बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द भएको छ।
शुक्रबार उनी भ्रमण दलको सदस्यसहित त्यहाँ पुग्ने कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण कार्यक्रम रद्द भएको चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहले जानकारी दिए।
‘उहाँ अस्वस्थ भएकाले भ्रमण रद्द भएको जानकारी आयो’, उनले भने।
यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। उनले पोखरा र आसपासको दृश्यावलोकन गरेका थिए।
पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलालाई राष्ट्रपति हमिद चाखका साथ अवलोकन गरेका थिए।
मंगलबार काठमाडौं उत्रेका राष्ट्रपति हमिदले त्यही दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए।
राष्ट्रपति हमिद बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहे।
उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।