ्रमणको प्रयोग भने हुन सक्छ।
रविको भारत भ्रमणबारे नेपालमा गरिएका अधिकांश चर्चा तात्कालिक राजनीतिक विकासक्रम वा सम्भावित परिणाममा केन्द्रित देखिए।
रविको भारत भ्रमणको अर्को गहिरो अर्थ राख्ने बिम्ब र चर्चा गरिनुपर्ने आयाम उनको अयोध्या भ्रमण हो।
अयोध्या भ्रमणको अर्थ
रविको भारत भ्रमणका क्रममा उनको नयाँ दिल्लीबाहिर भएको अयोध्या भ्रमण उक्त भ्रमणको महत्वपूर्ण बिम्ब र आँखीझ्याल हो।
अयोध्या भ्रमण भाजपाको अनुरोध वा रविको आफ्नै रोजाइ जुन आधारमा गरिएको भए पनि त्यसले विशेष अर्थ राख्छ। भगवान रामको जन्मथलोमा राममन्दिरको पुनर्स्थापना भाजपाको विकासक्रमसँग जोडिएको महत्वपूर्ण विषय हो। भारतमा भाजपाको उदयमा राममन्दिर प्रकरणको ठूलो महत्व छ।
भारत आफ्नो पक्षमा नहुँदा उक्त मुलुकसँग कटुतापूर्ण रवैया राख्नसमेत पछाडि नपरेका केपी शर्मा ओलीले रामको जन्मस्थान भन्दै नेपालको माडी अयोध्यापुरीलाई प्रस्तुत गरेका थिए। ओलीको उक्त कदम भाजपा अस्तित्वको मर्ममाथि नै प्रहारको प्रयास थियो।
रविले अयोध्या भ्रमण गरेर उक्त स्थानलाई रामको जन्मभूमिका रूपमा सम्मान मात्र गरेनन्, भाजपाको वैचारिकी र संगठन विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको अयोध्या गएर भाजपाको अस्तित्व र विकासक्रमप्रति बडो चतुर ढंगले राजनीतिक र कूटनीतिक ऐक्यबद्धता देखाए।
यसले भाजपा नेतृत्वको वर्तमान भारतीय संस्थापनको विश्वास जित्न थप सहयोग गर्नेछ र त्यसले रविलाई व्यक्तिगत रूपमा मात्रै होइन, रास्वपालाई समेत कूटनीतिक लाभ मिल्ने अनुमान लगाउन सकिन्छ।
त्यहाँ भ्रमण गरेर लामिछानेले भाजपाका लागि विशेष अर्थ राख्ने आदर्श र वैचारिकीलाई पूर्ण रूपमा स्वीकार गर्दै सहकार्य गर्न तयार रहेको बलियो सन्देश दिएका छन्।
निष्कर्ष
भाजपाको निमन्त्रणामा भएको रास्वपा सभापति रविको भारत भ्रमण भाजपाको पार्टी–कूटनीतिको सिर्जनशील प्रयोग हो। यो भ्रमणलाई भाजपाले राज्यको कूटनीतिको पूरकका रूपमा भरपुर प्रयोग गरेको छ। त्यसले भारत र भाजपाका रूचि त सम्बोधन गरेको छ नै, नेपाल राष्ट्र, रास्वपा र रविलाई पनि फाइदा नै पुर्याएको छ।
रास्वपाका सभापति रविले भाजपा पार्टी–कूटनीतिको अवधारणामा भएको आफ्नो भ्रमणलाई सदुपयोग मात्रै गरेका छैनन्, आफ्नो समन्वयकारी व्यक्तित्व र भूमिकालाई अन्तर्राष्ट्रिय आयामसमेत दिएर थप सबल बनाउन सफल भएका छन्।
(लेखक शिव तिवारीले सिड्नी युनिभर्सिटीबाट नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी–कूटनीतिबारे शोध गरेका छन्।)
एक्स @shivanpl5