तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन्।
पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए।
अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए।
केपी ओली नेतृत्वको सरकारबाट पार्टी तत्काल बाहिरिन्छ कि बाहिरिँदैन भन्नेबारे उनले स्पष्ट जवाफ दिएनन्।
‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि हामी सरकारमा सहभागी भएका हौं। संविधान संशोधन हुनुपर्छ। भएन भने सरकार छोड्छौं। अहिले त्यसका लागि हामी छलफल गरिरहेका छौं,’ यादवले भने।
उनले आज दर्ता भएको पार्टीको चुनाव चिन्ह भने टुंगो लागिनसकेको बताए।
‘त्यसलाई हामीले अहिले खाली राखेका छौं,’ यादवले भने।
एक हुनुअघि फोरमले मसाल र नयाँ शक्तिले आँखालाई चुनाव चिन्ह बनाएका थिए। स्थानीय चुनावमा भने नयाँ शक्तिले फोरमको मसाल चिन्ह प्रयोग गरेको थियो।