सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताएका छन्।
मंगलबार चितवनको माडी पुगेका प्रचण्डले राजनीतिक जटिलता चिर्न लगातार छलफल आवश्यक परेको पनि बताए।
‘म आउने समय भएर माडी आएको होइन। काठमाडौंमा तपाईंहरूले देख्नुभएको छ। केन्द्रीय राजनीतिमा कहिलेकाहीँ अलिअलि जटिलता देखा पर्छन्। तिनलाई समाधान गर्न लगातार छलफल गर्नुपर्ने थियो,’ प्रचण्डले भने।
उनले राजनीतिक जटिलता के हो भन्ने खुलाएनन्।
तर सभामुखमा उम्मेदवारी दिने निर्णय नेकपा सचिवालय बैठकले गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन।
‘निकै दबाब थियो, साथीहरू/नेताहरूले यस्तो बेला बाहिर नजान भनेका थिए,’ प्रचण्डले भने, ‘समाधान गर्न समय दिनुपर्ने छ।’
उनले आफू २ घण्टाका लागि मात्रै माडी आएको बताएका थिए।
‘म २ घण्टाका लागि माडी आएको हुँ,’ उनले भने, ‘काठमाडौं फर्केर थुप्रै मिटिङ गर्नुछ।’